बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अटो

एक वर्षमा ८५ अर्ब ७४ करोडको सवारी साधन आयात, ईभी कति भित्रिए ?

विद्युतीय गाडी धेरै चीनबाट भित्रिए
बिहीबार, ०८ साउन २०८२, १५ : ४१
बिहीबार, ०८ साउन २०८२

सारांश

  • आर्थिक वर्ष २०८१/८२ मा नेपालमा ८५ अर्ब ७४ करोड रुपैयाँको सवारी साधन र पार्टपुर्जा आयात भएको छ।
  • विद्युतीय सवारीको आयात बढ्दा सरकारले राजस्व संकलनमा वृद्धि गरेको छ, तर चीनको बर्चस्व रहेको देखिन्छ।
  • पछिल्लो समय दुईपाङ्ग्रे सवारी साधनको आयातमा ५० प्रतिशतले वृद्धि भएको छ, र पार्टपुर्जा पनि उल्लेख्य आयात भएको छ।

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ मा ८५ अर्ब ७४ करोड ८३ लाख ४९ हजार रुपैयाँ बराबरको सवारी साधन र पार्टपुर्जा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार उक्त मूल्य बराबरका मोटरसाइकल, कार, जीप, बस, ट्रकदेखि टायर, इन्जिन, ब्याट्री र अन्य पार्टपुर्जा आयात भएका हुन् ।  

यसमा विद्युतीय सवारी साधनको संख्यामा उल्लेख्य वृद्धि देखिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।  

आर्थिक वर्ष २०८१/८२ मा नेपालले सवारी साधन तथा पार्टपुर्जा आयात हुँदा सरकारले ५७ अर्ब ८९ करोड रुपैयाँ राजस्व उठाएको छ । विद्युतीय सवारी साधनमा विभिन्न छुटहरु समेत दिएकाले राजस्वको ठूलो हिस्सा पेट्रोल र डिजेल गाडीबाटै संकलन भएको छ । तर विद्युतीय सवारीमा सरकारले तुलनात्मक रूपमा कम कर लगाए पनि बढ्दो आयातका कारण यस क्षेत्रबाट पनि उल्लेख्य राजस्व संकलन भएको छ ।

३१ अर्ब बराबरका १३ हजार युनिट विद्युतीय गाडी आयात  

पछिल्लो समय विद्युतीय सवारी साधनको आयातमा निरन्तर वृद्धि भइरहेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा विद्युतीय सवारी साधन (ईभी)को आयात थोरै मात्रै वृद्धि भएको छ । 
आर्थिक वर्ष २०८१/८२ को एक वर्षमा साढे १३ हजार ईभी नेपाल भित्रिएको छ । विभागका अनुसार गत आर्थिक वर्षको साउनदेखि असारसम्म १३ हजार ५७८ युनिट ईभी गाडी नेपाल भित्रिएका छन् । 

एक वर्ष अवधिमा ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको १३ हजार ५७८ युनिट विद्युतीय गाडी नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २९ अर्ब ४७ करोड ४३ हजार रुपैयाँ बराबरको ११ हजार ७०१ युनिट विद्युतीय गाडी आयात भएको थियो । 
अघिल्लो आर्थिक वर्ष २०८०/८१ भन्दा २०८१/८२ मा ८७८ युनिट बढी विद्युतीय गाडी आयात भएको छ । नेपालमा विद्युतीय सवारी साधनको आयातबाट सरकारले १९ अर्ब ७० करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष १३ अर्ब ६० करोड ७३ लाख रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो । 

गत आर्थिक वर्षमा ५१ देखि १०० किलोवाट क्षमताका कार, जीप र भ्यान गरी ६ हजार ८८५ युनिट विद्युतीय गाडी आयात  भएका छन् । ती सवारी साधनको आयातबाट मात्रै ९ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । सबैभन्दा बढी विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् । विद्युतीय बस, माइक्रोबस, मोटरसाइकल र तीनपाङ्ग्रे सवारीको आयात भएको छ । 

त्यस्तै, ५० किलोवाटसम्मको चार हजार ७३२ युनिट, १०१ देखि २०० किलोवाटसम्मको एक हजार ३६२ युनिट, २०१ देखि ३०० किलोवाटसम्मको ४२ युनिट र ३०० किलोवाटमाथिको दुई युनिट कार, जीप भ्यान आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । 

व्यावसायिक ईभीको आयात ७३ प्रतिशतले वृद्धि

अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१/८२ मा व्यावसायिक ईभीको आयात ७३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार एक वर्षमा ९ अर्ब ४८ करोड रुपैयाँ बराबरको तीन हजार १३२ युनिट विद्युतीय माइक्रोबस र बस आयात भएको छ । 
सरकारले दुई अर्ब १० करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । तर अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब ९५ करोड रुपैयाँ बराबरको एक हजार ३३० युनिट व्यावसायिक ईभी आयात हुँदा सरकारले ९६ करोड ३४ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो ।

गत वर्ष ११ अर्ब ६ करोड रुपैयाँ बराबरका ३ हजार ८१३ युनिट व्यावसायिक ईभी आयात भएका छन् । यसबाट सरकारले २ अर्ब ७३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो वर्ष १ हजार ५ युनिट व्यावसायिक ईभी आयात गरिएको थियो ।
त्यस्तै, बाइक र स्कुटर गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड रुपैयाँ बराबरका २ लाख १ हजार युनिट बाइक र स्कुटर आयात गरिएको छ । यसबाट सरकारले २४ अर्ब ७३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो वर्ष १ लाख ३४ हजार ५५६ युनिट बाइक र स्कुटर आयात गरिएको थियो ।

इन्धन प्यासेन्जर गाडीको आयात पनि बढेको देखिएको छ । गत आर्थिक वर्ष ६ अर्ब ९३ करोड रुपैयाँ बराबरका ४ हजार ९७८ युनिट इन्धन प्यासेन्जर गाडी आयात भएका छन् । यसबाट सरकारले १६ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो वर्ष ४ हजार २४६ युनिट इन्धन प्यासेन्जर गाडी आयात भएका थिए ।

विद्युतीय सवारी साधनमा चीनको वर्चस्व

आयातमा छिमेकी मुलुक चीनको एकलौटी वर्चस्व देखिएको छ । तथ्याङ्कअनुसार चीनबाट मात्रै विद्युतीय प्यासेन्जर गाडी १० हजार २०७ वटा गाडी आयात भएका छन्, जुन कुल सङ्ख्याको लगभग ७५ प्रतिशत हो। 

चीनपछि विद्युतीय गाडी आयात गर्नेमा भारत दोस्रो स्थानमा छ । भारतबाट पछिल्लो एक वर्षमा विद्युतीय प्यासेन्जर ३ हजार २४६ वटा भित्रिएका छन् । अन्य देशबाट भने निकै कम सङ्ख्यामा गाडी आयात भएका छन् । विद्युतीय प्यासेन्जर मलेसियाबाट ५०, जर्मनीबाट ४५, अमेरिकाबाट ११, दक्षिण कोरियाबाट ६ र इण्डोनेसियाबाट ४ वटा गाडी आयात भएका छन् ।

८५ हाइब्रिड गाडी आयात

गत आर्थिक वर्षमा नेपालमा ३६ करोड ६८ लाख रुपैयाँ बराबरका हाइब्रिड गाडी आयात भएका छन् । भन्सार विभागका अनुसार ८५ वटा हाइब्रिड गाडी भित्रिँदा आयात मूल्यको दोब्बरभन्दा बढी अर्थात् ८९ करोड ४५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
विद्युतीय गाडीको तुलनामा हाइब्रिड गाडीको आयात सङ्ख्यात्मक रूपमा कम भए पनि यसमा लाग्ने उच्च करका कारण राजस्व सङ्कलन भने निकै बढी देखिएको छ ।

नेपालमा हाइब्रिड गाडीको आयात सबैभन्दा बढी जापानबाट भएको छ । जापानबाट ३० वटा हाइब्रिड गाडी भित्रिएका छन् भने इन्डोनेसियाबाट २६ वटा गाडी आयात भएका छन् । सरकारले पूर्ण विद्युतीय गाडीमा भारी कर छुट दिएको छ भने पेट्रोल र विद्युत् दुवैबाट चल्ने हाइब्रिड गाडीमा उच्च कर लगाउँदै आएको छ ।

दुईपाङ्ग्रे सवारी आयातमा ५० प्रतिशत वृद्धि 

पछिल्ला वर्षहरुमा दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको आयात निरन्तर बढिरहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष दुईपाङ्ग्रे सवारी साधनको आयात ५०.१ प्रतिशतले बढेको हो ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष दुई लाख एक हजार ९५२ युनिट दुईपाङ्ग्रे सवारी साधन आयात भएका छन् । एक वर्षको अवधिमा नेपालमा २४ अर्ब ५० करोड ६४ लाख रुपैयाँ बराबरको दुईपाङ्ग्रे इन्धन सवारी साधन आयात भएका हुन् । 

दुईपाङ्ग्रे सवारी साधनको आयातबाट सरकारले २४ अर्ब ७३ करोड ३६ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ५९ करोड रुपैयाँ बराबरको एक लाख ३४ हजार ५३४ युनिट दुईपाङ्ग्रे सवारी आयात भएको थियो । 

पार्टपुर्जा मात्रै ११ अर्बको आयात 

आर्थिक वर्ष २०८१/८२ मा तयारी सवारी साधन बाहेक विभिन्न प्रकारका पार्टपुर्जा मात्रै कुल १० अर्ब ९९ करोड रुपैयाँ बराबरको आयात भएको छ । उक्त पार्टपुर्जाको आयातबाट राज्यकोषमा ४ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
नेपालमा पार्टपुर्जा र एसेसरिजहरु सबैभन्दा धेरै ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको आयात भएको छ । जसबाट १ अर्ब ४० करोड रुपैयाँ राजस्व उठेको छ । बस र ट्रकका लागि इन्जिन जडान गरिएको च्यासिस मात्रै २ अर्ब ६७ करोड रुपैयाँ बराबरको आयात भएको छ । यसबाट सरकारले १ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । 

ट्यांक र सैनिक गाडीका पार्टपुर्जा २ अर्ब ३२ करोड रुपैयाँको आयात भएको छ । जसबाट ३० करोड २७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । 

ब्रेक र त्यसका पार्टपुर्जा ४४ करोड ७३ लाख रुपैयाँ, गाडीको बडी र क्याबिन ४३ करोड ४५ लाख रुपैयाँ, क्लच र त्यसका पार्टपुर्जा ४१ करोड ६० लाख रुपैयाँ र गियर बक्स तथा त्यसका पार्टपुर्जा २० करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभागले जनाएको छ ।

त्यस्तै, अन्य सस्पेन्सन, टायर, बम्पर, सिट बेल्ट, साइकल तथा मोटरसाइकलका पार्टपुर्जा जस्ता सयौं अन्य वस्तुको आयात पनि ठूलो मात्रामा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप