बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : छाउपडी प्रथा

सुदूरपश्चिममा जरो गाडेको छाउगोठ प्रथा किन हट्न सकेन ?

मङ्गलबार, १३ साउन २०८२, १० : १९
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाका कारण महिलाको जीवन जोखिममा परेको छ।
  • कञ्चनपुरमा छाउगोठमा बसेकी महिलाको सर्पले डसेर मृत्यु भएपछि छाउगोठ भत्काउने अभियान सुरु भएको छ।
  • स्थानीय सरकार छाउपडी उन्मूलनका लागि जनचेतना फैलाउने र कडा कदम चाल्ने प्रयास गरिरहेका छन्।

धनगढी । सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाका कारण महिलाको जीवन जोखिममा पर्दै आएको छ । महिनावारी भएका वेला महिलालाई घरबाहिर असुरक्षित तरिकाले छाउगोठमा राख्ने विकृतिविरुद्ध यहाँ विद्रोह सुरु भएको दुई दशकभन्दा बढी भइसक्यो, तर पनि छाउगोठ राख्ने प्रचलन पूर्ण रूपमा हट्न सकेको छैन ।

छाउगोठमा असुरक्षित तरिकाले बस्दा महिला तथा किशोरीको मृत्यु भएका घटनाले वेलावेला छाउपडीको विषयमाथि बहस हुने गर्दछ । अछामको हात्तीकोटबाट बसाइँ सरेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा बस्दै आएकी २८ वर्षीय कमला दमाईको गत असार २८ गते छाउगोठमा बसेका वेला सर्पले डसेर मृत्यु भएको थियो । सो घटनापछि छाउपडी र छाउगोठको विषय फेरि एकपटक गम्भीर बहसमा आएको छ ।

यो दुःखद् घटनापछि कृष्णपुर नगरपालिकाले छाउगोठ भत्काउने अभियान सुरु गरेको छ । नगरप्रमुख हेमराज ओझाका अनुसार नगरपालिकाभित्र सामान्यतया केही छाउगोठ छन् भन्ने जानकारी थियो । स्थानीयले यसलाई संस्कृति र संस्कारजस्तै बनाउँदै आएका कारण स्थानीय तहले कडाइका साथ अनुगमन तथा कारबाही गर्न नसकेको उनको भनाइ छ ।

त्यसो त, विगतमा पनि छाउगोठ भत्काउने र जनचेतना फैलाउने विषयमा धेरै काम भएको हो । कृष्णपुर नगरपालिकाले वडा नम्बर १ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने प्रक्रिया थालेको छ । यसका लागि आवश्यक ५१ वटा सूचकमध्ये छाउगोठ उन्मूलन पनि एक थियो ।

विगत ६ महिनामा त्यहाँका धामीझाँक्रीहरूलाई ‘यो प्राकृतिक कुरा हो, यसले कुनै विपत्ति निम्त्याउँदैन’ भनेर बुझाउने प्रयास गरिएको नगरप्रमुख ओझाले बताए । २२ वटा टोल गठन गरेर जनचेतना फैलाउने र २५० जना बालबालिकालाई भेला गरेर सुरक्षित महिनावारीबारे जानकारी दिने कार्यक्रम भएको उनको भनाइ छ ।

hemraj-ojha

गत वर्ष वडा नम्बर १ को कुमगाडा क्षेत्रमा चार वटा छाउगोठ भत्काइएको थियो । तर, कमला दमाईको घटना साँच्चै दुःखद् भएको मेयर ओझाको भनाइ छ ।

‘उहाँहरूको परिवार लामो समय भारतको सुरतमा बस्नुहुन्थ्यो र यहाँ बच्चाहरू पढाउन भनेर आउनुभएको थियो । उहाँहरूले मेहनतले बनाएको राम्रो घर छ, तर आफ्नो घरमा छाउगोठ नहुँदा, समाजको डरले जेठाजुको घरको छाउगोठमा बस्न जानुभयो र राति करिब साढे नौ बजे सर्पले टोक्यो,’ ओझाले भने ।

मेयर ओझाका अनुसार छाउगोठले निम्त्याउने जोखिम सर्पदंशमात्र होइन, छाउगोठहरू असुरक्षित, सानो र ढोका नभएका हुन्छन् । अहिले समाजमा लागुऔषध दुर्व्यसनजस्ता विकृति बढेको छ । यस्तो अवस्थामा छाउगोठमा बस्ने महिलाहरू अन्य हिंसाको सिकार हुन सक्ने ठुलो जोखिमसमेत रहेको उनले बताए ।

‘कमला बहिनी भारतको सुरतमा बस्दा त पक्कै छाउगोठमा बस्नुहुन्थेन होला । त्यहाँ पनि महिनावारी त हुन्थ्यो नै । यसले देखाउँछ कि यो कस्तो मानसिक दबाब र सामाजिक डर रहेछ,’ नगरप्रमुख ओझाले भने ।

यो घटनापछि छाउगोठ तुरुन्त भत्काउनुपर्छ भन्ने निष्कर्षमा नगरपालिका पुगेको नगरप्रमुख ओझाले जानकारी दिए । ‘हामीले १५ दिनको समय दिएका छौँ र प्रहरीसहितको टोली बनाएर घरघरमा गएर छाउगोठ भत्काउने अभियान सुरु गरेका छौँ,’ उनले भने, ‘केही छाउगोठ भत्किसकेका पनि छन् । हाम्रो नगरपालिकामा करिब २० हजार घरधुरीमध्ये २००–२५० घरमा यो समस्या होला भन्ने प्रारम्भिक अनुमान छ ।’

नगरपालिकाले पीडित परिवार, विशेष गरी मृतकका तीन बाबुनानीको पठनपाठनका लागि नगरपालिकाबाट ५० हजार रुपैयाँ नगद आर्थिक सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख ओझाले जानकारी दिए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर ढकालका अनुसार जिल्लामा छाउगोठ भत्काउने अभियान तीव्र पारिएको छ । कृष्णपुरको घटनापछि जिल्लाका ९ वटै पालिकालाई ऐक्यबद्धता जनाउँदै वडास्तरमा महिला, धामीझाँक्री र बालिकाहरूसम्म पुग्न पत्राचार गरिएको उनको भनाइ छ ।

kirshanpur ko chhaugotha

‘कृष्णपुर र बेदकोट नगरपालिकामा अभियान सुरु भइसकेको छ । अरू पालिकामा तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ । यसमा पालिकाहरू नै अग्रसर हुनुपर्छ । प्रशासनले सहकार्य गरेर साथ दिइरहेको छ,’ उनले भने ।

सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाजन्य कुरीति तथा जातीय विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गर्ने निर्णय सुदूरपश्चिम प्रदेश सरकारले पनि गरेको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काका अनुसार २०७६ सालमा ‘छाउपडी प्रथा उन्मूलन सम्बन्धी नीति’ प्रदेश सरकारले पारित गरेका थियो । सोही नीतिअनुसार मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय समन्वय तथा निर्देशक समिति छ । त्यसैगरी, जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षतामा जिल्लामा र स्थानीय तहका प्रमुखको अध्यक्षतामा पालिकास्तरमा समितिहरू छन् । यी सबैको भूमिका तोकिएको मन्त्री खड्काको भनाइ छ ।

‘अब हामीले यी समितिहरूलाई थप सक्रिय बनाएर सरोकारवाला निकायसँग सहकार्य गर्दै सचेतना फैलाउने र कुरीतिविरुद्ध अभियान चलाउने निर्णय गरेका छौँ,’ उनले भने ।

मन्त्री खड्काका अनुसार केन्द्रले बनाएको कानुनअनुसार कञ्चनपुर जिल्लामा छाउगोठ भत्काउने अभियान सुरु गरिएको छ । प्रदेश सरकारले पनि यसमा सहकार्य गरिरहेको उनको भनाइ छ ।

meghraj-khadka

‘हामीले हाम्रा अन्य कार्यक्रमहरू, जस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक दशक (२०८२–२०९२) जस्ता कार्यक्रममा पनि छाउपडीविरुद्धको अभियानलाई सँगसँगै जोड्नेछौँ,’ मन्त्री खड्काले भने, ‘हाम्रो बुझाइ के हो भने छाउगोठ भत्काएरमात्र पुग्दैन । जबसम्म मानिसको दिमागबाट यो कुरा भत्किँदैन, तबसम्म यो अभियानले पूर्णता पाउँदैन ।’

मन्त्री खड्काका अनुसार यो कुप्रथाका विरुद्धमा प्रदेश र स्थानीय सरकार मिलेर एउटा बृहत् अभियान नै चलाउनुपर्छ भनेर निर्णय गरेका गरिएको हो । प्रदेशका नीतिअन्तर्गत बनेका समितिहरूलाई परिचालन गर्न र जिल्लास्थित सामाजिक विकास कार्यालयमार्फत सञ्चालित ‘मर्यादित महिनावारी’ जस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाएर अगाडि बढाउन निर्देशन दिइएको मन्त्री खड्काले जानकारी दिए ।

सुदूरपश्चिममा छाउपडी र छाउगोठ कुरीतिले सबैभन्दा बढी प्रभावित जिल्ला अछाम हो । यहाँ लामो समयदेखि छाउपडी प्रथा उन्मूलनका लागि राज्य, संघसंस्था, अधिकारकर्मी र पत्रकारहरू लागिपरेका छन् । यद्यपि अझै पूर्ण रूपमा समस्याको समाधान हुन सकेको छैन । मेल्लेख गाउँपालिकाका मनिष साउदका अनुसार यो पालिकामा अझै प्रशस्त छाउगोठ छन् । समाजको डरले असुरक्षित छाउगोठ हटाउन नसकिएको उनको भनाइ छ ।

पहिलाको तुलनामा अहिले अवस्था केही सुधार भए पनि अझै २०–३० प्रतिशत महिला छाउगोठमा बस्ने चलन रहेको साउद बताउँछन् । विकट ठाउँमा यो समस्या झनै गहिरो छ, जहाँ सुत्केरी महिलालाई समेत छाउगोठमा राखिन्छ । राज्यका तर्फबाट बजेट छुट्ट्याएर अभियानलाई प्रभावकारी तुल्याउनुपर्ने उनको बुझाइ छ ।

‘अभियानले मान्छेलाई बुझाउनु, सम्झाउन सक्नुपर्छ, अभियान भनेरमात्रै हुँदैन,’ साउदले भने । तीन तहका सरकार गठन भएपछि यो समस्या समाधानका लागि जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुनुपर्ने उनको भनाइ छ । 

चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले छाउगोठ उन्मुलनका लागि प्रत्येक वडामा अभियान चलाएको जानकारी दिए । अहिले कुन वडामा कति छाउगोठ छन् भनेर तथ्याङ्क संकलनको काम भइरहेको उनले बताए ।

bhim bahadur saoud chaurpati gaupalika achham

यो पालिकाको वडा नम्बर ७ मा एउटा पनि छाउगोठ नरहेको अध्यक्ष साउदको दाबी छ । ‘त्यहाँ व्यवस्थित तरिकाले मर्यादित महिनावारी व्यवस्थापन गरिएको छ । वडा नम्बर ४ र ५ मा पनि समस्या कम छ, तर वडा नम्बर १ मा अलि बढी समस्या देखिन्छ,’ उनले भने ।

पालिका अध्यक्ष साउदका अनुसार गाउँपालिकाबाटै विज्ञप्ति निकालेर छाउपडी मान्ने वा महिलालाई छाउगोठमा बस्न बाध्य पार्ने परिवारलाई सम्पूर्ण सरकारी सेवा–सुविधाबाट वञ्चित गरिनेछ भनेर जानकारी गराइएको छ ।

‘हामीले यो आर्थिक वर्ष (२०८२/०८३) को बजेटमा पनि यसका लागि कार्यक्रम र बजेटसमेत विनियोजन गरेका छौँ । हाम्रो लक्ष्य यो वर्षभित्र चौरपाटी गाउँपालिकालाई छाउगोठमुक्त घोषणा गर्ने हो ।’

दसैँअगाडि पालिकाले एक चरणको अभियान सञ्चालन गर्ने अध्यक्ष साउदले बताए । उनका अनुसार छाउडपडी प्रथामा जनप्रतिनिधिको भूमिका प्रस्ट छ ।

‘विगतमा पञ्चदेवल, साफेबगरमा भएका घटनाहरूले हामीलाई झस्काएको छ । हामी यो कुरीति हटाउन प्रतिबद्ध छौँ र यसमा कर्मचारीदेखि जनप्रतिनिधिसम्म सबै लागिपरेका छौँ,’ उनले भने ।

मेल्लेखकी माया रोकाया यो कुरीतिविरुद्ध गाउँमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको बताउँछिन् । ‘हामीलाई धेरै पढाउन र बुझ्ने बनाउनुपर्छ । हामी सबै पढेलेखेका भएपछि हामीलाई कसैले पनि गोठमा बस भन्दैनन् । सबैभन्दा बढी ध्यान हाम्रो पढाइमा दिनुपर्छ,’ उनले भनिन् । यस्तो कुरीति अन्त्य गर्न छोरीमान्छे आफैँ बलियो र शिक्षित हुनुपर्ने रोकायाले बताइन् ।

चौरपाटी गाउँपालिकाकी रुपा थापाको पनि यस्तै धारणा छ । उनले भनिन्, ‘पढेलेखेर राम्रो स्थानमा पुगेपछि छाउगोठमा बस भन्ने अवस्था हुँदैन, तर गरिबीका कारण अहिले पनि धेरै छोरीले सानै उमेरमा बिहे गर्ने गरेका छन् । नजिकका जनप्रतिनिधिले यो विषयमा गम्भीर भएर लाग्नुपर्छ ।’

  • पीडा भोगेको परिवार सचेत भए पनि नभोगेकाहरू दबाब दिन्छन्

छाउगोठमा बसेर घटना भोगेका परिवारले छाउगोठ भत्काएका छन् । उनीहरू सचेत पनि भएका छन् । ६ वर्ष अगाडि कैलालीको गोदावरी नगरपालिका, हलौडेमा छाउगोठमा बसेकी एक किशोरीको सर्पदंशबाट मृत्यु भएको थियो । उक्त घटनापछि उनका आमाबुबाले तुरुन्तै छाउगोठ भत्काए ।

मृतक किशोरीकी भाउजू अनिता विकले उक्त घटनापछि अहिले छाउगोठमा आफ्नो परिवारका कोही पनि नबस्ने गरेको बताइन् । ‘घटनापछि अहिले आमाबाले घरको अलग्गै कोठा बस भन्छन् । हामी छाउगोठमा कहिल्यै पनि बस्दैनौँ । छाउ त बार्नु नै पर्छ तर अहिले त्यो घटनापछि हामी सुरक्षित तरिकाले बस्ने गरेका छौँ,’ उनले भनिन् ।

गाउँका मान्छेहरूले महिनावारीको समयमा आफूहरू घरमै बस्न थालेपछि संस्कार, परम्परा तोडेर राम्रो नहुने भनेर टिप्पणी भने गर्दै आएको विक सुनाउँछिन् । घटनाबाट परिवारका सदस्य गुमाइसकेकाहरू सचेत भएर त्यस्ता प्रथाविरुद्ध उभिए पनि समाजकै कतिपय  सहजै रूपमा छाउगोठ त्याग्नुपर्छ भन्ने मान्यतामा नरहेको उनको भनाइ छ ।

कञ्चनपुरको कृष्णपुरमा पनि कमला दमाईको छाउगोठमा मृत्युपछि सोही ठाउँका स्थानीयहरू छाउगोठ व्यवस्थित बनाउने पक्षमा छन् । ‘छाउगोठमा पुर्खादेखि बसे, पुर्खाले पुजेको ढुंगा हामीले बिगार्नु हुँदैन । छाउगोठ बनाउनुपर्छ भनेर कुलदेवताले भन्छ, कुलदेवताको शरणमा बस्ने हो । नियम तोड्न सक्दैनौँ तर अहिले छाउगोठ व्यस्थित बनाउँछौँ । छोड्न भने सक्दैनौँ,’ स्थानीय चम्पा बुढाले भनिन् ।

स्थानीय धौली दमाईलाई कमलाको घटनाले त्रसित बनाएको छ । ‘छाउगोठ अब व्यवस्थित बनाउँछौँ । घरको आँगनमा सरसफाइ गरेर पङ्खा, बिजुली सबै व्यवस्थित भएको सानो घर बनाएर महिनावारी भएको वेला बस्ने भन्ने छ,’ उनले भनिन् ।

यो ठाउँमा स्थानीयहरू व्यवस्थित गोठ बनाउने योजनामा छन् ।

सुदूरपश्चिममा छाउगोठ भत्काउन थालेको एक दशकभन्दा बढी समय बित्यो, तर केही सुधार भए पनि यो कुप्रथा पूर्ण रूपमा उन्मूलन हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप