शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

सोमबार, १६ भदौ २०८२, ०९ : ०९
सोमबार, १६ भदौ २०८२

सारांश

  • तनहुँ जिल्ला प्रशासन कार्यालयले फरक क्षमता भएका व्यक्तिहरूलाई घरमै नागरिकता प्रदान गर्दै आएको छ।
  • प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले व्यास नगरपालिका-११ की सविना पन्थलाई उनको घरमै नागरिकता दिए।
  • प्रशासनले सेवालाई छिटो, छरितो र सहज बनाउन यस्तो कार्य गरेको जनाएको छ।

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले फरक क्षमता भएकालाई निवासमा नै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्ने कार्यलाई जारी राखेको  छ । 

यसक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आइतबार व्यास नगरपालिका–११ का मिनानाथ पन्थ र पवित्रादेवी पन्थकी फरक क्षमता भएकी छोरी २७ वर्षीया सविना पन्थलाई निवासमै नागरिकताको प्रमाणपत्र प्रदान गरे । 

विविध कारणवश हालसम्म नागरिकता प्राप्त नगर्नुभएकी सविनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ अधिकारीले जानकारी दिए । सविनाको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयमा तयार गरिएको थियो ।  

प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, ‘छिटो, छरितो र सहुलियत ढङ्गले सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो, सविना अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नागरिकता दियौँ । यस्ता कार्यले सरकारप्रतिको भरोसा र सकारात्मक धारणा थप अभिवृद्धि भएर जाने छ ।’ 

यसअघि प्रजिअ अधिकारीले गत साउन ६ गते म्याग्दे गाउँपालिका–१ गुणादी निवासी फरक क्षमता  भएकी २० वर्षीया नविना खनाललाई उनको निवासमै नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप