बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तपस्या के हो र कसले गर्छ ?

बुधबार, ३२ असार २०८२, १७ : ४४
बुधबार, ३२ असार २०८२

तपस्या भन्ने शब्द सुन्दा कठिनजस्तो लाग्छ तर तपस्वीबाहेक यस दुनियाँमा कोही छैन । परापूर्व कालदेखि देवता, ऋषिमुनि लगायत सबै मनुष्यले निरन्तर तपस्या गरिरहेका छौँ । तपस्याको परिभाषालाई बृहत् रूपमा हेर्दा र यसको घेरालाई सीमित गर्दा फराकिलो अन्तर भने देखिन सक्छ । 

पुराना युगमा हिमाल, वन, नदी किनार, ओढार, मन्दिर परिसर, अन्य एकान्त स्थानमा हात जोडेर र आँखा चिम्लेर बस्नुलाई तपस्या मानिन्थ्यो । तपस्याको उद्देश्य भने शक्ति आर्जन गर्ने नै हुने गर्दथ्यो । ऋषिमुनिहरू आफ्नो आन्तरिक शक्ति उजागर गरी समाजलाई सही बाटो डोर्‍याउने उद्देश्यले तपस्या गर्थे । कोही संन्यास आश्रममा रहेर तपस्या गर्दथे भने कोही गृहस्थाश्रममा रहेरै गरेका हुन्थे । स्थान र तरिका जे भए पनि देवता र दानवहरू भने शक्ति आर्जन गरी एकले अर्कालाई जित्न, उछिन्न वा अर्कालाई निषेध वा कमजोर पार्ने उद्देश्यले तपस्या गर्दथे भन्ने शास्त्र तथा पुराणहरूबाट बुझिन्छ ।   

यस लेखमा परापूर्व कालमा गरिने तपस्याका विषयमा नभई गृहस्थाश्रममा हामीजस्ता सर्वसाधारणले गर्ने तपस्याका केही विषय उठाउन खोजिएको छ । हामी मनुष्य जीवनमा सुख शान्ति, समृद्घिको उज्यालो पाउन र त्यसलाई टिकाउन तपस्या गरिरहन्छौँ । बाँच्ने उद्देश्य सबै प्राणीको हुन्छ र हरतरहले बाँच्ने प्रयास भइरहन्छ । मानिसबाहेक अरू प्राणीले आफ्नो आवश्यकता पूर्तिका लागि उद्देश्य र लक्ष्य बनाउन सक्दैन । मानिसको प्यास अर्थात् आवश्यकताले उद्देश्य र लक्ष्य जन्मन्छ अनि सुरु हुन्छ तपस्या । 

यसैले मानिसहरूमा बाह्य क्षेत्रबाट रक्षा, सुरक्षा एवं आफूभित्रको आन्तरिक खोजीको प्रयास निरन्तर भइरहन्छ । मुख्य रूपमा हेर्दा मानिस स्वयंको, परिवारको, समाजको सुख शान्ति र प्रगति हासिल गर्न तन, मन, धन र समय लगाइन्छ । शैक्षिक योग्यता हासिल गर्न, सीप सिक्न, अनुभव बटुल्न पूरै जीवन खर्च हुन्छ । यी र यस्ता प्रयास एवं अभ्यासयुक्त कर्मलाई तपस्या नभने के भन्ने ? त्यसमा पनि समाजमा आफूखुसी र आफ्नै शुरले मात्र सबै काम गर्न सकिँदैन वा पाइँदैन । व्यक्तिलाई बाह्य परिस्थिति (जस्तै ः  पारिवारिक, सामाजिक, राष्ट्रिय अनुशासनको घेरा) रहेको हुन्छ । यसैगरी अन्य विभिन्न बाधा, अवरोध र गल्छीहरू पार गर्दै लक्ष्यलाई चुम्न सानो तपस्याले पुग्दैन ।

पूर्ण दृढता र सङ्कल्पविनाको तपस्याले न बच्चा जन्मन्छ, न त हुर्कन्छ । बच्चा नजन्मिदैदेखि स्वास्थ्य सुरक्षाका लागि स्वयं गर्भवती, परिवार, समाज र राष्ट्रको मेहनतको मूल्य निकाल्नै सकिँदैन । बच्चा जन्मने समयको शारीरिक, मानसिक पीडाको अभिव्यक्तिलाई शब्दले भ्याउने कुरै छैन । जन्मेपछि पनि हुर्काउन, बढाउन, पढाउनका लागि आमाबाबुको तन, मन, धन, समयको लगानीको गणना कसरी गर्ने ? यी र यस्तै तपस्याको फल हो हाम्रो सिङ्गो जीवन । 

यद्यपि, जति तपस्या गरे पनि सबैले आफ्नो लक्ष्य र उद्देश्य अनुसारको फल प्राप्त गरेका हुन्छन् भन्ने छैन । जीवनमा पूरा बर्कत लगाएर कर्म गरिरहँदा पनि आफ्नो सोच अनुसारको उपलब्धि नहुँदा समेत स्वीकार भावमा कर्म गरिरहनु झन् महातपस्या होइन र ?

एउटा खेलाडी सुरुमा आफ्नो सौखले खेल्न थाल्छ । खेललाई निरन्तरता दिँदै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकका लागि भरभित्तो अर्थात् मरिमेटेर खेल्छ । त्यतिबेला उसले आफैँलाई बिर्सन्छ । यसरी आफैँलाई बिर्सेर गरिने त्यागलाई तपस्या नभने के भन्ने ? 

यस्तै एउटा किसान वर्षभरि खेतबारीमा काम गर्छ । किसानले हावा, पानी, माटो, घामसँग हरदिन मितेरी नलगाई एउटा बिउले उत्पादन दिँदैन । बिउ उम्रन्छ वा उम्रँदैन, बढ्छ वा बढ्दैन, फल्छ वा फल्दैन, टिक्छ वा टिक्दैन— यही दोसाँधमा हरक्षण रहनुपर्छ । यस्ता विभिन्न अनिश्चितताका बाबजुद पनि किसान मेहनत निरन्तर गरिरहन्छ । यही तपस्याको फल हामी आम मानिसले उपभोग गर्छौं । अन्य धन दौलत प्रशस्त भए पनि वा विज्ञान र प्रविधिले जति फड्को मारे पनि खानेकुरा भनेको खेतबारीको उब्जनी नै हो । 

अर्कोतिर गायक, नायक आदि सबै कलाकारलाई हेरौँ । आफ्नो चाख वा पेसालाई जीवन्तता दिन खानपान र अभ्यासका लागि सजगतापूर्वक निरन्तरता दिनुपर्छ । एउटा राजनीतिज्ञ माथिल्लो तहको नेतृत्वमा पुग्न पूरै जीवनको ऊर्जा खर्च गर्छ । कर्मचारी उद्योगपति व्यापारी सबैको समय, खर्च र विविध प्रकारको त्यागलाई तपस्या नभन्दा अन्याय हुँदैन र ? 

अर्कोतिर, पत्रकारको पेसा त झन् त्यागबाटै सुरु हुन्छ । दिन होस् वा रात; बाढी, पहिरो वा भिडभाड जहाँ जतिबेला पनि पुग्न नसके सूचना सङ्कलन हुन सक्दैन । भिर, पाखा, खाल्डो केही नभनीकन ज्यान जोखिममा राखेर होमिनुपर्छ पत्रकारहरू । यी र यस्ता विषय हेर्दा तपस्यालाई परिभाषित गर्ने कसरी ? 

माथिका केही उदाहरण छँदै छन् । त्यसमाथि पनि शरीर स्वस्थ्य राख्न आहारविहार र व्यवहारमा सबैजना सधैँ सजग हुनैपर्छ । यसका लागि दैनिक योग, व्यायाम, प्राणायाम नगरेमा शरीर जाँगरिलो, फूर्तिलो र क्षमतावान् हुन सक्दैन । यसरी गरिने शारीरिक, मानसिक, भावनात्मक र चेतनाको विकासका लागि हरक्षणको सजगता पनि तपस्या हैन र ?  

यद्यपि, जति तपस्या गरे पनि सबैले आफ्नो लक्ष्य र उद्देश्य अनुसारको फल प्राप्त गरेका हुन्छन् भन्ने छैन । जीवनमा पूरा बर्कत लगाएर कर्म गरिरहँदा पनि आफ्नो सोच अनुसारको उपलब्धि नहुँदा समेत स्वीकार भावमा कर्म गरिरहनु झन् महातपस्या होइन र ?

यसरी हामीले जहाँ र जहिले पनि सुन्दर एवं उज्यालो जीवनका लागि तपस्या गरिरहेका हुन्छौँ । तपस्याविना शरीर, परिवार, सम्बन्ध  प्रेम, सीप, धन, ज्ञान, ध्यान आदि केही रहेनछ । त्यसैले तपस्यालाई जोड, घटाउ वा गुणन, भागजस्ता गणनाले पार लाउन सकिने विषय रहेन । यति मात्र बुझौँ, हामी सबै तपस्वी हौँ, तपस्या गरिरहेका छौँ र गरिरहन्छौँ  । 
सबैको जय होस् । 

(प्रशिक्षक, जीवन विज्ञान प्रतिष्ठान) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यवदना घिमिरे पण्डित
सूर्यवदना घिमिरे पण्डित
लेखकबाट थप