शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
क्रिकेट

लगातार दोस्रो खेलमा हार्‍यो नेपाल

शनिबार, ३१ साउन २०८२, १९ : ०४
शनिबार, ३१ साउन २०८२

सारांश

  • अस्ट्रेलियामा जारी टप एण्ड टी२० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भयो।
  • बंगलादेश ए विरुद्धको खेलमा नेपालले १ सय ८७ रनको लक्ष्य पछ्याउँदै १ सय ५४ रन मात्र बनाउन सक्यो।
  • कुशल मल्लले ५९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्, भने जिशन अलामले ७३ रन बनाए।

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । यसअघि, पहिलो खेलमा नेपाल शुक्रबार अस्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।

बंगलादेश ए विरुद्ध जीतका लागि १ सय ८७ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५४ रन मात्र बनाउन सक्यो । 

नेपालका लागि कुशल मल्लले ४७ बलमा ५९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ६ चौका र १ छक्का हिर्काए । आसिफ शेखले २४ बलमा २८ रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे ।

534529274_1215412683948443_7552554316895880557_n

लोकेश बमले १५ रन, कुशल भुर्तेलले १२ रन तथा कप्तान रोहित पौडेलले १० रन बनाए । खेलको अन्त्यतिर नन्दन यादवले १४ रन हिर्काए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ए ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको हो ।

टोलीका लागि ओपनर जिसान अलामले अर्धशतकीय इनिङ्स खेले । उनले ४६ बलमा ४ चौका र ५ छक्काको मद्दतले ७३ रन बनाए । उनले पहिलो विकेटका लागि मोहम्मद नइमसँग मिलेर ६२ रनको साझेदारी गरे । नइमले १८ बलमा २ चौका र १ छक्काको मद्दतले २५ रन बनाए ।

अफिफ होसेनले २३ बलमा ४८ रन जोडे । उनले ९ चौका प्रहार गरे सैफ हसनले ११ बलमा ११ रनको योगदान दिए ।

534702824_1215371257285919_5026175601287451919_n

नेपालका लागि रिजन ढकालले २ तथा सन्दीप लामिछाने, नन्दन यादव र करण केसीले १–१ विकेट लिए ।

सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।

त्यसैगरी, सिरिजमा अस्ट्रेलियाका बिगबास लिग –बीबीएल) को हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीलगायतको सहभागिता रहनेछ । नेपालले समूह चरणमा ६ खेल खेल्नेछ ।

लिग चरणको शीर्ष चार रहने टोलीका बीचमा सेमिफाइनल भिडन्त हुनेछ । नेपालले तेस्रो खेल अगस्त १८ तारिखमा मेलबर्न स्टार्सविरुद्ध खेल्ने छ भने चौथो खेल अगस्त १९ तारिखमा होबार्ट हुरिकेन्सविरुद्ध खेल्नेछ । 

त्यसैगरी, पाँचौँ खेल अगस्त २० तारिखमा मेलबर्न रेनेगेड्सविरुद्ध खेल्ने छ भने अन्तिम लिग खेल अगस्त २२ तारिखमा पाकिस्तान शाहिन्सविरुद्ध खेल्नेछ । 

नेपालले यो प्रतियोगिता आउँदो अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरुप खेल्न लागेको क्यानले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप