शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
कलाकार

अवसर र चुनौतीको दोसाँधमा बेनिशा

सोमबार, २६ साउन २०८२, ०६ : ३०
सोमबार, २६ साउन २०८२

सारांश

  • अभिनेत्री बेनिशा हमालका दुई फिल्म 'सिटामोल' र 'मोहर' एकै दिन प्रदर्शनमा आउँदैछन्, जसले उनलाई व्यस्त बनाएको छ।
  • दुई फिल्मको प्रचारप्रसारको चटारो र शारीरिक तथा मानसिक दबाबका कारण उनी बिरामी समेत भइन्, र उनलाई आराम गर्नुपर्यो।
  • उनले आगामी फिल्महरूमा एक्सन भूमिका खेल्ने इच्छा व्यक्त गर्दै, मार्सल आर्टको तालिम लिइरहेको बताइन्।

नेपाली फिल्म क्षेत्रमा कहिलेकाहीँ यस्ता संयोग जुर्छन्, जसले कलाकारलाई एकैपटक अवसर र चुनौतीको दोसाँधमा उभ्याइदिन्छ । संयोग खुसी हो वा पीडा छुट्ट्याउन मुस्किल पर्छ । यस्तै एक दुर्लभ संयोगको सामना गरिरहेकी छन् अभिनेत्री बेनिशा हमाल । उनको मुख्य भूमिका रहेको दुई फिल्म ‘सिटामोल’ र ‘मोहर’ गत शुक्रबार एकैदिन प्रदर्शनमा आएका छन् । जसले उनको व्यस्तता र मानसिक दबाबसमेत बढाएको छ । एकैसाथ दुई फिल्मको प्रचारप्रसारको चटारो निकै गाह्रो महसुस गरेको उनले बताइन् ।

‘प्रचारको दौडधुपले सास फेर्न समेत गाह्रो हुँदो रहेछ,’ हमालले भनिन्, ‘दौडधुपले शारीरिक र मानसिक रूपमा पनि थकित पार्दो रहेछ ।’ पहिलो पटक आफूले यस्तो दबाब महसुस गरेको हमाल भन्छिन्, ‘दुई फिल्मको लागि सन्तुलन गर्दा आफ्नो लागि समेत समय नहुने रहेछ ।’

एउटा कलाकारका लागि एकै मितिमा आफ्ना दुई फिल्म प्रदर्शन हुनु एक किसिमले खुसी नै हो । खुसी यो अर्थमा कि सबै हलमा आफ्नै फिल्म हुन्छ । दर्शकले जुन फिल्म रोजे पनि आफ्नै फिल्म हेर्छन् । हमालले पनि यही महसुस गरेर प्रचारमा दौडधुप गरेकी हुन् । तर एकैसाथ दुई फिल्मको प्रचार चटारोले उनी बिरामीसमेत परिन् । दौडधुप र थकानले भाइरल ज्वरो आएपछि दुई दिन आरामसमेत गर्नु परेको उनले बताइन् ।

‘आफ्नै काम भनेर कहिल्यै पनि जबरजस्ती गर्नु हुँदैन भन्ने शिक्षा यो पटक मिलेको छ,’ उनले भनिन्, ‘आफूले आँटेर मात्र हुँदैन रहेछ । मानसिक र शारीरिक रूपमा पनि पहिले तयार हुनुपर्ने रहेछ ।’

अहिले हमालको दिनचर्या यति व्यस्त बनेको छ कि कहिलेकाहीँ खाजा खाने समयसमेत मिल्दैन रे । ‘कहिलेकाहीँ त खाजा र खाना नै बेलुका ४–५ बजेतिर भइरहेको छ,’ उनी दौडधुप सुनाउँछिन्, ‘सुत्ने उठ्नेसमेत ठेगान छैन ।’ 

527116924_1094822292617802_2249580584916912717_n

दुवै फिल्मका निर्माण पक्षले उनको यो अवस्था राम्रोसँग बुझेका छन् । सायद त्यसैले होला आफ्नो फिल्मका लागि समय दिनुपर्छ, किन अर्को फिल्ममा समय दिएको जस्तो अनावश्यक दबाबको उनले सामना गर्नुपरेको छैन । यो मामलामा आफूलाई भाग्यमानी ठान्ने उनी दुवै फिल्मका निर्माताप्रति आभारी पनि छिन् ।

एकसाथ प्रदर्शनमा आउन लागेका ‘सिटामोल’ र ‘मोहर’ एकै समय निर्माण भएका फिल्म होइनन् । त्यो हुँदो हो त उनले दुईमध्ये एकमात्र अभिनय गर्नुपर्थ्यो । तर, यी दुवै फिल्म फरक–फरक समयमा निर्माण भएका हुन् । सामाजिक कथामा निर्माण भएको ‘सिटामोल’ डेढ वर्षअघि छायाङ्कन भएको हो । एक्सन–लभस्टोरी ‘मोहर’ भने केही महिना पहिले बनेको हो । दुवै फिल्ममा मुख्य र महत्त्वपूर्ण भूमिका रहेकोले दुवै आफ्ना लागि उत्तिकै प्रिय रहेको उनी सुनाउँछिन् ।

उनका अनुसार ‘सिटामोल’ सुदूरपश्चिमको परिवेशमा द्वन्द्वकालपछिको दम्पतीको कथा समेटिएको छ । यो फिल्मको पात्र र त्यसको उतारचढावले आफूलाई आकर्षित गरेको उनी बताउँछिन् ।

‘फिल्म गर्ने कि नगर्ने भनेर दोसाँधमा पटकथा पढ्दै जाँदा गर्नैपर्छ भन्ने लाग्यो,’ उनले सिटामोल रोज्नुको अर्को कारण थपिन्, ‘यसमा पात्रको अवतरण र ग्राफ एकदमै राम्रो छ ।’ यस्तो परिस्थितिको पात्र आफूले अहिलेसम्म नगरेको उनको भनाइ छ ।

‘मोहर’ एक्सन–लभ स्टोरी विधामा बनेको फिल्म हो । ‘देउकी प्रथा’को कथामा बनेको फिल्ममा उनले ‘यशोदा’ नामक पात्रको भूमिका निर्वाह गरेकी छन् । ‘यशोदा’ नामक पात्रको सशक्त यात्राले उनलाई लोभ्याएको हो,’ उनी भन्छिन्, ‘धेरै पुरुषलाई प्राथमिकता दिइरहेको समयमा महिलालाई यसरी सशक्त रूपमा प्रस्तुत गरिएको कथामा किन काम नगर्ने भन्ने लाग्यो ।’

एकसाथ दुई फिल्म प्रदर्शनमा आउँदा बेफाइदा पनि छ । सामाजिक सञ्जालमा प्रचार गर्दा दर्शक झुक्किने र एउटा फिल्मको प्रचार गर्ने समय अर्कोले लिने हुँदा घाटा भएको उनी महसुस गर्छिन् । ‘आज एउटा फिल्मको प्रचार सामग्री आउँछ, भोलि अर्कोको । मान्छेलाई दुबिधा पनि हुन्छ । कुन फिल्म रिलिजमा आउँदैछ,’ उनले भनिन् ।

518346222_1084195537013811_9222642977261373352_n

  • घाटा के?

बेनिशाले दुई फिल्म एकैसाथ लाग्दा आफूलाई घाटा भएको महसुस गरेकी छन् । दुवै फिल्मलाई प्रचारप्रसारका लागि समयको अभाव त छँदैछ, सँगसँगै एउटा कलाकारको उपस्थिति पातलिने डर पनि हुन्छ ।

‘फिल्म प्रदर्शन हुनु भनेको कलाकारको पनि प्रचार हुनु हो । दुवै एकैपटक आउँदा त्यो हिसाबले अलिकति घाटा हो जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘दुई पटक मिडियामा छाउनु र एकपटक छाउनु निकै फरक हुन्छ ।’

सामाजिक सञ्जालमा पनि दर्शक झुक्किने सम्भावना उत्तिकै हुने उनी सुनाउँछिन् । ‘आज एउटा फिल्मको सामग्री आउँछ, भोलि अर्कोको, दुवैमा गाउँकै पात्र भयो भने दर्शकलाई कुन फिल्मको प्रचार हो भनेर दुबिधा हुन सक्छ,’ उनले चिन्ता राखिन्, ‘यसको अर्को पाटो के हो भने, दर्शकले एउटा फिल्म हेर्दा अर्को स्वतः छुट्नेछ ।’

  • अधुरो सपना ?

पछिल्लो समय कलाकारको पारिश्रमिकलाई लिएर धेरै चर्चा हुने गरेका छन् । उनी यो चर्चा अनावश्यक मान्छिन् । पारिश्रमिक कलाकार र निर्माताबिचको आपसी समझदारीको कुरा हो । यसलाई बाहिर ल्याएर हल्ला गर्न नहुने उनको तर्क छ । यसले अस्वस्थ प्रतिस्पर्धा निम्त्याउने उनको बुझाइ हो । त्यसैले आफूले कहिल्यै पनि पारिश्रमिकलाई चर्चाको विषय नबनाएको उनी बताउँछिन् ।

514687991_1071840391582659_5635949901904903441_n

‘म आफू सधैँ कथा र भूमिकालाई पहिलो प्राथमिकता राख्छु,’ उनी भन्छिन्, ‘किनभने कथा नै फिल्मको मेरुदण्ड हो । कथा बलियो भएन, फिल्म राम्रो भएन भने पारिश्रमिक धेरै लिएर करियर अगाडि बढ्दैन केरे ।’ पारिश्रमिकको चर्चा कलाकार–निर्माताको गलत अभ्यास भएको उनको भनाइ छ । पारिश्रमिक राम्रो भए पनि त्यसकै लागि आफ्नो करियरमा दाग लाग्ने खालको फिल्म सम्झौता नगर्ने उनको प्रतिबद्धता छ ।

उनी पछिल्लो समय चलेकी अभिनेत्री हुन् । त्यसैले उनको हातमा फिल्म पनि राम्रै पर्ने गरेको छ । उनका आउन बाँकी फिल्म ‘कल्ली,’ ‘एक्लो,’ ‘बिगुल’ र ‘द ब्लु लाइट’ गरेर ५–६ वटा छन् । यसरी लगातार फिल्म अभिनय गरिरहेकी उनको एउटा सपना भने अझै अधुरो छ । 

‘मलाई ‘एक्सन लेडी’को भूमिकामा देखिने मन छ,’ उनले अधुरो सपना राख्दै भनिन्, ‘त्यसका लागि मार्सल आर्टको तालिमसमेत लिएकी थिएँ । अहिले पनि लिँदै छु ।’ अबको फिल्म एक्सन फिल्म आफ्नो रोजाइको पहिलो प्राथमिकता रहने उनी सुनाउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप