मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

विप्लवले गरे चार दलीय समाजवादी मोर्चा विघटनको प्रस्ताव

मङ्गलबार, १३ साउन २०८२, १८ : ०७
मङ्गलबार, १३ साउन २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले चार दलीय समाजवादी मोर्चा विघटन गर्न प्रस्ताव गरेका छन् ।

मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकमा मोर्चाका संयोजक समेत रहेका विप्लवले यस्तो प्रस्ताव गरेका हुन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले तत्काल मोर्चा विघटन गर्दा राम्रो सन्देश नजाने भन्दै विप्लवको प्रस्ताव अहिले नै कार्यान्वयन गर्नु उपयुक्त नहुने धारणा राखेका थिए ।

‘विप्लवजीले मोर्चामा समय दिने कुरामा पनि नेताहरुमा समस्या देखियो र हामीले भनेजसरी गतिविधि गर्ने कुरामा पनि समस्या नै भयो’, बैठकमा विप्लवको भनाइ उद्धृत गर्दै स्रोतले रातोपाटीसँग भन्यो, ‘यसले गर्दा यो मोर्चा अहिले स्थगित गर्दिउँ ।’

नेता विप्लवले बरु अलि चल्नेगरी दुई-चार महिना वर्कआउट गरेर पुन: सुचारु गरौं भन्ने प्रस्तावमा अरु नेताहरुले असहमति जनाएका थिए ।

‘तर अरु नेताहरुले कमजोरी हटाउने र उहाँलाई नै अध्यक्ष राख्ने भनेपछि त्यसैमा सहमति भयो’, स्रोतले भन्यो, ‘स्थगित पनि नगरौं र तपाईंले संयोजक पनि नछोड्नु भनेपछि उहाँ सहमति हुनुभयो ।’

बैठकमा मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्न नसकेको निष्कर्ष पनि निकालेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाका सबल पक्ष र दुर्बल पक्षको समीक्षा भएको भन्दै यसलाई प्रभावकारी बनाउन अझ सुदृढ गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको बताए ।

‘यस बीचमा भए गरेका काममा मोर्चा सफल रह्यो भन्ने निष्कर्ष छ । तर यसका केही समस्या छन्,’ विश्वकर्माले बैठकपछि भने, ‘जुन ढंगले गति लिनुपर्थ्यो । जनता र मोर्चामा सहभागी पार्टीका नेता र कार्यकर्ताका अपेक्षा, इमानदार नेता कार्यकर्ताको अपेक्षालाई सशक्त काममा केही सीमा रहे’, उनले भने, ‘जसकारण पछिल्ला दिनमा अलिकति प्रश्न उठेका छन् । अब निर्ममतापूर्वक सच्याउनेतिर लानुपर्नेमा हामी पुगेका छौं ।’

नेकपा एकीकृत समाजवादीका नेता प्रमेश हमालले मोर्चाको कामको समीक्षा गर्दै आगामी दिनमा थप सशक्त बनाउने प्रस्ताव पारित भएको बताए ।

‘मोर्चाको कार्यक्रमिक प्रस्ताव परिमार्जनसहित पारित भएको छ भने विचार मिल्नेहरुलाई मोर्चामा आवद्ध गराउने निर्णय भएको छ’, हमालले रातोपाटीसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप