शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सवारी कारबाहीबाट कैलालीमा ४ करोड ४१ लाख राजस्व संकलन

शनिबार, १७ साउन २०८२, १९ : ४२
शनिबार, १७ साउन २०८२

सारांश

  • अत्तरिया ट्राफिक कार्यालयले गत आर्थिक वर्षमा सवारी कारबाहीबाट ४ करोड ४१ लाख राजस्व संकलन गर्‍यो।
  • सुदूरपश्चिममा १२०३ सवारी दुर्घटना हुँदा १९२ जनाको मृत्यु, २०४ जना घाइते भए।
  • तीव्र गति, मादक पदार्थ सेवन, र अन्य कारणले दुर्घटना बढेको र कडाइका साथ नियम लागू गरियो।

कैलाली । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको कारबाहीबाट चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ । 

कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रेमबहादुर शाहीले यो राजस्व ६१ हजार ५७६ वटा सवारी कारबाहीबाट संकलन भएको जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा भन‍े यस्तो राजस्व चार करोड ८९ लाख ८७ हजार थियो । 

गत आवमा सुदूरपश्चिम प्रदेशभरिमा भएका एक हजार २०३ वटा सवारी दुर्घटनाबाट एक सय ९२ जनाको मृत्यु भएको पनि उनले बताए । प्रहरी उपरीक्षक शाहीले उक्त दुर्घटनाहरूमा दुई हजार चार जना घाइते पनि भएका जानकारी दिए । त्यस्तै सोही अवधिमा सवारी दुर्घटनाबाट १३ वटा पशुचौपायको समेत मृत्यु भएको उनको भनाइ छ । 

प्रहरी उपरीक्षक शाहीका अनुसार तीव्र  गतिका कारण सबैभन्दा बढी सात सय ५२ वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै मादकपदार्थ सेवनका कारण एक सय ३६, ओभरटेक ३२, मेकानिकल ५५, सडकरमौसमका कारण २६, चौपायाका कारण १९ र बाँकी अन्य कारणबाट सवारी दुर्घटना भएका छन् । 

ट्रक, ट्याक्टर, टिपर, डोजर, बस, माइक्रो, जीप, कार, टेप्पो, मोटरसाइकललगायत दुर्घटनामा संलग्न सवारीसाधन एक हजार ७२६ वटा रहेका छन् । यस कार्यालय र मातहतका कार्यालयबाट ‘चालकसँग एक मिनेट’, ‘स्कुल सम्पर्क’, ‘अभिभावकसँग ट्राफिक प्रहरी’लगायत कार्यक्रम सम्पादन गरिएका प्रहरी उपरीक्षक शाहीले उल्लेख गरे । उनका अनुसार पहाडी रुट गोदावारीबाट बुडर, बुडरबाट स्याउलेसम्म ‘टाइमकार्ड’ लागु गरी कडाइका साथ कार्यान्वयन गरिएको छ ।

लामो दूरीका भाडाका यात्रुवाहक बसमा दुई जना चालक भए/भएको टिसिए एप्स (ट्राफिक कम्युनिकेसन एप्लिकेसन) को प्रयोग गरी चेकजाँचलाई निरन्तरता दिइएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप