दक्षिण कोरिया र अमेरिकी सेनाको ग्रीष्मकालीन अभ्यास
सारांश
- दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरियाको आणविक खतरालाई ध्यानमा राख्दै सैन्य अभ्यास सुरु गरेका छन्, जसले तनाव बढाउन सक्ने सम्भावना छ।
- उत्तर कोरियाले यस अभ्यासलाई आक्रमणको रूपमा लिँदै कुनै पनि उक्साहटको जवाफ दिने चेतावनी दिएको छ, जबकि दक्षिण कोरियाले सुरक्षा तयारीलाई जोड दिएको छ।
- अमेरिकी सेनाको खर्च बढाउन ट्रम्पको माग र उत्तर कोरियाको हतियार कार्यक्रमका कारण कोरियाली प्रायद्वीपमा तनाव बढेको छ।
सियोल । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमबार आणविक हतियारयुक्त उत्तर कोरियाको खतरालाई सामना गर्न वार्षिक ठूलो सैन्य अभ्यास सुरु गरेका छन् । यसले क्षेत्रीय तनाव अझै बढ्ने सम्भावना रहेको छ । उत्तर कोरियाले यसलाई आक्रमण अभ्यासका रूपमा चित्रण गर्दै ‘कुनै पनि उक्साहट’ को जवाफ दिने चेतावनी दिएको छ ।
एघार दिने ‘उल्ची फ्रिडम सिल्ड’ नामक अभ्यासमा करिब २१ हजार अमेरिकी र १८ हजार दक्षिण कोरियाली सैनिकहरू सहभागी छन् । यसमा कम्प्युटर–सिमुलेटेड कमान्ड पोस्ट अपरेसन र फिल्ड प्रशिक्षण समावेश छ । सहयोगीहरूले यसलाई रक्षात्मक भन्दै आएका छन्, तर उत्तर कोरियाले प्रायः यस्ता अभ्यासलाई हतियार परीक्षण र सैन्य प्रदर्शन गर्ने बहानाका रूपमा प्रयोग गर्ने गरेको छ ।
गत हप्तामा उत्तर कोरियाली रक्षामन्त्री नो क्वाङ चोलले अभ्यासलाई ‘सैन्य टकराव’ को सङ्केत भन्दै आफ्नो सेना सीमा बाहिर जाने कुनै पनि गतिविधिको प्रतिकार गर्न तयार रहेको बताएका थिए । यो अभ्यास दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युङका लागि संवेदनशील समयमा भइरहेको छ । उनी अगस्ट २५ मा वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर सम्मेलनको तयारीमा छन् ।
ट्रम्पले विगतमा दक्षिण कोरियामा तैनाथ अमेरिकी सैनिकहरूको खर्च बढाउन माग गरेका थिए, जसले गठबन्धनमा दबाब बढाएको छ । उत्तर कोरियाले लीको कूटनीतिक आह्वानलाई बेवास्ता गरेको छ । नेता किम जोङ उनले आफ्नो हतियार कार्यक्रमलाई गति दिइरहेका बेला र रुससँग सम्बन्ध गहिरो बनाइरहेका कारण कोरियाली प्रायद्वीपमा तनाव बढेको छ ।
लीले सोमबार भने– ‘हामीलाई अब आवश्यक कुरा भनेको दृढ सुरक्षा तयारीसँगै निरन्तर तनाव घटाउने कदम चाल्नु हो ।’ दक्षिण कोरियाले सोमबार चार दिने नागरिक सुरक्षा अभ्यास पनि सुरु गरेको छ । अघिल्लो सरकारले यस्तै अभ्यासलाई अझ विस्तार गरेको थियो, जसले किमलाई क्रोधित बनाएको थियो ।
ली सरकारले सन् २०१८ मा हस्ताक्षर भएको अन्तर–कोरियाली सैन्य सम्झौता पुनःस्थापना गर्ने प्रयास गर्ने बताएको छ । त्यस सम्झौताले सीमा क्षेत्रमा बफर जोन र नो–फ्लाई जोन बनाएको थियो । तर सन् २०२४ मा उत्तर कोरियाले दक्षिण कोरियातर्फ फोहोरले भरिएका बेलुन पठाएपछि दक्षिण कोरियाले सम्झौता स्थगित गरेको थियो । उत्तर कोरियाले त्यसपछि सम्झौता नमान्ने घोषणा गरिसकेको छ ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने अमेरिकी सैन्य अभ्याससँग सम्झौता पुनःस्थापना गर्ने कदमको तत्काल कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ । यद्यपि, केही अभ्यास क्षेत्रहरूमा गर्मी र बाढीका कारण क्षति भएकाले आधा प्रशिक्षण कार्यक्रम सेप्टेम्बरसम्म सारिएको छ ।
ट्रम्पले अघिल्लो कार्यकालमै दक्षिण कोरियालाई आफ्नो भूमिमा तैनाथ २८ हजार पाँच सय अमेरिकी सैनिकका लागि थप भुक्तानी गर्न दबाब दिएका थिए । उनका सहयोगीहरूले गठबन्धन पुनर्गठनबारे सङ्केत दिएका छन्, जसले दक्षिण कोरियामा अमेरिकी सेनाको आकार र भूमिकामा असर पार्न सक्छ ।
विशेषज्ञहरूका अनुसार यस्तो दृष्टिकोणमा दक्षिण कोरियाले उत्तर कोरियासँगको खतरामा अझ ठूलो भूमिका खेल्नुपर्ने हुन्छ भने अमेरिकी सेना चीनप्रति बढी केन्द्रित हुनेछ । यसले सियोललाई थप जोखिम र खर्च बेहोर्नुपर्ने अवस्था ल्याउन सक्छ ।
हालै पत्रकारहरूसँग बोल्दै अमेरिकी सेनाका कमान्डर जनरल जेभियर ब्रुनसनले उत्तर कोरियाको आणविक महत्त्वाकांक्षा, रुससँगको गठबन्धन र चीनको चुनौतीलाई ध्यानमा राख्दै ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ का लागि गठबन्धनलाई आधुनिक बनाउनु जरुरी रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण