सबैले सधैँ लिन सक्ने व्रत
शीर्षक देख्दा लाग्न सक्छ, व्रत सधैँ बस्न सकिन्छ र ? नेपाली समाजको पुरानो मान्यतामा धर्म भनेको नदीमा नुहाउने र मन्दिरमा पुगेर वा घरमा उपवास बसेर पूजा गर्ने कार्य हो । यसै गरी कुनै तिथि वा बारमा जलाहार, फलाहार, निराहार वा जाग्राम रहनुलाई पनि व्रत बसेको भनिन्छ ।
वास्तवमा धर्म र व्रतको परिभाषा केवल केही खानु र नखानुमा सीमित होला ! यसरी भोकै बसेर गरिने व्रतले व्रतालुलाई मानसिक वा मनोवैज्ञानिक सन्तुष्टि भने अवश्य देला । अहिलेको व्यस्त समाजमा सबैले कठोर विधिका व्रत लिन सक्ने सम्भावना कम छ । धर्म र व्रत भनेको व्यक्ति स्वयंले अठोट गरेर संयमतापूर्वक पालना गर्ने आचरण हो । हाम्रा व्रत यस्ता होउन् जसले व्रतालुलाई आत्मसन्तुष्टि पनि दिउन् र सामुदायिक सद्भावलाई पनि उचाइमा पुर्याउन् । युग अनुसार धर्मकर्म, यज्ञ र व्रत पनि फरक पर्दै आएका देखिन्छन् । यसै सन्दर्भमा नवयुग निर्माणका लागि जीवन विज्ञान प्रतिष्ठानबाट देहायका विषय दिव्य नवव्रतका रूपमा अगाडि सारिएको छ ।
१) सत्यता
हामीलाई अरुको झुट बोली–व्यवहार मन पर्दैन । म झुटो सोच्छु, बोल्छु, गर्छु भन्ने भाव कसैमा पनि नआए कति राम्रो हुन्थ्यो । आफूलाई, अरूलाई वा समाजलाई असर नपर्ने स–साना असत्य बोल्नैपरे पनि खास फरक नपर्ला तर आफ्नो मनले यो असत्य हो भनेर लाग्ने कुरा गर्दिनँ भन्न त सकिन्छ । तसर्थ व्यक्ति, समाज र देशका लागि यो सत्यताको व्रत महान् शक्तिशाली हुन जान्छ ।
२) स्वाध्याय
समाजमा हुने घटना, परिघटना वा मनमुटावमा हामी अरूको मात्र दोष देख्छौँ । त्यसो नगरी पहिला आफूलाई नियाल्ने वा आफ्नो अध्ययन गर्ने बानी बसाल्न सके पारिवारिक र सामाजिक सद्भाव सुमधुर बन्छ । स्वाध्याय भनेको कुनै स्कुल कलेज वा गुरुकुलमा नगई पढ्नु मात्र नभई स्वयं आफ्नो अध्ययन अर्थात् आफ्नो विषयमा ज्ञान हासिल गर्नु हो भनिन्छ । अब म पहिला आफ्नै भाव र विचारलाई हेर्छु भन्ने अठोट गर्नु र सजगताका साथ पालना गर्नु व्रत होइन र ? पहिला त आफैँले आफूलाई चिने सके मात्र अरूलाई चिन्न सहज हुनेछ ।
३) निरहङ्कार
आफ्नो मन र समाजलाई क्षति पुर्याउने अर्को गुण भनौँ वा अवगुण हो, अहङ्कार । अरूलाई दम्भ देखाउनु वा अरूप्रति हुँकार गर्नु मात्र अहङ्कार होइन । मन दुख्नु, चित्त दुख्नु, अरूप्रति गुनासो र आलोचना गर्नुलाई पनि अहङ्कारका रूप भनिन्छ । अर्को शब्दमा भन्दा जे छैन त्यसलाई छजस्तो गर्नु र भएको कुरा छैनजस्तो गर्नु पनि अहङ्कार हो र दुःखको मूलजरो पनि यही हो । अरूले जे गर्छन् गरुन्, म कसैप्रति गुनासो गर्दिनँ, आफ्नो कमजोरीको दोष अरूलाई दिन्नँ भन्ने निरहङ्कारिताको व्रतले समाजमा समभाव र शान्तिको स्थान उच्च हुन जान्छ ।
मुस्कानका साथ मिठो बोल्ने व्रत लिनका लागि समय र धन खर्च गर्नैपर्दैन । मधुर र मिठो बोलीले पारिवारिक एवं सामाजिक सम्बन्धहरू मौलाएका देखिन्छन् ।
४) क्षमाशीलता
अक्सर हामी आफ्नो गल्तीलाई कसैले पनि नऔँल्याओस् वा गल्ती भइहालेमा क्षमा देओस् भन्ने ठान्छौँ । तर अरूको गल्तीलाई पनि क्षमा दिनुपर्छ भन्ने बिर्सन्छौँ । परिवार र समाजमा क्षमाशीलताको अभावमा सानादेखि भयङ्कर ठुला घटना, दुर्घटना भएका छन् । अरूको गल्तीमा क्षमा दिन सक्नुजस्तो ठुलो पुण्य केही हुँदैन भनिन्छ । समाजमा सबैले क्षमाशीलताको व्रत लिन सकेमा शान्ति र सद्भावका लागि पक्कै पनि सत्ययुग कुर्नपर्दैन ।
५) सर्वकल्याण भाव
हाम्रो जुनसुकै काममा पनि व्यक्तिगत चाहना त हुन्छ नै । त्यसमा आफूले गरेको कामले अरूको पनि भलाइ होस् भन्न सकेमा परिवार, छिमेक र देशले समुन्नत गति लिने थियो । सबैले सबैको कल्याण हुने कार्य गर्न सकेमा स्वर्ग देख्नका लागि मर्नपर्दैन होला । आफ्नो कारणले अरूले सुख पाएको देख्दा हुने आत्मसन्तुष्टिको तहको भौतिक मापन गर्न सकिँदैन तर शान्त अनुभूति गर्न सकिन्छ ।
६) सेवा
भनिन्छ, संसार प्रेममा अडेको छ । प्रेम र श्रद्घाको प्रकटीकरण सेवामार्फत हुन्छ वा अनुभव गर्न सकिन्छ । हाम्रा हरेक धर्मशास्त्रले पनि ‘सेवा हिः परमो धर्म’ भनेका छन् । सेवा गर्न धन नै चाहिन्छ भन्ने छैन । मन, वचन, कर्म र समयको लगानीले गरिने सेवा आर्थिक सेवाभन्दा धेरै उच्चस्तरको मानिन्छ । सेवाको अवसर सदा खोजिरहनु र पाएमा गरिहाल्ने हो भने सेवालाई महान् व्रत भन्न सकिन्छ ।
७) मधुरवाणी
केही दिएर मात्र मानिसलाई सहयोग गर्न सकिन्छ भन्ने छैन । आफूसँग समय र साधन नहुँदा पनि मिठो र मधुरवाणी बोलिन्छ भने त्यसले कसैलाई रामवाणको काम गर्न सक्छ । अर्थात् ठुलो भरोसा पुग्न जान्छ । ‘जीवनको गरिमा मिठो बोलीमा’ भन्ने भनाइ पनि हामीले भन्दै र सुन्दै आएका छौँ । मुस्कानका साथ मिठो बोल्ने व्रत लिनका लागि समय र धन खर्च गर्नैपर्दैन । मधुर र मिठो बोलीले पारिवारिक एवं सामाजिक सम्बन्धहरू मौलाएका देखिन्छन् ।
८) लक्ष्यमा एकाकार
हाम्रो जीवनकालमा गर्नुपर्ने काम प्रशस्त हुन्छन् । हरेक कामलाई लक्ष्य बनाएर गर्न सक्नुपर्छ । तन, धन, मन र समयको लगानीले असल लक्ष्यका साथ गरेको कर्मले आफैँलाई मार्गदर्शन दिन्छ । समय अनुसार प्राथमिकीकरण गरेर गरेको कामले हरसमय लक्ष्यमा एकाकार गराउँछ । जीवनमा लक्ष्य उन्मुख भएर अगाडि बढ्नु ठुलो तपस्या र व्रत हो ।
९) मुमुक्षा
दैनिक व्यवहार र काम गर्दा कर्तव्य र दायित्वको बोध हुनुपर्छ । गुरु, मातापिता, विद्वान्प्रति श्रद्घा र आस्था राख्नु जीवनका अपरिहार्य व्रत हुन् । सृष्टिकर्ता शक्तिप्रति श्रद्घा तथा सम्मान र खोज हुनु अध्यात्म हो । मुमुक्षाले मानिसलाई आध्यात्मिक जिज्ञासा बढाउनुको साथै बढी अनुशासित हुँदै कर्तव्यपरायण बन्न सिकाउँछ । समाजलाई सही बाटो डोर्याउने अनुशासन नै धर्म हो भने यसको पालना गर्नु व्रत हो । धर्मशास्त्रहरू र अध्यात्मले मुमुक्षालाई उच्चकोटीको व्रत मानेका छन् ।
अन्त्यमा, हाम्रा पूर्वीय ग्रन्थले गरेको धर्मकोे परिभाषा पनि यही देखिन्छ । हरेक देशका संविधानमा नागरिकले पालना गर्नुपर्ने यस्तै विषय कर्तव्यका रूपमा समावेश भएका हुन्छन् । यी व्रत मानिसको जीवनमा हुनुपर्ने अनिवार्य गुण हुन् । यी व्रत लिन उमेर, धन, समय, स्थानको सीमितता र सामग्रीको जटिलता पनि हुँदैन । जीवनशैलीमा सजगतापूर्वक अभ्यास गरेर यी सबै व्रत, सधैँ लिन सकिन्छ ।
हामी सबैको जय होस् ।
(लेखक जीवन विज्ञान प्रतिष्ठानकी प्रशिक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण