मनसुनपछि फेरि आकाशमा उड्दै पोखराका हट एयर बेलुन
सारांश
- पोखरामा मनसुनका कारण बन्द रहेका हट एयर बेलुन उडानहरू सेप्टेम्बर १५ देखि पुनः सुरु हुने भएका छन्।
- बेलुन नेपालले तीन वटा बेलुनबाट सेवा दिने र बिहान ५ बजेदेखि ९ बजे र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उडान हुने जनाएको छ।
- हट एयर बेलुनले पोखरामा साहसिक पर्यटनको नयाँ आयाम थपेको छ र यसले नेपाली पर्यटकहरूमा पनि लोकप्रियता पाएको छ।
काठमाडौँ । मनसुनी वर्षाका कारण साढे तीन महिनादेखि आकाशमा नदेखिएका रङ्गीबिरङ्गी हट एयर बेलुनहरू फेरि पोखराको आकाशमा उड्ने भएका छन् । जुन, जुलाई र अगस्टमा बन्द रहेको बेलुन उडान सेप्टेम्बर १५ देखि पुनः सुरु हुने बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए ।
हट एयर बेलुनमा यात्रु उडाउने नेपालको एकमात्र कम्पनी हो बेलुन नेपाल ।
बाडेका अनुसार यस पटक तीन वटा बेलुनबाट सेवा दिने तयारी पूरा भएको छ । कम्पनीले १८० साइजका ८ सिट, २१० साइजका १२ सिट र नयाँ २६० साइजका १६ सिटका बेलुनबाट पुनः स्थगित उडान सुरु गर्न लागेको हो ।
बिहान ५ बजेदेखि ९ बजे र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा उडान हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तीन वर्षदेखि माथिका उमेर समूहका व्यक्ति बेलुनमा चढ्न सक्नेछन् । पोखराको पामेबाट सुरु भएर इन्द्रपुर लेकसम्मको ४ किलोमिटर दूरीमा उडान हुने अध्यक्ष बाडेले जानकारी दिए ।

जुन, जुलाई र अगस्टमा बेलुन उडान बन्द हुनुको मुख्य कारण मनसुनी मौसम र स्थानीय कृषि पद्धति हो । यो समयमा पोखराका खेतहरूमा धान रोपिन्छ र जलमग्न हुन्छन् । यसले ल्यान्डिङमा समस्या सिर्जना गर्ने । साथै तेज हावा र अनिश्चित मौसमका कारण सुरक्षाको दृष्टिकोणले पनि उडान जोखिमपूर्ण हुने भएकाले उडान बन्द गर्ने गरिएको अध्यक्ष बाडेले बताए ।
पर्यटकीय राजधानीको नयाँ आकर्षण
पर्यटकीय राजधानी घोषित पोखरामा साहसिक पर्यटनको नयाँ आयाम थपेको हट एयर बेलुनले नेपाली पर्यटकहरूमा पनि व्यापक लोकप्रियता पाएको छ । करिब ९ हजार फिट उचाइमा उड्ने यी बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमशृङ्खला, पूरै फेवाताल, पुम्दिकोट महादेव, सराङकोट र उड्दै गरेका प्याराग्लाइडरहरूसहित पोखरा उपत्यकाको ३६० डिग्री मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
‘पहिला मुख्यतः भारतीय र विदेशी पर्यटकहरू मात्रै बेलुनमा चढ्थे । तर गत वर्षको बेलुन फेस्टिभलपछि नेपाली पर्यटकहरूमा पनि यसप्रति ठुलो आकर्षण देखिएको छ,’ बाडेले भने । गत वर्ष डिसेम्बर २४ देखि जनवरी १ सम्म आयोजित नेपालकै पहिलो अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभलले नेपाललाई विश्व मञ्चमा नयाँ पहिचान दिलाएको अध्यक्ष बाडेको दाबी छ । उनका अनुसार १५ वटा देशका बेलुन सहभागी भएको त्यस फेस्टिभलको कभरेज सीएनएन, बीबीसी, वल्र्ड स्ट्रिट जर्नीजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका थिए ।
‘नेपाल अर्गनाइज्ड द बेलुन फेस्टिभल भनेर विश्वभर समाचार छापिएको देखेर गर्व लाग्यो । भारत, चीन, अस्ट्रेलिया, जापानसम्म हाम्रो समाचार पुग्यो,’ बाडेले भने ।
भक्तपुरको नगदेशमा जन्मिएका ३५ वर्षीय विक्रम बाडे हट एयर बेलुनिङलाई नेपालमा स्थापना गर्ने अग्रणी व्यक्तित्व हुन् । बाल्यकालमा काठमाडौँमा सनराइज कम्पनीले उडाएको बेलुन देखेर सुरु भएको सपनालाई उनले वास्तविकतामा रूपान्तरण गरे ।

एमबीए गरेपछि भारतको राजस्थानमा बेलुन देखेर प्रेरणा पाएका बाडेले गहिरो अध्ययनपछि २०१६ मा बेलुन नेपाल स्थापना गरे । दीपककुमार श्रेष्ठ र सविन महर्जनसँग साझेदारीमा सञ्चालित यो कम्पनी नेपालमा औपचारिक इजाजत लिएर बेलुन उडाउने पहिलो कम्पनी रहेको उनीहरूको दाबी छ ।
‘कोभिडले हामीलाई धेरै कठिनाइमा पार्यो, २०२१ मा एक वर्ष पूरै बन्द गर्नुपर्यो, तर २०२२ बाट फेरि सुरु गरेपछि हरेक वर्ष हाम्रो टर्नओभर बढिरहेको छ,’ उनले बताए । ‘नेपालमा हट एयर बेलुनबाहेक अरू कुनै साधनबाट ३६० डिग्री भ्यु पाउन सकिँदैन, यो अनुपम अनुभव हो,’ बाडेले भने ।

लक्जरी राइडको रूपमा प्रख्यात यो सेवा केही महँगो भए पनि अनुभवको दृष्टिकोणले अतुलनीय छ । पोखरा आउने सबै पर्यटकहरूका लागि यो एक पटक गर्नै पर्ने गतिविधि बनेको छ ।
बेलुन प्याकेज
बेलुनमा आधा घण्टादेखि ४० मिनेटसम्म उडेको नेपालीले ११ हजार रुपैयाँ, सार्क मुलुक र चिनियाँ नागरिकले १२० डलर र अन्य देशकाले १५० डलर तिर्नु पर्छ । प्याकेजमा पोखराको लेक साइडबाट पिकअप, ड्रप, उडान, फोटो र भिडियो सुविधा हुन्छ । उडान रिजर्भ गर्ने सुविधा पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण