बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फतुवा विजयपुरमा तीन वटा विद्यालयका लागि विनियोजित १ करोड ६५ लाख फ्रिज

शुक्रबार, १६ साउन २०८२, १३ : ४४
शुक्रबार, १६ साउन २०८२

सारांश

  • रौतहटको फतुवा विजयपुर नगरपालिकाका तीन विद्यालयको १ करोड ६५ लाख बजेट फ्रिज भएको छ।
  • विद्यालयको पूर्वाधार निर्माणका लागि आएको बजेट कार्यवाहक मेयरका श्रीमान् र अन्य कर्मचारीको विवादका कारण फ्रिज भएको आरोप छ।
  • तत्कालीन मेयर गोपाल यादव निलम्बित भएपछि उपमेयर अम्बेया खातुनले कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएकी छन्।

रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका अन्तर्गत तीन वटा विद्यालयको गरी जम्मा १ करोड ६५ लाख रुपैयाँको बजेट खर्च हुन नसकेर फ्रिज भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत प्रतिविद्यालय ५५ लाख रुपैयाँका दरले गत आर्थिक वर्ष विनियोजित बजेट फ्रिज भएको नगरपालिकाका शिक्षा संयोजक सुबोध यादवले जानकारी दिए ।

यादवका अनुसार वडा नम्बर ८ स्थित श्री मावि विजयपुर, वडा नम्बर ४ को श्री मावि टेङ्ग्राहा र वडा नम्बर ५ को श्री आधारभूत मावि, सन्तपुर दोस्तीयाका लागि ५५ लाख रुपैयाँका दरले पुँजीगत बजेट विनियोजन गरिएको थियो । विद्यालयको पूर्वाधार निर्माण, पुस्तकालय, डिजिटल सामग्री खरिद, कक्षा कोठा स्तरोन्नतिको लागि उक्त बजेट छुट्ट्याइएको थियो ।

संयोजक यादवले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाम्रो पालिकाको ३ वटा विद्यालयमा निर्माण हुने भवन बापतको रकम फ्रिज भएको छ । फ्रिज गराउने जोसुकै व्यक्ति वा राजनीतिकर्मी कदापि विकासप्रेमी हुन सक्दैन । त्यस्ता व्यक्तिको कहिल्यै भलो हुँदैन ।’

पालिकाका कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान् महमद सेराज, प्रमुख प्रशासकीय अधिकृत भरत यादव र लेखा अधिकृत कामेश्वर सहनीबिचको भागबन्डा विवादका कारण उक्त रकम फ्रिज भएको निलम्बित मेयर गोपाल यादवको दाबी छ । सेराजले तीन वटै विद्यालयबाट ७ लाख रुपैयाँको दरले कमिसन लिएको उनको दाबी छ । प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले पनि हिस्सा खोज्न थालेपछि कार्यविधि समेत नबनेर रकम फ्रिज भएको उनले बताए ।

२०७९ को निर्वाचनमा नेकपा माओवादीबाट मेयरमा उम्मेदवार बनेका अजय तिमल्सिनाले पनि कार्यवाहक मेयरका श्रीमान् सेराज र नगरपालिकाका हाकिमहरू कमिसनकै चक्करमा लागेर तीन वटा विद्यालयको रकम फ्रिज भएको दाबी गरे । ‘यो घटना सामान्य होइन, हजारौँ बालबालिकाको भविष्यसँग जोडिएको विषय भएकाले यसको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ,’ उनले भने ।

फतुवा विजयपुरका तत्कालीन मेयर गोपाल प्रसाद यादव एक वर्ष अघि विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर निलम्बित छन् । त्यस यता उपमेयर अम्बेया खातुन कार्यवाहक मेयरको जिम्मेवारीमा छिन् । यद्यपि नगरपालिकाको सम्पूर्ण काममा उनकै श्रीमान् सेराजले हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ ।

कार्यवाहक मेयर अम्बेया खातुन र उनका श्रीमान् महमद सेराजले आफूहरूमाथि झुटा आरोप लगाइएको जिकिर गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत भारत यादव र लेखा अधिकृत कामेश्वर सहनीका कारण विद्यालय भवन निर्माणका लागि आएको रकम फ्रिज भएको उनीहरूको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप