बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अन्तिम क्षणमा दुई गोल गर्दै  बोर्नमाउथमाथि लिभरपुलको सङ्घर्षपूर्ण जित

शनिबार, ३१ साउन २०८२, ०६ : ५५
शनिबार, ३१ साउन २०८२

सारांश

  • लिभरपुलले बोर्नमाउथलाई ४-२ ले पराजित गर्दै प्रिमियर लिगको उपाधि रक्षा अभियानको सुरुवात गर्यो।
  • हुगो एकिटिकेले पहिलो गोल गरे भने कोडी गाक्पोले पनि गोल गर्दै लिभरपुललाई अग्रता दिलाए।
  • एन्टोइन सेमेन्होले दुई गोल फर्काएपछि फेडेरिको चिएसा र मोहम्मद सालाहले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे।

एनफिल्ड । प्रिमियर लिगको आफ्नो उपाधि रक्षा अभियानको पहिलो खेलमा लिभरपुलले अन्तिम क्षणमा लगातार दुई गोल गर्दै बोर्नमाउथलाई ४–२ ले पराजित गरेको छ। 

लिभरपुलका मुख्य प्रशिक्षक आर्ने स्लोटले चार नयाँ खेलाडीलाई पहिलोपटक प्रिमियर लिगमा सुरुवाती ११ मा मौका दिए। तीमध्ये ७० मिलियन पाउन्डमा आइन्ट्राख्ट फ्रान्कफर्टबाट आएको हुगो एकिटिकेले पहिलो गोल गर्दै बोर्नमाउथको प्रतिरोध ३७औँ मिनेटमा तोडे।  दोस्रो हाफको चौथो मिनेटमै एकिटिकेको पासमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई सहज जिततर्फ डोर्‍याए।

यसअघि, बोर्नमाउथका फरवार्ड एन्टोइन सेमेन्होले दर्शकबाट रंगभेदी गाली सुनाएको रिपोर्ट गरेपछि पहिलो हाफमा रेफ्री एन्टोनी टेलरले खेल केही बेर रोकेका थिए । खेलमा पुनः फर्किएका सेमेन्होले ६४औँ मिनेटमा नजिकबाट गोल गर्दै टोलीका लागि एक गोल फर्काए । ७६औँ मिनेटमा छिटो काउन्टर अट्याकमार्फत उनले बराबरी गोल पनि गरे।

खेल बराबरीमा टुङ्गिने देखिँदै गर्दा ८८औँ मिनेटमा फेडेरिको चिएसाले लिभरपुलका लागि पहिलो प्रिमियर लिग गोल गर्दै अग्रता दिलाए। इन्जुरी टाइममा मोहम्मद सालाहले लो फिनिस मार्फत चौथो गोल गर्दै जित सुनिश्चित गरे।

एनफिल्डमा भावनात्मक माहोलबिच सम्पन्न खेलमा समर्थकहरूले डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको सम्झनामा मौन धारण र ताली बजाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

अगामी खेलमा लिभरपुलले सोमबार न्युक्यासल युनाइटेडको मैदानमा खेल्नेछ र त्यसपछि एनफिल्डमै आर्सनलसँग भिड्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप