बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाढीले क्षति भएका पाँच जलविद्युत आयोजना सञ्चालनमा

शुक्रबार, ०२ साउन २०८२, १८ : ४९
शुक्रबार, ०२ साउन २०८२

काठमाडौँ । गत असार २४ गते रसुवा बाढीले क्षति पुर्‍याएका ९ जलविद्युत आयोजनाहरू मध्ये पाँच आयोजनाहरू सञ्चालनमा आएका छन् । 

बाढी आएको एक हप्तापछि पाँच आयोजनाहरू सञ्चालनमा आएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।  

असार २४ गते बिहान करिब ३ बजे भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासी ठुलो बाढी प्रवेश भएको थियो । यस बाढीका कारण त्रिशुली नदी करिडोरमा सञ्चालनमा रहेका ९ जलविद्युत आयोजना तथा प्रसारण संरचनाहरूमा क्षति पुगेको थियो । जसका कारण करिब २५० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको थियो ।

बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ए, २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र, १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्र, १४.३ मेगावाट क्षमताको अपर मैलुङ जलविद्युत् आयोजना, ११ मेगावाट क्षमताको सूर्यकुण्ड जलविद्युत् आयोजना , ५ मेगावाट क्षमताको बुद्ध भूमि जलविद्युत् आयोजना र २२०/१३२/३३ के.भी. क्षमताको त्रिशूली–३ वी हव क्षति पुर्‍याएको थियो । 

जस मध्ये अहिले चिलिमे,त्रिशूली,देवीघाट,सूर्यकुण्ड,बुद्ध भूमि लगायत कुल ९० मेगावाट क्षमता बराबरका जलविद्युत आयोजनाहरू सञ्चालनमा आइसकेको ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले बताए । 

उनले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजना केही दिन भित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए । उनले सबभन्दा बढी क्षति भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन केही महिना समय लाग्ने जानकारी दिए । 

उनले भने,‘ विपद् व्यवस्थापन अन्तर्गत २ अर्ब ८० करोडको स्रोत सहमति प्राप्त गरी नदी व्यवस्थापन कार्य भइसकेको छ ।’

मन्त्रालयले अघिल्लो वर्षको बाढीले क्षति पुर्‍याएको अपर तामाकोशी, मलम्बी क्षेत्र लगायत प्रभावित आयोजना पनि पुनः सञ्चालनमा आएको छ । रसुवागढी जलविद्युत् आयोजनाको हेडवक्र्स पूर्ण रूपमा क्षति भएको छ भने ⁠चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी छिरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप