बोर्डिङ स्कुलमात्र अब्बल हुन्छन् भन्ने भाष्य तोड्दै सामुदायिक विद्यालयहरू
सारांश
- बुटवलका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ, जसले गर्दा भर्नाका लागि प्रतिस्पर्धा बढेको छ।
- विद्यालयहरूले भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा र अंग्रेजी माध्यमको पढाइमा जोड दिएका छन्, जसले गर्दा अभिभावक आकर्षित भएका छन्।
- कक्षा कोठाको अभाव र आर्थिक स्रोतको कमीका कारण विद्यालयहरूले विद्यार्थी भर्ना सीमित गर्नुपरेको छ।
बुटवल । बागलुङको बुर्तिवाङबाट १७ वर्ष अगाडि बुटवल झरेका विमल परियार रानीगञ्जस्थित जनशक्ति टोलमा बस्ने गर्दछन् । उनका छोरा विशाल बुटवलकै नवीन औद्योगिक कदर बहादुर रीता माविमा कक्षा १० मा पढ्दैछन् ।

विशाल आफ्नो कक्षाका अब्बल विद्यार्थी हुन् । फर्निचर मिस्त्रीको काम गर्दै आएका विमल आफ्नो छोरा विशालको पढाइबाट उत्साहित छन् । ‘आफूले मिस्त्री काम गरियो, यही जानेको थियो,’ उनले भने, ‘छोराले सिभिल इन्जिनियरिङमा चासो राख्यो । पढाइ पनि राम्रै छ ।’
प्राविधिक धार अन्तर्गत कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ विषयसमेत यो विद्यालयमा पढाइन्छ । विमलको कान्छो छोरा विकास पनि नवीन औद्योगिक कदर बहादुर रीता माविमै कक्षा ५ मा पढ्दैछन् ।

बुटवल उपमहानगरपालिका–११, माझगाउँका मोहन बस्यालले आफ्नी छोरी मोनिकालाई इन्जिनियर बनाउने उद्देश्यका साथ नवीन माविमै पढाए । कक्षा ९ देखि यो स्कुलमा पढेकी मोनिकाले कक्षा १२ मा सवइन्जिनियरिङमा राम्रो अङ्क ल्याएर अहिले नेपाल इन्जिनियरिङ कलेज, ललितपुरमा पूर्ण छात्रवृत्तिमा पढ्ने अवसर पाएकी छन् ।
बुटवलको नवीन मावि देशका त्यस्ता सामुदायिक विद्यालयमा गनिन्छ, जहाँ पढेका विद्यार्थीले बोर्डिङ स्कुलका विद्यार्थीभन्दा कम शैक्षिक स्तरमा आफूलाई पाउँदैनन् ।

कक्षा ९ देखि प्राविधिक धारतर्फ ४० जना विद्यार्थीले अध्ययन गर्ने अवसर पाउने विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए ।
बुटवलका सामुदायिक विद्यालयहरूमा कालिका, कान्ति, नवीन माविले प्राविधिक धारतर्फ पनि अध्यापन गराउने गरेका छन् । नवीनमा सिभिल इन्जिनियरिङ, कालिका र कान्तिमा कम्प्युटर इन्जिनियरिङ पढाइ हुने गरेको छ । प्राविधिक धारको पढाइले विद्यार्थीलाई जीवन उपयोगी शिक्षामा मद्दत पुगेको कालिका माविका प्रधानाध्यापक दिनेश थापाले बताए ।

बुटवलकै अक्सफोर्ड बोर्डिङ स्कुलमा कक्षा १० सम्म पढेका सुशान्त बस्याल गत वर्षको एसईईपछि नवीन औद्योगिक माविमा उच्च माध्यमिक तह अध्ययन गर्न आए । विज्ञान विषय लिएका पढाइ राम्रो भएकाले निजी विद्यालय छाडेर यता आएको बताउँछन् ।
सुशान्तकी आमा सरस्वती बस्यालले निजी विद्यालयको तुलनामा नवीन औद्योगिक विद्यालयको पढाइ राम्रो र खर्च पनि कम लाग्ने भएकाले छोरालाई यता सारेको बताइन् ।
बुटवलकै लक्ष्मीनगर निवासी गीता गुरुङले छोरी उर्मिलालाई कान्ति माविमा पढाइरहेकी छन् । ‘छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन अभिभावकले मरिहत्ते गरेको देख्छु,’ गीताले भनिन्, ‘निजीमा पैसा पनि धेरै लाग्छ, थोरै खर्चमा सामुदायिक विद्यालयमै निजीको भन्दा राम्रो पढाइ हुने भएकाले मैले त छोरीलाई घर नजिकैको कान्ति माविमा पढाउँदै आएकी छु ।’

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका अमिर बेल्वासे बोर्डिङ स्कुल छाडेर कान्ति माविमा भर्ना भए । कक्षा ११ मा पढ्दै गरेका उनले विद्यालयको वातावरण र शैक्षिक गुणस्तर राम्रो भएकाले सामुदायिक विद्यालयमै भर्ना भएको प्रस्ट पारे ।
शिक्षकहरू दक्ष हुनका साथै राम्रोसँग अभ्यास गर्न पाउने भएकाले भविष्यमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्नेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।
देवीनगरका ज्ञानेन्द्र कार्कीले आफ्नो छोरालाई निमावि तहदेखि सामुदायिक विद्यालयमा सारेका छन् । प्राथमिक तह बोर्डिङ स्कुलमा पढाएका उनले सामुदायिक विद्यालय पनि बोर्डिङभन्दा कम नभएपछि छोरालाई सामुदायिक विद्यालयमा सारेका हुन् ।

‘बोर्डिङमा पढाउँदा खर्च धेरै लाग्छ,’ उनले भने, ‘अहिले सामुदायिक विद्यालयमै अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेको छ । किन बेकारमा बोर्डिङ स्कुलमा पढाइरहनु ?’
ज्ञानेन्द्रकै जस्तो सोच भएका अभिभावक बुटवलमा धेरै भेटिन्छन् । सानो कक्षामा बोर्डिङ स्कुलमा पढाउने र ५ देखि ९ सम्म पढाएर सामुदायिक विद्यालयमा आफ्ना छोराछोरीलाई सार्ने अभिभावक प्रशस्त छन् ।
बुटवलका केही सामुदायिक विद्यालयले निकै लोकप्रियता पाएका छन् । ती स्कुलमा विद्यार्थी भर्नाका लागि निकै ठुलो प्रतिस्पर्धा नै हुने गरेको छ । सीमित सिटमा भर्ना गर्ने तर सामुदायिक विद्यालयमा भर्ना हुन चाहनेको संख्या निकै भएपछि प्रतिस्पर्धा तीव्र हुने गरेको छ । जबकि बोर्डिङ स्कुलमा विद्यार्थीको भर्ना सहजै हुने अभिभावकहरू बताउँछन् ।

कम खर्चमा बोर्डिङ स्कुल सरहकै सुविधा र गुणस्तरको पढाइ हुन थालेपछि अभिभावक तथा विद्यार्थीहरू सामुदायिक विद्यालयतिर केन्द्रित हुन थालेको अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली बताउँछन् ।
बुटवल उपमहानगरपालिकाको शिक्षा शाखाका अनुसार बुटवलमा कुल ३९ सामुदायिक विद्यालयमध्ये २२ वटा माध्यमिक विद्यालय छन् । संस्थागततर्फ ५९ वटा विद्यालयमध्ये ४९ वटा माध्यमिक विद्यालय छन् ।
उपमहानगरपालिकाका शिक्षा उपनिर्देशक टीकाराम पन्थीले बुटवललाई देशमै उत्कृष्ट शिक्षाको हब बनाउने लक्ष्यसहित काम भइरहेको दाबी गरे । उपमहानगरले शैक्षिक गुणस्तर सुधारका लागि नीतिगत पहल, भौतिक पूर्वाधार विकासमा उल्लेख्य लगानी गरिरहेको उनको भनाइ छ ।

यसका अतिरिक्त शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्रीको सुनिश्चितता, पाठ्यक्रम पुनरवलोकनजस्ता काम भइरहेको पन्थीले बताए । सूचना प्रविधिमा आधारित शिक्षा, शिक्षकहरूको क्षमता विकासका साथै विद्यार्थी केन्द्रित शिक्षण विधि, प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणाली रहेको उनले प्रस्ट पारे ।
- सामुदायिक विद्यालयमा पनि छ यातायातको व्यवस्था
बुटवलका निजी विद्यालयहरूले धेरै पहिलेदेखि विद्यार्थीहरूलाई स्कुल ल्याउन र घर पुर्याउन यातायात सेवा सञ्चालन गरेका थिए । पछिल्लो समय बुटवलका सामुदायिक विद्यालयहरूले पनि बस सञ्चालन गरेर विद्यार्थीहरू ओसार्न थालेका छन् । जसले गर्दा टाढा रहेका विद्यार्थीलाई पनि यातायात असुविधाकै कारण सामुदायिक विद्यालयमा पढ्नबाट वञ्चित हुनुपर्ने बाध्यता अन्त्य भएको छ ।

कान्ति मावि, कालिका मावि, नवीन औद्योगिक कदर बहादुर मावि लगायतले विद्यालय बस सञ्चालन गरेका हुन् । यी स्कुल बस बुटवल उपमहानगरपालिका आसपासका पालिकासम्म पुगेर विद्यार्थी ओसार्ने र घर पुर्याउने गर्दा विद्यार्थीलाई धेरै सहज भएको छ । खासगरी उच्च माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीलाई स्कुल बस सञ्चालनले फाइदा भएको छ ।
- कक्षा कोठाको अभाव
शैक्षिक सत्र २०८१ मा सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत देशका १० सामुदायिक विद्यालयमध्ये तीन वटा बुटवलका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बुटवल उपमहानगरपालिकास्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालय सर्वाधिक विद्यार्थी अध्ययनरत विद्यालयको सूचीमा पहिलो नम्बरमा छ । सो विद्यालयमा ७ हजार ४६७ विद्यार्थी अध्ययनरत छन् । त्यस्तै, चौथो स्थानमा बुटवलकै कान्ति माध्यमिक विद्यालय छ, जहाँ ५ हजार ३२४ विद्यार्थी छन् । सातौँ स्थानमा नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय छ, जसमा ४ हजार ४३२ विद्यार्थी अध्ययनरत छन् ।
_Gud81xVcxr.jpg)
शिक्षा विकास तथा समन्वय इकाई, रुपन्देहीका प्रमुख माधव बन्जाडेले देशमै धेरै विद्यार्थी रहेका १० शीर्ष सामुदायिक विद्यालयमध्ये बुटवलका मात्रै तीन वटा रहनुले बुटवल शैक्षिक हबका रूपमा विकास हुँदै गएको गतिलो उदाहरण दिएको बताए । ती विद्यालयमा कक्षा कोठाको अभाव रहेको उनको भनाइ छ । कक्षा कोठा उपलब्ध हुने हो भने ती विद्यालयमा पढ्ने विद्यार्थीको संख्या अझ बढ्ने उनले प्रस्ट पारे ।
सुविधा सम्पन्न भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा र अङ्ग्रेजी माध्यमको पढाइले पछिल्ला वर्ष रुपन्देहीका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो । बुटवलमा संस्थागत विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको लर्को नै लाग्ने गरेको छ ।
‘विश्वविद्यालय’ जस्ता देखिने केही सामुदायिक स्कुलमा विद्यार्थीको चाप थेग्न हम्मे–हम्मे पर्ने गरेको सम्बन्धित विद्यालयका शिक्षक बताउँछन् ।
बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालय देशभरका विद्यालयमध्ये सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालय हो । ‘सेक्टर वान’ र ‘सेक्टर टु’ गरी सञ्चालन गरिए पनि नयाँ भर्ना धेरै लिन सक्ने अवस्था नरहेको विद्यालयका प्रधानाध्यापक दिनेश थापा बताउँछन् ।

बुटवल उपमहानगरपालिका–१० स्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालयले राष्ट्रकै सर्वोेत्कृष्ट सामुदायिक विद्यालय अवार्ड जितेको छ ।
बुटवलको नवीन औद्योगिक माविमा पनि यस्तै अवस्था छ । उक्त विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले भौतिक संरचनाको अभावकै कारण धेरै विद्यार्थी भर्ना गर्न नसकिने बताए ।
‘पर्याप्त कक्षा कोठा नै छैनन् । २० देखि २५ वटा कक्षाकोठा थप गर्नुपर्ने अवस्था छ । शिक्षकहरू पनि थप गर्न सक्ने अवस्था छैन, जसले गर्दा विद्यार्थी भर्ना सीमित गर्नुपरेको छ’, उनले भने ।
- आकर्षण बढ्नुका कारण
बुटवलका सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढ्नुमा विभिन्न कारण छन् । शैक्षिक गुणस्तर मुख्य कारण हो भने विद्यालयको वातावरण र भौतिक संरचना, सुविधा अर्को कारण हो ।
बुटवल–४ स्थित कान्ति मावि प्रवेश गर्नासाथ हरियाली वातावरण देखिन्छ । विद्यालयको चौरमा दुबो रोपिएको छ भने विभिन्न जातका रुखलाई हाँगा मिलाएर चिटिक्क बनाइएको छ । केही रुखमा चौतारा पनि बनाइएको छ ।
विद्यालयका विभिन्न ब्लकलाई बुटवलको ऐतिहासिक चिनारी बनेका सम्पदा र स्थलको नाम दिएर नामकरण गरिएको छ । विद्यार्थीलाई प्रविधि प्रयोग गरी पढाइन्छ । कक्षा कोठा पनि सफा र चिटिक्क छन् ।

कान्तिमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यमका कक्षा सञ्चालन हुँदै आएको छ । यो विद्यालय अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त (आईएसओ सर्टिफाइड)समेत हो ।
यहाँका सामुदायिक विद्यालयहरूले सूचना र प्रविधिलाई अनुसरण गरेर अध्यापन गराउन थालेको तिलोत्तमा निवासी पूर्वजिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा बताउँछन् । निजी विद्यालयमा राम्रा पक्षहरूलाई सामुदायिक विद्यालयले अनुसरण गरेको कारण सामुदायिक विद्यालयप्रति आकर्षण बढ्नु स्वाभाविक रहेको उनले बताए ।
निजी र सामुदायिक विद्यालयबिच स्वस्थ प्रतिस्पर्धाको वातावरण बनेको थापाको भनाइ छ ।
यहाँका सामुदायिक विद्यालयमा हरेक वर्ष विद्यार्थीको सङ्ख्या बढ्दो छ । विद्यालयमा शैक्षिक सुधार गर्दै गुणस्तरीय शिक्षामा जोड दिइएपछि विद्यार्थी र अभिभावकहरू सामुदायिक विद्यालय नै रोज्न थालेका छन् । सीमित कोटाका कारण बाहिरबाट आउने विद्यार्थीलाई भर्ना गराउन नसकिएको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू बताउँछन् ।

सामुदायिक विद्यालयका विद्यार्थीलाई किताबी ज्ञानसँगै जीवनोपयोगी सिप पनि सिकाउने गरिएको छ । विद्यालयको पूर्वाधारसँगै प्रविधिमैत्री शिक्षण सिकाइ, अतिरिक्त कक्षा, बाल उद्यान, प्रयोगशाला, कम्प्युटर ल्याब लगायतका सुविधाका कारण विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत वृद्धि भएको कान्ति माविका प्रधानाध्यापक गोविन्द ज्ञवालीको भनाइ छ ।
नवीनका माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई अभ्यस्त गराउने गरिएको बताए । यस्ता कार्यक्रममा सहभागी भएर विदेश जाने अवसरसमेत विद्यार्थीहरूले पाएको उनको भनाइ छ ।
नवीन माविमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन २०६० देखि अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको थियो । ०६४ साल यता यो विद्यालयको नतिजा उत्कृष्ट रहँदै आएको छ ।
कान्ति माविबाट हालै नृत्य प्रतिगोयताका लागि दुई जना विद्यार्थी दुबई गएर फर्किएका छन् । कालिका माविमा पनि विभिन्न अतिरिक्त क्रियाकलाप हुने गरेको छ । प्रधानाध्यापक गोविन्द ज्ञवालीले कक्षा कोठाको अभावकै कारण सीमित कोटामा विद्यार्थी भर्ना गर्नु परेको बताए ।
- अभिभावकसँग सहयोग मागेर खर्च धान्दै
शिक्षा मन्त्रालयले माध्यमिक विद्यालयका लागि मसलन्द खर्च भनेर दिने सीमित खर्चले डस्टर खरिद गर्न पनि नपुग्ने कान्ति माविका प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए ।
कर्मचारी र कक्षा कोठा थोरै भएका विद्यालयका लागि सो रकमले राहत नै हुने गरे पनि धेरै विद्यार्थी र स्टाफ रहेका विद्यालयका लागि त्यो रकमले पानीको पैसा तिर्न पनि नपुग्ने उनको भनाइ छ ।
कान्ति माविको विद्युत् बिलमात्र गत महिना २ लाख ८० हजार रुपैयाँको आएको छ । पानी, अन्य मसलन्द खर्चको लेखाजोखा नै छैन ।
कालिका मावि, नवीन माविजस्ता ठुला सामुदायिक विद्यालयका २५ प्रतिशत जाति शिक्षक सरकारी दरबन्दीका छन् । अन्य शिक्षकको व्यवस्थापन सम्बन्धित विद्यालय आफैँले गर्नु परेको कालिका माविका प्रधानाध्यापक दिनेश थापाले बताए । ती शिक्षकलाई तलब खुवाउन, विद्यालयको प्रशासनिक खर्चका लागि रकम अभाव हुने गरेकाले अभिभावकसँग आर्थिक सहयोग माग्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

नवीन माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरे पनि सरकारले सामुदायिक विद्यालयका लागि निकै कम बजेट व्यवस्था गरेका कारण अभिभावकको स्वेच्छिक सहयोगमा विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउँछन् ।
बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा उपनिर्देशक टीकाराम पन्थीले सामुदायिक विद्यालयहरूले मासिक शुल्क लिन नपाउने भएकाले विद्यालय सञ्चालनका लागि अभिभावकसँग सहयोग भनेर लिने केही रकम लिने गरेको बताउँछन् । अभिभावकहरूले आफ्नो विद्यार्थी पढ्ने विद्यालयलाई सहयोग गर्नु स्वाभाविक रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण