१२ बजे १२ समाचार: राष्ट्रपतिद्वारा विधेयक फिर्ता, पैसा दिएर जबर्जस्ती करणीको मुद्दा मिलाउने प्रयास
सारांश
- भक्तपुरमा दिदीबहिनी मृत फेला परेको घटना, उनीहरू भारतबाट भागेर आएका थिए।
- प्रधानमन्त्रीको मन्त्री फेर्ने प्रस्ताव देउवाले अस्वीकार गरे, घुस डिलको आरोप लागेको थियो।
- संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए।
- भारतबाट कुवेत जान लागेका ४७ नेपाली महिलालाई दिल्ली विमानस्थलबाट फिर्ता पठाइयो।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–
१. पैसा दिएर जबर्जस्ती करणीको मुद्दा मिलाउने प्रयास
सुनसरीको देवानगञ्ज–४ कप्तानगञ्जकी एक युवतीले आफूलाई जबरजस्ती करणी गर्नेलाई गाउँ पञ्चायत बसेर मिलाउने प्रयास भएको भन्दै असन्तुष्टि जनाएकी छिन् ।
देवानगञ्ज गाउँपालिका वडा–४ का शनि मेहतामाथि आरोप लगाउँदै उनले मुद्दा मिलाउन स्थानीय नेताहरू र प्रहरी मिलेमतो गरिएको बताएकी छिन् ।
२. विधेयक फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा आधार देखाएर संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् ।
बिहीबार राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा पाँच वटा आधार देखाउँदै विधेयक प्रतिनिधि सभामै फिर्ता पठाएका हुन् ।
३. दिदी बहिनीको मृत्यु
भक्तपुरको थिमी नगरपालिका–८ बोडेस्थित सिन्टीटारमा मृत भेटिएका दिदी बहिनी भारतबाट ३ साताअघि भागेर भक्तपुरमा आएको खुलेको छ । उनीहरू बिहीबार बिहान पौने ७ बजेतिर मृत भेटिएका थिए ।
महाराष्ट्रस्थित मुम्बईको मिरा भाइन्दरबाट १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना भागेर नेपाल आएका हुन् । उनीहरूको स्थायी ठेगाना भने सुर्खेतको पञ्चपुरी नगरपालिका–८ हो ।
प्रहरीका अनुसार उनीहरू स्थानीय चक्रधर प्रजापतिको घरमा डेरा लिएर बस्दै आएका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले सोही घरको डेराको प्यासेजमा झुन्डिएको अवस्थामा दिदी बहिनीको शव भेटिएको रातोपाटीलाई जानकारी दिए ।
४. देउवाले मन्त्री फेर्ने मानेनन्
नेपाली कांग्रेसले संघ सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरू तत्कालका लागि परिवर्तन नगर्ने भएको छ । सरकार गठनको एक वर्ष र कही मन्त्रीहरू ‘घुस डिल’ को काण्डमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग केही मन्त्रीहरू परिवर्तनको प्रस्ताव राखेका थिए । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो ।
५. रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २७ लाख ५० हजार ६ सय ७७ हस्ताक्षर सङ्कलन गरेको छ । पार्टी सभापति रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै गत असार ७ गतेबाट रास्वपाले लामिछानेको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरेको थियो ।
६. मन्त्रिपरिषद्को निर्णय
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णयहरु सार्वजनिक गरेका हुन् ।
साउन १८ गते मेलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागिताका लागि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई स्वीकृती प्रदान गरिएको छ ।
७. लामाको १ वर्ष
नेपाली कांग्रेसका बहादुर सिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनेको एक वर्ष पुगेको छ । २०८१ साउन ८ गते एमाले–कांग्रेस गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका लामाले एक वर्षको अवधिमा खासै उपलब्धि महसुस गराउन सकेका छैनन् ।
बरु आन्तरिक खिचातानी, बजेट विवादका कारण सरकारको कार्य सम्पादन कमजोर देखिन्छ । राजनीतिक भागबन्डाका कारणसमेत सरकार पटक–पटक आलोचित हुँदै आएको छ ।
८. ४७ महिला भारतबाट फर्काइए
भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ ।
दिल्ली विमानस्थलबाट एनओसी बिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही पुर्याइएको छ ।
९ ईभीको कुरा
नेपालमा आर्थिक वर्ष २०८१/८२ मा ८५ अर्ब ७४ करोड ८३ लाख ४९ हजार रुपैयाँ बराबरको सवारी साधन र पार्टपुर्जा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार उक्त मूल्य बराबरका मोटरसाइकल, कार, जीप, बस, ट्रकदेखि टायर, इन्जिन, ब्याट्री र अन्य पार्टपुर्जा आयात भएका हुन् ।
१०. कुलिङ पिरियड
‘संघीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले राजनीतिक दलका नेता तथा कर्मचारी गरेर दर्जनभन्दा बढीसँग बयान लिएको छ ।
११. दुई वर्षमा एक किलोमिटर कालोपत्र
सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्य म्यादभित्र नसकिने निश्चित देखिएको छ । अरनिको राजमार्गअन्तर्गत यो सडक ६ लेनमा विस्तार गर्न थालिएको साढे दुई वर्ष बितिसक्दा जम्मा एक किलोमिटर कालोपत्र गरिएको छ ।
१२. काठमान्डु गोर्खाजको लोगो सार्वजनिक, मुख्य प्रशिक्षकको जिम्मेवारी मोन्टीलाई
काठमान्डु गोर्खाजले नयाँ सिजनको लागि आफ्नो लोगो सार्वजनिक गरेको छ । काठमान्डुले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै लोगो सार्वजनिक गरेको हो ।
काठमान्डुका कार्यकारी निर्देशक सुरज सिंह, कप्तान कारण केसी र नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले लोगो सार्वजनिक गरेका हुन् । काठमान्डुले यो सिजन आफ्नो नाम पनि परिवर्तन गरेको छ । अघिल्लो सिजन काठमान्डुको गुर्खाज राखेको टिमले यो सिजन काठमान्डु गोर्खाज राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण