चारै दिशामा अगुल्टो फाल्थ्यौँ : ‘लुतोपुतो लैजा है’
- सुशीलचन्द्र अधिकारी
बिहानको सिमसिमे पानी । तल्लो पाखासम्म पूरै कुहिरो । असारको माचोले अभैm छोडेको छैन । मेलो घर नजिकतिर । बिहानी काम गाईवस्तुका लागि घाँसपातको जोहो । अलिअलि बन्सोको घाँस र मकैको ढोड मिसाएर भारी पुर्यायो । सिमसिमे पानीले घाँसको भारी बोक्दा ढाड पूरै निथ्रुक्कै भिज्थ्यो । घाँसको भारी टाट्नुमा बिसायो । लैनो भैँसीको मोही र आलो मकैको भात स्वादिलोसँग खायो ।
साउने सङ्क्रान्ति आउन तीन–चार दिन मात्र बाँकी हुन्थ्यो । खेतीपातीको मुख्य सिजन भएकाले असार–साउनमा स्कुल बिदा हुन्थ्यो । केटाकेटीको दिउँसो गोठालो, गाईबाख्रा चराउने काम हुन्थ्यो । अलि समथर भएकाले गाईलाई पिपलडाँडातिर र बाख्रा गुफाभिरतर्फ चराइन्थ्यो । कान्ले, कुचिबिरौटा, माने, भिरकुनामा तितेपातीको घारी बाक्लै हुन्थ्यो । पातीका सिठा सजिलै पाइने । सिठा भाँच्यो । सिरुको जरासहितको बन्धन बाटेर मुठा बाँध्यो । अगाडि गाईबाख्रा अगाडि लगाएर पातीका सिठासहित भारी पनि ल्याइन्थ्यो ।
तीन–चार दिनको तयारीले आठ–दश मुठा पातीका सिठा जम्मा हुन्थ्योे । जतनले ओभानो ठाउँमा राख्यो । साउने सङ्क्रान्ति, लुतो फाल्ने सामग्री तयार गर्ने काममा पनि केटाकेटीहरूको सहकार्य र प्रतिस्पर्धा पनि । बेल्लौरी, पानीसरो, गुह्यसरो अलि भिरमा हुने । गुफाभिरको चुच्चेढुङ्गो वरपर प्रशस्त पाइने । बर्खाको पानीले लेउ लागेका पहरो चढ्दा खुट्टा चिप्लने डर । होसियारपूर्वक बुट्यानमा समातेर जिउ हल्का बनाएर पहरो चढ्थ्यौँ । बेल्लौरी, पानीसरो, गुह्यसरो होसियारीपूर्वक उखेलेर सबैलाई भाग लगाउँथ्यौँ, अनि डियाँबाख्रासहित घर फर्कियो ।
राँकोमा बलेको अगुल्टोलाई चार दिशा फाल्ने प्रचलन थियो । यस क्रममा हातमा अगुल्टो लिएर राइनासकोटको फेदीमा रहेको साउराबासतिर फर्केर ‘लुतोपुतो लैजा है’ भनेर फालियो । यसै गरी सिउँघारीतिर, माथिल्लो गाउँतिर चारै दिशामा अगुल्टो फालियो ।
लुतेझारचाहिँ जहाँतहाँ पाइने । झार उखेलेर साना मुठा बनाउँथ्यौँ । कुरिलो, कुकुरडाइनोको बोट ठुलीआमाको घरमा मात्रै हुन्थ्यो । साउने सङ्क्रान्तिका दिन गाउँका सबैले त्यहीँबाट लाने । त्यहाँ बेलौती, सुन्तला र निबुवाको बोट पनि थिए । आरुको बोट नभएकाले माथि गाउँमा लाहुरेबाको घरबाट ल्याउने । बारीबाट दुई घोँगा एउटै बोटमा फलेको मकै बोट पनि ल्याइयो । दिनभरको मेहनतबाट लुते सामग्री तयार भयो ।
असारमा धेरैजसोको मेलो मैजारो भए पनि साउनको पहिलो हप्तासम्म पाखे खेतमा रोपाइँ चलिरहेको हुन्थ्यो । हाम्रो मेलो घरबारीमा थियो, चाँडै सकियो ।
खुन्द्रुकाको कुवाको पानी असाध्यै मिठो । जाडोमा तातो र गर्मीमा चिसो हुने यसको मुख्य विशेषता । जेठदेखि फागुनसम्म पाइप लगाएर घरसम्मै पानी आउने । दिनभरिको हिलोमैलो त्यही धारामा पखाल्ने ।
साँझ हल्का छिप्पियो । साउने सङ्कान्ति पूजाको तयारी भयो । सबैका घरमा आँगनको डिलमा लुते सामग्रीसहित पूजाको सामग्री राखेर पूजा गर्ने चलन । पूजाको विधि पूरा गरी पातीका सिठा बालियो । बोटसहितको मकै पोल्न त्यहीँ हालियो ।
राँकोमा बलेको अगुल्टोलाई चार दिशा फाल्ने प्रचलन थियो । यस क्रममा हातमा अगुल्टो लिएर राइनासकोटको फेदीमा रहेको साउराबासतिर फर्केर ‘लुतोपुतो लैजा है’ भनेर फालियो । यसै गरी सिउँघारीतिर, माथिल्लो गाउँतिर चारै दिशामा अगुल्टो फालियो ।
सिउँघारीमा गुजमुज्ज गुरुङबस्ती । सबै घरमा टिनको छाना । साउने संक्रान्तिको राँको बल्दा वारिबाट देखिने उज्यालो निकै मनमोहक हुन्थ्यो । यसै गरी रागिनास, झाँगरे, विग्रह, कुडुले लगायत स्थानमा हेर्दा निकै रमाइलो । एकआपसमा सबैले विपरीत दिशा बस्तीलाई सङ्केत गरेर लुतो फाल्दा भटभटाउने चलन । केटाकेटीमा कसको घरमा राँको ठुलो हुने अस्वस्थ प्रतिस्पर्धा ।
बर्खामा हिलोमैलोमा काम गर्दा हात खुट्टा चिलाउने, लुतो खटिरा आउने भएकाले लुतो फालेपछि सन्चो हुने जनविश्वास थियो । एउटा उखान प्रचलनमा छ, माघे संक्रान्तिमा— ‘बर्खा लाग्यो भाइ हो मरिन्छ कि बाँचिन्छ’ । अनि साउने संक्रान्तिमा अर्को उखान छ, ‘हिउँद लाग्यो भाइ हो अब त बाँचियो’ । यसरी साउने संंक्रान्तिमा खुसियाली मनाइन्छ । साउनपछि खेतीपातीको काम बिस्तारै कम हुँदै जान्छ । साउने संक्रान्तिपछि चाडपर्व पनि सुरु हुन्छन् ।
घरमा तिउरे थियो । मकरकाँचीचाहिँ बान्नामुनिको खेतमा रहेको पर्खालमुनितिर धेरै पाउने । तिउरे, मकरकाँची, परेवाको बिस्टो, अमिलो हालेर बेसरी कुटिन्थ्यो र त्यस लेदोलाई हातमा बाँधेर सुतिन्थ्यो । बहिनी मेनका, पल्लाघरकी कल्पना, मसिनी सबै मिलेर तिउरे तयार गर्थे । भोलिपल्ट बिहान हेर्दा हात पहेँलै । त्यो समय, कति रमाइलो । अहिले सबै इतिहास बने ।
साउने सक्रान्तिमा बाल्ने राँकोको उज्यालो बिजुलीले ओझेल पारेछ । भिरकुनामा सुकेका पाती सिठा त्यसै ठडिएका छन् । गुफा भिरका बेल्लौरी, पानीसरोका नयाँ मुना पलाउँदै छिप्पिँदै गए ।
हरेक साउने संक्रान्तिमा लुतो फाल्दा गुञ्जने आवाज सुन्न भिरपाखा पर्खिरहेका छन् । समय फेरियो । गाउँका हाम्रा दौँतरी बिस्तारै सहर पसे । हामी पछिका भाइबहिनी विदेश पलायन भए । नयाँ पुस्ता अत्यत्तै कम छन् गाउँमा । तिनले धानेका छन् अलिअलि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठन गर्नुपर्छ'
-
दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै
-
एमालेभित्र कोशीमा मुख्यमन्त्री को बन्ने भन्नेमै विवाद !
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण