बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
किताबका कुरा

‘कोही आफ्नो हल्ला आफैँ गर्छन्, कसैको हल्ला समय र समाजले गरिदिन्छ’

शनिबार, १४ भदौ २०८२, १६ : ००
शनिबार, १४ भदौ २०८२

सारांश

  • कवि डा. नवराज लम्साल मदन पुरस्कारबाट सम्मानित भएका छन् र उनी नेपाली साहित्यमा महाकाव्य विधामा सक्रिय छन्।
  • लम्सालले आफ्नो नयाँ महाकाव्य 'कल्प' हालै बजारमा ल्याएका छन् र उनी पुस्तकलाई जीवनको उज्यालो र चेतनाको मूलद्वार मान्छन्।
  • लेखनमा आफूभित्रका प्रश्नको उत्तर खोज्ने र पाठकलाई भन्दा बढी आफैँलाई माया गर्नुपर्ने कुरामा जोड दिँदै उनले पठन संस्कृतिको महत्त्वबारे प्रकाश पारे।

डा. नवराज लम्साल अग्नि महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कारद्वारा सम्मानित कवि हुन् । कर्ण, धरा, अग्नि र कल्प नामका उनका चार महाकाव्य प्रकाशित छन् । कल्प हालै मात्र बजारमा आएको छ । नेपाली साहित्यको महाकाव्य विधाको पुनर्जागरणका लागि उनी सक्रिय छन् । काव्यलाई सहज, सरल र लोकप्रिय बनाउन र विशेषतः जेनजी भनिने कान्छो पुस्तासम्म पुर्‍याउन उनको निकै ठुलो भूमिका छ । कान्छो पुस्तालाई धेरै माया गर्ने र त्यही कान्छो पुस्ताका बिच लोकप्रिय कवि लम्साल नेपाली रेडियो प्रसारणका अग्रणी प्रसारक पनि हुन् । उनी रेडियो नेपालका पूर्वनिर्देशक र बीबीसीका संवाददाता पनि हुन् । अध्येता र पूर्वीय दर्शनका जानकार लम्साललाई यसपालि रातोपाटीको ‘किताबका कुरा’ स्तम्भका लागि निम्त्याएका छौँ । 

तपाईंका लागि पुस्तक के हो ? पुस्तकप्रतिको आकर्षण कहिलेदेखि सुरु भयो ? 

पुस्तक जीवनको उज्यालो हो, चेतनाको मूलद्वार हो । पुस्तकसँग ज्ञान छ, संस्कार छ, संस्कृति छ र जीवन छ । एकै पुस्तकले मान्छेको जीवनको मूलबाटो फेरिदिन सक्छ, अर्कै बनाइदिन सक्छ । म आफैँ लेखक हुनुको जगमा उभिँदा त पुस्तक के हो भन्नु भन्दा के होइन भनुँजस्तो लाग्छ ।

  • यहाँले दिनमा कति समय पढ्नुहुुन्छ ? पढ्नका लागि समयको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

यति समय भन्ने छैन, हिसाब गरेर अब पढ्छु भन्ने पनि छैन । यो जीवनको अभिन्न प्रक्रिया हो । जसरी सास फेरेको थाहा हुन्न तर सास फेर्ने प्रक्रिया चलिरहन्छ नि, हो त्यस्तै हो । रस बसेको किताब आँखा सँगै हिँडिरहन्छ । दैनिकी हो यो, निरन्तरता हो र जीवनको अभिन्न पाटो हो । पढ्ने कुरा कक्षामा रुटिन तोकेजस्तो हुन्न । यो कर्मको अभिन्न पाटो हो । जीवनको एउटा ठुलो हिस्सा हो । यो मेरो आदत पनि हो र रुचि पनि ।

  • पछिल्लो समय के–कस्ता पुस्तक धेरै पढिरहनुभएको छ ? हालैका दिनमा पढेको पुस्तक कुन थियो ?

केही दिन वा महिनायता खासै नयाँ पुस्तक पढेको छैन । म मेरो कल्प महाकाव्यको अन्तिम रूप दिने सघन हतारोमा थिएँ । म मेरै अक्षरसँगको प्रेममा चुर्लम्म थिएँ । यही हप्तादेखि कल्प बजारमा गयो । यही भदौ २० गते यसको विमोचन पनि हुँदै छ । यही कर्ममा लागेको थिएँ । अहिले केही हल्का भएको छ । यसअघि मैले एकपल्ट फेरि केही पुराण, वेद, उपनिषद् र अध्यात्मका केही पाटा केलाउने कोसिस गरेको थिएँ । म कल्प लेख्नकै लागि रेडियो नेपालको जागिर छाडेर बसेको थिएँ । त्यसको पूर्ण सदुपयोग गरेँ कि जस्तो लाग्छ । केही पढेँ पनि र कल्प लेखेँ पनि । एउटा निश्चित लेखक वा पुस्तक मात्र होइन, ज्ञानधाराको निरन्तर प्रवाहलाई सके जति नजिकबाट नियाल्ने कोसिस गरेको छु ।

  • यहाँले पहिलोपटक पढेको मोटो आकारको पुस्तक कुन थियो ? त्यसबाट के पाउनुभयो ?

सानोमा सबैभन्दा पहिले मैले छोएको ठुलो आकारको किताब वेद थियो, रामायण थियो, महाभारत थियो । स्कुल–कलेजको जीवन सुरु भएपछि कालिदासका संस्कृत महाकाव्य, देवकोटाका महाकाव्य, समका नाटक र मदनमणि दीक्षितका माधवीजस्ता उपन्यास थिए । शंकर लामिछाने, इन्द्रबहादर राई, पारिजात, बीपी कोइराला आदि लेखक थिए ।

  • तपाईंले बारम्बार पढ्नुभएको कुनै पुस्तक छ कि ?

कर्ण लेख्ने बेला, त्यसअघि र पछि पनि महाभारत निकै पढेँ । गीता र श्रीमद्भागवत महापुराण पनि धेरैपटक पढेको छु । पढाइका लागि मेरो फरक सोच छ, एउटा किताबमा एउटा लेखकलाई पूर्ण पढ्न सकिन्न । त्यो लेखकलाई सम्पूर्णतामा पढ्नुपर्छ भन्ने ठान्छु । प्रमिथस नपढी शाकुन्तल पढेर मात्र कसरी चिनिन्छ देवकोटा । पढेजस्तो पढ्नु र पढ्नैका लागि पढ्नु फरक कुरा हुन् । 

  • तपाईंलाई मन परेका पाँचवटा विदेशी पुस्तकको नाम लिनुपर्दा कुन कुन पुस्तक सम्झनुहुन्छ ? ती पुस्तक किन मन परे ?

फुत्त एउटा किताबभन्दा पनि म लेखकका पुस्तक सिरिजमा पढ्नुपर्छ भन्छु । राम्रो लेखकको जिन्दगी आफैँमा एउटा गतिलो किताब हो । लेख्ने र लेखेजस्तो जीवन बाँच्ने तन्तुका बिचमा प्रेरणाको मूल जीवित रहन्छ । पाठक बन्ने कि गतिलो पाठक बन्ने ! किताब पढेर बहकिने कि आफ्नो अन्तर जागृति बढाउने ! कुनै पुस्तक पढेर ज्ञान, चेतना र उत्प्रेरणा लिन खोज्ने पाठकले उठाउने किताबका लेखक आफैँ कति ज्ञानी छ ? कति अध्ययनशील छ ? कति उत्प्रेरणा दिने हिम्मत राख्छ ? यो कोणबाट कहिल्यै सोचिन्न । समय कटाउन, आनन्द लिन वा पढेँ भन्नका लागि पढ्ने हो कि ? पढाइले आफ्नो हृदय पखालेर आफूलाई कञ्चन बनाउने हो ? प्रश्नहरू सदा जीवित रहन्छन् । जस्तो: विवेकानन्द, ओशो, गोर्की, हिजोका सेक्सपियरदेखि आजका युवल नोह हरारीसम्म पढ्दा त्यहाँबाट आउने सोच र दृष्टिविन्दु वा अन्य केही ! नढाँटी भन्छु, पश्चिमी लेखकमाथि मेरो त्यति गहिरो अध्ययन छैन । पढ्नैका लागि होइन, अध्ययनका लागि पढ्न खोज्दै छु । कल्प महाकाव्य बजार गएपछि अलि हल्का भएको छु । सायद अबको समय यता सदुपयोग गर्छु होला ।

  • तपाईंलाई मन परेका पाँचवटा स्वदेशी लेखकका पुस्तकको नाम लिनुपर्दा कुन कुन पुस्तक सम्झनुहुन्छ ? ती पुस्तक किन मन परे ?

यसको केही उत्तर सायद मेरो अघिल्लो भनाइमा आइसकेको छ । म कुनै एउटा लेखकको निश्चित पुस्तकभन्दा पनि लेखकलाई सिरिजमा पढ्नुपर्छ, भन्छु । लेखनाथ, देवकोटा, बीपी, पारिजात, खप्तडबाबा, शंकर लामिछाने, इन्द्रबहादुर राईहरू पढेर नेपाली पठनको ढोका खोल्दा राम्रो हुन्छ जस्तो लाग्छ । यी विचार र सामाजिक विश्लेषणसहितका लेखक हुन् । यी लेखकभित्र जीवित लेखकीय दृष्टिचेतना छ । यी बाहिर देखिने मसिना लाभ–हानिका झिल्का वा घटनाका वक्ता होइनन् । खासमा यी लेखक हुन् र अरु पनि यस्ता महान् नेपाली लेखकहरू धेरै छन् । ती श्रद्धेय लेखकहरूको लामो सूची बनाउन सकिन्छ । 

  • नेपाली साहित्यका पुस्तक सम्बन्धमा ‘अन्डर–रेटेड’ र ‘ओभर–रेटेड’का कुरा आउँछन्, यसमा यहाँको धारणा के छ ?

चर्चाको चर्चा कि समयको वकालत ? यस्तो हुन्छ, भइरहन्छ । सिधा लाभ–हानिसँग जोडिने वा जोड्ने हो भने त बिस्कुट, चाउचाउ, सिमेन्ट आदिको व्यापार गरे भइगयो नि ! लेख्नु भनेको समयसँग खेल्नु र दुःखसँग बात मार्नु हो । समयको अन्तरमा छिरेर संवेदनामा रूपान्तरित हुनु हो । पौडी खेल्न नजान्नेले त नदीको गहिराइ थाहा पाउन अर्काले भनेकै कुरामै विश्वास गर्नुपर्छ  । विश्वास पैँचो लिने र दिनेले के भन्लान् भन्ने बाटो नगएकै जाति । आज बिस वर्षका भाइबहिनी पुस्ताको सोच जस्तो छ, त्यो उनीहरुमा सधैँ रहन्न । ती चालिस पुगेको दिन के होला ? साठी पुगेको दिन कस्तो होला चेतनाको स्तर र जीवनको बुझाइ ? समयलाई छाडिदिउँ र लेख्नेहरूले लेखिरहुँ । समय आफैँले निफन्ने छ समय र उमेरको चामल र भुस । कोही आफ्नो हल्ला आफैँ गर्छन्, कसैको हल्ला समय र समाजले गरिदिन्छ । यी दुवैले फाइदा त साहित्यलाई नै भएको छ । 

  • यहाँलाई के कुराले लेखनमा बढी प्रेरित गर्छ ? लेख्दा तपाईं पाठकलाई ध्यानमा राख्नुहुन्छ कि आफूलाई ?

म पहिले त आफैँभित्रको प्रश्नलाई उत्तर दिन लेख्छु । ‘म’ भित्रको ‘म’ ले अनगिन्ती प्रश्न गर्छ; कोरा होइन संवेदनशील प्रश्न गर्छ । प्रश्नले नै भत्काउँछ र उत्तर खोज्छ । म त्यही भत्केको जगमा विचारको उकेरा लगाएर किताब लेख्छु । विचार वा दृष्टिविन्दु लेखनको पहिलो सर्त हो । व्यक्तिभित्र हजारपल्ट हजार विचारका हजार भूकम्प जान्छन् तर त्यही परकम्पमा रुमलिएर त्यतै हराउने कि मूल वैचारिक प्रवाहको मूल भूकम्पमा निर्भीक रहने ? यो निकै गम्भीर कुरा हो । पाठक त पछिका कुरा हुन् । एउटा लेखक पाठकले खोजेजस्तो लेख्दैन, पाठकलाई आफूले लेखेजस्तो पढाउँछ । हो, लेखकले भन्दा पाठकले बढी समय र संवेदना बोध गरेको पनि हुन सक्छ तर लेखकले आफ्नै कुरा लेख्ने हो, पढाउने आफ्नै कुरा हो । पाठकका त किसिम हुन्छन् । कुन पाठकको कुन अनुभूतिको कुन बुँदा कहाँ बसेर कसरी केलाउनुहुन्छ ? लेख्नुअघिको अन्तरक्रियालाई सारमा बदलेर एउटा लेखक आफैँ सूत्र भएर आउँछ । त्यही सूत्रमा भेटिन्छ पाठक पनि लेखक पनि । 

  • यहाँको लाइब्रेरीमा कति किताब छन् ? किताब किन्न कति खर्च गर्नुहुन्छ ?

साना ठुला गरी १०–१२ हजारजति होलान्, गनेको छैन । यी मैले पढ्दै र साँच्दै राखेका किताब हुन् । कति किनेँ होला, कति उपहारमा आए होलान् । म किताब किन्दा चुपुरचुपुर किन्दिनँ । पैसा भएको बेला एकैपटक धेरै किताब झ्वाम्म किन्छु र बिस्तारै पढ्छु । अचेल कुनै कार्यक्रममा जाँदा ट्याक्सी खर्च भनेर कति सुधीजनले सानो खाम दिन्छन् । ट्याक्सी चढेर बाँकी भएको त्यो पैसाले किताब किन्छु । 

जीवनमा तपाईंले कहिल्यै कुनै पुस्तक चोर्नुभएको छ कि ? 

छैन । कतै गएर कुनै पुस्तक देखेँ भने चोर्न होइन, माग्न पनि लाज लाग्छ । म मेरो पुस्तकालयबाट कुनै किताब झिकेर कसैलाई दिन सक्तिनँ । त्यसरी दिनुपर्दा मुटु चुँडेजस्तो लाग्छ । अरुको पनि त्यस्तै होलाजस्तो लाग्छ । कतिपय मान्छे घरमा आउँछन् र पुस्तकालयका किताब देखेर यतिका किताब रैछन्, पढिसक्नुभयो होला, हाम्रो पुस्तकालयका लागि दिनुस् न भन्छन् । त्यतिखेर म निरुत्तर हुन्छु र जम्मै पुस्तकलाई एकैपटक अँगालो हालुँजस्तो लाग्छ । यी पुस्तक भएनन् भने म कहाँ बसेर थकाइ मारौँला ? कहाँ बसेर सुस्ताउँला ?

  • आफूले खोजेको तर नभेटेको वा मुस्किलले भेटेको कुनै पुस्तक छन् कि ? 

एकपटक खप्तड बाबाको ‘धर्म विज्ञान’ खोजेँ, कतै भेटिनँ । बजारमा उहाँको सानो पुस्तक ‘विचार विज्ञान’ मात्र पाइने रहेछ । धर्म विज्ञानका चार भागमध्ये कुनै भाग नभेटिएपछि निराश भएको थिएँ । ती किताब एलआरआई स्कुलका प्रिन्सिपल शिवराज पन्त सरसँग रहेछन् । उहाँले मलाई दिन खोज्नुभएको थियो तर उहाँसँग पनि एकप्रति मात्र रहेछ, त्यही ल्याउन मन मानेन । नाइँ म लान्न, फोटोकपी गर्छु भनेँ । उहाँ आफैँले फोटोकपी गरेर दिन्छु भन्नुभयो त्यो पनि मानिनँ । तेल पनि दिनु घसी पनि माग्नु त भएन जस्तो लाग्यो । आफँैले फोटोकपी गर्छु भनेर ल्याएँ । 

एउटा पसलेले दुई दिन लगाएर फोटोकपी गरेर दियो । नुवाकोटमा एकजना दाइ हुनुहुन्छ, भरत खड्का । संयोगले उहाँ कताकताबाट त्यो पुस्तक फोटोकपी गरेको ठाउँमा टुप्लुक्क आइपुग्नुभयो । त्यतिका फोटोकपी देखेर छक्क पर्नुभयो । उहाँलाई आश्चर्य लागेछ । मैले खप्तडबाबा र उहाँको महत्त्व बताएपछि त्यो फोटोकपी गरेको पैसा पनि उहाँले नै सुटुक्क तिरिदिनुभएछ । उहाँले भन्नुभयो, खप्तडबाबा र उहाँप्रतिको तपाईंको प्रेमलाई सानो सम्मान गरेको हुँ, अन्यथा नसोच्नुहोला । त्यो फोटोकपी मेरो पुस्तकालयमा सुरक्षित छ ।

अर्को संयोग, भक्ति रिजाल भन्ने एकजना दैलेखी भाइ छन् । उनी एकदिन मेरो पुस्तकालयमा आएका थिए । उनले त्यहाँ खस जातिको इतिहास देखेनछन् । अर्कोपल्ट आउँदा लिएर आएछन् र भने, दाइ तपाईंको यति सुन्दर पुस्तकालयमा यो पुस्तक देखिनँ र ल्याएको हुँ । राख्नुस् । त्यो पनि राखेको छु । यसरी मैले मात्र होइन, मेरा सुधीजनले पनि मेरो पुस्तकालयलाई माया गरेका छन् ।

  • पछिल्लो समय नेपालको पठन संस्कृति कस्तो पाउनुभएको छ ? सामाजिक सञ्जाल र डिजिटल युगले पुस्तकको यात्रा कहाँ पुर्‍यायो जस्तो लाग्छ ?

नेपाली समाजले के र कस्तो पुस्तक पढ्दै छ, त्यो बहसको विषय होला तर पठन संस्कृतिचाहिँ बढेकै छ । पुस्तक मेला, प्रदर्शनीहरू बढेका छन् । प्रकाशकहरू बढेका छन् । नेपाली पुस्तकहरू राम्रो स्तरमा छापिन थालेका छन् । पढ्नेहरूको संख्या पनि बढेको छ । विदेशमा रहेका नेपालीले आफूसँगै नेपाली किताबलाई संसारभरि फैलाएका छन् । प्रायःजसो स्कुल, कलेज र कतिपय ठाउँका स्थानीय तहले पनि पुस्तकालय बनाउन थालेका छन् । यो शुभ संकेत हो । डिजिटल दुनियाँसँग डराउने वा तर्सने होइन, त्यो सुविधालाई पनि यथोचित प्रयोग गर्ने हो । समयअनुरूप फेरिएको स्वरूप र संरचनालाई पनि स्वीकार गरेर पठनसंस्कृति बढाउने हो । जसरी हुन्छ पढ्ने वातावरण बनाउने हो ।

  • आजका पाठकका लागि केही सुझाव छ कि ?

मेरा पाठकहरू मभन्दा धेरै ज्ञानी छन् । सुझावको कुनै पनि जरुरत छैन, तैपनि पुस्तकलाई माया गर्नुस् भन्छु । लेखकलाई माया गर्नुस् भन्छु तर त्योभन्दा बढी आफैँलाई माया गर्नुस् भन्छु । के पढ्ने भन्ने बुझेर पढ्नुस् भन्छु । एकपटक दिमागमा सेट भएको विषय खुर्केर फाल्न समय लाग्छ । आफ्नो मस्तिष्कलाई जे पायो त्यही सूचना भर्ने भाँडो नबनाउनुस् । उत्प्रेरणा, आत्मबल र सुकिलो जीवनको आधार दिने पुस्तक पढ्नुस्, भन्छु । तपाईंभित्रको तपाईंलाई जगाउने पुस्तक पढ्नुस् । पुस्तकले निराशा र हीनता होइन, उत्साह र प्रेरणा देओस् भन्ने कामना गरेर त्यही अनुरूपका सामग्री पढ्नुस् भन्छु ।

  • यहाँको अबको योजना के छ ?

कल्प बजार गएको छ । यही भदौ २० गते विमोचन हुन्छ । त्यसपछि केही समय शान्त बस्छु । आनन्दले बस्छु । आफूलाई रिचार्ज गर्छु, भरिने कोसिस गर्छु । अनि बल्ल नयाँ यात्रा सुरु गर्छु । मेरा केही लेखन सुरु गरेका र पूर्ण भइनसकेका केही पुस्तक छन् । तिनले पूर्णता पर्खिरहेका छन् । अब पर्खाइका ती अक्षरसँग मेरो मिठो वार्ता आरम्भ हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप