बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरसफाइको दायित्व स्थानीय तहको मात्र नभएर जनताको पनि हो

बुधबार, १८ भदौ २०८२, १० : ३४
बुधबार, १८ भदौ २०८२

सारांश

  • जनकपुरधाम उपमहानगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीको रूपमा रहेको छ, तर सुधारका प्रयासहरू जारी छन्।
  • उपमहानगरपालिकाले सरसफाइका लागि कर्मचारी र उपकरण थपेको छ, तर नागरिकको सहभागिता र डम्पिङ साइटको अभावले समस्या निम्त्याएको छ।
  • स्थायी डम्पिङ साइट निर्माण, जनचेतना कार्यक्रम र सबैको सहकार्यबाट जनकपुरधामलाई सफा बनाउने योजना छ।
00:00 / NaN:NaN
Audio By AI

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा फोहोर व्यवस्थापन र सरसफाइ अहिले प्रमुख चुनौतीका रूपमा देखा परेको छ । उपमहानगरपालिकाले आफ्नो स्रोत र साधनले भ्याएसम्म सरसफाइका लागि काम गरिरहेको छ तर अपेक्षाअनुसार यो काम प्रभावकारी हुन सकेको छैन । यद्यपि, केही वर्ष अघिको तुलनामा अहिले धेरै सुधार भएको छ ।

जनकपुरधामको सरसफाइको अवस्था अहिले उत्कृष्ट छ भनेर म भन्दिनँ । तर अहिलेको अवस्थालाई हेरेरमात्र टिप्पणी गर्नु उचित हुँदैन । विगतका वर्षको तुलनामा धेरै सुधार भएको छ । अहिले सरसफाइमा ध्यान दिइएको छ । पहिलेको तुलनामा सहर धेरै सफा छ र जति सफा हुनुपर्ने हो, त्यति अझै भएको छैन । अहिलेको कामबाट म पूर्ण रूपमा सन्तुष्ट छैन, तर सुधारचाहिँ देखिएको छ ।

हाल उपमहानगरपालिकाले सरसफाइका लागि कर्मचारी संख्या बढाएको छ । आवश्यक गाडी व्यवस्था गरेको छ र दिनमा दुई पटक नियमित रूपमा फोहोर सङ्कलन तथा सफाइ भइरहेको छ । आवश्यकता अनुसार अतिरिक्त सरसफाइ पनि गरिँदै आएको छ । हरेक वडामा एउटा ट्याक्टर र स्वीपर उपलब्ध गराइएको छ । उपमहानगरले सफाइका लागि यति व्यवस्था गरिसकेपछि नागरिकले पनि त्यस अनुसार आफूलाई प्रतिबद्ध बनाउन सक्नुपर्छ । सफाइकर्मीहरू गाडी लिएर आएपछिमात्र आफ्नो घरको फोहोर उक्त गाडीमा राखिदिने, घर तथा पसलबाट उत्पन्न भएका फोहोरलाई जतिबेला पायो त्यतिबेला सार्वजनिक स्थलमा नफाल्ने, सफाइकर्मी आएको समयमा मात्र बाहिर निकाल्ने गरेमा धेरै हदसम्म फोहोरको समस्या समाधान हुन सक्छ ।

घरबाट उत्पन्न हुने फोहोरलाई डस्टबिनमा सङ्कलन गरेर राख्ने, उपमहानगरका सफाइकर्मी आउँदा उक्त फोहोरलाई गाडीमा हालिदिने बानी बसाल्ने हो भने जथाभाबी फोहोर देखिने समस्या समाधान हुन्छ ।

आफ्नो जिम्मेवारी पूरा नगरेपछि समस्या आउँछ । वडा अध्यक्ष पनि जनताबाटै निर्वाचित भएका प्रतिनिधि हुन् । जनताको सुविधा र स्वास्थ्यलाई ध्यानमा राखेर सरसफाइमा ध्यान दिनु आवश्यक छ । यस मामिलामा हरेक वडा इमानदार नभएको कुरा म स्वीकार गर्न तयार छु । यद्यपि यस किसिमको समस्या छिटै समाधान हुनेछ । वडास्तरीय बैठक बसेर किन सरसफाइ नभएको भन्ने कारण खोजिनेछ र त्यहाँ समस्या भए तत्काल समाधान गरिनेछ ।

सरसफाइ भनेको हरेक नागरिक जोडिने विषय हो । यो जनस्वास्थ्यको साझा विषय पनि हो । फोहोरबाट उत्पन्न हुने जीवाणु, यसको प्रदूषणले हुन सक्ने रोगले कुनै खास व्यक्ति वा समुदायलाई मात्र होइन, सबैलाई उत्तिकै असर गर्छ । सहरको सौन्दर्य बढ्दा नगरवासीका लागि पनि गौरवको कुरा हुन्छ । त्यसैले सरसफाइमा उपमहानगरपालिकाले मात्र नभएर नगरवासीले पनि उत्तिकै ध्यान दिन जरुरी हुन्छ ।

घरबाट उत्पन्न हुने फोहोरलाई डस्टबिनमा सङ्कलन गरेर राख्ने, उपमहानगरका सफाइकर्मी आउँदा उक्त फोहोरलाई गाडीमा हालिदिने बानी बसाल्ने हो भने जथाभाबी फोहोर देखिने समस्या समाधान हुन्छ । अहिले उपमहानगरपालिकाका सफाइकर्मीबाट बिहान र बेलुकी दुईपटक सरसफाइ भइरहेको छ । बेलुकी बजार क्षेत्रमा भिड हुने भएकाले झाडु लगाउन समस्या पर्छ । त्यसैले बजार क्षेत्रमा रातको समयमा सरसफाइ हुने गर्दछ । यति गर्दागर्दै पनि दिउँसै जथाभाबी फोहोर फालिदिने गर्दा बजार फोहोर देखिन्छ ।

फोहोर देखिनासाथ कर्मचारी खटाएर सफा गर्नु पर्‍यो नि भनेर पनि कतिपयले भन्ने गर्छन् । तर यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने सफाइकर्मी चौबिसै घण्टा खट्नुपर्छ भन्ने होइन । उनीहरूको काम गर्ने निश्चित अवधि हुन्छ । सिस्टमअनुसार काम हुन्छ । कर्मचारीहरूले खटाइएको समयमा मात्रै काम गर्छन्, अन्य समयमा जाँदैनन् । अब कर्मचारीलाई तोकिएको समयबाहेक पनि बजारमा सफा गर्न जानुस् भनेर बाध्य गर्न सकिँदैन । हाल बिहान र बेलुकी गरी दुई पटक सरसफाइ भइरहेको छ । बिहान त ठिकै हुन्छ, तर बेलुकी बजारमा भिडभाड हुने भएकाले सरसफाइमा कमी देखिनु स्वाभाविक हो । यसलाई व्यवस्थित गर्न सिस्टममै ल्याउनुपर्ने अवस्था छ । बजार क्षेत्रमा दैनिक रूपमा फोहोर थुप्रिन्छ । व्यापारीहरूले फोहोर थुपार्दा, उठाउन जाँदा ‘व्यापारको समय हो’ भन्दै झगडा गर्ने गर्छन् । यस्तो अवस्थामा सफाइ गर्न गाह्रो हुन्छ । बाध्य भएर हामीले राति कर्मचारी पठाएर फोहोर उठाउनुपर्छ । रातिमात्र फोहोर उठाउने गरिएका कारण दिउँसो बजारमा थुप्रिसकेको हुन्छ ।

सरसफाइमा आबद्ध संस्थाहरूले पनि सम्पर्क गर्छन्, केही दिन काम पनि गर्छन् । केही दिन काम गरेरमात्र सहरको सफाइ हुँदैन ।

जनकपुरधामलाई स्वच्छ र सुन्दर बनाउन स्थानीय सरकारले दीर्घकालीन योजना अघि सारेको छ । घर–घरबाट नियमित रूपमा फोहोर सङ्कलनको व्यवस्था गरिएको छ । साथै, स्थायी डम्पिङ साइट निर्माण र रिसाइकल प्रणाली विकास गर्ने तयारी भइरहेको छ । तर डम्पिङ साइटका लागि जग्गा व्यवस्थापनमा समस्या छ । यसका लागि गुठीसँग पटक–पटक पत्राचार गरिएको छ । उपमहानगर प्रमुखले प्रत्यक्ष भेटेर कुरा पनि गर्नुभएको छ । तर अझै गुठीले जग्गा उपलब्ध गराएको छैन । जबसम्म डम्पिङ साइट निर्माण हुँदैन, जनकपुरधाममा पूर्णरूपमा फोहोर व्यवस्थापन सम्भव छैन । यसबारे प्रदेश सरकार र संघ सरकारसँग पनि छलफल भइरहेको छ ।

फोहोरको समस्या समाधान गर्न विद्यालय, टोल विकास समिति र स्वयंसेवी संस्थामार्फत जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । नागरिक र व्यवसायीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दा सरसफाइ अभियानलाई समुदायमुखी बनाउन सकिन्छ । हामी प्रदेश सरकार, संघ सरकार, नागरिक समाज र सरोकारवाला निकायबिच सहकार्य बढाइरहेका छौँ । आगामी महिनामा थप सफाइ मेसिन ल्याउने, कर्मचारी संख्या बढाउने र व्यवस्थापन प्रणालीलाई अझ सशक्त बनाउने योजना छ । जनकपुरधामलाई उदाहरणीय सहर बनाउन हामी प्रतिबद्ध छौँ । यसका लागि सबैको साथ र सहयोगले हामीलाई थप ऊर्जा दिन्छ ।

सरसफाइमा आबद्ध संस्थाहरूले पनि सम्पर्क गर्छन्, केही दिन काम पनि गर्छन् । केही दिन काम गरेरमात्र सहरको सफाइ हुँदैन । जुन दिन सफाइ गर्न छोडिन्छ, त्यही दिन फोहोर देखापरिहाल्छ, त्यसैले यो निरन्तर गर्नुपर्ने काम हो । कसैले दुई/चार दिन आएर सघाइदियो भन्दैमा समस्या समाधान हुने होइन कि नगरवासी आफैँ सचेत र जागरूक हुन जरुरी छ । दैनिकीमा निरन्तर गर्नुपर्ने काम भएकाले ‘यो त नगरपालिकाको जिम्मेवारी हो’ भन्दै पछि हट्ने प्रवृत्ति देखिन्छ । यस्तो अवस्थामा नगरपालिकाले मात्रै कति समन्वय गर्ने ? नगरपालिकाको एक्लो प्रयासले यसको दिगो समाधान हुन सक्दैन । जबसम्म स्थायी डम्पिङ साइट निर्माण हुँदैन, तबसम्म जनकपुरधाम उपमहानगरपालिकाले फोहोरलाई ठोस रूपमा व्यवस्थापन गर्न सक्दैन ।

(जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहसँग रातोपाटीका लागि नवीन प्रियदर्शीले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किशोरी साह
किशोरी साह
लेखकबाट थप