शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुक्खाग्रस्त मधेस

बीउ ‘बूढो’ भए पनि मधेसमा धमाधम रोपाइँ

सोमबार, १९ साउन २०८२, १९ : २५
सोमबार, १९ साउन २०८२

सारांश

  • यस वर्ष मधेस प्रदेशमा धान रोपाइँको अवस्था चिन्ताजनक, जम्मा ५७.२८ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ।
  • ढिलो रोपाइँ र बीउ बुढो भएका कारण धान उत्पादनमा १० प्रतिशतसम्म गिरावट आउन सक्ने कृषि विज्ञको अनुमान छ।
  • देशभरको धान रोपाइँ गत वर्षको तुलनामा सुस्त, मधेस प्रदेशमा रोपाइँको अवस्था निकै कमजोर रहेको छ।

काठमाडौँ । देशको अन्न भण्डार मानिने मधेस प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था चिन्ताजनक छ । साउन १८ गतेसम्मको तथ्याङ्कअनुसार मधेसमा कुल धान खेती हुने जमिनको जम्मा ५७.२८ प्रतिशतमा मात्रै रोपाइँ भएको छ । 

यो आँकडा गत वर्षको यही अवधिको तुलनामा निकै निराशाजनक हो । गत वर्ष साउन २० गतेसम्म मधेस प्रदेशमा ९५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । यस वर्ष गत वर्षको सोही अवधिको तुलनामा करिब ३८ प्रतिशतले रोपाइँ कम भएको छ । 

मधेस प्रदेशमा कुल ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । तर हालसम्म २ लाख १३ हजार ४३८ हेक्टरमा मात्र रोपाइँ हुन सकेको छ । अझै करिब १ लाख ५९ हजार हेक्टर जमिन बाँझै छ ।

धानको बीउ 'बूढो' भयो  

रौतहटको मौलापुर नगरपालिकाका किसान हरेन्द्र साहको धानको ब्याड डढिसकेको छ । साह अब पानी परिसकेपछि पनि धान रोपाइँ हुने गाह्रो हुने बताउँछन् । 

‘पानी लगाउन नपाउँदा धानको ब्याड नै सुकेको थियो, अब पानी परेपछि कसरी बीउ खोज्नु त्यो समस्या छ,’ उनी भन्छन् । एक त रोपाइँ कम भएको र अब पानी परेर रोपाइँ गर्न पनि बीउ अभाव हुने उनी बताउँछन् । रौतहटमा धेरै किसानको धानको ब्याड सकिसकेकाले नयाँ बीउ खोज्नुपर्ने स्थिति आएको छ । 

बाराका किसान सुरेन्द्र जैसवाल पनि धानको बीउ अभाव हुने बताउँछन् । ‘जसोतसो जोगाएको थियो तर अब रोपाइँ गर्नै बीउ पुग्दैन, नयाँ बीउ पनि राख्दा ढिला हुने भयो । जे गरेपनि हामीलाई पीडा नै छ,’ उनी भन्छन् ।   

ढिलो गरी भएको रोपाइँका कारण धानको बीउ ‘बूढो’ हुन पुग्दा समग्र उत्पादनमा १० प्रतिशतसम्मले गिरावट आउन सक्ने कृषि विज्ञहरूले अनुमान गरेका छन् ।

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक रहेका धानबाली विज्ञ मथुरा यादवका अनुसार समयमा पानी नपर्दा किसानहरूले तयार पारेको धानको बीउ खेतमा रोप्न पाएनन्, जसले गर्दा बीउको उमेर औसतभन्दा बढी भइसकेको छ । अहिले पानी परेर एक-दुई दिनदेखि मधेसमा रोपाइँ तीव्र गतिमा भइरहे पनि ढिला रोपाइँ र बूढो बीउको असर उत्पादनमा देखिने निश्चित छ ।

‘साउनको अन्तिमतिर आएर रोपाइँ तीव्र भयो । यो असारमै हुनुपर्थ्यो । यसले उत्पादनमा असर पार्छ,’ यादवले रातोपाटीसँग भने, ‘५०–५५ दिनको बेर्ना रोप्दा पनि उत्पादन त हुन्छ, तर सामान्य अवस्थाको तुलनामा १० देखि १५ प्रतिशतसम्म उत्पादन घट्छ । समग्रमा, मधेस प्रदेशमा १० प्रतिशतको हाराहारीमा उत्पादन घट्ने हाम्रो अनुमान छ,’ उनले भने । 

विज्ञ यादवका अनुसार बासमती, सावा मन्सुलीजस्ता ढिलो पाक्ने जातका धानहरू ‘फोटोसेन्सिटिभ’ (प्रकाश संवेदनशील) हुन्छन् । यस्ता जातलाई जतिसुकै ढिलो रोपे पनि बाला निस्किने समय लगभग निश्चित हुने भएकाले बोटले पर्याप्त समयसम्म बढ्न पाउँदैन । जसको प्रत्यक्ष असर उत्पादनमा पर्छ ।

‘समयमा पानी परेको भए १०–१५ दिनअघि नै रोपाइँ सकिसक्थ्यो,’ यादव भन्छन्, ‘आकाशे पानी र पम्पबाट तानेको पानीमा पनि फरक पर्छ । आकाशे पानी चिसो र बोटका लागि बढी फाइदाजनक हुन्छ ।’ 

ढिलो रोपाइँ र खडेरीका कारण कतिपय किसानको बीउ खेतमै नष्टसमेत भएको छ । यस्तो अवस्थामा किसानहरूलाई छिटो पाक्ने जातहरू जस्तै– सुक्खा–१, सुक्खा–३, चैते–५ आदि बीउ छर्ने विधिबाट लगाएर पनि केही हदसम्म क्षति कम गर्न सकिने विज्ञको सुझाव छ ।

किसानलाई अहिले जतिसक्दो छिटो रोपाइँ सक्न र खेतमा मलको उचित व्यवस्थापन गर्न विज्ञहरूले आग्रह गरेका छन् । नेपालको खाद्य भण्डार मानिने मधेसमा धान उत्पादन घट्दा यसले समग्र राष्ट्रिय अर्थतन्त्र र खाद्य सुरक्षामा समेत असर पार्न सक्ने चिन्ता बढेको छ ।

मनसुनको ढिलाइ, नहरमा पानी नआउनु र सिँचाईका अन्य पूर्वाधारको अभावका कारण रोपाइँ प्रभावित भएको किसानहरूको गुनासो छ । यदि समयमै बाँकी क्षेत्रमा रोपाइँ हुन नसके यसले प्रदेशको मात्र नभई राष्ट्रियस्तरमै धान उत्पादनमा गम्भीर असर पार्ने देखिन्छ ।

कस्तो छ देशभरको रोपाइँ अवस्था ? 

यस वर्ष देशभर धान रोपाइँको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले साउन १८ गतेसम्मको तथ्याङ्कअनुसार देशभर कुल धान खेती हुने जमिनको ८३.८८ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । 

गत वर्ष यही अवधिमा (साउन २० गतेसम्म) ९६.४७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस हिसाबले यो वर्ष गत वर्षको तुलनामा करिब १२.५९ प्रतिशतले रोपाइँ कम भएको हो ।

तथ्याङ्कअनुसार नेपालमा कुल १३ लाख ७८ हजार ९६६ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । जसमध्ये हालसम्म ११ लाख ५६ हजार ६८७ हेक्टरमा मात्र रोपाइँ सकिएको छ ।

प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा रोपाइँको अवस्था सबैभन्दा उत्साहजनक छ । त्यहाँ ९९.७२ प्रतिशत रोपाइँ सकिएको छ, जुन लगभग पूर्ण हो । त्यसैगरी कर्णाली प्रदेशमा ९६.४७ प्रतिशत र लुम्बिनी प्रदेशमा ९५.९६ प्रतिशत रोपाइँ सकिएको छ ।

बागमती प्रदेशमा ९२.११ प्रतिशत, कोशी प्रदेशमा ८९.०३ प्रतिशत र गण्डकी प्रदेशमा ८८.९७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । तर धान उत्पादनको मुख्य भण्डार मानिने मधेस प्रदेशमा भने रोपाइँको अवस्था निकै कमजोर देखिएको छ । समयमा वर्षा नहुनु र सिँचाईको अभाव मधेसमा रोपाइँ सुस्त हुनुको मुख्य कारण मानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप