बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

जग्गाको न्यूनतम सरकारी मूल्यांकनमा मिश्रित नीति, उपत्यकामा कहाँ कति बढ्यो ?

बुधबार, २१ साउन २०८२, १० : ४९
बुधबार, २१ साउन २०८२

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौं उपत्यकाका स्थानीय प्रशासनले जग्गाको न्यूनतम सरकारी मूल्यांकनमा मिश्रित नीति अपनाएका छन् । 

टोखा क्षेत्रका केही स्थानमा करिब १० प्रतिशतले मूल्य वृद्धि गरिएको छ । 

बुढानीलकण्ठ, टोखा, धापासी र तारकेश्वर नगरपालिकाका प्रमुख सडकदेखि बाटो नभएका जग्गासम्मको मूल्याङ्कन बढाइएको हो ।

नयाँ मूल्याङ्कनअनुसार धापासीको प्रस्तावित रिङरोडसँग जोडिएको जग्गाको मूल्य प्रतिआना ४२ लाख ३१ हजार रुपैयाँ पुगेको छ । जुन गत वर्ष ३८ लाख ४६ हजार रुपैयाँ थियो । यस्तै, टोखा चण्डेश्वरीको मूल सडकको मूल्य प्रतिआना १० लाख ७२ हजारबाट बढेर ११ लाख ७९ हजार रुपैयाँ कायम भएको छ ।

ललितपुर प्रशासनले अधिकांश क्षेत्रको मूल्यांकन यथावत् राखे पनि सुनाकोठी र हरिसिद्धि क्षेत्रमा भने मूल्य बढाएको छ । सो क्षेत्रको मूल पिच सडकमा पनि १० देखि १४ प्रतिशतसम्म मूल्य बढेको छ । यस्तै, हरिसिद्धिको मूल पिच सडकमा पनि करिब २० प्रतिशतले वृद्धि गर्दै प्रतिआना १० लाख २० हजारबाट १२ लाख २० हजार रुपैयाँ कायम गरिएको छ ।

भक्तपुर मालपोत कार्यालयले पनि छनोटपूर्ण वृद्धिको नीति लिएको देखिन्छ । मध्यपुर थिमि नगरपालिकाको साविक दिव्यश्वरी क्षेत्रमा मात्र १ देखि ९ प्रतिशतसम्मको वृद्धि गरिएको छ । अरनिको राजमार्गसँग जोडिएको जग्गाको मूल्याङ्कन प्रतिआना ३३ लाख ५४ हजारबाट बढेर ३४ लाख ९६ हजार रुपैयाँ पुर्याइएको छ भने अन्य क्षेत्रमा यथावत राखिएको छ ।
हाल जग्गाको सरकारी मूल्यांकन जिल्ला प्रशासन कार्यालय र  स्थानीय तहले दुई तरिकाले गर्ने गरेका छन् । 
मालपोत नियमावली २०३६ ले घरजग्गा कारोबारको रजिष्ट्रेसन लिखतमा हुने थैली अंक कायम गर्ने प्रयोजनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला समन्वय समितिका सभापति वा सदस्य, नापी जिल्ला कार्यालयका प्रमुख, कर कार्यालयका प्रमुख तथा मालपोत कार्यालयका प्रमुख रहेको सदस्यसहितको न्यूनतम मूल्य निर्धारण समितिको व्यवस्था गरेको छ । उक्त समितिको निर्णय अनुसार चालु आर्थिक वर्षका लागि घरजग्गाको मूल्यमा निर्धारण गरिएको छ । 

त्यस्तै, सम्पत्ति कर उठाउने प्रयोजनको लागि स्थानीय तहले जग्गाको न्यूनतम मूल्यांकन गर्ने गर्छन् । सोहीअनुसार आर्थिक वर्ष २०८२/८३ का जग्गाको मूल्यांकन गरिएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप