शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपालसामु  क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर  छ : कुलमान घिसिङ

बुधबार, ११ भदौ २०८२, ११ : ३६
बुधबार, ११ भदौ २०८२

सारांश

  • कुलमान घिसिङले नेपाल क्षेत्रीय ऊर्जा केन्द्र बन्न सक्ने र त्यसका लागि सही नीति र नेतृत्व आवश्यक रहेको बताए।
  • उनले नेपालमा लोडसेडिङ अन्त्य, विद्युत पहुँचको वृद्धि, र भारत तथा बंगलादेशमा बिजुली निर्यातको सफलताको चर्चा गरे।
  • घिसिङले नेपालको जलविद्युतको सम्भावना र क्षेत्रीय ऊर्जा व्यापारको अवसरबारे प्रकाश पारे, साथै हरित हाइड्रोजनको अध्ययन भइरहेको जानकारी दिए।

लन्डन ।  नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु  क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर आएको तर त्यसकालागि सही नीति र नेतृत्व हुनु पर्ने बताएका छन्।

हाल बेलायतको भ्रमणमा रहेका घिसिङले दक्षिण पूर्वी लन्डनमा आयोजित  'नेपालको ऊर्जा क्षेत्रका चुनौती र सम्भावना' विषयक एक नीतिगत छलफलमा भाग लिँदै करिब एक दशक अघि नेपालमा दैनिक १८ घण्टासम्मको लोडसेडिङ भोग्नु परेको तर संस्थागत सुधार, दक्ष ऊर्जा व्यवस्थापन, र सेवाप्रति प्रतिबद्धताबाट  लोडसेडिङ अन्त्य गर्न सफलता मिलेको बताए ।

"नेपालको विद्युत् पहुँच ५६% बाट झन्डै १००% पुग्यो, र विद्युत् प्राधिकरण घाटाबाट नाफामा पुगेको छ, जसले प्रसारण र उत्पादनमा फेरि लगानी गर्न  सम्भव बनाएको छ," उनले भने।  "आज नेपाल भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्ने मुलुक बनेको छ र झन्डै शत प्रतिशत  ऊर्जा नै स्वच्छ र नवीकरणीय स्रोतबाट प्राप्त भएको हो । "

नेपालको जलविद्युत यात्रा ११५ वर्षअघि  १९११ मा फर्पिङ जलविद्युत र १९३९ मा सुन्दरी जल जलविद्युत आयोजनाबाट ब्रिटिस सहयोगमै सुरु भएको उनले स्मरण गरे। । "आज ३,८०० मेगावाटभन्दा बढी स्थापित क्षमता र हजारौँ मेगावाट पाइप लाइनमा छन्। हाम्रो लक्ष्य २०३५ सम्ममा २८,५०० मेगावाट पुर्‍याउने र त्यसमध्ये  १५,००० मेगावाट निर्यातका लागि छुट्टाउने हो।"

"भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता भइसकेको छ, बङ्गलादेशमा पनि निर्यात सुरु भइसकेको छ, जसले भुटानसहितको क्षेत्रीय ऊर्जा मार्ग खोलिरहेको छ। चीनसँग भविष्यमा जोड्ने सम्भावना पनि छ," उनले भने।

भारत र बङ्गलादेशलाई स्थिर र स्वच्छ बिजुली चाहिएकोले नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर दिएको घिसिङले बताए।  हाम्रो जलविद्युतले सौर्य–निर्भर ग्रिडलाई सन्तुलन दिन सक्छ, उत्सर्जन घटाउन सक्छ, र विकासको लागि उत्प्रेरकको काम गर्दछ । नेपालले  हरित हाइड्रोजनलाई भविष्यको ऊर्जा स्रोत र औद्योगिक प्रयोगका लागि पनि अध्ययन गरिरहेको पनि उनले जनाए।

जलवायु परिवर्तनको चुनौतीसँग जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहायता आवश्यक रहेको पनि उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप