बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमा आर्थिक वृद्धिदर उच्च हुने गरी सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता

मङ्गलबार, १७ भदौ २०८२, १२ : ४३
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • उपप्रधानमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबिच भेटवार्ता भयो, जसमा अर्थतन्त्रलगायतका विषयमा छलफल भयो।
  • अर्थमन्त्रीले अर्थतन्त्र सुधारिएको र विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताए भने आगामी ६ वर्षका लागि फ्रेमवर्क अनुसार काम हुने कुरा राखे।
  • विश्व बैंकका उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदरका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए, निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताए।

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष  जोहानेस जुटबिच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, सहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण  लगायतका विषयमा छलफल भएको हो ।

अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकहरूमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रक्रियामा सुधार गरेको बताए ।  उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसिप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादात्म्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताए ।  

अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी गराउँदै विधेयक पारित भएसँगै निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने बताए । उनले विधेयकको  लक्ष्य अनुसार अघि बढ्न विश्व  बैंकबाट सहयोगको अपेक्षा गरे । 

विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी विश्व बैंकले सहयोग गर्ने बताए । उनले विश्व बैंकले लुम्बिनी, काठमाडौँ उपत्यकाको सहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि सहयोग गर्ने भन्दै निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नु पर्ने धारणा व्यक्त गरे । 

उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचकहरू  सुधार हुनु सकारात्मक भएको उल्लेख गर्दै नेपालका लागि लगानी अझ बढाउन जरुरी भएको बताए । उनले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कानुन बनेसँगै पूर्वाधार क्षेत्रमा लगानीका लागि थप नयाँ क्षेत्रहरू पहिचान हुन सक्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रको लगानी आकर्षित गर्न र आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्‍याउने बताए । उनले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन पनि सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप