‘भर्याङ चढेरै आएको हुँ, एक खुट्किलो माथि वा तलले फरक पार्दैन’
सारांश
- केदार घिमिरे 'माग्ने बूढा'को रूपमा परिचित छन् र 'माग्ने राजा' फिल्मको मुख्य भूमिकामा देखिँदैछन्।
- फिल्ममा उनको भूमिका र ६१ लाख पारिश्रमिकको चर्चा रहेको छ, तर उनले कथा र सन्देशमा जोड दिएका छन्।
- फिल्मको सुटिङका क्रममा श्रीपेच लगाउँदा प्रहरीले सोधपुछ गरेको र उनले सफलताको लागि अनुशासनलाई महत्त्वपूर्ण ठानेका छन्।
काठमाडौँ । गज्जब अभिनय, व्यंग्यसहितको उत्कृष्ट हास्यचेत, वास्तविक नामले भन्दा बढी उपनामले चिनिनु । कलाकार केदार घिमिरेको खास पहिचान हो यो । उनी केदारबाट होइन, ‘माग्ने बूढा’ नामबाट लोकप्रिय छन् ।
सानो पर्दादेखि फिल्मसम्म आफ्नो अभिनयले दर्शकलाई हुरुक्कै बनाएका उनको ‘माग्ने राजा’ फिल्म प्रदर्शनको संघारमा छ । यो फिल्म उनका लागि विशेष छ, किनकि यसैमार्फत ‘लिड’ रोलमा आउँदैछन् । मेरी बास्सैको माग्ने बूढा पात्रकै हाउभाउमा उनले ‘छक्कापञ्जा’ फिल्म सिरिजमा काम गरे ।
तर भदौ ६ बाट प्रदर्शनमा आउन लागेको फिल्मबाट उनी ‘माग्ने बूढा’बाट ‘माग्ने राजा’ मा रूपान्तरण हुँदैछन् ।
अन्तर्वार्ताका लागि रातोपाटी प्रवेश गर्दा केदारको अनुहारमा चिरपरिचित मुस्कान थियो, आँखामा आत्मविश्वास झल्किन्थ्यो । अनि केही थकित पनि देखिन्थे । थकित हुनुको कारण उनी यतिबेला अन्तर्वार्ताको म्याथुन दौडमा छन् । फिल्म रिलिज हुनेबेला प्राय: सबैजसो कलाकार र निर्देशकलाई यस्तै हुन्छ ।
‘हामी फिल्म वा टेलिफिल्ममा नाटकीय हुन्छौँ, त्यो नाटक मात्रै हो । तर वास्तविक जीवनमा कसरी बोल्छ, के भन्छ भन्ने दर्शकहरूलाई चासो हुन्छ,’ केदार भन्छन्, ‘दर्शकले हाम्रोबारेमा सबै थाहा पाउने अन्तर्वार्ताको क्रममा हो ।’
‘पहिले सीमित मिडिया थिए । त्यहाँ गएपछि सबैलाई थाहा हुन्थ्यो । अहिले एउटा मिडियामा चर्चित हुँदा पनि अर्को मिडिया हेर्ने दर्शकले थाहा पाउनुहुन्न,’ केदार भन्छन्, ‘मिडिया यति धेरै छन् कि सबै दर्शकसम्म पुग्न सकभर प्रयास गर्नुपर्छ ।’
फिल्मको शीर्ष कलाकारलाई मिडियामा पुग्नुपर्ने अझै दबाब हुन्छ । केदारलाई पनि ‘माग्ने राजा’को शीर्ष पात्र हुनुको कारण ठुलै चुनौती छ ।
‘फिल्ममा म मुख्य भूमिकामा भए पनि वर्षा सिवाकोटी, बुद्धि तामाङ, विल्सनविक्रम राई जस्ता कलाकार हुनुहुन्छ । ‘माग्ने’ र ‘तक्मे’ को जोडी फेरि यसमा पनि देख्न पाइन्छ,’ उनले कारण खोल्दै गए, ‘अहिलेका व्यस्त भिलेन शिशिर बाङ्देल हुनुहुन्छ । संगीतमा बाबुली गिरी, दीपक शर्मा हुनुहुन्छ । एलिश राई, काली आमा लगायत हुनुहुन्छ ।’
यसअघिका फिल्ममा सहायक तर अर्थपूर्ण चरित्रमा हिरोको वरिपरि घुम्थे केदार । यो फिल्ममा उनको वरिपरि अन्य चरित्र घुम्छन् । ठ्याक्कै पहिलेको भन्दा उल्टो । फिल्मको कथा जस्तै ।

‘मलाई आफ्नो जिन्दगी नै एउटा फिल्म जस्तो लाग्छ । मैले मेरो जिन्दगीलाई एउटा नाम दिएको छु- नदीको छालमा बगिरहेको एउटा उल्टो चप्पल । त्यो कहिले भित्तामा ठोकिन्छ, कहिले छाँगाबाट खस्छ, कहिले ढुङ्गामा पछारिन्छ,’ केदार भन्छन्, ‘नदीले जता–जता लैजान्छ, त्यतै–त्यतै बगेजस्तो । हेर्नुस् न, जतिबेला म भर्खरको थिएँ, त्यतिबेला बूढोको रोल खेल्नुपर्यो । अहिले बुढेसकालमा आएर भर्खरको रोल खेल्नुपरेको छ ।’
केदार बालकै हुँदा उनकी आमाले संसार छाडेर गइन् । करिअर सुरु हुने बेलामा घरमा आगलागी भयो । ‘यस्तै उल्टा–उल्टा घटना मात्रै घट्छन् । मैले चाहेकोतिर जिन्दगी जाँदैन, तर कता–कता उछिट्टिएर राम्रैतिर लगिरहेको जस्तो लाग्छ,’ केदार जिन्दगीको गतिबारे भन्छन् ।
६१ लाखको तरङ्ग
‘माग्ने बूढाले त ६१ लाख लिए रे नि !’
फिल्म ‘माग्ने राजा’ घोषणासँगै सबैभन्दा बढी चर्चाको विषय बनेको थियो ६१ लाख रुपैयाँको पारिश्रमिक । यसले नेपाली फिल्म क्षेत्रमा ठुलै तरंग ल्यायो । कहिले लिएको र कहिले नलिएको भन्ने परस्पर विरोधी अभिव्यक्ति समेत दिए केदारले । निर्माण पक्षले अहिले ६१ लाख नभएर ५१ लाख भन्दै कर तिरेको बिल समेत सार्वजनिक गरेको छ ।
‘कलाकारका लागि कथा नै सबैभन्दा महत्त्वपूर्ण हो । म आफैँ फिल्म बनाउने तयारीमा थिएँ, तर यो कथा मन परेपछि काम गर्ने निर्णय गरेँ,’ पारिश्रमिकबारे केदार खुले, ‘उहाँहरूले यति दिन्छु भन्नुभयो, त्यसलाई मैले स्वागत गरेँ ।’
पारिश्रमिकको कुराले चर्चा भए पनि रिलिजपछि फिल्मको कथा र यसले दिने सन्देशको चर्चा होस् भन्ने केदारको इच्छा छ । ‘माग्ने राजा’ले देशको वर्तमान अवस्था, युवा पलायन र राजनीतिक विकृतिमाथि गम्भीर प्रश्न उठाएको उनी बताउँछन् ।
‘फिल्मको ट्रेलरमा रहेको संवाद ‘लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ’ले पनि गहिराइलाई संकेत गर्छ,’ उनी भन्छन् ।
श्रीपेच लगाउँदा प्रहरीको तनाव
फिल्मको पोस्टरमा केदारले श्रीपेच लगाएर पैसा चलखेल गर्दै विभिन्न क्रियाकलाप गरेको देख्न सकिन्छ । तर फिल्मका लागि बनाइएको श्रीपेचले तनाव आइलाग्यो । त्यो श्रीपेच लगाएर दरबारमार्गमा सुटिङ गर्ने योजना थियो, तर त्यो समय देशमा राजा फाल्ने र ल्याउनेबीच चर्को द्वन्द्व चलिरहेको थियो ।
दरबारमार्गको गेटमै आन्दोलन भयो । ‘त्यस्तो बेला श्रीपेच लगाएर जाँदा त गोली नै हान्ने सम्भावना थियो,’ केदार सम्झिन्छन् ।

त्यो जोखिम मोल्न नसकेर निर्माण टिमले बालुवाटार क्षेत्रमा सुटिङ गर्ने निर्णय गर्यो । तर केदारले श्रीपेच लगाएर बाइक स्टार्ट गर्न नपाउँदै प्रहरीले उनलाई घेरा हालेर समातिहाल्यो । ‘के आन्दोलन गर्न लागेको ?’ भन्दै प्रहरीले सोधपुछ गर्यो ।
‘सुटिङ भनेर बल्लतल्ल छुटेँ, त्यसपछि अर्कै बाटो हुँदै जाँदा चाइनिज एम्बेसी अगाडि फेरि प्रहरीले रोक्यो । दरबारमार्गको डीएसपीले त कतिखेर आउने भनेर बारम्बार फोन गरेर हैरान पार्नुभयो,’ केदार सुटिङका दिन सम्झिन्छन्, ‘प्रहरीको आँखा छल्दै टोखाको माथिल्लो भेगमा गएर सुटिङ पूरा गर्नुपर्यो ।’
त्यो बेला दुःख पाए पनि अहिले सम्झिँदा रमाइलो लाग्ने सुनाउने उनी श्रीपेच गह्रौँ भएको मुन्टो यताउता हल्लाउन समेत गाहरो भएको सुनाउँछन् । ‘श्रीपेच लगाउनु आफैँमा एउटा गहकिलो र अचम्मको महसुस थियो । म नै राजा हुँ भन्ने त होइन, तर राजा यसरी हिँड्थेँ होलान् भन्ने चाहिँ महसुस भयो,’ उनी सुनाउँछन् ।
सफलताका लागि अनुशासन
पर्दामा हँसाउने ‘माग्ने बूढा’को सफलताको पछाडि एउटा राज छ, अनुशासन । उनी हरेक दिन बिहान साढे चार बजे उठ्छन् र राति साढे आठ बजे सुतिसक्छन् । यो उनको बाह्रै महिनाको दिनचर्या हो । यही अनुशासनले बेग्लै ऊर्जा र स्फूर्ति दिएको उनले महसुस गरेका छन् । अर्को कुरा उनको सफलताको पछाडि परिवारको पनि ठुलो साथ छ । उनकी श्रीमती सीतादेवी तिमिल्सिना पनि कलाकार हुन् । छोरा आशिष घिमिरेले ‘होस्टल ३’ बाट अभिनयमा डेब्यु गरिसकेका छन् ।
नेपाली फिल्म क्षेत्रमा मुख्य भूमिका अभिनय गरेपछि सहायक भूमिकामा झर्न अप्ठ्यारो मानेर कैयौँ कलाकार कामविहीन भएर बसेका छन् । केदार आफूलाई भने केही फरक नपर्ने बताउँछन् ।
‘म भर्याङबाटै माथि आएको मान्छे हुँ, मलाई एक खुड्किलो तल वा माथि गर्न कुनै फरक पर्दैन । म आफूलाई नायक वा हिरोभन्दा पनि एक कलाकारको रूपमा हेर्छु,’ कुराकानीको बिट मार्दै उनले भने, ‘आएको भूमिका राम्रोसँग निभाउने हो ।‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण