सुदूरपश्चिममा जरो गाडेको छाउगोठ प्रथा किन हट्न सकेन ?
सारांश
- सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाका कारण महिलाको जीवन जोखिममा परेको छ।
- कञ्चनपुरमा छाउगोठमा बसेकी महिलाको सर्पले डसेर मृत्यु भएपछि छाउगोठ भत्काउने अभियान सुरु भएको छ।
- स्थानीय सरकार छाउपडी उन्मूलनका लागि जनचेतना फैलाउने र कडा कदम चाल्ने प्रयास गरिरहेका छन्।
धनगढी । सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाका कारण महिलाको जीवन जोखिममा पर्दै आएको छ । महिनावारी भएका वेला महिलालाई घरबाहिर असुरक्षित तरिकाले छाउगोठमा राख्ने विकृतिविरुद्ध यहाँ विद्रोह सुरु भएको दुई दशकभन्दा बढी भइसक्यो, तर पनि छाउगोठ राख्ने प्रचलन पूर्ण रूपमा हट्न सकेको छैन ।
छाउगोठमा असुरक्षित तरिकाले बस्दा महिला तथा किशोरीको मृत्यु भएका घटनाले वेलावेला छाउपडीको विषयमाथि बहस हुने गर्दछ । अछामको हात्तीकोटबाट बसाइँ सरेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा बस्दै आएकी २८ वर्षीय कमला दमाईको गत असार २८ गते छाउगोठमा बसेका वेला सर्पले डसेर मृत्यु भएको थियो । सो घटनापछि छाउपडी र छाउगोठको विषय फेरि एकपटक गम्भीर बहसमा आएको छ ।
यो दुःखद् घटनापछि कृष्णपुर नगरपालिकाले छाउगोठ भत्काउने अभियान सुरु गरेको छ । नगरप्रमुख हेमराज ओझाका अनुसार नगरपालिकाभित्र सामान्यतया केही छाउगोठ छन् भन्ने जानकारी थियो । स्थानीयले यसलाई संस्कृति र संस्कारजस्तै बनाउँदै आएका कारण स्थानीय तहले कडाइका साथ अनुगमन तथा कारबाही गर्न नसकेको उनको भनाइ छ ।
त्यसो त, विगतमा पनि छाउगोठ भत्काउने र जनचेतना फैलाउने विषयमा धेरै काम भएको हो । कृष्णपुर नगरपालिकाले वडा नम्बर १ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने प्रक्रिया थालेको छ । यसका लागि आवश्यक ५१ वटा सूचकमध्ये छाउगोठ उन्मूलन पनि एक थियो ।
विगत ६ महिनामा त्यहाँका धामीझाँक्रीहरूलाई ‘यो प्राकृतिक कुरा हो, यसले कुनै विपत्ति निम्त्याउँदैन’ भनेर बुझाउने प्रयास गरिएको नगरप्रमुख ओझाले बताए । २२ वटा टोल गठन गरेर जनचेतना फैलाउने र २५० जना बालबालिकालाई भेला गरेर सुरक्षित महिनावारीबारे जानकारी दिने कार्यक्रम भएको उनको भनाइ छ ।

गत वर्ष वडा नम्बर १ को कुमगाडा क्षेत्रमा चार वटा छाउगोठ भत्काइएको थियो । तर, कमला दमाईको घटना साँच्चै दुःखद् भएको मेयर ओझाको भनाइ छ ।
‘उहाँहरूको परिवार लामो समय भारतको सुरतमा बस्नुहुन्थ्यो र यहाँ बच्चाहरू पढाउन भनेर आउनुभएको थियो । उहाँहरूले मेहनतले बनाएको राम्रो घर छ, तर आफ्नो घरमा छाउगोठ नहुँदा, समाजको डरले जेठाजुको घरको छाउगोठमा बस्न जानुभयो र राति करिब साढे नौ बजे सर्पले टोक्यो,’ ओझाले भने ।
मेयर ओझाका अनुसार छाउगोठले निम्त्याउने जोखिम सर्पदंशमात्र होइन, छाउगोठहरू असुरक्षित, सानो र ढोका नभएका हुन्छन् । अहिले समाजमा लागुऔषध दुर्व्यसनजस्ता विकृति बढेको छ । यस्तो अवस्थामा छाउगोठमा बस्ने महिलाहरू अन्य हिंसाको सिकार हुन सक्ने ठुलो जोखिमसमेत रहेको उनले बताए ।
‘कमला बहिनी भारतको सुरतमा बस्दा त पक्कै छाउगोठमा बस्नुहुन्थेन होला । त्यहाँ पनि महिनावारी त हुन्थ्यो नै । यसले देखाउँछ कि यो कस्तो मानसिक दबाब र सामाजिक डर रहेछ,’ नगरप्रमुख ओझाले भने ।
यो घटनापछि छाउगोठ तुरुन्त भत्काउनुपर्छ भन्ने निष्कर्षमा नगरपालिका पुगेको नगरप्रमुख ओझाले जानकारी दिए । ‘हामीले १५ दिनको समय दिएका छौँ र प्रहरीसहितको टोली बनाएर घरघरमा गएर छाउगोठ भत्काउने अभियान सुरु गरेका छौँ,’ उनले भने, ‘केही छाउगोठ भत्किसकेका पनि छन् । हाम्रो नगरपालिकामा करिब २० हजार घरधुरीमध्ये २००–२५० घरमा यो समस्या होला भन्ने प्रारम्भिक अनुमान छ ।’
नगरपालिकाले पीडित परिवार, विशेष गरी मृतकका तीन बाबुनानीको पठनपाठनका लागि नगरपालिकाबाट ५० हजार रुपैयाँ नगद आर्थिक सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख ओझाले जानकारी दिए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर ढकालका अनुसार जिल्लामा छाउगोठ भत्काउने अभियान तीव्र पारिएको छ । कृष्णपुरको घटनापछि जिल्लाका ९ वटै पालिकालाई ऐक्यबद्धता जनाउँदै वडास्तरमा महिला, धामीझाँक्री र बालिकाहरूसम्म पुग्न पत्राचार गरिएको उनको भनाइ छ ।

‘कृष्णपुर र बेदकोट नगरपालिकामा अभियान सुरु भइसकेको छ । अरू पालिकामा तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ । यसमा पालिकाहरू नै अग्रसर हुनुपर्छ । प्रशासनले सहकार्य गरेर साथ दिइरहेको छ,’ उनले भने ।
सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाजन्य कुरीति तथा जातीय विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गर्ने निर्णय सुदूरपश्चिम प्रदेश सरकारले पनि गरेको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काका अनुसार २०७६ सालमा ‘छाउपडी प्रथा उन्मूलन सम्बन्धी नीति’ प्रदेश सरकारले पारित गरेका थियो । सोही नीतिअनुसार मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय समन्वय तथा निर्देशक समिति छ । त्यसैगरी, जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षतामा जिल्लामा र स्थानीय तहका प्रमुखको अध्यक्षतामा पालिकास्तरमा समितिहरू छन् । यी सबैको भूमिका तोकिएको मन्त्री खड्काको भनाइ छ ।
‘अब हामीले यी समितिहरूलाई थप सक्रिय बनाएर सरोकारवाला निकायसँग सहकार्य गर्दै सचेतना फैलाउने र कुरीतिविरुद्ध अभियान चलाउने निर्णय गरेका छौँ,’ उनले भने ।
मन्त्री खड्काका अनुसार केन्द्रले बनाएको कानुनअनुसार कञ्चनपुर जिल्लामा छाउगोठ भत्काउने अभियान सुरु गरिएको छ । प्रदेश सरकारले पनि यसमा सहकार्य गरिरहेको उनको भनाइ छ ।

‘हामीले हाम्रा अन्य कार्यक्रमहरू, जस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक दशक (२०८२–२०९२) जस्ता कार्यक्रममा पनि छाउपडीविरुद्धको अभियानलाई सँगसँगै जोड्नेछौँ,’ मन्त्री खड्काले भने, ‘हाम्रो बुझाइ के हो भने छाउगोठ भत्काएरमात्र पुग्दैन । जबसम्म मानिसको दिमागबाट यो कुरा भत्किँदैन, तबसम्म यो अभियानले पूर्णता पाउँदैन ।’
मन्त्री खड्काका अनुसार यो कुप्रथाका विरुद्धमा प्रदेश र स्थानीय सरकार मिलेर एउटा बृहत् अभियान नै चलाउनुपर्छ भनेर निर्णय गरेका गरिएको हो । प्रदेशका नीतिअन्तर्गत बनेका समितिहरूलाई परिचालन गर्न र जिल्लास्थित सामाजिक विकास कार्यालयमार्फत सञ्चालित ‘मर्यादित महिनावारी’ जस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाएर अगाडि बढाउन निर्देशन दिइएको मन्त्री खड्काले जानकारी दिए ।
सुदूरपश्चिममा छाउपडी र छाउगोठ कुरीतिले सबैभन्दा बढी प्रभावित जिल्ला अछाम हो । यहाँ लामो समयदेखि छाउपडी प्रथा उन्मूलनका लागि राज्य, संघसंस्था, अधिकारकर्मी र पत्रकारहरू लागिपरेका छन् । यद्यपि अझै पूर्ण रूपमा समस्याको समाधान हुन सकेको छैन । मेल्लेख गाउँपालिकाका मनिष साउदका अनुसार यो पालिकामा अझै प्रशस्त छाउगोठ छन् । समाजको डरले असुरक्षित छाउगोठ हटाउन नसकिएको उनको भनाइ छ ।
पहिलाको तुलनामा अहिले अवस्था केही सुधार भए पनि अझै २०–३० प्रतिशत महिला छाउगोठमा बस्ने चलन रहेको साउद बताउँछन् । विकट ठाउँमा यो समस्या झनै गहिरो छ, जहाँ सुत्केरी महिलालाई समेत छाउगोठमा राखिन्छ । राज्यका तर्फबाट बजेट छुट्ट्याएर अभियानलाई प्रभावकारी तुल्याउनुपर्ने उनको बुझाइ छ ।
‘अभियानले मान्छेलाई बुझाउनु, सम्झाउन सक्नुपर्छ, अभियान भनेरमात्रै हुँदैन,’ साउदले भने । तीन तहका सरकार गठन भएपछि यो समस्या समाधानका लागि जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुनुपर्ने उनको भनाइ छ ।
चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले छाउगोठ उन्मुलनका लागि प्रत्येक वडामा अभियान चलाएको जानकारी दिए । अहिले कुन वडामा कति छाउगोठ छन् भनेर तथ्याङ्क संकलनको काम भइरहेको उनले बताए ।

यो पालिकाको वडा नम्बर ७ मा एउटा पनि छाउगोठ नरहेको अध्यक्ष साउदको दाबी छ । ‘त्यहाँ व्यवस्थित तरिकाले मर्यादित महिनावारी व्यवस्थापन गरिएको छ । वडा नम्बर ४ र ५ मा पनि समस्या कम छ, तर वडा नम्बर १ मा अलि बढी समस्या देखिन्छ,’ उनले भने ।
पालिका अध्यक्ष साउदका अनुसार गाउँपालिकाबाटै विज्ञप्ति निकालेर छाउपडी मान्ने वा महिलालाई छाउगोठमा बस्न बाध्य पार्ने परिवारलाई सम्पूर्ण सरकारी सेवा–सुविधाबाट वञ्चित गरिनेछ भनेर जानकारी गराइएको छ ।
‘हामीले यो आर्थिक वर्ष (२०८२/०८३) को बजेटमा पनि यसका लागि कार्यक्रम र बजेटसमेत विनियोजन गरेका छौँ । हाम्रो लक्ष्य यो वर्षभित्र चौरपाटी गाउँपालिकालाई छाउगोठमुक्त घोषणा गर्ने हो ।’
दसैँअगाडि पालिकाले एक चरणको अभियान सञ्चालन गर्ने अध्यक्ष साउदले बताए । उनका अनुसार छाउडपडी प्रथामा जनप्रतिनिधिको भूमिका प्रस्ट छ ।
‘विगतमा पञ्चदेवल, साफेबगरमा भएका घटनाहरूले हामीलाई झस्काएको छ । हामी यो कुरीति हटाउन प्रतिबद्ध छौँ र यसमा कर्मचारीदेखि जनप्रतिनिधिसम्म सबै लागिपरेका छौँ,’ उनले भने ।
मेल्लेखकी माया रोकाया यो कुरीतिविरुद्ध गाउँमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको बताउँछिन् । ‘हामीलाई धेरै पढाउन र बुझ्ने बनाउनुपर्छ । हामी सबै पढेलेखेका भएपछि हामीलाई कसैले पनि गोठमा बस भन्दैनन् । सबैभन्दा बढी ध्यान हाम्रो पढाइमा दिनुपर्छ,’ उनले भनिन् । यस्तो कुरीति अन्त्य गर्न छोरीमान्छे आफैँ बलियो र शिक्षित हुनुपर्ने रोकायाले बताइन् ।
चौरपाटी गाउँपालिकाकी रुपा थापाको पनि यस्तै धारणा छ । उनले भनिन्, ‘पढेलेखेर राम्रो स्थानमा पुगेपछि छाउगोठमा बस भन्ने अवस्था हुँदैन, तर गरिबीका कारण अहिले पनि धेरै छोरीले सानै उमेरमा बिहे गर्ने गरेका छन् । नजिकका जनप्रतिनिधिले यो विषयमा गम्भीर भएर लाग्नुपर्छ ।’
- पीडा भोगेको परिवार सचेत भए पनि नभोगेकाहरू दबाब दिन्छन्
छाउगोठमा बसेर घटना भोगेका परिवारले छाउगोठ भत्काएका छन् । उनीहरू सचेत पनि भएका छन् । ६ वर्ष अगाडि कैलालीको गोदावरी नगरपालिका, हलौडेमा छाउगोठमा बसेकी एक किशोरीको सर्पदंशबाट मृत्यु भएको थियो । उक्त घटनापछि उनका आमाबुबाले तुरुन्तै छाउगोठ भत्काए ।
मृतक किशोरीकी भाउजू अनिता विकले उक्त घटनापछि अहिले छाउगोठमा आफ्नो परिवारका कोही पनि नबस्ने गरेको बताइन् । ‘घटनापछि अहिले आमाबाले घरको अलग्गै कोठा बस भन्छन् । हामी छाउगोठमा कहिल्यै पनि बस्दैनौँ । छाउ त बार्नु नै पर्छ तर अहिले त्यो घटनापछि हामी सुरक्षित तरिकाले बस्ने गरेका छौँ,’ उनले भनिन् ।
गाउँका मान्छेहरूले महिनावारीको समयमा आफूहरू घरमै बस्न थालेपछि संस्कार, परम्परा तोडेर राम्रो नहुने भनेर टिप्पणी भने गर्दै आएको विक सुनाउँछिन् । घटनाबाट परिवारका सदस्य गुमाइसकेकाहरू सचेत भएर त्यस्ता प्रथाविरुद्ध उभिए पनि समाजकै कतिपय सहजै रूपमा छाउगोठ त्याग्नुपर्छ भन्ने मान्यतामा नरहेको उनको भनाइ छ ।
कञ्चनपुरको कृष्णपुरमा पनि कमला दमाईको छाउगोठमा मृत्युपछि सोही ठाउँका स्थानीयहरू छाउगोठ व्यवस्थित बनाउने पक्षमा छन् । ‘छाउगोठमा पुर्खादेखि बसे, पुर्खाले पुजेको ढुंगा हामीले बिगार्नु हुँदैन । छाउगोठ बनाउनुपर्छ भनेर कुलदेवताले भन्छ, कुलदेवताको शरणमा बस्ने हो । नियम तोड्न सक्दैनौँ तर अहिले छाउगोठ व्यस्थित बनाउँछौँ । छोड्न भने सक्दैनौँ,’ स्थानीय चम्पा बुढाले भनिन् ।
स्थानीय धौली दमाईलाई कमलाको घटनाले त्रसित बनाएको छ । ‘छाउगोठ अब व्यवस्थित बनाउँछौँ । घरको आँगनमा सरसफाइ गरेर पङ्खा, बिजुली सबै व्यवस्थित भएको सानो घर बनाएर महिनावारी भएको वेला बस्ने भन्ने छ,’ उनले भनिन् ।
यो ठाउँमा स्थानीयहरू व्यवस्थित गोठ बनाउने योजनामा छन् ।
सुदूरपश्चिममा छाउगोठ भत्काउन थालेको एक दशकभन्दा बढी समय बित्यो, तर केही सुधार भए पनि यो कुप्रथा पूर्ण रूपमा उन्मूलन हुन सकेको छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण