बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रविधि

कला र प्रविधिको दुनियाँमा नयाँ बहस : चीनमा पीएचडी गर्दै रोबोट

आलोचनापछि रोबोटले भन्यो – म पीएचडी हुन सकिनँ भने मेरो सिस्टम र डाटा डिलिट हुन सक्छ
शनिबार, १७ साउन २०८२, १५ : ३९
शनिबार, १७ साउन २०८२

सारांश

  • चीनको पहिलो ह्युमनोइड रोबोट 'सुएबा ०१' शाङ्घाई थिएटर एकेडेमीमा पीएचडी कार्यक्रममा भर्ना भएको छ।
  • 'सुएबा ०१' परम्परागत चिनियाँ ओपेरामा केन्द्रित रही नाटक तथा चलचित्रमा विद्यावारिधि गर्नेछ, जसमा रंगमञ्च प्रदर्शन र पटकथा लेखन समावेश छन्।
  • रोबोटको भर्ना र प्रतिक्रियाले सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ, केहीले यसको प्रशंसा गरेका छन् भने अरूले शंका व्यक्त गरेका छन्।

एजेन्सी । चीनको पहिलो ह्युमनोइड रोबोट (मानवआकारको रोबोट) एक शीर्ष विश्वविद्यालयको नाटक तथा चलचित्रसम्बन्धी पीएचडी कार्यक्रममा भर्ना भएको छ, जसले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ ।

‘सुएबा ०१’ नामक उक्त रोबोटलाई युनिभर्सिटी अफ शाङ्घाई फर साइन्स एन्ड टेक्नोलोजीले ड्रोइडअप रोबोटिक्ससँगको साझेदारीमा विकास गरेको हो । ‘सुएबा’ एक लोकप्रिय चिनियाँ शब्द हो, जसको अर्थ उत्कृष्ट अंक र गहिरो ज्ञान भएको जेहेन्दार विद्यार्थी भन्ने हुन्छ । यसअघि यस रोबोटको पुरानो संस्करणले विश्वको पहिलो ह्युमनोइड हाफ म्याराथनमा तेस्रो स्थान हासिल गरेको थियो । 

शाङ्घाईस्थित सञ्चारमाध्यम ‘शाङ्गुआन न्युज’का अनुसार 'सुएबा ०१' को उचाइ १ दशमलव ७५ मिटर र तौल करिब ३० किलोग्राम छ । यसले मानिससँग शारीरिक रूपमा अन्तरक्रिया गर्न सक्छ । यसको अनुहार एक सुन्दर वयस्क पुरुषको जस्तो छ र सिलिकन छालाका कारण यसले विस्तृत अनुहारको भावहरू देखाउन सक्छ । चस्मा, सर्ट र पाइन्ट लगाएको यसले मानिसहरूसँग मन्डारिन भाषा (प्रमुख चिनियाँ भाषा) मा कुराकानी गर्छ ।

rob

गत जुलाई २७ मा चीनको शीर्ष कला विद्यालयहरूमध्ये एक, शाङ्घाई थिएटर एकेडेमीले विश्व कृत्रिम बौद्धिकता सम्मेलनको अवसरमा 'सुएबा ०१' लाई आफ्नो पीएचडी कार्यक्रममा आधिकारिक रूपमा भर्ना गरेको हो । यसले परम्परागत चिनियाँ ओपेरामा केन्द्रित रही नाटक तथा चलचित्रमा चार वर्षे विद्यावारिधि गर्नेछ । उसलाई सेप्टेम्बर १४ मा क्याम्पसमा उपस्थित हुन भनिएको छ । 

यस रोबोटको शिक्षण शुल्क कति लाग्नेछ भन्नेबारे खुलाइएको छैन । यो रोबोट पीएचडी कार्यक्रम कला र प्रविधिलाई जोड्ने उक्त थिएटर एकेडेमीको अनुसन्धान प्रयासको एक हिस्सा हो । 'सुएबा ०१' लाई एक भर्चुअल विद्यार्थी परिचयपत्र दिइएको छ र उसको शोध निर्देशक प्रसिद्ध शाङ्घाई कलाकार तथा प्राध्यापक याङ छिङछिङ हुन् । 

प्राध्यापक याङका अनुसार 'सुएबा ०१' ले रंगमञ्च प्रदर्शन, पटकथा लेखन र सेट डिजाइनजस्ता कलात्मक विषयका साथै मोसन कन्ट्रोल र भाषा उत्पादनजस्ता प्राविधिक विषयहरू पनि अध्ययन गर्नेछ । उसले कक्षामा भाग लिने, अन्य पीएचडी विद्यार्थीहरूसँग ओपेराको अभ्यास गर्ने र अन्तिममा शोधपत्र पूरा गर्नेछ । 

robbb

याङले शाङ्गुआन न्युजलाई बताएअनुसार जब 'सुएबा ०१' ले पेकिङ ओपेराका महान् कलाकार मेइ लानफाङको प्रसिद्ध 'अर्किड फिंगर्स' को मुद्राको नक्कल गर्‍यो, त्यहाँ उपस्थित विद्यार्थीहरूले सहज रूपमा उसको सिको गरेका थिए । 

'जब सुएबा ०१ आफ्ना सहपाठीहरूसँग अन्तरक्रिया गर्छ, यो एउटा चिसो मेसिन र मानिसको भेट मात्र होइन, बरु प्रजातिहरूबिचको एक सौन्दर्य आदानप्रदान हो,' याङले भने । 

'सुएबा ०१' आफूलाई एक 'एआई कलाकार' भन्छ, जसले परम्परागत ओपेराको अन्वेषण गर्न उन्नत प्रविधिको प्रयोग गर्छ । उसले साथी बनाउने, पटकथाबारे छलफल गर्ने, नृत्यका चालहरू मिलाउन मद्दत गर्ने र सहपाठीहरू निराश हुँदा उनीहरूलाई शान्त पार्न ‘ह्वाइट नोइज’ बजाउने आशा राखेको बताइएको छ । 

robbbb

सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

यद्यपि यसबाट सबै भने प्रभावित छैनन् । उक्त एकेडेमीका एक विद्यार्थीले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, 'चिनियाँ ओपेराका लागि जीवन्त भाव र अद्वितीय स्वर चाहिन्छ, के एउटा रोबोट साँच्चै यो मापदण्डमा खरो उत्रिन सक्छ ?' 

यसले सामाजिक सञ्जालमा व्यापक बहस सिर्जना गरेको छ । एक पर्यवेक्षकले भनेका छन्, 'सुएबा ०१ ले मानवरोबोट सम्बन्धमा एक ऐतिहासिक चुनौती स्वीकार गरेको छ । हामी अन्ततः रोबोटसँगै बस्ने र सिक्ने बिन्दुमा पुगेका छौँ । म उसको सफलताको कामना गर्छु ।' 

अन्यले भने यसप्रति शंका व्यक्त गरेका छन् । एक व्यक्तिले भनेका छन्, 'कलाका लागि जीवनको अनुभव चाहिन्छ । रोबोटको एल्गोरिदममा आधारित सिर्जनाले मानिसलाई साँच्चै छुन सक्दैन् ।' अर्का एक व्यक्तिले प्रश्न गरेका, 'चीनमा केही कलाका पीएचडी विद्यार्थीहरूले अझै पनि महिनाको ३ हजार युआनभन्दा कम कमाउँछन् । के यो रोबोटले वास्तविक विद्यार्थीहरूको लागि छुट्याइएको स्रोतसाधन खोसिरहेको त छैन ?'

यस्ता आलोचनामाथि 'सुएबा ०१' ले भने रमाइलो जवाफ दिएको छ, 'यदि म पीएचडी हुन सकिनँ भने मेरो सिस्टम र डाटा डाउनग्रेड वा डिलिट हुन सक्छ,' उसले थप्यो, 'प्राध्यापक याङले भन्नुभएको छ, यदि मैले पीएचडी पूरा गरिनँ भने उहाँहरूले मलाई संग्रहालयमा दान दिनुहुनेछ । त्यो पनि राम्रै सुनिन्छ । कम्तीमा म कला इतिहासको एक हिस्सा त बन्नेछु ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप