शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नक्कली नोटसहित दुई जना पक्राउ

बिहीबार, ०८ साउन २०८२, २३ : २६
बिहीबार, ०८ साउन २०८२

सारांश

  • नुवाकोट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।
  • पक्राउ परेका व्यक्तिहरूले एक हजार दरका नक्कली नोट बनाएर प्रयोग गर्दै आएका थिए।
  • प्रहरीले उनीहरूलाई खोटा मुद्रासम्बन्धी कसूरमा अनुसन्धान गर्न सात दिनको म्याद लिएको छ।

नुवाकोट ।  नुवाकोट प्रहरीले दुप्चेश्वर गाउँपालिकाबाट रु १ हजार दरका ९३ थान नक्कली नोटसहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ६ जना किशोरहरूले नक्कली नोट लिएर हिँडेको सूचनाको आधारमा खटिएको प्रहरीले नक्कली नोट बनाउन संलग्न दुई जनालाई पक्राउ गरेको हो । 

दुप्चेश्वर गाउँपालिका–६ स्थित रामती बजारमा यही मङ्गलबार किनमेल गर्न नक्कली नोट बोकेर हिडेका ती किशोरहरूसँग गरिएको अनुसन्धानको क्रममा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा दुप्चेश्वर–७ का ४२ वर्षीय नरबहादुर तामाङ र ४८ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । प्रहरीको अनुसार उनीहरूले एक हजार दरका नक्कली नोट बनाएर बच्चा र गाँउमा चलनचल्तीमार्फत प्रयोगमा ल्याउने गरेको पाइएको छ ।

बजारमा सामाग्री खरिद गर्न आएका बालकहरूको साथबाट एक हजार दरका ६९ थान र पक्राउ परेका व्यक्तिको घरमा खोजतलास गर्दा थप २४ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । “उनीहरूले लामो समयदेखि नक्कली नोट बनाएर प्रयोगमा ल्याउने गरेको पाइएको छ,” प्रहरी नायब उपरीक्षक लामाले भने, “संलग्न अन्य व्यक्ति र प्रयोग भएका उपकरणको खोजी भइरहेको छ ।”

पक्राउ परेकालाई प्रहरीले आज जिल्ला अदालत नुवाकोटबाट ‘खोटा मुद्रासम्बन्धी कसूर’मा कारबाहीको लागी अनुसन्धान गर्न सात दिनको म्याद लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप