‘गठबन्धन केन्द्रले बनाएको हो, कर्णालीमा कांग्रेसले चाहँदैमा केही हुँदैन’
सारांश
- कर्णाली प्रदेशमा एमाले र कांग्रेसबीचको असमझदारी सार्वजनिक भयो, कांग्रेसले सरकारको कार्यक्रम बहिष्कार गर्यो।
- एमालेले कांग्रेसको भूमिका गठबन्धन संस्कृति अनुसार नभएको निष्कर्ष निकाल्यो, जसले सरकार सञ्चालनमा चुनौती थप्यो।
- कांग्रेसले बारम्बार सरकार छाड्ने चेतावनी दिँदै आएको छ, तर सरकार तलमाथि हुने सम्भावना नरहेको एमालेको भनाइ छ।
सुर्खेत । कर्णाली प्रदेशमा सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेको संसदीय दलको बैठकले सत्ता साझेदार दल नेपाली कांग्रेसको भूमिका गठबन्धनको संस्कृति अनुरूप नभएको निष्कर्ष निकाल्यो । शुक्रबार त पूर्वमुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अर्थ मन्त्रालयले आयोजना गरेको एउटा सरकारी कार्यक्रम नै बहिष्कार गरिदिए । यससँगै कर्णालीमा एमाले र कांग्रेसबिचको चिसोपना छताछुल्ल भएको छ ।
एमालेका कतिपय सांसदहरुले वरीयतामा आफ्नो नाम नदेखेपछि शाहीले शुक्रबारको कार्यक्रम बहिष्कार गरेको दाबी गरेपनि त्यसको चुरो कुरो बिहीबार एमालेले निकालेको निष्कर्षसँग नै जोडिएको बताइन्छ ।
हुन त कांग्रेसकै सांसदले संसद् अवरुद्ध गर्ने, दलको नेता र मन्त्रीले सरकारको निर्णयको विरोध गर्नेसमेत गर्दै आएका छन् । गत पुस महिनादेखि यही सिलसिला चलिरहेको हो । जसले सत्ता गठबन्धन सहज ढंगले चलेको छैन भन्ने देखाउँछ ।
गठबन्धनभित्रको यही खटपट, सरकार सञ्चालनमा देखिएका चुनौतीलगायतका विषयमा रातोपाटीले कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहसँग कुराकानी गरेको छ । प्रस्तुत छ, शाहसँग गरिएको कुराकानीको अंशः
- शुक्रबार सत्ता साझेदार दलकै नेता (जीवनबहादुर शाही)ले सरकारी कार्यक्रम नै बहिष्कार गर्नुभयो । गठबन्धनभित्र समस्या बढेको हो ?
—अलग–अलग उद्देश्य बोकेका पार्टीहरू विभिन्न कारणले एक ठाउँमा बसेको अवस्था भए पनि आ–आफ्नो उद्देश्य र लक्ष्य त हुन्छन् नै । त्यसपछि कतिपय कुराहरू बिचमा आउँदा कहिलेकाहीँ असमझदारी पनि हुन सक्छ । त्यही भएको हो । त्यो असमझदारीलाई चिर्नका लागि छलफल, संवाद इत्यादिको आवश्यकता छ । त्यो भयो भने सुल्झिन्छ ।
- पूर्वमुख्यमन्त्री शाहीले कार्यक्रम बहिष्कार गर्नुको कारण वरीयतामा नाम छुटेर नभई गठबन्धनभित्रको पुरानो असन्तुष्टिको असरमा रूपमा हेरिएको छ, यो विषयलाई एमालेले कसरी लिएको छ ?
—त्यहाँ कार्यक्रमको सूची बनाउँदाखेरि मिस्टेक भएको थियो । त्यसपछि ‘गल्ती भयो’ भनेर स्विकारेर सच्याइसकेको अवस्था थियो । अनि कार्यक्रम सुरु भयो । सुरु भएपछि पनि उहाँलाई कार्यक्रमप्रति चित्त नबुझेको होला । यो वर्षको बजेट बनिसकेको हुनाले यसको आवश्यकता छैन, औचित्य छैन, अर्को आर्थिक वर्षको लागि चाहिने हो भनेर उहाँ निस्कनु भएको हो । अहिले बजेट बनिसक्यो । सशर्त, समपूरक, विशेष अनुदान कार्यविधि अहिले कार्यविधि संशोधन आवश्यक छैन, पछि हुन्छ भन्ने कुरो भयो । तर प्रदेशसभामा सदस्यहरूले यो छलफल हुनुपर्छ, यसलाई संशोधन गर्नुपर्छ भन्ने स्थिति थियो । यो सदस्यहरूले भनेको कुरालाई छलफलको विषय बनाएको हो ।
- यो कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठ्यो नि ! कतै भविष्यमा आफैँलाई चाहिने नीति एमालेले अहिले नै बनाइदियो भनेर कांग्रेस चिढिएको त होइन ?
—गठबन्धन ०८४ सम्म नै जान्छ भन्ने कुरो त आमरुपमा भनिरहेको स्थिति छ । जुन कुरा एमालेले र कांग्रेसले पनि भनिरहेको स्थिति हो । त्यो अहिले यो संशोधन गरिहाल्दा फेरि संशोधन गर्न मिल्दैन भन्ने पनि होइन । अनि संशोधन गरेपछि पछि आउने सरकारलाई आवश्यक हुन्न भन्ने पनि त होइन । त्यसकारण यो गरिहाले पनि कुनै फरक पर्ने विषयचाहिँ थिएन । तर आवश्यकता छैन भनियो । एउटा त कार्यक्रम आयोजना गर्दा मिस्टेक भयो । मिस्टेक भएपछि त्यसले पनि अलिकति काम ग¥यो ।
- यो घटनाले सरकारी रकम खेर गयो, गठबन्धनको छविमा पनि त धक्का लाग्यो नि, होइन र ?
—मेरो विचारमा गठबन्धनमा त केही समस्या आउँदैन । छलफल इत्यादि गरेर कामहरू सुधार्ने हिसाबले अगाडि बढ्यो भने त गठबन्धनमा त यसले समस्या आउँदैन । किनभन्दा गठबन्धन कर्णाली प्रदेशले बनाएको पनि होइन । यो गठबन्धन भनेको केन्द्रमा बनेको हो । केन्द्रमा बिग्रेपछि बिग्रिने स्थिति हो । यहाँ कांग्रेसले चाहँदैमा सरकार तलमाथि हुँदैन । यद्यपि यहाँ सत्ता साझेदार दलमा असमझदारी भएपछि काममा बाधा चाहिँ पर्छ । धेरै काममा काममा विलम्ब पनि भएकै छ । तर गठबन्धनलाई त केही असर हुन्न ।
- भनेको कांग्रेसका कारण सत्ता साझेदार दलबाटै सरकारी काममा असहयोग भएको अनुभव एमालेलाई छ ?
—अब यो बहुदलीय व्यवस्थामा यस्ता कुराहरू भइरहन्छन् नै । नेपालमा एमाले र कांग्रेसको सरकार बनेको स्थितिमा पनि यस किसिमका बिच–बिचमा कुराहरू आइ नै रहन्छन् । एमाले र माओवादीको बनायो भने हुन्छ, कांग्रेस र माओवादीको बनायो भने पनि यी कुराहरू त आउँछन् नै ।
विभिन्न तर्क–वितर्क हुँदा यस्ता समस्याहरू आइरहन्छन्, यी स्वाभाविक हुन् । अब यिनीहरूलाई चिर्दै अगाडि बढ्ने कुरा हो ।
- एमालेले त ‘कांग्रेसको भूमिका गठबन्धन संस्कृति अनुसार भएन’ भनेर निष्कर्ष नै निकालेछ नि ?
—अब त्यो सामान्य छलफल भएको हो । कांग्रेसले कतिपय सरकारी विषयमा कांग्रेसका साथीहरू सार्वजनिक रूपमा गएर भन्दिनुहुन्छ । यसरी बाहिर सार्वजनिक रूपमा नगएर नेपाली कांग्रेस र नेकपा एमालेले आपसमा छलफल गर्नुपर्छ । आपसमै कुराहरू सल्टाउनुपर्ने आवश्यकता हो । यसरी पब्लिकली जाँदाखेरि यो कमजोरी रहेको हो भन्ने कुरा मात्रै हो ।
- कांग्रेसले बारम्बार सरकार छाड्ने चेतावनी दिन्छ, कांग्रेसकै सांसदले संसद् समेत अवरुद्ध गरे, खासमा कांग्रेस र एमालेबिच नमिलेको गाँठो चाहिँ के हो ?
— हाम्रो अडान के हो भने, ३० लाख रुपैयाँभन्दा माथिका जति पनि आयोजनाहरू छन्, ती सबै अनिवार्य रूपमा ठेक्कापट्टामार्फत नै कार्यान्वयन गरिनुपर्छ । त्यस्ता आयोजनाहरूमा उपभोक्ता समितिहरूलाई संलग्न गराउनु हुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता रहेको छ । तर यसमा कांग्रेसको तर्क के रह्यो भने, यो विषय त सार्वजनिक खरिद ऐनले नै सुनिश्चित गरेको अधिकारको कुरा हो । ऐनमा नै एक करोड रुपैयाँसम्मका आयोजनाहरू आवश्यकताअनुसार उपभोक्ता समितिबाट वा सोझै टेन्डर प्रक्रियाबाट गराउन सकिने लचिलो प्रावधान छ । उहाँहरूको जोड कानुनले प्रदान गरेको यो विकल्पलाई खुला नै छाड्नुपर्छ; कुनै छुट्टै मापदण्ड सिर्जना गरेर विद्यमान कानुनलाई नै उल्लङ्घन गर्ने गरी सङ्कुचित बनाउनु हुँदैन भन्ने छ ।
यसको प्रत्युत्तरमा नेकपा एमालेको धारणा के रह्यो भने यो अभ्यास कुनै नौलो होइन, सहज रूपमा कार्यान्वयन भइरहेको स्थापित प्रक्रिया हो । गत वर्ष स्वयं कांग्रेसकै पहलमा यस्तै व्यवस्था गरिएको थियो, त्यसैले अहिले पनि सोही अभ्यासलाई निरन्तरता दिनु नै स्वाभाविक हुन्छ भनिएको हो । मूलतः यिनै दुई परस्पर विरोधी अडानहरूबिच तालमेल नमिल्दा वर्तमान गतिरोध सिर्जना भएको हो । यसबाहेक अन्य सानातिना नीतिगत त्रुटिहरू पनि आफ्नो ठाउँमा छँदैछन् । अबको आवश्यकता भनेको, ती तमाम त्रुटिहरूलाई एकएक गरी केलाउँदै र चिर्दै जाने र हरेक मतभेदमा साझा विन्दु पहिल्याउँदै जाने वातावरण निर्माण गर्नु हो । यसका लागि दुवै दलबिच गहिरो र परिणाममुखी समझदारी अपरिहार्य देखिएको छ ।
- कांग्रेस दलका नेताले हामीसँगकै कुराकानीमा ‘मुख्यमन्त्रीबाट समन्वय नै भएन’ भन्नुभयो । साँच्चै एमालेले गठबन्धनलाई मिलाएर लैजान नसकेको हो ? प्रश्न त सरकाको नेतृत्व गरिरहेको दलमाथि उठ्छ नि ?
— संवाद र समन्वयको प्रक्रिया त निरन्तर चलिरहेकै हुन्छ । शीर्ष तहमा बाक्लै विमर्शहरू भइरहेका हुन्छन् । र, जब हामीजस्ता सदस्यहरूले जिम्मेवारी पाउँछौँ, हाम्रो तहबाट पनि सहकार्यका लागि यस्तै पहलकदमीहरू भइरहेकै हुन्छन् । यति हुँदाहुँदै पनि केही मूल विषयहरूमा सहमति जुट्न नसक्दा मात्रै परिस्थितिमा केही असहजता र विचलन देखा परेको हो । अहिलेको मुख्य सन्देश र हाम्रो जोड केमा हो भने यदि दुई दलबिच कुनै पनि प्रकारको असमझदारी वा मतभेद छ भने त्यसलाई वार्ताको टेबुलमा नै बसेर सुल्झाउनुपर्छ । त्यस्ता आन्तरिक विषयहरूलाई बाहिर लगेर सार्वजनिक खपतको विषय बनाइनु हुँदैन भन्ने हाम्रो स्पष्ट र दृढ मान्यता रहेको छ ।
- भनेको कांग्रेसले सबैभित्रका कुरा सार्वजनिक रूपमा भन्दिन थाल्यो, त्यसमा तपाईँहरूको चित्त दुखाई हो ?
—यस्तो सार्वजनिक रूपमा जथाभाबी बोलेको कुरा त तपाईंहरुले पनि सुन्नुभएकै छ । त्यस्तो किसिमको भएको छ । मुख्य कुरा यही हो, यो नभएको भए सजिलो हुन्थ्यो कि भन्ने हो ।
- यो त पुस महिनादेखिको कुरा हो, संसद् अवरोधदेखि बजेट रोक्नेसम्मका चेतावनी साझेदार दलबाट सुनिए । यो मुख्यमन्त्रीले सत्ता साझेदारलाई पेलेको परिणाम हो कि साझेदार दलले मुख्यमन्त्रीलाई नटेरेको हो ?
— यो परिस्थितिलाई कसैले कसैलाई नटेरेको वा अवमूल्यन गरेको अवस्थाका रूपमा कदापि बुझ्नु हुँदैन । यथार्थमा, कुनै एक विषयमा उत्पन्न भएको असमझदारीको पूर्ण निरूपण नहुँदै एकपछि अर्को नयाँ मुद्दाहरूले प्रवेश पाउँदा परिस्थितिले यस्तो मोड लिएको मात्र हो । यो एकले अर्कालाई बेवास्ता गरेको परिणाम किमार्थ होइन ।
दुवै पक्षबिच आपसी सौहार्दता र संवादको वातावरण कायमै छ । नियमित बैठक र विमर्शहरू भइरहेकै छन् । जब कुनै समस्या सतहमा आउँछ, त्यसलाई समाधान गर्न तत्कालै गहन छलफल र वार्ताको प्रक्रिया अगाडि बढ्छ । यो अभ्यास निरन्तर चलिरहेको जीवन्त प्रक्रिया हो, यसमा कुनै शंका छैन ।
- अहिलेको विवादले कतै सरकार नै तलमाथि पर्ने खतरा देख्नुहुन्छ ?
— त्यो त सम्भावना छैन । फेरि पनि भन्छु, यो गठबन्धन यहाँको समझदारी अनुसार बनेको पनि होइन । त्यसकारण एमाले र कांग्रेस दुवै केन्द्रमै निर्भर हुनुपर्छ ।
- यसको अर्थ, सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा प्रदेशमा एमाले— कांग्रेसबिच कुनै लिखित सहमति नै भएको छैन ?
— हालसम्म त्यस्तो कुनै लिखित सहमति भइसकेको अवस्था छैन ।
- पूर्वमुख्यमन्त्रीले वर्तमान मुख्यमन्त्रीमाथि निरन्तर दबाब सिर्जना गरिरहनुको कारण पनि यही नै हो भनिन्छ नि ?
—त्यस्तो होइन । यी विषयहरू बाहिर सार्वजनिक रूपमा कतै पनि उठेका छैनन् । अब कसैको मनभित्र के छ भन्ने कुरामा त म टिप्पणी गर्न सक्दिनँ । सतहमा नआएको विषयलाई लिएर अनुमानका भरमा बोल्नु सान्दर्भिक पनि हुँदैन ।
- मुख्यमन्त्रीले समन्वयकारी भूमिका निभाउन सक्नु भएन भन्ने आरोप पनि छ नि ?
—त्यस्तो भन्न मिल्दैन । अब बस्ने संयन्त्रको बैठकले सबै अस्पष्टताहरूलाई चिर्नेछ र एउटा ठोस निष्कर्ष निकाल्नेछ । मलाई विश्वास छ, त्यही बैठकको निचोडले परिस्थितिलाई पुनः सही मार्गमा ल्याउनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण