बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : फोहोर जनकपुर

मधेसको राजधानीमै फोहोरले दुर्गन्ध

सार्वजनिक स्थलमा नाक छोपेर हिँड्नुपर्ने अवस्था
बुधबार, १८ भदौ २०८२, १० : ४०
बुधबार, १८ भदौ २०८२

सारांश

  • जनकपुरधाम उपमहानगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ, जसले गर्दा स्थानीयवासी वातावरण प्रदूषणबाट पीडित छन्।
  • फोहोर व्यवस्थापनको लागि डम्पिङ साइटको अभाव र जनचेतनाको कमीका कारण समस्या जटिल बनेको छ, स्थानीय र जनप्रतिनिधिबीच आरोप प्रत्यारोप चलिरहेको छ।
  • उपमहानगरपालिकाले फोहोर व्यवस्थापनको लागि विभिन्न प्रयास गरे पनि दिगो समाधान खोज्न नसकेको र प्रदेश सरकारको सहयोग आवश्यक रहेको देखिन्छ।
00:00 / NaN:NaN
Audio By AI

जनकपुरधाम । मधेस प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । नगर क्षेत्रका विभिन्न सडक किनारमा थुप्रिएका फोहोरले पैदल यात्रीलाई नाक छोपेर हिँड्नुपर्ने बाध्यता निम्त्याएको छ भने स्थानीयवासी वातावरण प्रदूषण झेल्न बाध्य छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले फोहोर सङ्कलन र व्यवस्थापनको काम गर्दै आए पनि त्यो पर्याप्त हुन सकेको छैन । हाल उपमहानगरपालिकाले १४० स्वीपर दैनिक दुई पटक परिचालन गरेर फोहोर सङ्कलन गर्दै आएको छ । यद्यपि, यसबाट सहर सफा हुन सकेको छैन ।

सार्वजनिक स्थलमा फोहोर फाल्ने भाँडो नहुनु, मानिसमा जथाभावी फोहोर फाल्नु हुँदैन भन्ने जनचेतनाको अभावका कारण पनि नगर क्षेत्रभित्र फोहोर थुप्रिरहने समस्या कायम छ ।

सहर क्षेत्रमा जताततै फोहोर देखिनुमा जनप्रतिनिधिले स्थानीयवासीलाई दोष दिइरहेका देखिन्छन् भने स्थानीयवासीले जनप्रतिनिधि नै गम्भीर नहुँदा सरसफाइको अवस्था दयनीय बनेको बताउँछन् ।

janakpur fohor (1)

उपमहानगर–४, मुरली चोकका सुदिप पाठकका अनुसार डस्टबिन नहुँदा मानिसले जथाभावी फोहोर फाल्ने गरेका छन् । ‘मुरली चोकमा यतिका पसल छन्, एउटा पनि डस्टबिन छैन,’ उनले भने, ‘फोहोर उठाउन नगरपालिकाका कर्मचारी बिहानै आउँछन्, पसलेहरू आफ्नो पसलभित्रको फोहोर निकाल्न एकाबिहानै आउने कुरा पनि भएन ।’

पसल बन्द गर्ने बेलामा बाध्य भएर सडक किनारमा फोहोर फालेर हिँड्नुपर्ने अवस्था रहेको पाठकको भनाइ छ । ‘समयमै नगरपालिकाका कर्मचारी आएर त्यो फोहोर उठाएनन् भने भोलिपल्ट सडक किनारमा जताततै फोहोर देखिनु स्वाभाविक हो,’ उनले भने । यस्तो अवस्था आउन नदिनका लागि ठाउँठाउँमा नगरपालिकाले डस्टबिन राखिदिनुपर्नेमा उनले जोड दिए ।

उपमहानगरपालिका प्रमुख मनोज कुमार साहले आफ्नो घोषणापत्रमा डम्पिङ साइट निर्माण गर्ने बाचा गरेका थिए । यद्यपि उनको सो घोषणा कहिले पूरा हुने हो भन्ने ठेगान भइसकेको छैन । जनकपुरधामको फोहोर समस्या दिन प्रतिदिन गम्भीर बन्दै गएको छ ।

janakpur fohor (2)

उपमहानगर प्रमुख साह भने आफूले घोषणापत्रमा गरेको बाचा पूरा गर्न प्रतिबद्ध रहेको बताउँछन् । उनका अनुसार डम्पिङ साइट निर्माणका लागि पटक–पटक जिल्लादेखि केन्द्रीय गुठीसम्म धाए पनि जग्गा उपलब्ध हुन नसक्दा समाधान निकाल्न सकिएको छैन । ‘एउटा पार्टी कार्यालय बनाउन गुठी संस्थानले सजिलै जग्गा दिन्छ, तर सहर सफा राख्ने अभियानका लागि डम्पिङ साइट बनाउन भने जग्गा उपलब्ध गराउन मानेको छैन,’ उनले भने, बजेट छुट्ट्याइए पनि जग्गा नहुँदा काम अघि बढ्न सकेको छैन ।’

उपमहानगरपालिकाले बढ्दो फोहोरको व्यवस्थापनका लागि सुरुवाती प्रयास स्वरूप अतिथि भवन परिसरको एक साइडमा फोहोर थुपार्न थालेको थियो । त्यहाँ सम्भव नभएपछि वडा नं. १९, पुलचोकस्थित ५२ बिघा जमिनमा फोहोर थुपारियो । त्यहाँ पनि स्थानीयको तीव्र विरोधपछि उपमहानगरले भाडामा जमिन लिएर कनकपटी चौरीमा फोहोर थुपार्दै आएको छ ।

फोहोर व्यवस्थापनको दिगो समाधान खोज्ने प्रयासस्वरूप उपमहानगरपालिकाले भदौ १३ गते फोहोर व्यवस्थापनस्थलका लागि जग्गा भाडामा लिन सूचना सार्वजनिक गरेको छ । सर्तसहित प्रकाशित सूचनामा सात दिनभित्र इच्छुक जग्गाधनीलाई प्रमाणसहित उपस्थित हुन भनिए पनि चार दिन बितिसक्दा कोही सम्पर्कका लागि नआएको उपमहानगर स्रोतले जनाएको छ ।

janakpur fohor (3)

उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहका अनुसार, जनकपुरधामको मुख्य समस्या भनेकै फोहोर व्यवस्थापनस्थलको अभाव हो । उनका अनुसार नगरका प्रत्येक वडामा कम्तीमा एउटा ट्याक्टर र सरसफाइ कर्मचारी परिचालन गरिएको छ । बिहान र बेलुकी गरी दिनमा दुई पटक सरसफाइ भए पनि डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापनमा समस्या बढेको उनको भनाइ छ ।

डम्पिङ साइटका लागि नगरवासीले नै सहयोग नगरेको उनको गुनासो छ । ‘जहाँ डम्पिङ साइट रोजिन्छ, त्यहाँका स्थानीयले दुर्गन्ध आउँछ भन्दै विरोध गर्छन् । यसले व्यवस्थापनस्थल खोज्न गाह्रो बनाएको छ ।’ डम्पिङ साइट नभएसम्म फोहोर व्यवस्थापनको दिगो उपाय नहुने उनको भनाइ छ ।

युवा अभियन्ता सरोज मिश्रले सरसफाइमा वडाध्यक्षहरू नै गैरजिम्मेवार हुँदा समस्या थपिएको बताए । उनका अनुसार नगरपालिकाले प्रत्येक वडालाई सरसफाइको जिम्मेवारी दिए पनि इमानदारीपूर्वक काम हुन सकेको छैन । ‘समस्या नगरपालिकामा छ वा वडामा छ, यो उनीहरूले नै थाहा पाउन्, तर सरसफाइ समस्या यिनकै कारण बल्झिरहेको हो,’ मिश्रले भने, ‘स्थानीयमा पनि चेतनाको कमी छ । सबै काम नगरपालिकाले मात्र गर्छ भन्ने सोचका कारण समस्या बढेको हो ।’

उनले मुख्य चोक तथा बजारमा डस्टबिन राख्नुपर्ने आवश्यकता औँल्याए । ‘बजारतिर डुल्डा डुल्दै कसैले चटपटे खाइरहेको हुन्छ, कसैले मकै खाँदै हिँड्छ,’ उनले भने, ‘चटपटे खाइसकेपछि कागज, मकै खाइसकेपछि खोया कता फाल्ने ? डस्टबिन चाहिँदैन ?’

उपमहानगरपालिका–४ का वडाअध्यक्ष सुरेश झा सरसफाइप्रति जनप्रतिनिधि प्रतिबद्ध रहेको दाबी गर्छन् । उनका अनुसार दैनिक रूपमा एउटा ट्याक्टर र दुई जना स्वीपर परिचालन गरेर प्रत्येक वडामा सरसफाइ भइरहेको छ ।

janakpur fohor (5)

वडाअध्यक्ष झाले भने, ‘हाम्रो वडा ठुलो भएकाले यति स्रोत–साधनले पुग्दैन । अझै ट्याक्टर र कर्मचारी आवश्यक छ । मैले फोहोर व्यवस्थापनका लागि केही निजी व्यक्तिहरूलाई पनि राखेको थिएँ तर उपमहानगरले त्यसका लागि बजेट उपलब्ध गराएको छैन ।’

ठोस व्यवस्थापन नहुँदा समस्या झनै बढेको वडाअध्यक्ष झाको भनाइ छ । उनले सरसफाइका लागि थप जनशक्ति आवश्यक रहेको र उपमहानगरले इमानदारीपूर्वक सहयोग गर्नुपर्ने बताए ।

वडा नं. ८ का अध्यक्ष दिनेश कुमार सिंहले आफ्नो वडाका विभिन्न ठाउँमा डस्टबिनको व्यवस्था गरिएको जानकारी दिए । तर एउटा ट्याक्टर र दुई जना सरसफाइ कर्मचारीले मात्रै सम्पूर्ण काम धान्न नसक्ने उनको भनाइ छ । उनले सरसफाइका लागि थप कर्मचारी आवश्यक रहेको बताए ।

वडाअध्यक्ष सिंहले भने, ‘प्रमुख–उपप्रमुखले वडाध्यक्षहरू सरसफाइप्रति इमानदार छैनन् भनेर आरोप लगाउँछन्, तर सरसफाइसम्बन्धी बैठक हुँदा हामीले जनताले बुझुन् भनेर सामाजिक सञ्जालमा लाइभ गर्न माग्दा मानिँदैन ।’

janakpur fohor (6)

डम्पिङ साइट निर्माणका सम्बन्धमा उपमहानगर प्रमुखलाई सुझाव दिए पनि बेवास्ता गरेको वडाअध्यक्ष सिंहले बताए । उनले भने, ‘यस्तोमा कसरी हुन्छ सरसफाइ ?’

जनकपुरधाम उपमहानगरपालिकाको सरसफाइ व्यवस्थापन कमजोर रहेको भन्दै विभिन्न वडाका स्थानीयवासीले असन्तुष्टि जनाएका छन् । उपमहानगरपालिकाले सरसफाइमा कुनै ठोस व्यवस्थापन गर्न नसकेको वडा नं. ७ का रञ्जित यादव बताउँछन् । उनले भने, ‘घरको छेउमै फोहोरको डङ्गुर छ, गन्हाएर बस्नै नसक्ने अवस्था छ । उपमहानगरलाई जानकारी नगराएको पनि होइन तर कार्यान्वयन शून्य छ । भोट माग्ने बेलामा फोहोर व्यवस्थापन गर्ने बाचा गर्छन् तर जितेपछि बिर्सन्छन् ।’

त्यसैगरी वडा नं. ४ का स्थानीयवासी घनश्याम मिश्रले सरसफाइका विषयमा जनप्रतिनिधिलाई पटक–पटक ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नहुने बताए । उनले भने, ‘उपमहानगरले ट्याक्टरको व्यवस्था गरेको छ भन्छन्, तर हाम्रो टोलमा कहिल्यै गाडी आएको देखिँदैन । घरकै छेउमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको छ । वडा कार्यालयलाई जानकारी दिँदा पनि कुनै सुनुवाइ भएको छैन ।’

जनकपुरधाम उपमहानगरपालिकाका सरसफाइ प्रमुख श्याम ठाकुरले सरसफाइ व्यवस्थापनमा उपमहानगर पूर्ण रूपमा संवेदनशील रहेको दाबी गरे । उनका अनुसार सरसफाइका लागि प्रत्येक वडामा बिहान र बेलुकी दुईपटक जनचेतनामूलक अडियोसहित ट्याक्टर पठाएर फोहोर सङ्कलन गरिँदै आएको छ ।

janakpur fohor (4)

ठाकुरले भने, ‘सरसफाइ कर्मचारीहरूको कामको निगरानी गर्न प्रत्येक दिन चार सदस्यीय टोली वडामा खटाइन्छ । नागरिकलाई सचेत रहन र सङ्कलन गर्ने गाडीमा फोहोर राख्न पटक–पटक आग्रह गरिन्छ, तर पर्याप्त सहयोग पाइएन ।’

ठाकुरका अनुसार उपमहानगरले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको भए पनि स्थानीयवासीबाटै अपेक्षित सहयोग नपाउँदा सरसफाइ चुनौतीपूर्ण देखिएको छ । उनले नगरपालिका यसमा दोषी नभएको दाबी गरे ।

जनकपुरधाम उपमहानगर क्षेत्रभित्र विभिन्न स्थानमा थुप्रिएका फोहोर नउठ्नुमा जसले जसलाई दोषी भनेर आरोप लगाइरहे पनि समग्रमा त्यसले नगरवासीकै स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ भने बाहिरबाट आउने पर्यटकको सोचमा समेत नकारात्मकता बढाउँछ । प्रदेशको राजधानीसमेत भएका कारण जनकपुरधामको सरसफाइमा स्थानीय तहका अतिरिक्त प्रदेश सरकारले समेत हातेमालो गर्न जरुरी रहेको सरोकारवाला बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप