गुहाटीकी गीतिका गाउँदै छे, ‘नचढी भा’छैन, चढ्ने कसरी था’छैन’
सारांश
- लेखकले वीरगन्ज बोर्डरमा चुरोट खोज्दै गर्दा भेटिएको अनुभवलाई प्रस्तुत गरेका छन्।
- रक्सौल स्टेसनमा एक व्यक्तिसँगको भेटघाट र धादिङको बारेमा कुराकानी, वाइवाइको आदानप्रदान।
- लेखकको भारत यात्रा र एकजना साथीसँगको सम्बन्धको रोचक वर्णन, साथै गीतिकाको सम्झना।
उता दशगजापारी वीरगन्ज बोर्डरमा खाएको स्ट्रोङ पुन्टे वियरले हल्का काम गर्न थाल्या छ । र, त म चुरोटको ठुटो खोज्न थाल्या छु भुईंतिर । आफ्नो देश भए पो सबैकुरा थाहा छ, ‘यता त के हो, के हो ? जहाँ पायो त्यहीँ चुरोट खान मिल्ने हो कि होइन !’
तल्तल्ले तल परिसक्या मान्छे म । आफूले खाने गर्या चुरोट यता पाइन्न भनेर एक बट्टा अमृतकहाँबाट र अर्को बट्टा शिवजीकोमा किनेको थिएँ, सबैरे काठमाडौँ घरतल पसलमा । त्यतिले पुग्दैन भनेर वीरगन्जमा अर्को दुई बट्टा थप्या छु । झोलामा ३ र पाइन्ट पकेटमा १ गरी ४ बट्टा सूर्य चुरोट छ । मलाई चुरोटको चिन्ता छैन अब । चिन्ता छ त, ‘कहाँ खान पाइन्छ ? कहाँ खान पाइँदैन ।’
निकै बेर नियाल्दा पनि कसैले चुरोट–बिँडी खाएको देखिनँ वरपर । अचेल नियमले हो वा नियतले, खुला ठाउँमा धुमपान गरेको देखिन मुस्किल छ, उतायता दुवैतिर ।
‘राम्रै हो, म नराम्रो भएर के भो त !’, मेरो मन भन्छ ।
ठुटो भेटिएला कि भनेर भुईँतिर आँखा गाड्दै ट्रेन स्टेसन छेउछाउ भौँतारिइरहेको छु ।
हिपहिप हुर्रे ! आफ्नै जुत्ताअगाडि ठुटो भेटियो अनि आफैभित्र आनन्द भेटियो ।
‘यहाँ खान मिल्ने रहेछ’, सोच्दै सुरुक्क सल्काएँ ।
धित मरुन्जेल तानेँ । स्पिकरले छरिरहेको थियो अनाउन्समेन्ट, स्टेसन परिसर र परपरसम्म, ‘यात्रीगण ! कृपया ध्यान देँ, गाडी नम्बर दो चार शून्य आठ पाँच प्ल्याटफर्म नम्बर दो पर आ रही हे । धन्यवाद !’
पिसाब च्यापिरहेको थियो । स्टेसनको मेन बिल्डिङमुखैमा कम्मर उचाइको सिमेन्टेड पर्खालले बारेको ट्वाइलेट देखेँ । पुग्नु अगाडि नै नाक फुट्लाजस्तो भयो । गर्नभन्दा बरु च्याप्न सजिलो ! सास रोकेर काम फत्ते गरेँ बल्लबल्ल !
दौडेर काउन्टर गएँ । अघि रोकेको सासलाई अर्डरमा ल्याउन एक छिन लामोलामो सास लिएँ । र, लिएँ पटनासम्मको टिकट ।
एक घण्टा बाँकी छ, म चढ्ने ट्रेन आइपुग्न । यहाँबाट दैनिक ८–१० हजार ओर्लने–उक्लने गर्छन्, कसैले भन्या थियो मलाई रक्सौल जक्सनको पेसेन्जर मुभमेन्टबारे । त्यसैमध्येको एक थिएँ म मुसाफिर !
बोर्डर सहर रक्सौल जसलाई नेपाल आउँदा इन्डियनहरू आफ्नो देशको अन्तिम मान्छन्, जसरी मेरा लागि वीरगन्ज । यो यात्रामा मलाई यो पहिलो सहर हो इन्डियाको, जसरी उनीहरूलाई वीरगन्ज ।
फोहोर यत्रतत्र । अटोहरू चल्याचल्यै छन् । हरनहरु बज्याबज्यै छन् । मान्छेहरू बोल्याबाल्यै छन् । जताततै गुट्खाका खोलहरू । जताततै प्लास्टिकहरू । कसैलाई केही मतलब छैन, अस्तव्यस्त, सबै आ–आफ्नै सुरमा मस्त । गाईहरू पनि छाडा छोड्या छन् । ती सुधा प्राणी समेत फोहोरमै मुख गाडिरहेका छन् । अचम्मको ‘ज्युँदोजाग्दो’ जगा !
केही वर्षअघिको फोहोरी काठमाडौँको झल्को आयो । महिनैपिच्छे राम्रै पैसा तिर्नुपर्छ तर अचेल काठमाडौँका कुनाकाप्चा सबैतिर दुई–चार दिन बिराएर फोहोर उठाउने ट्रक आउँछ, उठाउँछ र ओखरपौवातिर लैजान्छ । काठमाडौँ (तुलनात्मक रूपमा) सफा किन छ भने यहाँको फोहोर अन्यत्र जान्छ । त्यसैले ओखरपौवा फेरिएर ‘फोहोरपौवा’ भएको छ । डम्पिङसाइट !
डेढ वर्षअघि काठमाडौँको नागढुंगाबाट धादिङको देउराली क्रस गरेर नुवाकोटको ओखरपौवा हुँदै ककनी निस्केको थिएँ । झन्डै ४० किलोमिटरको एक दिने हिँडाइमा अरू थुप्रै कुराले दुखेको थिएँ । दिनभरिको हिँडाइले दुखेको थिएँ, मध्यान्हको टन्टलापुर घामले दुखेको थिएँ, रिसर्चबिनाको पुङ न पुच्छरको ‘आँटिलो’ यात्रा योजनाले पनि दुखेको थिएँ र सबभन्दा बढीचाहिँ ओखरपौवाले ।
डम्पिङसाइटमै पुग्दा हावा बरु त्यति विकृत थिएन । साइट छाडेर ककनीपट्टि उक्लिँदै गर्दा गन्ध अझ दोब्बर, अझ तेब्बर !
दिनैभरजसो मुखले सास फेरिरहेको थिएँ । गन्धपुरीमा नाकले त सके पो ! जाबो एक दिन त त्यो पाखो हिँड्नलाई मलाई त्यति गाहारो भयो भने हरेक दिन त्यहीँ बस्नेलाई कस्तो होला ? त्यस्तो सोच्दै उकालोमा स्वाँस्वाँ गर्दै सकेसम्म ओखरपौवाबाट टाढिँदै थिएँ ।
बानी परेपछि सजिलो हुन्छ, यो सिद्धान्तलाई व्यवहारमा उतारेर वा व्यवहारलाई सिद्धान्तमा ‘बुझेर’ स्थानीयहरू डम्पिङसाइट र त्यसले उत्पादन गरेको गन्धेजीवन बाँच्न अभ्यस्त भइसकेका थिए कि !
म पनि अब केही दिन इन्डियासँग अभ्यस्त हुनुपर्ने छ । र, अभ्यस्त हुनुपर्ने छ यहाँका हरन, हल्ला, फोहोर, गर्मी, सर्दी अथवा सबै स्थानीय स्थिति, अवस्थिति र परिस्थितिसँग । पौडी खेल्न तम्सेपछि भिज्छु कि भन्ने भय राख्न पनि त भएन !
एकातिर यी फोहोरहरू छन् र अर्कोतिर मनले पनि र तनले पनि सफा मेरा प्रिय इन्डियन साथीहरू !
गुहाटी, आसामकी गीतिका त्यस्तै एउटी साथी हो l उसलाई मैले पहिलो पटक भेट्या उसको देशबाहिरै हो, इन्डियाको आँसुसमेत भनेर चिनिने श्रीलङ्कामा। ऊसँग त्यसअघि नै फोनमा पटक पटक कुरा भएको थियो । नभेट्दै भेटौँ भेटौँ भएको थियो । भेटेपछि फेरिफेरि भेटिरहुँजस्तो । र, फेरिफेरि भेट भइरह्यो पनि ।
पुरै श्रीलङ्का दुई पटक घुम्यौँ सँगसँगै । पछि कर्नाटकमा पनि हामी दुई–तीन दिन सँगै थियौँ । ऊ नेपाल पनि आएकी थिई । र, उसलाई लिन म मध्यरात एयरपोर्ट पुगेको थिएँ ।
‘केही दिनलाई इन्डिया जाँदै छु’, यसपटक काठमाडौँ छोड्नुअघि अघिल्लो रात मैले उसलाई इन्फर्म गरेको थिएँ ।
‘हम उदर थे, आप नही आये । अभी तो मे न्युयोर्कमे हुँ’, अचेल कोरिया बस्ने ऊ केही दिनलाई अमेरिका पुगेकी रहिछ ।
त्यसो त ऊ कहिले कता कहिले कता पुगिरहेकी हुन्छे ।
फिफा वर्ल्डकपका पछिल्ला संस्करणहरूमा ऊ ऊभन्दा ठुलो क्यामरा मैदानतिर दौडाइरहेकी मैले पटक पटक देख्या छु, मेसी, रोनाल्डो र एम्बापेहरुलाई खिचिरहेकी । तिनका खुट्टालाई, तिनका तनावहरूलाई, तिनका खुसीहरूलाई ।
ओलम्पिकलाई कभर गर्न पनि ऊ देश–महादेश चहारिरहन्छे ।
साथीको संगत मिठो तर त्यो भन्दा मिठो जब साथी उसको सपनाको वास्तविक उडान भरिरहेकी हुन्छे । म उसका प्रत्येक उडानहरूमा काली काली हिस्सी परेकी उसको रसिलो अनुहार सम्झेर हँसिलो हुन्छु ।
सानैदेखिको त्यो र त्यस्ता अनेक उसका सपनाबारे सिग्रिया जाँदा उसले मलाई सुनाएकी थिई । रावणको दरबारसमेत भनेर चिनिने लायन्स रक जाँदा उसले उसका जीवनका अनेक कथा सुनाई, जो लगातार सुनिरहूँ जस्तो लाग्ने । सुनाउँदा सुनाउँदै सहाउँथी ऊ मलाई । सुनाउँदा सुनाउँदै रुवाउँथी ऊ मलाई । ऊ पनि रुन्थी, हाँस्थी । त्यस्तो बोन्डिङ हामीबिच, जो स्मृतिमा अझ सुन्दर ! अझ सजीव !
सोचेको थिइनँ, इन्डिया यात्रा वृतान्तभित्र ऊ यसरी आउँछे । खासमा ऊ मभित्र यसरी आई यहाँ, नलेखी सकिनँ । खासमा ऊ आएकी होइन । कति मान्छे हुन्छन्, टाढा भए पनि सधैँ आफैसँग भएजस्तै । गीतिका त्यस्तै हो मेरा लागि ।
अहिलेको नेपाल त्यसको ज्युँदाजाग्दो उदाहरण हो । होइन र ?
तपाईंले कुरो बुझ्नुभएन कि क्या हो !
रातोपाटीको यो ‘इन्डिया सिरिज’ पढ्नेमध्ये तपाईं कतिजना आफ्ना प्रियजनसँग सँगै हुनुहुन्छ ? तपाईं यता हुनुहोला, तपाईंका प्रियजन उता । उल्टाएर हेरौँ, तपाईं उता हुनुहोला, तपाईंका प्रियजन यता । एकएक गरी सहरमा गाउँ गइसक्यो, विदेशमा देशै गइसक्यो । सुन्दा पनि सन्चो नहुने !
व्याकरण र उच्चारण मात्र उच्च होइन, काव्यात्मक पनि उत्तिकै उसको हिन्दी, आसामी र अङ्ग्रेजी । ऊ हल्काफुल्का नेपाली पनि बोल्थी । र, बुझ्थीचाहिँ सबै, उसैले भनेकी । उसका धेरै साथीहरू नेपालीभाषी छन् रे गुहाटीमा । छिमेकमा पनि ‘नेपाली’ टन्नै छन् रे ।
महासागर किनारको कोलम्बो साँझ सम्झन्छु र सम्झन्छु उसको स्वर र सुर ।
हिन्द महासागरका छालहरूछेउ गल्फेसमा मैले उसको स्वरमा लता मंगेशकर, आशा भोस्ले र अनुराधा पोडुवालहरु सुनेको थिएँ ।
पटक पटक फोन आइरहँदा पनि नउठाई ऊ स्वर उठाइरहेकी थिई, सुर उठाइरहेकी थिई ।
‘तुम्से मिल्के ऐसा लगा
तुम्से मिल्के अरमा हुए पुरे दिलके
ए मेरे जाने बफा
तेरीमेरी मेरीतेरी एक जान हे
साथ तेरे रहेँगे सदा
तुम्से ना होंगे जुधा
तुम्से मिल्के ऐसा लगा
तुम्से मिल्के अरमा हुए पुरे दिलके ।’
महासागर मस्तीमा म ऊसँग । किनभने, महासागरमा उसको स्वर, सुर र संगीत थपिएको थियो ।
स्पोर्टस् फोटो जर्नालिजममा ग्लोबल्ली जमेकी ऊ गाउनकै लागि जन्मेकी जस्तो लाग्या थियो मलाई ।
छालहरूजस्तै मभित्र अनेक छालहरू उठिरहेका थिए । गीतिकाको गीतले त्यो साँझ दिव्य अझ दिव्य भइरहेको थियो ।
जीवनमा तपाईंसँग कति त्यस्ता साँझहरू छन् ? जति धेरै छन्, तपाईं त्यति धनी, तपाई त्यति धन्य !
मिथक अनुसार रावणले हरेर लगेपछि सीतालाई ससम्मान राखेको (श्री)लंकास्थित अशोकवाटिका पनि हामी सँगै गएका थियौँ । नेपालकै कुनै पहाडी भूभागजस्तो क्यान्डी र पोखराकै एक छेउजस्तो लाग्ने नुवारालिया जाँदा पनि त हामी सँगै थियौँ । चिया बगानैबगानबीच श्रीलंकाको एउटा भागबाट अर्को भू–भाग जाँदा पनि हामी ठुलो टुरिस्ट कोचको लास्ट सिटमा सँगै थियौँ । घरी ऊ गाउँथी, घर बात मार्थी ।
कुरा गर्दै जाँदा ऊ आसामबारे अनेक कुरा गरिहाल्थी ।
तिब्बतको मानसरोवरमा उद्गम भएको नदी बग्दै जाँदा बढ्दै बढ्दै अनि नाम पनि बदल्दै भारतको आसाममा विशाल ब्रम्हपुत्र बन्छ l आसाममा ब्रम्हपुत्र केवल बग्दैन, यसले आसामलाई उर्वर बनाएको छ, पवित्र पनि बनाएको छ । ‘ये भारतके सबसे खुबसुरत राज्यमध्येका एक हे’, उसले भनेकी थिई ।
नर्थइस्ट इन्डियाको गेटवे मानिने गुहाटी ऊ जन्मेको सहर, जसलाई काठमाडौँजस्तै मन्दिरहरूको सहर पनि भनिन्छ । ‘कामख्या मन्दिर गुहाटीको खास आकर्षण हो’, ऊ थप्दै थिई, इन्डियाको मात्र होइन, एसियाकै पुरानामध्येको सहर हो यो ।’
त्यो सहरकी आसामी गीतिकासँग मैले कोभिडताका पश्चिम नेपालको दोधाराचाँदनीदेखि पूर्वको पशुपतिनगरसम्म एक महिना साइकल यात्रा गर्दाक्रममा प्राय प्रत्येक सहरबाट संवाद गरेको छु । महेन्द्रनगरबाट, धनगढीबाट, भैरहवाबाट, पोखराबाट, नारायणगढबाट, धरानबाट, बिर्तामोडबाट, विराटनगरबाट र अरू थुप्रै सहरहरूबाट । ऊ मेरी त्यस्तै इन्डियन साथी !
हरेक दिनको मेरो दैनिकी सुन्न ऊ आतुर, सुनाउन म । अचेल अलि त्यस्तो छैन । तर, बेलाबेला ऊ मलाई आसाम बोलाउँछे । एक पटक त पुरै आइटेनरी नै पठाइदिएकी थिई । कोरिया पनि आऊ भन्दै कुनै सन्दर्भ मिलाएर इन्भिटेसन पठाउँला भनेकी थिई । सुन्दा पत्यार नलाग्नसक्छ, तर मैले गम्भीर भएर रुचि नै देखाइनँ ।
रक्सौल ट्रेन स्टेसनसम्म फाट्टफुट्ट एनटिसीको डाटाले काम गरिराख्या छ ।
‘हेलो गीतिका !’, टाइप गरेर सेन्ड गर्नै लाग्या थिएँ तर अमेरिकाको टाइम सम्झेँ, यता र उताको टाइम ठ्याक्कै उल्टो । ऊ अर्को गोलार्द्धमा तर म यो गोलार्द्धको उसको देशमा छु । हो, उसको देशमा छु तर उसको राज्यमा होइन, उसको सहरमा होइन । आसाममा होइन, गुहाटीमा होइन ।
तर, मेरो मनको देशमा छे ऊ । मेरो मनको राज्यमा छे ऊ । र, छे मेरो मनको सहरमा । ऊ मेरी त्यस्तै इन्डियन साथी !
‘ओ माई डियर इन्डियन फ्रेन्ड गीतिका ! रक्सौलसे अभिवादन हे, अभिनन्दन हे !’
४ बज्न अझै आधा घण्टा बाँकी छ । म रेलवे स्टेसनको सामुन्नेको ग्रिनरीमा छु । कुन जातको रुख थियो, बिर्सेँ तर शीतल छ चौर, शीतलै छ चौतारी !
चुरोट सल्काएँ । नजिकै कसैले बिडीँ तान्दै थियो । तान्नु एउटा कुरा तर म सधैँ चुरोटको आलोचक ! बिँडीको बासनाले भने जहिल्यै आकर्षित गर्नेगर्छ गजबले ।
आफ्नो एउटा चुरोट दिएर उसको एउटा बिँडी मागौं कि जस्तो लाग्या थियो । तर, के सोचेँ कुन्नी ! कहिलेकाहीँ धुवाँ पुरै निलिन्छ नि, त्यसैगरी निलिदिएँ इच्छालाई । अपरिचितसँग अपरिचय कन्टिन्यु गर्दै चुरोट तान्दै थिएँ ।
के मन लागेर हो, अघि वीरगञ्जमा चुरोटसँगै एक पाकेट वाइवाइ चाउचाउ पनि किनेर झोलामा होलेको थिएँ । फेरि के मन लागेर हो, त्यो प्याकेट फोरेर त्यसमा मसला र तेल मोलमाल गर्दै थिएँ । मेरो आँखा म बसेकै चौतारोको अर्को छेउमा गयो । र, टक्क रोकियो । मसँग त एउटा मात्र वाइवाइ थियो, त्यहाँ त बाकसै रैछ ।
वाइवाइप्रति अनेक धारणा होलान् हाम्रा, म आफै पनि जंक फुडको घोरविरोधी ! विरोधकै बिच पनि यदाकदा ग्रहण गर्नु बेग्लै कुरा । तर, त्यहाँ मैले त्यो सब सोचिनँ । अरूको देशमा स्वदेशी ब्रान्डवाला चाउचाउ देख्दा म आफै ब्रान्ड बनेजस्तो भयो । अझ यस्तो भयो, अलि अघिको त्यो अर्कैलाई जस्तो यो चाउचाउवालालाई अपरिचित रहनदिन सकिनँ र म स्वयम अपरिचित रहिरहन सकिनँ ।
‘अरे भाइ कहाँ से लाया वो नुडल्स् ?’
‘धादिङबेसीबाट’, नसोचेको उत्तर दियो उसले ।
‘नेपालबाट’, उसले यस्तो भन्या भए पनि म उति ऊप्रति इन्ट्रेस्टेड हुने थिइनँ ।
काठमाडौँ वा वीरगन्जबाट भनेको भए पनि मलाई त्यति छुँदैन थियो होला । तर, जब उसले धादिङबेसीको पुछारबजार भन्यो, म ऊतिर फरक्क फर्किइनँ मात्र, मेरा कान, आँखा र ध्यान सबै ऊतिर ।
स्पिकरले छरिरहेकै छ अनाउन्समेन्ट, ‘यात्रीगण ! कृपया ध्यान देँ, गाडी नम्बर सात आठ एक नौ दो प्ल्याटफर्म नम्बर एक पर आ रही हे । धन्यवाद !’
म चाउचाउको दोस्रो फ्वाँक हाल्दै थिएँ । र, उसलाई पनि अफर गरेँ । उसले पनि ‘हाथ’ थापिहाल्यो ।
‘पिएगेँ क्या ?’, मैले सिगरेट अफर गरेँ ।
‘नहीँ’, ऊ चुरोट खाँदो रहेनछ ।
‘तो ये नुडल्स् धादिङबेसी से लाएँ आप ?’, अघि नै थाहा पाइसके पनि धादिङबेसीसँग उसको कनेक्सन कोट्याउन पुन प्रश्न गरेँ, अति जिज्ञासु टाइपले उसको आँखामा आँखा जुधाउँदै ।
वाइवाइले जोडेको नेपाल कनेक्सनमा टेकेर चौतारीमा पलेटी कसेर वातचित सुरु भयो । उसले त मलाई धादिङ ‘धमाका’ नै दियो । कवाड व्यवसायी रहेछ ऊ । धादिङबेसीदेखि दार्खा र रुवीभ्यालीसम्मको अनुभव सुनायो उसले । संकटकाल, भूकम्प र कोभिडताकाका अनेक किस्सा सुनायो ।
आफन्तले आफन्तलाई झैँ उसले सुझाव दियो, ‘जे खानु छ, चलेको रेस्टुरेन्ट वा दर्तावाल पसलमा मात्र किनेर खानु । ट्रेनमा कसैले दिएको गुट्खा, सुर्ती, खैनी, चिया केही पनि नखानु । मान्छे खराब पनि हुनसक्छन् ।’
‘पहिले पहिले हरेक ट्रेनमा केही मान्छे बेहोस भेटिन्थे । चप्पल पनि बाँकी हुन्थेन’, उसले भन्यो, ‘तर अचेल सरकारले टाइट गरेको छ । त्यसैले पहिले जस्तो अलि छैन अहिले ।’
कुरालाई कुरैकै रूपमा प्रस्तुत गर्छु एक छिन, जस्ताको तस्तै ।
‘टन्नै छ त वाइवाइ !’
‘मिठो लाग्छ नि त !’
‘कोसेली !’
‘हो । कोसेली ।’
‘तपाईं धादिङको कहाँ कहाँ पुग्नु भा छ ?’
‘धादिङको त सबतिर थाहा छ हाम्लाई, माथि डाँडाडाँडा लेकतिर नि हामी जान्छ ।’
‘सल्यानटार पनि गा होला नि ?’
‘किन नजानु ?’
‘त्यहाँ त जग्गा महंगो छ क्यारे !’
‘फराकिलो छ नि त जग्गा । तराईजस्तै छ सल्यानटार त ।’
‘मुन्तितिरको आँखु याद छ ?’
‘किन नहुनु ! खहरे पनि थाहा छ । गुम्दी पनि जान्छु । किन्ताङफेदी, दार्खा, ...’
‘दार्खा पनि !’
‘झार्लाङ, बोर्लाङ, सेर्तुङ, रुबीभ्याली सबैतिर । गाडी आफ्नै हो, गाडी लिएर जान्छु । म ड्राइभर पनि हो ।’
‘परिवार कतिजना ?’
‘४ जना । सबै धादिङै बस्छौँ ।’
‘सबले नेपाली बोल्छ ?’
‘किन नबोल्नु ! भुराभुरी जन्मेको, हुर्केको र पढेको धादिङमै । म २०६० सालमा त्यता गएको । मलाई पहिलेदेखि मनपरेको धादिङ । सुख, शान्ति र आनन्दी । हल्लागुल्ला त्यति छैन । त्यही भएर त्यहीँ बसेको ।’
‘काठमाडौँ त जानु भा छ ?’
‘छ, खासासम्म गा छ ।’
‘तपाईंलाई त आफू इन्डियनभन्दा नेपाली भन्न मन लाग्ला !’
‘हजुर हजुर ! बसोबासै बढी भयो हाम्रो नेपालमा ।’
‘धादिङमा सबले चिन्छन् तपाईंलाई ?’
‘दरभंगाको बलराम भनेर सोध्यो भने जसले पनि भनिदिन्छ ।’
‘धादिङमा अरू पनि दरभंगाली छन् ?’
‘मसँग एकजना कामदार छ । अरू इन्डियनचाहिँ छन् तर कोही मोतिहारीको, कोही रक्सौलको, कोही बेतियाको ।’
‘दरभंगामा तपाईंको को–को छ ?’
‘दाइहरू छ । भतिजाहरू छ ।’
‘आइरहनु हुन्छ यता ?’
‘खासै आउँदिनँ ।’
‘अहिले किन आउनु भा ?’
‘कागजपत्रको काम छ ।’
‘६० सालदेखि तपाईं जुन देशमा बस्नु भा छ, त्यो देशको मान्छेलाई तपाईंको देशमा भेट्दा कस्तो लाग्यो ?’
‘बहुत खुशी लाग्छ नि । दरभंगामा नि धेरै नेपाली दाजुभाइ छन् । धेरै माया गर्छ ।’
‘नेपालीलाई के भन्न मन लाग्या छ त यहाँबाट ?’
‘साथी भन्छ नि हामी जहिल्यै पनि । एक हजार साथी छ हाम्रो धादिङबेसीमा ।’
‘हैट !’
‘गाउँगाउँ डुलेको मान्छे हामी । कुनै गाउँ नै बाँकी छैन । धुँवाकोट, नुवाकोट सबै ।’
‘मचाहिँ नुवाकोटको हो ।’
‘त्रिशूली ?’
‘त्रिशूलीमाथि ।’
‘बेत्रावती ?’
‘त्यो भन्दा नि माथि ?’
‘धुन्चे ?
धुन्चे त रसुवा हो ।’
‘बेत्रावती पारी, अलि माथि फिकुरी, किस्पाङ गाउँपालिका ।’
‘थाहा छ ।’
स्पिकरले छरिरहेकै छ अनाउन्समेन्ट, ‘यात्रीगण ! कृपया ध्यान देँ, गाडी नम्बर ... । धन्यवाद !’
यो पटक चाहिँ हाम्रै लागि रहेछ । बलराम मन्डल र म एउटै ट्रेनमा दरभंगासम्म । दरभंगासम्मै सही, मैले ‘धादिङे इन्डियन’ भेटेको छु, मलाई म नेपालमै छु जस्तो ढुक्क भइरहेको छ । उसले मलाई ट्रेनमा के गर्ने र के नगर्ने भनेर हल्का ट्रेन्ड पनि त गर्या छ । त्यसपछि ऊ झर्नेछ ट्रेनबाट, म निरन्तर ट्रेनमै हुनेछु !
आफ्नै प्रकारको बाजा बजाउँदै ट्रेन आइपुग्छ, स्लो हुँदै हुँदै । यो लोकल ट्रेन हो, रक्सौल टु मुम्बई । ठाउँठाउँमा रोक्दै लैजान्छ । सुपरफास्टमा गए यहाँबाट दरभंगा पुग्न दुई घण्टा लाग्छ भन्दै थियो ऊ । यसमा कम्तीमा पनि चार–पाँच घण्टा ! मलाई पटना पुग्न झन् कति समय लाग्ने हो ? मध्यरात पनि पुग्ने छाँट छैन ।
प्रत्येक डब्बाहरू हाउसफुल ! ट्रेन कुरिरहेका मान्छेका ताँती स्टेसनमा नानाभाँती !
‘नचढी भा छैन, चढ्ने कसरी था छैन’, स्थिति वर्णन त अहा ! गीतजस्तै सुनियो । गीतिकाले गाए कस्तो सुनिँदा हो ? ट्रेन चढ्नुअघि मैले फेरि उसैलाई सम्झिएँ ।
‘नचढी भा छैन, चढ्ने कसरी था छैन’, मेरो मनोलोकमा ऊ गाउँदै छे ।
यता सुरु भइसक्या छ, भारतमा ‘महाभारत !’
छैटौँ च्याप्टरका लागि रातोपाटी हेर्दै गर्नुहोला ।
(घुम्ने–घुमाउने, लेख्ने–लेखाउने र पढ्ने–पढाउने स्वतन्त्र पत्रकार अशोक सिलवाल लाङटाङ सद्भावनादूत तथा अप्प दीपो भवः, श्रीलंका स्मृति, लेखक दुनियाँ र कलमका सर्जक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण