बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पुष्पलालप्रति समर्पित कविता

दीप जो अझै बलिरहेको छ

आइतबार, ११ साउन २०८२, १४ : १४
आइतबार, ११ साउन २०८२

घडीको सुई झैँ थर्थराएको अन्तिम सासको अठोट
माइला, यो दीप बालेँ म
तँ उज्यालो बनिस् भने
अँध्यारोले थाक्नेछ ।

त्यसै दिन एउटा बीउ चुपचाप उम्रिएको थियो
माटोभित्र क्रान्तिको जरा गाड्दै
न रुवाइ थियो त्यो, न हाँसो
थियो केवल वाचा
रगतले लेखिने शपथको बीउ
राणाका दरबार थिए इँटा
जुन सिसा थिएन
भत्काउन सजिलो थिएन
तर त्यो बीउ
लहरा बनेर अंकुरायो
र अन्ततः झिल्के बन्यो ।

जनताको फाटेको मनमा
मलम लगाउन
उनी नेलमा सजिए
तर त्यहाँ थियो सत्यको प्रतिबिम्ब
विचारको शक्ति च्यातिएको थिएन ।

कलकत्ताको धुवाँभित्र
एउटा भेट भयो
अजय चक्रवर्तीको आँखामा पढिएको एक दर्शन
जसले 'पार्टी' होइन
'आस्था' जन्मायो ।

विचारको  तेलले बल्ने
पुष्पलाल बने दीप 
उनले अनुवाद गरे घोषणापत्र
तर शब्दहरू मात्र होइन
विचारको मुटु अनुवाद भयो
नेपाली आत्मामा । 

बन्दीपुरमा उनी  बीउ जस्तै बिउँझिए
सोभियत, चीन सबै यात्राहरू
तिनै जरा फिँजाउने प्रयास थिए
शून्यमा हराएको सपनाको
नक्सा कोर्न ।

तर जब पञ्चायतले कालो बादल ओढ्यो
उनी आकाश भए
गर्जन भए
भूमिगत पृथ्वी भए
जहाँ सपना धेरै बाँकी थिए
अन्ततः साउन ७
भौतिक शरीरमा लाग्यो बिन्दु
तर विचारमा लागेन पूर्णविराम
जसको रेखा अझै निरन्तर छ
हाम्रो आत्माभित्र बगिरहेको छ ।

उनी मरेनन्
उनी दुबो बनेर उम्रिरहेका छन् 
हाम्रै छातीभित्र
हरपल एक प्रश्नको रूपमा
दीप बालेका थियौँ 
विचारको उज्यालो छर्न
के तिम्रो सपना 
पूरा भएको छ आज ?
-खजुरा बाँके

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना पौडेल 'जिज्ञासु'
कल्पना पौडेल 'जिज्ञासु'
लेखकबाट थप