कांग्रेस बागमती संसदीय दल चुनाव : नयाँ समीकरणमा पुराना प्रतिस्पर्धी
सारांश
- बागमती प्रदेश संसदीय दलको नेताका लागि निर्वाचन प्रक्रिया जारी छ, जसमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ।
- इन्द्रबहादुर बानिया र बहादुर सिंह लामाबीच प्रतिस्पर्धा हुँदैछ, यसअघि पनि उनीहरूले प्रतिस्पर्धा गरेका थिए।
- अविश्वास प्रस्तावपछि समीकरण फेरिएको छ, पहिले लामाको पक्षमा रहेका नेताहरू अहिले बानियाको पक्षमा खुलेका छन्।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि निर्वाचन प्रक्रिया जारी छ । बुधबार बिहानदेखि सुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।
निर्वाचन कार्यक्रम अन्तर्गत बिहान १० बजेदेखि ११ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो । संसदीय दलको नेताका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया र मुख्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बहादुर सिंह लामाबिच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा हुँदैछ ।
लामा र बानियाबिचको प्रतिस्पर्धा नयाँ होइन । दुवै नेताले यसअघि पनि आपसमा संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिसकेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निकटका दुवै जना आपसमा दोस्रो पटक दलको नेता बन्ने होडसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।
यसअघि गत २०७९ पुस १३ गते भएको संसदीय दलको निर्वाचनमा दुवै नेताले प्रतिस्पर्धा गरेका थिए । त्यतिवेला कांग्रेसभित्रको गुट स्पष्ट नदेखिए पनि शीर्ष नेताको समर्थन भने केन्द्रीय सदस्यसमेत रहेका लामालाई थियो । पछिल्लो समय लामाको कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका शीर्ष नेताहरू बानियाँ पक्षमा खुलेर देखिएका छन् ।
२०७९ को संसदीय दलको निर्वाचनमा लामालाई सभापति देउवासहित आरजु देउवा राणा, सहममन्त्री महालक्ष्मी उपाध्याय डिना, प्रवक्ता प्रकाशशरण महत, नेता शेखर कोइराला, प्रकाशमान सिंह लगायतको समर्थन थियो ।
तत्कालीन समयमा महामन्त्री गगनकुमार थापाको समर्थन पाएका बानियाँले १६ मत प्राप्त गरेका थिए भने अन्य शीर्ष नेताको साथ पाएका लामाले २१ मतका साथ संसदीय दलको नेताको चुनाव जितेका थिए ।
हाल संसदीय दलको नेतामा पुरानै नेताहरूको प्रतिस्पर्धा देखिए पनि समीकरण नयाँ देखिएको छ । लामा पक्षमा रहेका शीर्ष नेताहरू हाल बानियाँ पक्षमा खुलेका छन् । त्यसैले अविश्वास प्रस्तावको पक्षमा आएको मत बराबर नै बानियाले संसदीय दलको नेतामा प्राप्त गर्ने आकलन गरिएको छ ।
सरकारको कार्यशैली, बजेट विनियोजनमाथिको विवादले कांग्रेसको छविमाथि नै प्रश्न चिह्न खडा गरेको भन्दै मुख्यमन्त्री लामामाथि गत शुक्रबार नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता भएको थियो । २१ जना सांसदको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्तावमा २२ सांसदले समर्थन गर्दै पारित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण