बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कलाकार मीरा खड्कासँग संवाद

‘पात्रमा बाँच्न पाउँदा मलाई खुसी मिल्छ’

‘प्रहरीले सुटिङको अनुमतिपत्रले नमानेपछि अभिनय नै गरेर देखाउनुपर्‍यो’
आइतबार, ०१ भदौ २०८२, १६ : ००
आइतबार, ०१ भदौ २०८२

काठमाडौँ । संघर्ष र अनुभवले नै मान्छेलाई परिपक्व बनाउने हो । कलाकारको हकमा त यो कुरा झनै महत्त्वपूर्ण हुन्छ । मीरा खड्काले पनि रंगमञ्चको राम्रै अनुभव लिइन् । त्यसपछि डकुमेन्ट्री निर्माण गरिन्, फिल्मको पर्दा पछाडिको काममा आफूलाई अब्बल सावित गरिन् । 

अब उनी सिनेमा हलको पर्दामा आउँदैछिन् अभिनेत्री बनेर । भदौ ६ गतेदेखि प्रदर्शन हुँदैछ उनी अभिनित फिल्म- ‘ताराहरु’ ।

केही वर्षअघि नाटक ‘काँचो धागो’बाट उनले रंगमञ्चको यात्रा सुरु गरेकी हुन् । त्यसपछि उनले एक दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिन् । अभिनयको लगाव हुँदाहुँदै उनले आफूलाई फिल्म निर्माणको प्राविधिकमा परिणत गर्न पुगिन् । फिल्म ‘द रेड सुटकेस’मा सहायक निर्देशकको रुपमा काम गरेपछि उनी फिल्मवृत्तमा राम्रैसँग चिनिइन् । 

‘ताराहरु’मा उनी अभिनेत्रीका साथै मुख्य सहायक निर्देशक समेत हुन् । बाल्यकालदेखि नै फिल्म क्षेत्रमा रुचि राख्ने मीरासँग ‘ताराहरु’ र फिल्म क्षेत्रमा केन्द्रित रहेर रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

‘ताराहरु’बाट फिल्म अभिनयमा डेब्यु गर्दै हुनुहुन्छ, कस्तो महसुस भइरहेको छ ?

एकदमै नौलो अनुभव गरिरहेकी छु । फिल्मको प्रमोसनका लागि मिडिया प्रमोसनमा हिँडिरहेकी छु । यसअघि कहिल्यै यसरी क्यामेरा र मिडियाको अघि आफ्ना कुरा राख्ने अवसर मिलेको थिएन । एक किसिमले उत्साहित छु र केही डर पनि लागेको छ । 

अभिनयमा केही गर्छु भनेर लामो समयदेखि प्रतीक्षा गरेकी थिएँ । त्यो सपना पूरा हुँदै गर्दा एकदमै खुसी छु ।

Mira Khadka1

‘ताराहरु’ कस्तो फिल्म हो ? अपेक्षा के छ ?

यो एउटा पारिवारिक फिल्म हो । सांगीतिक करिअर खोजिरहेको व्यक्तिको संघर्ष कथा छ फिल्ममा । मैले हालै टिमसँग बसेर फिल्म हेरेको थिएँ । कथावस्तु यति राम्रोसँग बगेको छ, साढे दुई घण्टा फिल्म हेर्दा समय बितेको पत्तै हुँदैन । 

फिल्ममा म आफैं भए पनि हेर्दा म हो भन्ने नै महसुस भएन, पात्र मात्रै देखेँ । आफ्नो भूमिकामा फिट छु र राम्रो काम गरेँ भन्ने लागेको छ । अब मलाई मात्र राम्रो लागेर भएन, दर्शकको रुचिमा पर्छ कि पर्दैन । त्यो अहिले भन्न सकिन्न ।

तपाईंको भूमिका के छ ?

फिल्ममा मैले मोहन भन्ने पात्रको श्रीमती ‘मैया’को भूमिका निर्वाह गरेकी छु । मेरो पात्र चुलबुले, रमाइलो र साथै जिम्मेवार पनि छ । दर्शकहरूले यो पात्रलाई सजिलै आफ्नो वरिपरि पाउनुहुनेछ ।

किन रोजाइमा पर्‍यो यो फिल्म ?

फिल्मको विषयवस्तुले म लोभिएकी हुँ । फिल्ममा मेरो चरित्र एकदमै बलियो छ । फिल्मले एउटा साधारण व्यक्तिको सफल सिङ्गर हुने सपनाका लागि  के कस्तो संघर्ष गर्नुपर्छ भनेर एकदमै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । 

फिल्ममा चुलबुले मीरा वास्तविक जीवनमा चाहिँ कस्तो हुनुहुन्छ ?

वास्तविक जीवनमा पनि परिवारसँग हुँदा चुलबुले हुन्छु । बाहिर भने सुरुमै खुल्न गाह्रो लाग्छ । 

यो फिल्ममा अभिनय गर्दाको अविस्मरणीय घटना पनि छ कि ?

सुटिङको समय निकै रमाइलो रह्यो । हामी बिहान ६ बजेदेखि राति १२ बजेसम्म काम गर्थ्यौं । कसैलाई पनि थकाइ महसुस भएन, किनभने सबैजना आफ्नो कामप्रति एकदमै सक्रिय थियौं । एकदिन यूएन पार्कमा सुटिङ गर्दै थियौं, रातिको समयमा प्रहरी आएर सोधपुछ गर्न थाल्नुभयो । हामीले सुटिङ हो, अनुमति पत्र देखाउँदा पनि उहाँहरू मान्नुभएन । अन्ततः हामीले अभिनय गरेरै आफ्नो अवस्था बुझाउनुपर्‍यो, त्यसपछि मात्र उहाँहरूले सुटिङ गर्न दिनुभयो ।

Mira Khadka4

थिएटरबाट फिल्ममा आउनुभयो, यी दुई विधामा के फरक अनुभव गर्नुभयो ?

थिएटर र फिल्म दुवैको आ–आफ्नै रमाइलो पक्ष छ । थिएटरमा दर्शकको अगाडि प्रत्यक्ष प्रस्तुति दिनुपर्छ । कहिलेकाहीँ डाइलग वा पोजिसन बिर्सिँदा पनि तत्कालै सुधारेर अघि बढ्नुपर्ने चुनौती र मज्जा दुवै हुन्छ । फिल्ममा भने ‘रिटेक’ लिने र सम्पादन गर्ने सुविधा हुन्छ । गल्ती सुधार्ने मौका हुन्छ । त्यसैले दुवै माध्यम मेरो लागि उत्तिकै रोचक रह्यो ।

अभिनेत्री बन्ने सोच कसरी आयो ?

मलाई बाल्यकालदेखि नै यो ग्ल्यामर फिल्डमा काम गर्ने रहर थियो । सुरुमा नेपाली र बलिउड फिल्म हेरेर हुर्किएँ, तर पछि जब विश्वका फिल्म हेर्न थालेँ, मेरो सोच बदलियो । ग्ल्यामरभन्दा पनि चरित्रलाई जीवन्त बनाउने, पात्रमा बाँच्ने कुराले मलाई आकर्षित गर्‍यो । त्यसपछि मलाई लाग्यो, मलाई त कलाकार बन्नु रहेछ ।

तपाईं पर्दा पछाडि रहेर काम गर्ने व्यक्ति पनि हो । अबको दिनमा चाहिँ के गर्नुहुन्छ ? 

मेरो मुख्य प्राथमिकता अभिनय नै हो । थिएटर र फिल्म जे–जे काम हात पर्छ गर्दै जान्छु । जब अभिनयको काम हुँदैन वा फुर्सदको समय हुन्छ, त्यतिबेला म फिल्म बनाउने वा पर्दा पछाडिको काममा सक्रिय हुन्छु ।
डकुमेन्ट्री निर्माणको यात्रा चाहिँ कसरी सुरु भयो ? 

लकडाउनको समयमा आफूलाई व्यस्त राख्न ३० दिनमा ३० फरक देशका फिल्म हेर्ने चुनौती लिएँ, जसले फिल्म मेकिङबारे धेरै कुरा सिकायो । त्यसपछि एक कार्यशालामा सहभागी भएर ‘नो स्कुल टुडे’ नामक डकुमेन्ट्री बनाएँ । जसले ‘ह्युमन राइट्स फिल्म फेस्टिभल’मा उत्कृष्ट डकुमेन्ट्री फिल्मको अवार्ड जित्यो ।

त्यसपछि बालविवाह सम्बन्धी ‘द स्यान्ड गेम’ गरेँ । त्यसले अमेरिकाको एक फिल्म फेस्टिभलमा ‘जज च्वाइस’ अवार्ड जित्न सफल भयो । मलाई वास्तविक जीवनका कथाहरूले निकै छुन्छ, त्यसैले डकुमेन्ट्री बनाउन मनपर्छ ।

तपाईं ‘मिराकल’ (चमत्कार) मा पनि विश्वास गर्नुहुन्छ रे ? त्यस्तो केही अनुभव छ ?

हो, म मिराकलमा धेरै विश्वास गर्छु । लकडाउनको समयमा कलेजको फी तिर्नुपर्ने थियो तर मसँग पैसा थिएन । मैले एउटा सर्ट फिल्म प्रतियोगितामा भाग लिएँ । नतिजा आउँदा सुरुमा कन्सोलिसन पुरस्कार मात्र परेको खबर आयो । म निराश भएँ । तर एक हप्तापछि फेरि फोन आयो र सेकेन्ड हुने प्रतियोगीले नाम फिर्ता लिएकाले मेरो फिल्म तेस्रो भयो भनियो । पुरस्कार स्वरूप मैले ३० हजार रुपैयाँ पाएँ, जुन मेरो फी तिर्न आवश्यक थियो । यो मेरो लागि साँचो मिराकल थियो ।

Mira Khadka

कस्तो अभिनेत्री बन्ने सोच छ ?

मलाई भर्सटाइल अभिनेत्रीको रुपमा चिनिन मन छ । कथावस्तु र स्क्रिप्ट राम्रो आयो भने एक कलाकारको रूपमा म जुनसुकै भूमिकामा पनि न्याय गर्न सक्छु भन्ने लाग्छ ।

अभिनयमा प्रेरणाको स्रोत को हो ?

मेरो परिवार, विशेषगरी मेरो बाबा मेरो ठूलो प्रेरणा हो । उहाँलाई नाच्न, गाउन मनपर्छ । कतै न कतै त्यो गुण ममा पनि आएको जस्तो लाग्छ । कला क्षेत्रमा भने विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का जस्ता कलाकारहरूको कामबाट म निकै प्रभावित छु ।

अहिले विदेशिन युवाहरुको लाइन लागिरहेको बेला तपाईंलाई के लाग्छ ?

म नेपालमै अवसर छ भन्नेमा पूर्ण विश्वस्त छु । म यहीँ केही खोजिरहेको छु, केही गरिरहेको छु । चाहेको भए म पनि पहिले नै विदेश जान सक्थेँ होला । तर मेरो दिमागमा त्यो कुरा कहिल्यै आएन । मलाई फिल्म मेकिङ पढ्न विदेश जाने इच्छा छ । तर पढेर फर्केर आउने र यहीँ काम गर्ने सोच छ । खुसी सबैभन्दा ठूलो कुरा हो । मलाई त्यो खुसी कलाकारिताबाट मिल्छ ।

भिडियो अन्तर्वार्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप