बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘संवैधानिक परिषद्‍मा कांग्रेसको प्रतिनिधित्व नभएपछि ममाथि राजनीतिक षड्यन्त्र गरियो’

मङ्गलबार, १७ भदौ २०८२, १२ : ०५
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेको मानव बेचबिखनको आरोपलाई राजनीतिक षड्यन्त्र भनिन्।
  • उनले संवैधानिक परिषद्मा कांग्रेसको प्रतिनिधित्व नहुनु र विपक्षी भूमिकाका कारण आरोप लागेको बताइन्।
  • रानाले आफूले बालबालिकाको संरक्षण गरेको र आरोप निराधार भएको दाबी गरिन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै पूर्ण रूपमा खारेज गरेकी छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संवैधानिक परिषद्मा नेपाली कांग्रेसको प्रतिनिधित्व नहुनु र आफ्नो विपक्षी भूमिकाका कारण यस्ता आरोपहरू लगाइएको बताएकी हुन् । 

उनले यी आरोपहरूले आफूलाई विचलित नगर्ने र अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले भनिन्, ‘संवैधानिक परिषद्मा कांग्रेसको कुनै प्रतिनिधि नहुनु र म विपक्षी सदस्य भएकाले ठुला दलहरूले बहुमत सिद्ध गर्न मलाई हटाउन खोजेका हुन्।’ 

नेकपा एमालेका सांसद योगेश भट्टराईले लगाएको ‘मानव बेचबिखन’को आरोपलाई उनले आधारहीन भएको जिकिर गरिन् । उनले भनिन्, ‘बेचिएका भनिएका बच्चाहरूले एक वर्षअगाडि नै मिडियामा आएर स्पष्ट पारिसकेका छन् । यो आरोप भट्टराईले बिना अध्ययन लगाउनुभएको हो ।’ 

उनले आफ्नो संस्था पीए नेपालले जेलमा परेका अभिभावकका बच्चाहरूलाई ट्रान्जिट संरक्षण र हेरचाह मात्र प्रदान गरेको प्रस्ट्याइन् । ‘हामी गरिब परिवारका बच्चाहरूलाई हेरचाह गर्छौँ, शिक्षा दिन्छौँ तर बेचबिखन होइन’ उनको स्पष्टोक्ति छ।

आरोपहरूको खण्डनका लागि बच्चाहरू र अभिभावकहरू नै मुख्य प्रमाण भएको उनले बताइन् । ‘बच्चाहरू नै मिडियामा बोलेर स्पष्ट पारिसकेका छन् । नेताहरूले बच्चा वा अभिभावकसँग सोध्नुपर्छ, तर बच्चाहरूको गोपनीयतामाथि राजनीति गर्नु सङ्गिन अपराध हो,’ उनले थपिन्, ‘यो राजनीति नै हो, नत्र यो विषय पहिल्यै सुल्झिसक्थ्यो। अभिभावकका ठेगाना हामीसँग छन्, सोध्न सकिन्छ । मैले संस्था छोडिसकेँ, तर बच्चाहरूले ‘आमा’ भन्दा भेट्न जान्छु । म सञ्चालक मात्र होइन, आमा बनेर हुर्काएकी हुँ ।’

उनले सरकारका गठबन्धन दलहरू कांग्रेस र एमालेले संवैधानिक परिषद्को नियुक्तिमा अप्ठ्यारो भएकाले आफूलाई हटाउन खोजेको दाबी गरिन् । ‘मेरो राजीनामा माग्ने कुनै आधार छैन । मैले बालबेचबिखन रोक्न नै काम गरेकी हुँ’ उनले भनिन् । 

अमेरिकी दूतावासलाई लेखिएको भनिएको चिठीको विषयमा उनले भनिन्, ‘एम्बेसीबाट रिकमेन्डेसन मागिएको थियो तर मैले चिठी तयार गरे पनि फरवार्ड गरिनँ । यो रजिस्टर भएको छैन, अमेरिका पुगेको छैन ।’ 

उनले तत्कालीन पार्टी महामन्त्री मुकुल ढकाललाई जानकारी दिएको र तत्कालीन गृहमन्त्री रवि लामिछाने हुँदा गरिएको छानबिनमा केही नभेटिएको बताइन् ।  ‘यो प्रहार म, मेरो पार्टी वा समग्रमा भएको हुनसक्छ । यो सरकारले बुझ्ने कुरा हो’ उनको भनाइ छ । 

राजनीतिक प्रतिशोधबारे उनले भनिन्, ‘प्रतिशोधले देश अघि बढ्दैन । प्रतिपक्षको भावना बुझेर जनमुद्दाहरू– स्कुल, बाटोघाटो– मा छलफल गर्नुपर्छ ।’

आफ्नो ३५ वर्षको बालसंरक्षण कार्यलाई कलङ्कित नबनाउन आग्रह गरिन् । ‘मैले ट्राफिकिङ रोक्न र शिक्षामार्फत परिवर्तन ल्याउन काम गरेँ । राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार पाएकी मलाई बच्चाजस्तो व्यवहार गर्नु राम्रो होइन, उनले आरोप लाग्ने बित्तिकै पद निलम्बन हुनुहुँदैन भन्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइलाई समर्थन गर्दै भनिन्, ‘सरकारले लोकतन्त्रको अनुभूति हुने गरी काम गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप