गर्भावस्थामा २८ वर्षीया महिलाको अनुहारमा देखियो गम्भीर परिवर्तन
सारांश
- मलेसियाकी एक महिलाले गर्भावस्थामा अनुहारमा आएको परिवर्तनको अनुभव सुनाइन्, जसमा अनुहार सुन्निएको, दाना आएको जस्ता समस्या थिए।
- महिलाले आफ्नो श्रीमानको सहयोगको प्रशंसा गर्दै मानसिक स्वास्थ्यमा परेको असरबारे बताइन्, र बच्चा जन्माएपछि स्वास्थ्यमा सुधार आएको जानकारी दिइन्।
- सामाजिक सञ्जालमा उनको अनुभव शेयर भएपछि, उनले फोटोसप र निजी कुरा सार्वजनिक गरेको आरोपको सामना गरिन् र स्वास्थ्यसम्बन्धी विवरण पोस्ट नगर्ने बताइन्।
क्वाललम्पुर । २८ वर्षीया मलेसियाली महिलाले गर्भावस्थामा आफ्नो अनुहारमा आएको नाटकीय परिवर्तनको अनुभव सार्वजनिक गरेकी छिन् । गर्भावस्थाको अन्तिम चरणमा उनको अनुहार सुन्निने, गहिरा रेखा आउने, नाक र कान ठुला देखिने र टाउकोदेखि अनुहारसम्म पानी वा पिप भरिएका दाना भरिने अवस्था आएको थियो ।
लामो समयदेखि अपनाउँदै आएको छाला हेरचाहको दिनचर्या पूर्ण रूपमा निष्प्रभता भयो र गर्भावस्थाको पछिल्ला महिनाहरूमा अवस्था झन् बिग्रँदै गयो । हरेक बिहान नयाँ दाना देखा पर्थे, छाला रातो र सुन्निएको हुन्थ्यो, जसले उनलाई मानसिक रूपमा पनि गहिरो असर गर्यो ।

मार्केटिङ म्यानेजरका रूपमा काम गरिरहेकी फराह फैजलले यो कठिन समय पार गर्न आफ्नो श्रीमान्को ठुलो योगदान रहेको बताएकी छिन् । ‘म नौ महिना यो अराजकताबाट बाँचेँ, अनुहारका कारण धेरै रोएँ, र अहिले म आमा बनेकी छु । निको हुने प्रक्रिया जारी छ,’ उनले अगस्ट १ मा सामाजिक सञ्जालमा लेखिन् ।
उनी भन्छिन्, ‘म यस जीवनमा अरूसँग हुनु कल्पना पनि गर्न सक्दिनँ । मेरा श्रीमान् नै मेरो घर हुन् । उनले मेरो डर हटाउँछन्, म आत्तिँदा मलाई सम्हाल्छन्, र सधैं मलाई सुन्दर, बलियो र मायाको योग्य भएको महसुस गराउँछन् ।’
सन्तान जन्माएपछि उनको अनुहारको सुन्निने र दाना पर्ने समस्या धेरै हदसम्म निको भइसकेको छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको पछिल्लो तस्बिरमा फरक स्पष्ट देखिन्छ ।

फैजलको यो कथा सामाजिक सञ्जालमा लाखौँ पटक शेयर र लाइक भएको भए पनि सबैले सकारात्मक प्रतिक्रिया दिएनन् । केहीले उनको तस्बिरलाई ‘फोटोसप’ गरेको आरोप लगाए भने, केहीले निजी कुरा सार्वजनिक गर्न आलोचना गरे । नकारात्मक प्रतिक्रियापछि उनले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण अब सामाजिक सञ्जालमा पोस्ट नगर्ने घोषणा गरिन् ।
उनको भनाइमा, ‘म कसैलाई स्पष्टीकरण दिनु पर्दैन । तर सत्य यो हो कि, कहिलेकाहीँ मानिसहरूले गर्भावस्थाका हर्मोनहरूले महिलाको शरीर, छाला र भावनामा पार्ने प्रभावलाई बेवास्ता गर्दा मेरो मानसिक स्वास्थ्यमा असर पर्छ ।’
यसअघि, यसै वर्ष, चीनकी ली वेई नामकी महिलाले पनि गर्भावस्थामा अनुहार र शरीरमा आएको चकित पार्ने परिवर्तनको अनुभव सार्वजनिक गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण