कर्णालीमा एमालेको निष्कर्ष : कांग्रेसको भूमिका गठबन्धन संस्कृति अनुरुप भएन
सारांश
- कर्णाली प्रदेशमा एमाले र कांग्रेसबीचको सत्ता सहकार्य एक वर्षदेखि समधुर हुन सकेको छैन, जसले गर्दा दुवै दलबीच मतभेद बढेको छ।
- एमालेले कांग्रेस सरकारमा असहयोगी भएको आरोप लगाएको छ, भने कांग्रेसले सरकार छाड्ने धम्की दिँदै आएको छ।
- प्रशासनिक पुनर्संरचनाको विषयमा दुवै दलबीच मतभेद देखिएको छ, जसले गर्दा सरकारका काम कारबाहीमा समेत समस्या आएको छ।
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसबिच सत्ता सहकार्य भएको एक वर्ष बित्दा पनि सम्बन्ध समधुर बन्न सकेको छैन ।
सरकारको नेतृत्व एमाले संसदीय दलका नेता यामलाल कँडेलले गरेका छन् । त्यसबाहेक चार मन्त्रालयको नेतृत्व कांग्रेसले सम्हालेको छ भने तीन मन्त्रालय एमालेसँग छन् ।
मुख्यमन्त्री यामलाल कँडेलद्वारा अघि सारिएका काम–कारबाहीमा कांग्रेसले सहयोग नगर्ने, केही काम अघि बढाउन खोज्दा सार्वजनिक रूपमै सरकार छाड्दै धम्की दिँदै हिँड्ने गरेको एमालेको बुझाइ छ ।
बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकमा कांग्रेसको भूमिकाबारे व्यापक छलफल भएको छ । एमालेले कांग्रेसको भूमिका गठबन्धन संस्कृति अनुरुप नभएको निष्कर्ष निकालेको छ ।
‘संयुक्त सरकार सञ्चालनको संस्कृति अनुरुप कांग्रेसको भूमिका नभएको हाम्रो निष्कर्ष हो,’ एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले रातोपाटीसँग भने ।
एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा दलका नेता यामलाल कँडेल र पार्टीका कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहको समेत उपस्थिति थियो । उक्त बैठकमा सत्ता सहकार्यको विषयमा गम्भीर समीक्षा भएको पछाईले जानकारी दिए । उनले भने, ‘सत्ता साझेदार दलको जे भूमिका हुनुपर्थ्यो, त्यो भूमिकाचाहिँ भएन भन्ने हो ।’
सरकारले ल्याएका प्रस्ताव र गर्न खोजेका काममा सत्ता साझेदार दलबाट हुनुपर्ने जस्तो सहयोग र भूमिका नदेखिएको उनको भनाइ छ । कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले मन्त्रिपरिषद्बाटै गरेको संयुक्त निर्णयविरुद्ध सार्वजनिक रूपमा भाषण गर्दै हिँड्ने गरेको भन्दै एमालेले असन्तुष्टि जनाएको छ ।
बैठकका सहभागी एक नेताका अनुसार कर्णाली प्रदेशको खर्चिलो र भद्दा प्रशासनिक संरचनालाई चुस्त बनाउने उद्देश्यले मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसकै भनाइअनुसार ‘उच्चस्तरीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ गठन गरे । सोही अनुसार समितिले प्रतिवेदन ल्यायो ।
मुख्यमन्त्री कँडेलले प्रतिवेदनका सकारात्मक पक्षहरू कार्यान्वयन गर्ने तयारी थाल्दा उनकै मन्त्रिपरिषद्का सदस्यसमेत रहेका कांग्रेस मन्त्रीहरूले कार्यान्वयन हुन नसक्ने ठोकुवा गरिरहेका छन् ।
सामाजिक विकासमन्त्री (कांग्रेस) घनश्याम भण्डारीले केही दिनअघि एक कार्यक्रममा कुनै पनि हालतमा उक्त प्रतिवेदन कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे । जबकि गत असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकले नै सर्वसम्मतिमा प्रतिवेदन कार्यान्वयन समिति बनाएको थियो भने मन्त्रिपरिषद्का सबै सदस्य सहभागी थिए ।
सत्ता साझेदार दल कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रतिवेदनलाई विज्ञको सुझावको नाममा ल्याइएको एउटा ‘महाक्रान्तिकारी’ दस्तावेजको संज्ञा दिँदै कर्मचारी र सरोकारवालालाई आतङ्कित बनाउने हतियारको रूपमा चित्रण गरेका थिए । कांग्रेसकै कतिपय सांसदले संसदमै प्रतिवेदनलाई ‘आतङ्क’को संज्ञा दिए ।
यतिमात्र होइन, चालु आर्थिक वर्षको बजेट ल्याउने बेलाको विवाद, त्यसअघि पनि मुख्यमन्त्रीले गर्न खोजेका कतिपय महत्त्वपूर्ण काम–कारबाहीबारे सत्ता साझेदार दल कांग्रेसले सहयोग नगरेको एमालेको निष्कर्ष छ । एमालेका अर्का एक सांसदका अनुसार कांग्रेसका नेता तथा मन्त्रीहरू भित्रभित्रै एउटा सहमति गर्छन्, तर बाहिर निस्किएपछि आफैँले गरेको निर्णयको विरुद्धमा बोल्दै हिँड्ने गरेका छन् ।
कांग्रेस अहिले सरकारको सहयात्रीभन्दा पनि ‘प्रतिपक्ष’जस्तो देखिएको उनको भनाइ छ । उनका अनुसार, सरकारले कुनै ठोस योजना अगाडि सार्न खोज्दा सत्ता साझेदार दलबाटै सहयोगको साटो बखेडा झिक्ने प्रवृत्ति बढेको छ ।
यसअघि बजेटमाथिको छलफलमा क्रममा कांग्रेस नेता शाहीले संसदमा आक्रोशित हुँदै ‘बजेट पास गर्न दिइने छैन’ भन्दै सरकारलाई धम्की दिएका थिए । त्यसअघि पनि शाहीले पटक–पटक सरकार छाड्ने धम्की दिँदै आएका छन् । यतिमात्र होइन, यो पटक कांग्रेसकै सांसदले सरकारविरुद्ध संसद् अवरुद्ध गरे ।
मुख्यमन्त्री यामलाल कँडेल सकेसम्म सत्ता साझेदार दललाई छलफलबाटै मनाउने गर्दछन् । पछिल्लो सरकारले गर्न खोजेका हरेक गतिविधिमा सत्ता साझेदार दल नै बखेडा झिक्न थालेपछि उनी दिक्क बनेका छन् । बुधबारको संसद बैठकमा पनि कँडेलले एक्लो प्रयासले केही गर्न नसकिने भन्दै सत्ता साझेदारबाट सहयोग नपाएको संकेत गरेका थिए ।
बिहीबार यिनै विषयमा रहेर एमाले संसदीय दलको बैठकमा व्यापक छलफल भएको एमाले सांसदहरू बताउँछन् ।
यस्तै बैठकमा सरकारले ल्याएको पुनर्संरचनाको विषयमा पनि छलफल भएको थियो । तत्काल आवश्यक देखिएका र सरकारलाई आर्थिक भार पर्ने खालका समिति खारेज गर्ने लगायतका विषय कार्यान्वयन गर्न एमाले अग्रसर रहेको सचेतक टेकराज पछाई बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण