मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
आस्था राउतसँग संवाद

‘गीत चलाउनकै लागि मेरो संस्कार भुल्न सक्दिनँ’

आइतबार, १८ साउन २०८२, १७ : ५०
आइतबार, १८ साउन २०८२

काठमाडौँ । हस्की स्वर र बेग्लै शैलीले आस्था राउतले नेपाली संगीतमा छुट्टै पहिचान बनाएकी छिन् । ‘झुम्के बुलाकी’ गीतबाट चर्चामा आएकी उनी ‘चौबन्दीमा पटुकी’बाट सफलताको उचाईमा पुगिन् । 

‘सालको पात टपरी’ ‘नाकैमा फुली’ लगायत थुप्रै गीतले उनले श्रोता-दर्शकको मन जितेकी छिन् । आस्थाका नयाँ गीत आउँदा अक्सर चर्चा हुने गर्छ । भर्खरै नयाँ गीत ‘कम्मरै भाँचेर’ ल्याएकी आस्थाको यो गीतको पनि चर्चा विस्तारै बढ्दो छ । 

तर यसपटक आस्था खासै खुसी छैनन् । कारण, डेढ वर्षपछि नयाँ गीत ल्याउँदा पनि उनले सोचेजस्तो चर्चा नपाएकाले । उनको पछिल्लो सांगीतिक जीवनलगायत विषयमा रातोपाटीले गायिका आस्था राउतसँग कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश : 

डेढ वर्षपछि नयाँ गीत ल्याउनुभएको छ, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

प्रतिक्रिया राम्रै आइरहेको छ । गीत र भिडियोको गुणस्तर राम्रो छ भन्ने धेरै छन् । नाच्ने खालको रमाइलो गीत बनेको रहेछ भनेर तारिफ धेरैले गरिरहेका छन् । तर आजभोलि ‘राम्रो’ भन्ने शब्दको परिभाषा पनि के हो भन्नेमा म अलमलमा पर्न थालेकी छु । 

Astha Raut2

सबैले राम्रो भनिदिनुहुन्छ । तर गीतले पाउनुपर्ने जति दर्शक–श्रोताको माया पाएको छैन, त्यसैले कस्तो प्रतिक्रियालाई वास्तविक मान्ने भन्ने कन्फ्युजनमा छु ।

गीत ल्याउन ढिलो भयो कि ? 

हो, मेरो नयाँ गीत आउन लगभग डेढ वर्ष लाग्यो । ढिला भयो भन्ने त लाग्छ । तर यसअघि ‘लैबरी लैबरी’ गीतमा पनि मैले उत्तिकै मेहनत र लगानी गरेकी थिएँ । तर त्यो गीतले पनि सोचेजस्तो चर्चा पाएन । आजभोलि दर्शक–श्रोतालाई कसको गीत, कस्तो गीत भन्दा पनि जे तत्कालै उपलब्ध छ, त्यही सुन्ने र हेर्ने बानी परेको जस्तो लाग्छ । 

कहिलेकाहीँ मानिसहरूले फास्टफुड खान्छन् । त्यसले स्वास्थ्यलाई हानि गर्छ भन्ने थाहा पाएर पनि खाइरहेका हुन्छन् । अहिलेको संगीतको अवस्था पनि त्यस्तै भएको महसुस भएको छ । गुणस्तर भन्दा पनि जे भाइरल छ, त्यसकै पछि लाग्ने प्रवृत्ति बढेको छ ।

सुरुमै टिकटकको कुरा गर्नुभयो, टिकटकमा भिडियो नबन्दा सिर्जनामा असर पर्छ र ?

गर्छ नि । जब मेहनत गरेर गुणस्तरीय काम गर्दा पनि दर्शकमाझ पुग्दैन र भ्युज आउँदैन, तब दिक्क लाग्न थाल्दोरहेछ । गीत गाउने जुन एउटा भित्री इच्छा र महत्वाकांक्षा हुन्छ, त्यो मर्दै जाँदोरहेछ । मैले दुई–तीन वर्षअघि हालेको गीतमा टिकटकले अहिले आएर बल्ल कम्युनिटी गाइडलाइन्स देखाउँदैछ । मेरो टिकटकमा पनि भ्युज जान छाडेको छ । यस्तो भएपछि नयाँ गीत सिर्जना गर्ने ऊर्जा मर्दै जान्छ ।

तीजको छेकोमा गीत ल्याउनुभयो नि ? 

‘कम्मरै भाँचेर’ तीजको गीत त होइन, तर तीजमा पनि दिदीबहिनीहरूले मन खोलेर नाच्न मिल्ने गीत भने हो । यो एउटा पारिवारिक गीत हो, जुन सबै उमेर समूहका व्यक्तिले परिवारसँग बसेर हेर्न र सुन्न सक्नुहुन्छ । गीतका शब्दहरूले जीवनका दुःख–सुख भुलेर रमाइलो गरौँ, हाँसौँ भन्ने सन्देश दिन्छ । यो मेरो आफ्नै भावना पनि हो, जुन मैले गीतको माध्यमबाट व्यक्त गरेकी छु । तीजको अवसरमा दिदीबहिनीहरूले यो गीतमा रमाएर आफ्ना पीडा भुल्नुहोस् भन्ने मेरो उद्देश्य हो ।

गीतको भिडियो निकै खर्च गरेर बनाउनुभएको छ । गीत-संगीतमा यति धेरै लगानी गर्दा फिर्ता हुने वातावरण छ ?

साँचो भन्नुपर्दा अहिलेको बजार हेर्दा यति धेरै खर्च गर्ने माहोल छैन । तर मैले यो गीत आजका लागि मात्र होइन, अबको २०–५० वर्ष पछिसम्म पनि टिकोस् र पछि हेर्दा पनि आस्थाले यस्तो गुणस्तरीय गीत बनाएकी रहिछ भनेर सम्झिउन् भन्ने सोचेर लगानी गरेकी हुँ । 

मलाई सबैभन्दा पहिले आफ्नो काममा आफैँलाई चित्त बुझ्नुपर्छ । आफ्नो आत्मसन्तुष्टिको लागि पनि मैले यो गीतमा  खर्च गरेकी हुँ । दर्शक–श्रोताको लागि त हो नै, तर सुरुमा त सर्जक आफैँ खुसी हुनुपर्‍यो नि ।

कन्सर्टहरुमा पनि तपाईंलाई पछिल्लो समय त्यति देख्न पाइएको छैन, किन होला ? 

कार्यक्रमको पनि एउटा सिजन हुन्छ । अर्को कुरा, म आफ्नो काम र कलाको सम्मान होस् भन्ने चाहन्छु । मैले पारिश्रमिकको हिसाबले पनि एउटा सम्मानजनक रकमको अपेक्षा राख्छु । म धेरै ठूलो रकम लिन्छु भन्ने होइन, तर अरूको तुलनामा अलिकति बढी नै छ । म त्यसअनुसारको गुणस्तरीय प्रस्तुति दिन्छु । म जहाँ पायो त्यहीँ, जस्तो पायो त्यस्तो कार्यक्रममा पनि गाउँदिनँ । 

मलाई जहाँ आवश्यक छ र मेरो उपस्थितिले समाजमा सकारात्मक प्रभाव पार्न सक्छ, त्यस्ता ठाउँमा जान्छु । म मेरो संगीतबाट युवाहरूलाई सकारात्मक सोच र प्रेरणा दिन चाहन्छु । हालै मैले फिफा र युनेस्कोको सहकार्यमा सुरु हुन लागेको ‘फुटबल फर स्कुल्स’ कार्यक्रममा प्रस्तुति दिने सम्झौता गरेकी छु । जुन बालबालिकामा जीवन कौशल विकासमा केन्द्रित छ । यस्ता कार्यक्रमहरूले मलाई आत्मसन्तुष्टि दिन्छन् ।

अहिलेको संगीतमा ‘गति छाडेको’ वा ’छाडापन’ बढेको संकेत गर्नुभयो । के यही कारणले तपाईंको लगावमा कम आएको हो ?

हो, केही हदसम्म यो सत्य हो । मैले दर्शक–श्रोतालाई उत्प्रेरित गर्न खोज्छु । तर कहिलेकाहीँ म आफैँलाई उत्प्रेरणाको कमी हुन्छ । जब बजारमा छाडा, अश्लील र संस्कारहीन गीतहरूले बढी चर्चा पाउँछन्, तब संगीतको अवस्था देखेर दुःख लाग्छ । अहिलेको संगीत लगाम बिनाको घोडा जस्तो भएको छ । 

तर मलाई लाग्छ, हामीले आफ्नो संस्कार छाड्नु हुँदैन । बाबुआमाले राम्रो संस्कार दिँदादिँदै पनि छोराछोरी बिग्रिए भने ‘मैले त राम्रै सिकाएको थिएँ’ भनेर चित्त बुझाउने ठाउँ हुन्छ । मेरो अवस्था पनि त्यस्तै हो । मैले राम्रो सिर्जना दिँदादिँदै पनि दर्शकले स्वीकार्नुभएन भने पनि मलाई मैले दिएको कुरामा सन्तुष्टि रहन्छ ।

पछिल्लो समय संगीतमा निकै प्रतिस्पर्धा छ । यसले गाह्रो बनाएको हो कि ?

मलाई प्रतिस्पर्धाले गाह्रो बनाएको जस्तो लाग्दैन । हिजो पनि मेरो जस्तो शैलीमा गीत गाउने कोही थिएन, आज पनि छैन । मलाई लाग्छ, स्टेजमा आस्था राउत एक्लैले पाँच जनासँग भिड्न सक्छे । भिड्ने भनेको मेरो गुणस्तर र प्रस्तुतिको कुरा हो । भिड्नका लागि पनि स्तर मिल्नुपर्‍यो नि । 

म नयाँ आएका बहिनीहरूसँग प्रतिस्पर्धा गर्छु भन्ने नै सोच्दिनँ । उनीहरूको र मेरो गीतको शैली, शब्द, संगीत, गायकी र प्रस्तुति सबै फरक छ । मेरो आफ्नो छुट्टै बाटो छ र म त्यही बाटोमा हिँडेकी छु । त्यसैले म आफ्नो कोही प्रतिस्पर्धी नै देख्दिनँ ।

दर्शकको रुचि परिवर्तन हुँदैछ । अब तपाईंले पनि आफ्नो शैली परिवर्तन गर्ने बेला आएको हो ?

मैले मेरो गीत सबैका लागि बनाएको हुँ, युवाका लागि मात्र होइन । मैले गाएको नेपाली लोक बिटकै गीत हो । अब शैली परिवर्तन गर्ने भनेर के मैले डबल मिनिङ (द्विअर्थी) शब्द हालेर गाउने ? त्यो मबाट हुँदैन । मैले मेरो संस्कार बिर्सिन सक्दिनँ । मेरो गीत स्कुलमा बच्चाहरूले पनि सुनून्, शिक्षकहरूले पनि सुनून् । यस्तो गीतमा विद्यार्थीलाई नचाउन मिल्छ भन्ने उहाँहरूलाई लागोस् । 

अहिले त शिक्षकहरू नै छाडा गीतमा बच्चाहरूलाई नचाइरहनुभएको हुन्छ । संस्कार सिकाउनेले नै गति छाडेपछि कसरी हुन्छ ? 

मैले एकजना र्‍यापरसँग सहकार्यमा गीत गाएकी छु, तर त्यो गीतमा पनि छाडा र अश्लील शब्द भयो भने म रिलिज गर्दिनँ । म आफूलाई सुहाउने र मेरो मान्यताभित्र पर्ने काम मात्र गर्छु ।

आफ्नो सांगीतिक जीवनबारे अरु केही भन्नुहुन्छ ? 

मलाई लाग्छ, राम्रो गीत उठ्न समय लाग्छ । गीतको भाग्य कतिबेला चम्किन्छ भन्न सकिन्न । कुनै गीत २५ वर्षपछि पनि भाइरल भइरहेको उदाहरण हामीसँग छ । त्यसैले मलाई मेरो यो गीतले पनि बिस्तारै दर्शकको मन छुन्छ भन्ने आशा छ । यो पार्टी, जमघटहरूमा बजाउन मिल्ने गीत छ । 

मान्छेलाई कुन बेला, कुन गीतले छुन्छ थाहा हुँदैन । म आफ्नोतर्फबाट गुणस्तरीय र कालान्तरसम्म टिक्ने सिर्जना दिइरहनेछु, चाहे त्यसले तत्काल चर्चा पाओस् वा नपाओस् । मेरो लागि सबैभन्दा ठुलो कुरा आत्मसन्तुष्टि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप