काठमाडौँ महानगरमा भ्रामक विज्ञापन र नक्कली सामान बेचे ५ लाख जरिवाना र २ वर्ष कैद हुने
सारांश
- काठमाडौं महानगरपालिकाले उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ।
- महानगरले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ५ लाख रुपैयाँसम्म जरिवाना र २ वर्षसम्म कैद सजाय हुने जनाएको छ।
- भ्रामक विज्ञापन, नक्कली ब्रान्ड र गुणस्तरहीन सामान बिक्री गर्नेलाई कडाइका साथ कारबाही गरिने भएको छ।
काठमाडौँ । महानगरपालिकाले भ्रामक विज्ञापन, नक्कली ब्रान्ड र गुणस्तरहीन सामान बिक्री–वितरण गरी अनुचित व्यापारिक क्रियाकलापमा संलग्न हुने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरले यस्ता गतिविधिमा संलग्नलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ५ लाख रुपैयाँसम्म जरिवाना र २ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्थाबारे सचेत गराएको हो ।
महानगरपालिकाका अनुसार जुत्ता, लत्ताकपडा जस्ता दैनिक उपभोग्य वस्तुहरूमा भ्रामक विज्ञापन, झुटो प्रचार र ब्रान्डको दुरुपयोग गरी उपभोक्तालाई ठग्ने क्रम बढेको गुनासो आएपछि ध्यानाकर्षण भएको भन्दै महानगरले कडाइको तयारी गरेको हो ।
सूचनामा उत्पादनबारे बिक्रेता र उपभोक्तालाई गलत विवरण दिने, खाद्य तथा पेय पदार्थमा उत्पादन मिति, प्रयोग भएका सामग्री र म्याद सकिने मिति स्पष्ट रूपमा उल्लेख नगर्ने, घरेलु उत्पादनलाई विदेशी भनेर बेच्ने, म्याद सकिएका वा स्वास्थ्यमा असर पार्ने सामान बिक्री गर्ने तथा अरूको ट्रेडमार्क वा ब्रान्डको नक्कल गर्ने जस्ता कार्यलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको महानगरले जनाएको छ । यस्तै महानगरले झुटो विज्ञापनमार्फत उपभोक्तालाई भ्रममा पार्ने कार्यलाई ‘गलत ब्राण्डिङ र गलत लेबलिङ’ को संज्ञा दिँदै यस्ता क्रियाकलाप नगर्न/नगराउन भनेको छ ।
सूचनाअनुसार, यस्ता व्यवसायीलाई जरिवाना तिराउने, गलत उत्पादन तथा सामान नष्ट गर्ने, व्यवसाय बन्द गराउने र अनुमतिपत्र समेत खारेज गर्नेसम्मको प्रक्रिया अघि बढाइनेछ । उपभोक्ता संरक्षण ऐन अनुसार, उपभोक्ता ठगिएको प्रमाणित भएमा बढीमा २ लाख रुपैयाँसम्म जरिवाना, झुटो वा भ्रामक विवरण दिएर उपभोक्तालाई झुक्क्याउनेलाई १ लाख रुपैयाँसम्म जरिवाना, १ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।
त्यसैगरी, नक्कली सामान बिक्री गर्नेलाई सबैभन्दा कडा कारबाही स्वरूप ५ लाख रुपैयाँसम्म जरिवाना र २ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण