बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
भारत-यात्रा

'बुढी बाख्री' दरभंगामा दंगदास, मनमौजी 'तिलकाने' पटनातिर

मङ्गलबार, २० साउन २०८२, ११ : ११
मङ्गलबार, २० साउन २०८२

सारांश

  • लेखकले रक्सौलको रेल यात्राको अनुभव र बुढी बाख्रीसँगको पुरानो सम्झनालाई जोडेका छन्।
  • पटनामा लेखकको यात्रा र अनुभव, जसमा विभिन्न स्थलहरूको भ्रमण र स्थानीयहरूसँगको कुराकानी समेटिएको छ।
  • अन्त्यमा, लेखकले बोलबम यात्रामा गएका साथी बलरामसँगको भेटघाट र उनको धार्मिक अनुभवको वर्णन गरेका छन्।

‘लेखेर के हुन्छ ? नलेखेर के हुन्छ ?’, लेखिरहँदा यस्तो सोच्छु । र, निष्कर्षमा पुग्छु, ‘केही पनि हुन्न ।’

त्यसो भए किन लेख्ने ? मेरो लेखनमाथिको यो प्रश्नले म थिचिएको छु । लेखनको औचित्य पुष्टि गर्न नसकेको म फेरि पनि लेखिराख्या छु । मूर्ख म ! कि होइन मूर्ख म ? निर्णय मलाई पढ्ने तपाईं नै गरिदिनुहोला ।

तैपनि लेखिराख्या छु, जसरी मलाई रक्सौलको रमिता देखेर ट्रेन चढ्न मनै थिएन । कतिवटा डब्बा छन्, थाहा छैन । हातमा टिकट छ । टिकटमा सिट नम्बर चाहिँ छैन । जहाँ जसरी चढे पनि हुने, जहाँ जसरी बसे पनि हुने !

पालैपालो छिरे त ढोकाले पनि स्वागतै गर्थ्यो होला तर ढोकासमेत रिसाउने गरी मान्छेको तँछाडमछाड छ । म ‘मूर्ख मान्छे’ भने त्यो तँछाडमछाडको एक अल्छे प्रतिस्पर्धी अनि मलाई स्कर्टिङ गरिरहेको बलराम पनि मजस्तै अर्को ।

बलराम बुढी बाख्रीजस्तो, जो सबै छिरेपछि मात्र खोर छिर्थी । उसलाई कुनै हतार हुन्थेन, जसरी हतारिरहेकौ छौं हामी हजारौं यहाँ रक्सौल स्टेसनमा रेल चढ्न ।  

दुई दर्जन जति बाख्रा थिए हाम्रो । दिनभर चरेका तिनलाई साँझ धपाउँदै खोर लगिन्थ्यो । खोरको आग्लोवाला ढोकामा जब पुग्थे, ती त्यतै अड्किन्थे । खोर छिर्न उनीहरुलाई महाभारत ! जसरी मलाई रेल चढ्न महाभारत भइरहेछ रक्सौलमा ।

बुढी बाख्री प्राय जुम्ल्याहा पाठापाठी पाउँथी, कहिले तिम्ल्याहा पनि । ऊ त्यस्ती देखिन्थी, ओथारो बसेकी कुखुरीजस्ती, ओथारो बस्दै गरेकी । मेरो रिडिङमा ऊ महान् थिई । सबै अटाउने कोख र काख ऊसँग थियो । ममत्वको अर्को अवतार थिई ऊ ।  

ओ बुढी बाख्री ! यतिका बर्षपछि तिमीलाई सम्झिरहँदा एक्कासि मेरा आँखा आँसुले टलपलाएका छन् । तिमीमा म आमात्व पाउँथे । बाख्रामा आमात्व पाउने म मूर्ख ! यस्तो मूर्खले के लेख्नु ? किन लेख्नु ? तैपनि लेख्दैछु, जसरी रेल चढ्दैछु रक्सौलमा ।

ओ बुढी बाख्री ! तिमीले आफ्ना कल्चौँडाका दुवै थुनबाट एकैपटक एक एक मुनेलाई दूध चुसाएको सम्झेर म इमोसनल भइरहेको छु । तिनले तिमीलाई चुसिरहँदा तिमी आनन्दले उग्राइरहेकी हुन्थ्यौ । आमाको आभा प्रभा सबै सबै तिमीसँग थियो ।  

आफ्नो ज्यानलाई कपासजस्तो हल्का बनाउँदै फट्यांग्रा जस्तै उफ्रेर खोर छिर्न खोज्थे तिम्रा मुनेहरुलाई कसरी हेर्थ्यौ है ? अहा, एउटी आमाको हेराई ।

समय साँझिदै गर्दा उता अगेनाको ओदानमा कुँडेभरी भैंसीको दुध उम्लिन सुरु भइसकेको हुन्थ्यो र दूधको बासना आँगनछेउको बाख्रा खोरको ढोकोसम्मै आइपुग्थ्यो ।

अर्की तिलकाने थिई, ऊ उमेरले पाठी थिइन । तर, ऊ बुढी बाख्री पनि थिइन । घरजम भर्खर भएकी भर्खरकी केटीजस्ती थिइ ऊ ! खोर छिर्नुपर्दा खोरजस्तै अँध्यारिन्थी । दिउँसभरी चञ्चल ऊ खोर छिर्ने बेला उदासउदास ! दिउँसो ऊ अर्कै, साँझ अर्कै हुन्थी । उसलाई खोर मन पर्थेन । नामै त खोर !

सहर पढ्या म ! मेरा स्कुल छुट्टीको गाउँ स्मृतिबाट बुढी बाख्री र तिलकानेमात्र होइन, बाख्राहरू बथानै आइपुगेका छन् रक्सौलको रेल स्टेसन ।  

रेल चढ्न लाग्दाको यो वर्णन बढाइचढाई गरेको रोइलो जस्तो सुनिएला तर कुनै दिन बलरामलाई भेटे सोध्नु होला । मेरो वर्णनलाई रुजु गर्नु होला । धादिङको पुछारबजार बस्ने बिहार, दंरभंगाको ऊजस्तै यहाँ सब जो छन्, सबै अभ्यस्त छन्, यसरी ट्रेन चढ्न । यहाँ कोही छैन, जो आफूलाई पेसेन्जर होइन, बाख्रा ठानोस् । तर, म आफूलाई तिलकाने ठान्दैछु र बलरामलाई बुढी बाख्री !    

निदाउनुअघि बार्दलीको खाटबाट चन्द्रमा हेर्दै पल्टिरहेको म बेलाबेला ती बाख्राहरू खोरमा फड्फडाइरहेको सुन्थेँ । र, सुन्थेँ लुमुडाँडातिर स्याल कराएको, हावा ठोकिएर छानाको जस्ता बजेको र गैरीगाउँतिर भोटेकुकुर भुकेको ।  

हामी त्यसरी नै ट्रेनभित्र आइपुगेका छौं, जसरी बाख्राहरू खोरमा । हामी छिर्नुअघि नै झ्यालबाट झोलाहरू छिराइएका थिए असङ्ख्य र झोलावालाका ‘दोस्त’हरु पहिल्यै सीटसीटमा पुगिसकेका थिए । प्राय: प्रत्येक लहरमा चारजनाका सिट एउटैले ओगटिरहेका !

‘इदर बैठसक्ते हे क्या !’, प्रत्येक लहरमा हामीले सोध्यौं, डब्बैपिच्छे । कहिँ मैले, कहीँ बलरामले ।

‘नहीँ’, सबैतिरबाट उत्तर उही !

त्यसको दुईटा कारण हुनसक्छन् । एक, एकजना बलजफ्ती गरेरै भए पनि ढोकाबाट छिरिहाल्ने र समूहले चाहिँ झोलाहरू झ्यालबाट छिराउने सुरुमा अनि समूहका एकजनाले सबका लागि सिट ओगट्ने । दुई, जतिसुकै भीड होस्, आफू एक्लै हुँदा पनि ‘अजिरा’ भएर सकेसम्म बढी ठाउँ ओगट्ने ।

निकैवटा डब्बा चहारेपछि धन्न हामीले सिट पायौँ । बलराम र म आमनेसामने सिटमा छौं । म बसेको सिटमा अरू चारजना छन् । ऊ बसेकोमा पनि त्यही हो । सीटमाथि ठ्याक्कै हाम्रै सिट आकारको ठाउँ छ । त्यो झोला राख्ने ठाउँ होला भन्ठान्या त ! होइन रहेछ । त्यो पनि सिटै पो रहेछ । त्यहाँ पनि मान्छे भरिए । र, तिनका खुट्टा हाम्रा टाउकामाथि झुन्डिएका छन् ।

रक्सौल छुटिसक्या छ । हामी चढेको रेल अँध्यारोमा अगाडि बढिराख्या छ, छुकछुक, छुकछुक, छुकछुक । यो ट्रेन बिहारको राजधानी पटना हुँदै महाराष्ट्रको राजधानी- फिल्म नगरी मुम्बई जान्छ रे, झन्डै २ हजार किलोमिटर पार गरेर ।

भीडमा भीड थपिएको थपियै छ प्रत्येक जंक्सनपिच्छे । तर, ती जंक्सनको नाम ‘मालुम’ छैन । यता नेपालमा माइक्रो, मिनी वा ठुलो बस चढ्दा ठाउँ नै पिच्छे कन्डक्टरले ठाउँको नाम लिएजस्तो भट्याउने कोही छैन यहाँ । बरु छिनछिनमा साँधेको चना र ‘चाय’ बेच्नेहरु आउने जानेक्रम भने निरन्तर !

छुकछुक, छुकछुक, छुकछुक ! ट्रेनको त्यो अटुट गतिशीलताले जीवनकै गीत गाइरहेजस्तो !  

‘चाय ले लो चाय !’

‘दो छोटा देदो’, ट्रेनमा केही नखानु भनेर मलाई अर्ति दिने बलराम चियावालालाई अर्डर दिन्छ । एउटा उसलाई एउटा मलाई । एक छोटा कपको आइसी दसको दरले बीस रुपियाँ हतारहतार म तिरिदिन्छु ।

चिया सक्दानसक्दै ऊ झोलाबाट वाइवाइ झिक्छ । एक पाकेट मलाई दिन्छ र अर्को पाकेट आफै फोर्छ ।

छुकछुक, छुकछुक, छुकछुक रेल चलिरहेछ !

कोही निदाइरा’छन् । कोही मोबाइलमा लुँडो खेलिरा’छन् । कोही ‘गप्पे’ मारिरा’छन् । कोही टोलाइरा’छन् । सबका सुर आ–आफ्नै !  

एक छिनमा समोसावाला आइपुग्छ । खाउँखाउँ लाग्यो, बलरामले खान्न भन्यो । दुईटा समोसा मगाएँ । समोसा कति साना भने एक गाँस पनि नहुने ! मैदाको खोस्टो मात्र, भित्र आलु नै नभएजस्तो !

‘त्यही भएर मैले नखाको’, बलराम हल्का हाँस्दै समोसाको साइज समीक्षा गर्छ ।

‘जब तक रहेगा समोसेमे आलु, तबतक रहेगा बिहारमे लालु’ भन्थे त भन्दै मैले थपेँ, ‘तर न अहिले यहाँ समोसाभित्र आलु छ न त अहिले बिहारमा लालुप्रसादको रजगज छ।’

‘बिहार भनेपछि तपाईं लालुप्रसाद मात्रै नसम्झनुस्’, बलरामको जन्मभूमिप्रतिको माया बोल्यो, ‘भारतको पहिलो राष्ट्रपति डा. राजेन्द्रप्रसाद यही बिहारको छोरा हुनुहुन्थ्यो l’ मैले प्रतिवाद गर्नु पर्ने कुनै खाँचो नै थिएन, म मौन बसेँ l

बलरामले नै डाटा खोलेर मलाई हटस्पट दिया छ । म उसको इन्टररनेटबाट देश दुनियाँसँग जोडिएको छु l मलाई भने ट्रेनभित्रको अजबगजबको दुनियाँ नै काफी छ, जुन भुईंमान्छेको आमजीवनलाई प्रस्तुत गर्ने बहुत रियालिस्टिक पिक्चरजस्तो !    

छुकछुक, छुकछुक, छुकछुक रेल चलिरहेछ !

दरभंगा घर जान आएको बलराम छुटिने बेला नजिकिँदै छ भन्ने जनाउ दिँदै फर्मालिटी देखाउँछ, ‘कि दरभंगै जाऊँ आज ?’

‘नबसौँ, आज पटनै पुग्ने हो’, धन्यवादभावमा म भन्छु । मनमनै सम्झिएँ, ‘आज’ पनि के भन्नु  र ! रातको १२ बज्नै लाग्या छ, एक छिनमा अर्को दिन भैहाल्छ ।

दरभंगा भनेकै छुटिने ठाउँ हो कि क्या हो !

नेपाली कम्युनिस्ट आन्दोलनबारे सामान्य जानकारी राख्नेलाई ‘दरभंगा प्लेनम’बारे केही बताइरहनु नपर्ला । २०१७ सालमा राजा महेन्द्रले सैन्यबलमा पहिलो जननिर्वाचित सरकार अपदस्त गरे, संसद भंग गरे र शासनसत्ता आफ्नो हातमा लिए । त्यसको लगत्तै नेकपाको बैठक बसेको थियो, दरभंगामा । त्यही बैठकबाट उनीहरू तीन चिरा परे । महासचिव केशरजंग रायमाझी राजाको कदमप्रति नरम लाइन लिने पक्षमा उभिए l संस्थापक महासचिव पुष्पलालले संसद पुनस्थापनाको लाइन लिए भने तुलसीलालले राष्ट्रिय प्रजातन्त्रको लाइन । त्यसरी दरभंगाबाट एकता भंग भएको नेपाल कम्युनिस्ट पार्टीको क्रमभंगता अहिलेसम्म पनि जारी छ । भर्खरैको एक भिडियो अन्तर्वार्तामा एक ‘कम्युनिस्ट’ नेता नेपालमा हाल २४ वटा कम्युनिस्ट पार्टी छन् भन्दै थिए । तपाईंले रातोपाटीमा यो यात्रास्टोरी पढिरहँदा २५ भए पनि अन्यथा नलिनुहोला !

कसिलो हात मिलाएर फेरि भेटौंला उतै पुछारबजारमा भन्दै बलराम मसँग छुटियो । केवल केही घण्टाअघि भेटिएको ऊ बर्षौं पुरानो दोस्त जस्तो या ‘मेरी बुढी बाख्री’ सरह भइसकेको थियो ।

ऊ गएपछि उसकै हटस्पट युज गरेर मोबाइलमा डाउनलोड गरेको हिन्दी गीत सुन्दैछु एयरफोन लगाएर ।

‘क्या हुआ तेरा वाधा

वो कसम वो इरादा

भुलेगा दिल जिस दिन तुम्हे

वो दिन जिन्दगीका आखिरी दिन होगा ।’  

गीत एकपछि अर्को बज्दैछ, जसरी ट्रेन निरन्तर दौडिरहेछ ।

भीडमा एक्लो भएको छु म । डिब्बामा एउटा नवजोडी छ, टिनएजर टाइपको । तिनलाई सँगै बस्ने सिट छैन । केटी मेरो छेउमा छे । केटो उनकै छेउमा उभिएको छ । कतिन्जेल उभियोस् केटो !

केटो सीटमुन्तिर सुत्छ । उसको सिटमाथि उसकी बुढी छे, म छु ! घण्टौँको यात्रामा केही बोलिन केटी, तर मुस्कुराइ रही, लजाइ रही । बेलाबेला निहुरिएर आफ्नो तन्नेरी बुढोलाई पुलुक्क पुलुक्क हेरिरही । तिनीहरू सायद कतै हनिमुनमा जाँदै थिए कि !

अर्की थिई भुईँमा बसेकी, आफ्ना तीन नानीहरूलाई साथै राखेर । ती नानीहरू कति ज्ञानी ! रुनी, कराउनी केही छैन । आमाको छेउमा भुईंमै ती निदाइरहेका, आमाजस्तै ।

रेलको डिब्बाभरी यता मान्छे, उता मान्छे, त्यता मान्छे, यता मान्छे, माथि मान्छे, तल मान्छे तर सब सिक्वेन्समा ! जसरी खोरमा तिलकाने, बुढी बाख्री र अरु सब रातभर रहन्थे ।

बलराम छुट्टिएदेखि पटनासम्म पुग्दा आधाउधी म निदाएछु । त्यस्तो निद्रा असाध्यै मिठो, जो यदाकदा मात्र पाइन्छ । काठमाडौँबाट वीरगन्जसम्म जिप र रक्सौलदेखि रेलमा गरी झन्डै १८ घन्टादेखि निरन्तर यात्रारत शरीरले पटना नपुग्दै रेस्ट माग्न थाल्या थियो ।

रातको झन्डै दुई बजे पटना पुगेँ । जोडको पानी परिरहेको थियो । ट्रेन स्टेसन बाहिर पुग्नेबित्तिकै अटो लिएँ र उसैले सिफारिस गरेको दुई किलोमिटर परको होटलमा बसिदिएँ त्यो रात ।

बिहान १० बजेमात्र निद्रा खुल्यो । लगत्तै अटो लिएँ डेढ घन्टालाई ।

पटनाको अतित गौरवपूर्ण छ l प्राचीन भारतको १६ जनपदमध्ये एक मगधको राजधानी पाटलिपुत्र नै अहिलेको पटना हो l सुविख्यात सम्राट अशोकले पनि यहीँबाट शासन गरेका l

मेरो रुची भने भिन्नै l ‘हम कुछ नही कहेँगे, सिर्फ ड्राइभ करो, बाद मे इदर ही छोड्दो’, त्यो टाइपको टुर गर्दै डुलेको मलाई डुलाउँदा डुलाउँदै ऊ पटना हाइलाइटस् भनिरहेको थियो । र, हाइलाइटेड स्पटको गेटगेटसम्म पुग्या थियौं हामी । छिर्नचाहिँ काहिँ छिरिएन । मलाई स्पटहरुभन्दा वरिपरि नियाल्न र स्थानीयबाट तिनकाबारे सुन्न मन लाग्छ बढी ।

‘ये इन्डिया की सबसे पुराने शेहेर मे से एक हे, गंगा नदी की किनारे’, ड्राइभर होहल्लाबीच चिच्चाइरहेको थियो, ‘गोलघर यहाँका खास जगा हे । पहले ये बडा अनाज गोदाम था ।’

सन् १७८६ मा अर्कै उद्देश्यका लागि अंग्रेजद्वारा गोलाकार स्तुप शैलीमा बनाइएको त्यो ‘घर’ अहिले पर्यटकीय आकर्षण बनेको रहेछ ।

अटो यतिबेला पटना साहिव गुरुद्वाराको सामुन्ने पुग्या छ ।

‘शिख श्रद्धालु के लिए ये बहुत पवित्र स्थान हे’ ऊ भन्दै थियो, ‘ये गुरु गोविन्द का जन्मभुमि हेँ ।’ त्यहाँ टन्नै शिख धर्मग्रन्थहरु पनि छन् रे ।

हतारहतार हामी त्यहाँबाट महावीर मन्दिर परिसर पुग्यौं । हनुमानजीमा समर्पित रहेछ यो मन्दिर ।

‘इदर आ के सच्चा मन से प्रार्थना करे तो मनकी इच्छा पुर्ण होती हे’, ऊ भन्दै थियो, ‘इसिलिए ये मन्दिर मनोकामना मन्दिर के नाम से भी जाना जाती हेँ ।’

लगत्तै हामी बुद्ध स्मृति पार्कको गेटबाहिर पुग्यौं ।

‘अन्दर जाना हे क्या ! बहुत खुबसुरत हे’, उसको आग्रह मैले ‘इन्कार’ गरिदिएँ, ‘इत्ना ही काफी हे इदर । दुसरा जगा चलो ।’

त्यसपछि हामी ‘पादरीके हवेली’ चल्यौं, विहार आएको बेला रोमन क्याथोलिकले बनाएका यो हवेली सेन्टमेरी चर्चको नामले पनि परिचित रहेछ ।

‘ये यहाँ के सबसे पुराना चर्च हे और यहाँ के वास्तुकला देख्ने लायक हेँ’, उसले भन्यो ।    

हामी दौडादौडमा छौं जाम छिचोल्दै हरनको ननस्टप म्युजिकमा र यतिबेला हामी पटना म्युजियमको गेटबाहिर आइपुगेका छौं ।

‘अन्दर पचास हजार से ज्यादा दुर्लभ कलाकृति हे’, अरु प्वाइन्टमा जस्तै ऊ त्यहाँ पनि मलाई भित्र जान प्रेरित गरिरहेको थियो । तर, म भित्र कतै जानेवाला थिइनँ ।

त्यसपछि हामी लाग्यौं पटनाको अर्को आकर्षण सञ्जय गान्धी बोटानिकल गार्डेन, जो बनस्पति र जनावरको लागि विशेष भएको उसले बतायो ।

पटनाको अर्को हाइलाइट रहेछ श्रीकृष्ण विज्ञान केन्द्र, जहाँ रहेछ फन साइन्स ग्यालरी ।

‘इदर पपुलर साइन्स ग्यालरी बडिया हे, थ्री डी सो और जुरासिक पार्क भी बहुत अच्छा हे’, त्यतिभन्दै ऊ मेरो परिवारतिर आइपुग्यो र भन्न थाल्यो, ‘आपके बच्चा हे तो, ये बच्चे के लिए खास जगा हेँ ।’

नौ हेक्टरमा फैलिएको सहरको प्रदूषणबाट ‘दुर’ रहेको अर्को आकर्षण इको पार्क र गान्धीघाट चाहिँ गएनौं । किनभने,  डेढ घन्टाको अटो टुरको टाइम अघि नै सकिइसकेको थियो ।

उसले एउटा सालिक देखाउँदै भन्यो, ‘ये बडे नेताजी जय प्रकाशजी का स्ट्याच्यु है l’ यसरी उसले जेपीको नाम लिँदा मलाई बिपी कोइरालाको सम्झना भयो। बिपीका साथी थिए समाजवादी नेता जेपी l

सत्र सालमा पदच्यूत बिपी ८ वर्ष कारागारमा बसेर छुटेपछि भारतमा प्रवासी जीवन बिताउन पुगेका थिए l आठ वर्ष भारत प्रवासमा रहँदा बिपी धेरैजसो सारनाथमा बस्थे । तर, पटना उनको खास ठाउँ थियो । उनका साथीहरू जेपी, देवेन्द्रप्रसाद सिंह र विमलप्रसाद (जो पछि नेपालका लागि भारतीय राजदूत पनि भएका थिए) पटनाका नै थिए l र, बिपी पटनाबाटै २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए l

यता नेपालमा गणतन्त्रको प्रसवकालमा, मेरा पत्रकारिताकालीन दिनहरूमा गणतन्त्रका प्रणेता भनेर परिचित रामराजाप्रसाद सिंह गणतन्त्रको अपरिहार्यता र पटना प्रवासका आफ्ना संघर्षकालीन दिनहरुका अनेक कथा–उपकथा सुनाउँथे हामीलाई । श्रोता हुन्थ्यौँ कहिले रेडियो नेपालका उम्दा कार्यक्रम संचालक नवराज लम्साल र म, कहिले अल इन्डिया रेडियोमा ४० बर्ष सेवा गरेर फर्किएका प्रकाशप्रसाद उपाध्याय र म अनि कहिले अरु कोहि पनि l मुलुकको प्रशासनिक केन्द्र सिंहदरवार र नारायणहिटी राजदरबारमा समेत गराइएको २०४२ सालको बम विस्फोटको घटनापछि रामराजा मृत्युदण्ड सजायँ छल्न पटनामा लामै समय बसेका रहेछन् ।

यता नेपालमा माओवादी 'जनयुध्द' चर्किँदै गर्दा उता पटनामा ६ जना माओवादी नेता गिरफ्तार भएको समाचार पनि हाम्रै साथीभाइले लेख्या हुन् ।

नेपालको प्रजातान्त्रिक/गणतान्त्रिक आन्दोलनको सन्दर्भमा पटनाको नाम पटक पटक किन आउँछ भन्ने प्रस्ट्याउन माथिका केही प्रसङ्ग उल्लेख गरेको हुँ । ती प्रसङ्ग एकातिर तर मैले यसपटक पटनामा सबभन्दा बढी मिस केही गरेँ भने त्यो ‘बुढी बाख्री’ नै थियो । र, काठमाडौँ फर्किएपछि पनि उसलाई मिस गरिरहेकै थिएँ । उसको नेपाल नम्बरको वाट्सअपमा कल गरेँ । सोच्या थिएँ, ऊ धादिङको पुछारबजार आइसक्या होला । तर, ऊ त उता दरभंगामै रहेछ ।    

थाहा भयो ‘बुढी बाख्री’ बलराम त बोलबम बलराम पो रहेछ ।

साउनको महिना शिवको महिना, बाबाधाम (झारखण्डस्थित वैद्यनाथ बाबाको प्रसिद्ध शिव मन्दिर) जाने महिना पनि । ऊ दरभंगा घरमा ‘दो–तीन’ दिन बसेर झारखन्ड हानिएछ । र, दश दिनको यात्रापछि भर्खर दरभंगा आइपुगेको रे घरमा । ऊ हौसिएर हतारहतार विशाल विजयोत्सवको भावमा भन्दै थियो- आफ्नो बोलबम यात्रा वृत्तान्त, ‘गेरुवा लगाएर ३ सय ३० किलोमिटर बसमा गएँ सुल्तानगञ्जसम्म अनि नजिकैको गंगाजीबाट जल बोकेर खाली खुट्टा देवघर लागेँ । बाबा वैद्यनाथको घर पुग्न ठ्याक्कै पाँच दिन लाग्यो ।’

उसले अडियोलाई भिडियोमा कन्भर्ट गर्दै मलाई उसको दरभंगाको आफ्नै घरतिर लग्यो- दंगदास मुडमा थियो ऊ, छेउछाउमा टन्नै उसका इष्टमित्र ! ती सबले उसलाई घेरिरहेका थिए ।   

‘पहिलो पटक पुग्या हो बाबाधाम ?’

‘होइन, यो त मेरो दश्वाँ हो ।’

‘ओहो !’

‘भोलेनाथले जति पटक बोलाउनु हुन्छ, म त्यति पटक पुग्छु’, ऊ आफ्नो भक्तियात्राको यसपटकको भव्यता सुनाउँदै थियो, ‘आठ लाख मानिसको लाइन थियो ! पुरै १८ घन्टा लाइन बसेर वैद्यनाथ बाबालाई जल चढाएँ ।’ यस्तो भक्तिभीड उसले यसअघिका यात्राहरूमा कहिल्यै देखेभागेको थिएन रे ।    

मलाई अटोवालाले पटनाको बसस्टेसन नजिकैको होटलमा ल्याएर छोडिदियो l चेकआउट भएँ l अबको गन्तव्य हो- मोक्षधामको रुपमा प्रसिद्ध गया ।

सातौँ च्याप्टरको लागि रातोपाटी हेर्दै गर्नुहोला ।

(घुम्ने–घुमाउने, लेख्ने–लेखाउने र पढ्ने–पढाउने स्वतन्त्र पत्रकार अशोक सिलवाल लाङटाङ सद्भावना दूत तथा अप्प दीपो भवः, श्रीलंका स्मृति, लेखक दुनियाँ र कलमका सर्जक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अशोक सिलवाल
अशोक सिलवाल
लेखकबाट थप