बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँका यी संस्थागत विद्यालयले गर्दैछन् नाम, स्थान र स्वामित्व परिवर्तन

बुधबार, २८ साउन २०८२, १७ : ३८
बुधबार, २८ साउन २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित केहि संस्थागत विद्यालयले नाम, स्थान र स्वामित्व परिवर्तनका लागि दिएको निवेदनउपर दाबी–विरोध गर्न आह्वान गरेको छ । 

महानगरको शिक्षा विभागले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्ति वा संस्थालाई ३५ दिनभित्र आफ्नो दाबी वा विरोध लिखित रूपमा पेस गर्न अनुरोध गरेको हो ।

विभिन्न विद्यालयहरूले कम्पनी रजिस्ट्रारको कार्यालयबाट समेत नाम, स्थान र स्वामित्व परिवर्तनको प्रक्रिया अघि बढाएपछि महानगरमा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा महानगरले कुनै पनि सरोकारवालाको दाबी वा विरोध भए प्रमाणसहित पेस गर्न ३५ दिनको समय दिएको हो । 

यदि तोकिएको समयभित्र कुनै दाबी–विरोध नपरेमा निवेदकको मागअनुसार प्रक्रिया अगाडि बढाइने तर यो सूचना मात्रै परिवर्तनको अन्तिम स्वीकृति नभएको पनि महानगरले स्पष्ट पारेको छ ।

कुन विद्यालयको के हुँदैछ परिवर्तन 

नाम परिवर्तन गर्न खोज्ने विद्यालयहरू:

एज्जल बोर्डिङ स्कुल (का.म.न.पा.–२९) ले आफ्नो नाम परिवर्तन गरी स्टेप वाई स्टेप स्कुल काठमाडौँ राख्न निवेदन दिएको छ ।

वेष्ट मन्टेसरी इन्टरनेशनल स्कुल (का.म.न.पा.–१४) ले अविन स्कुल काठमाडौँ नाम प्रस्ताव गरेको छ ।

विद्याकुञ्ज कलेज (का.म.न.पा.–१०) ले आफ्नो नाम चैतन्य संस्कार शिक्षालय बनाउन चाहेको छ।

सगरमाथा मल्टिपल कलेज (का.म.न.पा.–२९) ले आफ्नो नाम सगरमाथा कलेज मा परिवर्तन गर्न निवेदन दिएको छ ।

स्थान परिवर्तनका लागि निवेदन दिने विद्यालयहरू:

एज्जल बोर्डिङ स्कुल : हाल का.म.न.पा.–२९, भोटेबहालमा रहेकोमा अब का.म.न.पा.–१०, मध्य बानेश्वरमा सार्न खोजिएको छ ।

कृत एकेडेमी : हाल का.म.न.पा.–१६, बालाजुबाट का.म.न.पा.–०३, बसुन्धारामा स्थानान्तरण गर्न निवेदन परेको छ ।

स्वामित्व परिवर्तन हुने विद्यालयहरू:

सूचना अनुसार, तीन वटा विद्यालयले आफ्नो स्वामित्व पूर्ण रूपमा वा आंशिक रूपमा परिवर्तन गर्न निवेदन दिएका छन्, जसमा ठुलो सङ्ख्यामा नयाँ लगानीकर्ताहरू भित्रिँदै छन् । 

एज्जल बोर्डिङ स्कुलः साविकका २ जना स्वामित्व धनीबाट २ जना नयाँ स्वामित्व धनीमा हस्तान्तरण हुँदैछ ।वेष्ट मन्टेसरी इन्टरनेशनल स्कुलः साविकका ३ जना स्वामित्व धनीबाट १० जनाको नयाँ समूहमा स्वामित्व हस्तान्तरण गर्न लागिएको छ ।

विद्याकुञ्ज कलेजः साविकका २ जना स्वामित्व धनीबाट ७ जनाको नयाँ समूहमा स्वामित्व परिवर्तनको प्रक्रिया अघि बढाइएको छ ।

522689867_1980670265803332_8356022497615832751_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप