मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एक वर्षमा ५ जनाको मृत्यु
सारांश
- मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ, र एकजना गम्भीर घाइते भएका छन्।
- गत आर्थिक वर्षमा जङ्गली हात्तीको आक्रमणबाट मोरङमा पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ।
- वन फँडानी र आगोलागीका कारण जङ्गली हात्ती बस्तीमा पस्न थालेकाले आक्रमणका घटना बढेको बताइएको छ।
बेलबारी । मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भयो । उनी जस्तै एकवर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट मोरङमा पाँच जनाको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–८ बाँसबारीकी राजवंशी घर नजिकै खेतमा पानी हाल्न गएको बेला जङ्गली हात्तीको आक्रमणमा परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन् । बिहीबार बिहान बेलबारी–१० भाउन्नेका ४१ वर्षीय अमित लिम्बू जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका बताउँदै उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको चुँडालले उल्लेख गरिन् ।
आर्थिक वर्ष २०८१–८२ मा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र दुई पुरुषको मृत्युु भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । सुन्दरहरैचा नगरपालिका क्षेत्रका तीन, बेलबारी नगरपालिका र लेटाङ नगरपालिका क्षेत्रका एकरएक जनाको मृत्यु भएको कार्यालयका वन अधिकृत विमल केसीले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक चुँडालका अनुसार गत फागुन २५ गते लेटाङ नगरपालिका–९ जाँतेका ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो । वन फडानी, आगलागीलगायत कारणले जङ्गली हात्ती सुरक्षा तथा आहारको खोजीमा बस्ती पस्न थालेकाले आक्रमणका घट्ना बढ्न थालेका उनको भनाइ छ ।
गत पुस ५ गते सुन्दरहरैचा–१० की गङ्गामाया श्रेष्ठ, पुस १५ गते सुन्दरहरैचा–५ की चन्द्रकुमारी लिम्बू र गत माघ ५ गते सुन्दरहरैचाका हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको वन अधिकृत केसीले बताए ।
डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु भइसकेको छ । उक्त अवधिमा नौ वटा हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ । तीमध्ये प्राकृतिक कारणले चार, चोरीतस्करीबाट दुई, गोली हानेर एक, बेवारिसे एक र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको उनले जानकारी दिए ।
दुई वर्षदेखि मोरङको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा जङ्गली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए । ‘हरेक राति जङ्गली हात्ती बस्तीमा छिरेर त्रसित बनाउने, बालीनाली खाइदिएर किसानलाई सास्ती दिने गरेका छन्’, उनले भने ।
जङ्गल आसपासका क्षेत्रमा आवश्यक सावधानी अपनाउनुका साथै अनावश्यक कामबाहेक रातिको समयमा घरबाट ननिस्कन र घर बाहिर उज्यालो बनाइराख्न डिभिजन वन कार्यालयले सबैलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण