गाजामा भोकमरी चुलिँदै, इजिप्टले गाजामा मानवीय सहायता पुर्याउने
सारांश
- इजिप्टले गाजाका लागि नयाँ मानवीय राहत सामग्री पठाएको छ, जुन इजरायलले नाका बन्द गरेपछि रोकिएको थियो र अहिले पुनः खुला गरिएको छ।
- राहत सामग्रीमा खाद्यान्न, इन्धन, औषधि लगायतका अत्यावश्यक सामग्रीहरू छन् र यो गाजामा भोकमरीको अवस्था रहेको समयमा पठाइएको हो।
- गाजामा इजरायली सैनिक कारबाहीका कारण ६२ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ, र कुपोषण तथा भोकमरीका कारण पनि धेरैको ज्यान गएको छ।
कायरो । इजिप्टले आइतबार गाजाका लागि नयाँ मानवीय राहत सामग्री बोकेको काफिला पठाएको छ । केही दिनअघि इजरायलले गाजासँगका नाका बन्द गरेपछि राहत पठाउने कार्य रोकिन पुगेको थियो । अहिले ती नाका पुनः खुलाइएसँगै इजिप्टले पुनः राहत पठाएको हो ।
राहत सामग्री इजिप्टको रेड क्रेसेन्ट संस्था अन्तर्गत सञ्चालित ‘सम्मानको अर्पण: इजिप्टबाट गाजातर्फ’ नामक अभियान अन्तर्गत पठाइएको हो । उक्त सामग्री राफाह नाकाबाट केरम शालोम नाका हुँदै इजरायली पक्षको निरीक्षणमा लगिएको थियो । निरीक्षणपछि सामग्री गाजातर्फ प्रवेश गराइएको हो ।
काफिलामा पिठो, दाल, रोटी, इन्धन, औषधि तथा अन्य अत्यावश्यक सामग्रीहरू रहेका छन् ।
यो राहत सामग्री त्यस्तो समयमा पठाइएको हो जब संयुक्त राष्ट्रसङ्घको समर्थनमा स्थापना गरिएको समन्वित खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) नामक संस्थाले गाजाको केही भागमा आधिकारिक रूपमा दुर्भिक्ष घोषणा गरेको छ । सो संस्थाले गाजामा चरम भोकमरी, खाना, औषधि र इन्धनको गम्भीर अभाव रहेको चेतावनी दिएको छ ।
इजिप्टको परराष्ट्र मन्त्रालयले यसअघि जानकारी दिँदै युद्ध सुरु भएयता गाजामा पठाइएको कुल राहत सामग्रीको ७० प्रतिशतभन्दा बढी इजिप्टले उपलब्ध गराएको बताएको थियो । मन्त्रालयका अनुसार हालसम्म इजिप्टले पाँच लाख पचास हजार टनभन्दा बढी सामग्री पठाइसकेको छ । यद्यपि, अझै पनि पाँच हजारभन्दा बढी राहत बोकेका ट्रकहरू राफाह नाकामा रोकिएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको विवरणअनुसार, दुई वर्षभन्दा बढी समयदेखि जारी इजरायली सैनिक कारबाहीमा हालसम्म ६२ हजार ६ सय ८६ जना प्यालेस्टिनीको ज्यान गइसकेको छ । यसै अवधिमा एक लाख ५७ हजार ९ सय ५१ जना घाइते भएका छन् ।
त्यस्तै, कुपोषण र दुर्भिक्षका कारण हालसम्म दुई सय ८९ जनाको मृत्यु भएको जनाइएको छ, जसमा एक सय १५ जना बालबालिका रहेका छन् ।
युद्ध सन् २०२३ अक्टोबर ७ का दिन हमासले इजरायली भूभागमा आक्रमण गरी झन्डै एक हजार दुई सय जना इजरायली नागरिकको ज्यान लिएको र दुई सय ५० जनालाई बन्धक बनाएको घटनाबाट सुरु भएको हो । त्यसयता इजरायलले गाजामा निरन्तर आक्रमण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण