बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : दसौँ राष्ट्रिय खेलकुद

केन्द्रको स्वार्थ र राजनीतिक खिचातानीको मारमा दसौँ राष्ट्रिय खेलकुद

बिहीबार, १९ भदौ २०८२, १० : १७
बिहीबार, १९ भदौ २०८२

सारांश

  • कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको मिति पटक-पटक सर्दै रद्द हुने अवस्थामा पुगेको छ।
  • युवा तथा खेलकुद मन्त्री र राखेप सदस्य-सचिवबीचको तालमेल नमिल्दा प्रतियोगिता प्रभावित भएको हो।
  • उपाध्यक्षको भूमिका र प्रधानमन्त्रीको हस्तक्षेपले गर्दा प्रतियोगिता स्थगित भएको बताइएको छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । दूर कर्णाली । भौगोलिक रूपमा पछि परेको/पारिएको क्षेत्र । अन्य आर्थिक, सामाजिक र शैक्षिक पक्ष पनि त्यति सहज छैन । यसै कारण राष्ट्रियस्तरका ठुला कार्यक्रम गर्न र गराउन केन्द्रले सधैँ निहुँ खोजिरहन्छ । 

२०७९ सालमा कर्णालीले एक पाइला अघि सार्दै देशकै ठुलो प्रतियोगिता गर्ने आँट गर्‍यो, अर्थात् राष्ट्रिय खेलकुद प्रतियोगिता । गण्डकीको पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट दशौँ प्रतियोगिताको झण्डा अहिले कर्णालीसँग छ । 

राष्ट्रियस्तरको ठुलो प्रतियोगिता आयोजना गर्न कर्णाली २०८१ मंसिरमै तयार भएको थियो । प्रतियोगिताको तयारी पनि कर्णालीले समयमै गरेको थियो, तर केन्द्रका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र सदस्य सचिव टंकलाल घिसिङ बाधक बनेर निस्किए, उनीहरूले यसलाई उपयुक्त देखेनन् र उनीहरूकै तालमेल नमिल्दा तीन पटकसम्म प्रतियोगिताको मिति सरेको सर्‍यै छ । 

त्यति मात्र होइन, अन्तिम समयमा यहाँ उपाध्यक्षको स्वार्थ पनि जोडिन पुग्यो । उपाध्यक्ष ध्रुव आचार्यले आफ्नो एक जम्बो टोली लिएर कर्णाली गए । अनि देखाइदिए पानी अभाव मुख्य कारण । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त प्रतिवेदन बुझाउँदै प्रतियोगिताका लागि कर्णाली तयार नभएको ‘ब्रिफिङ’ गरे । यता प्रतियोगिता गर्न भनी कर्णाली भने तयार भएर बसेको थियो ।

यस्तोमा ‘प्रतियोगिता किन हुन नसकेको ?’ भन्दै कर्णालीले केन्द्रले पटक–पटक जवाफ खोजिरहेको छ । 

  • सदस्य–सचिव र खेलकुद मन्त्रीको नमिलेको तालमेल 

तत्कालीन राखेप सदस्य–सचिव रमेश सिलवाल बर्खास्तमा परेपछि सदस्य–सचिवका रूपमा २०७८ साल १३ मङ्सिरमा टंकलाल घिसिङ नियुक्त गरिए । आवेदन परेकामध्ये तीन जनालाई सर्ट लिस्टमा राखिएको थियो, जिम्मेवारी पाए घिसिङले । उक्त समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार थियो । 

देउवाको सरकारमा माओवादीका महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्री थिए । उनले नै सिलवाललाई स्पष्टीकरण सोधेर चित्त नबुझेको भन्दै पदबाट हटाएका थिए । त्यसपछि दुई मन्त्री परिवर्तन भए, डिगबहादुर लिम्बू र विराजभक्त श्रेष्ठ । 

सदस्य–सचिवलाई दसौँ खेलकुद आयोजनाका लागि आफ्नै पार्टी माओवादीका मन्त्री आवश्यक थियो । तर, एमाले र कांग्रेस नेतृत्वका सरकार आउँदा कांग्रेसले तेजुलाल चौधरीलाई मन्त्रीको रूपमा पठायो । 

२०८१ मङ्सिर २ देखि ९ गतेसम्म दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने भनी समय किटान गरिएको थियो । त्यसअघि ०८१ असार ३१ गते चौधरी खेलकुद मन्त्री बनेका थिए । 

त्यसपछि नेपाली खेलकुदका दुई निकाय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) एक मत कहिल्यै भएनन् । उनीहरूले दसौँ खेलकुदलाई मुख्य एजेन्डाका रूपमा कहिल्यै लिएनन् । 

खेलकुदमा कम ज्ञान भएका मन्त्रीले भनेको आयोजना गर्ने प्रतियोगिताका लागि सदस्य–सचिव घिसिङले केपी शर्मा ओली नेतृत्वको सरकारले बनाएको नेपाली कांग्रेसका मन्त्रीसँग समन्वय गर्नुपर्ने भयो, जुन नेपाली खेलकुद र दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुखद् बनेन । 

बाहिर दुवै, सदस्य–सचिव र खेलकुद मन्त्री मिलेको देखिए पनि भित्र उनीहरूको चाल खेलकुद क्षेत्रका जानकारहरूले नियालिरहेका थिए । अझ भनौं, बाहिरी रूपमा दुवै जना प्रतियोतिगा गर्ने मनशायमा थिए, भित्र भने एकअर्कालाई असफल बनाउने रणनीतिमा लागेका थिए, जसको चेपुवामा दशौँ राष्ट्रिय खेलकुद पर्‍यो । 

त्यसैले मङ्सिरमा हुने दसौँ खेलकुदको मिति चैतमा सारियो । चैतबाट जेठमा सार्दै प्रतियोगिता नै नगर्ने अवस्थामा राखेप र खेलकुद मन्त्रालय पुगेको थियो । अब भने खेलकुद मन्त्री सदस्य–सचिवको कार्यकाल सकिनुअघि दसौँ खेलकुद प्रतियोगिता होस् भन्ने चाहनामा छैनन् । 

सरकारले दसौँ खेलकुदका लागि ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको अवस्थामा अहिलेसम्म प्रतियोगिताको मिति तोकिएको छैन । सदस्य–सचिव घिसिङको कार्यकाल सकिन अब धेरै समय बाँकी छैन । मङ्सिर १३ गतेबाट उनको कार्यकाल सकिने छ । त्यसअघि मन्त्री चौधरी आफू दशौंको मिति तोक्ने योजनामा छैनन् । उनले राखेपको बोर्ड बैठक पनि हालसम्म बोलाएका छैनन् । 

राखेपका पूर्वसदस्य–सचिव रमेश सिलवाल दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तीन पटक सार्दै प्रतियोगिता स्थगित गर्नु राजनीतिकबाहेक अन्य कुनै कारण नभएको बताउँछन् । कर्णालीमा व्यापक भौतिक संरचना हुँदा पनि प्रतियोगिता गर्न आलटाल गर्नु मन्त्री र सदस्य सचिवबिचको द्वन्द्व मात्र भएको उनको बुझाइ छ । 

‘मैले सुरुवातदेखि नै दसौँ खेलकुदलाई फलो गरिरहेको छु । गहिरिएर नियाल्दा खेलकुद मन्त्री सदस्य–सचिवको कार्यकाल रहँदासम्म दसौँ खेलकुद आयोजना गर्ने योजनामा छैनन् । मङ्सिरमा दसौँ आयोजना गर्ने योजना रहेछ । सोही समयमा सदस्य–सचिवको कार्यकाल सकिँदै छ । यो हतारोमा गरे पनि प्रतियोगिता सफल हुन्न,’ सिलवालले भने । 

कुनै पनि राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लामो समयको तयारी आवश्यक हुन्छ । वडा, गाउँपालिका, नगरपलिका र जिल्ला हुँदै प्रदेशका लागि खेलाडी खेल्न तयार हुन्छन् । सिलवाल आफ्नो कार्यकालमा भएको नवौँ खेलकुदको समयलाई सम्झँदै मङ्सिरमा प्रतियोगिता गरे त्यो प्रतियोगिता गर्न मात्र गरिएको भन्ने बुझ्नुपर्ने उनको धारणा छ । 

‘मैले नवौँ आयोजना गर्दा वडास्तरबाट तयारी गर्न लगाएको थिएँ । अहिले खेलाडी नै अन्योलमा छन् । राम्रो तयारी गरेर प्रतियोगिता गर्ने हो भने २०औँ एसियन गेम्सका लागि सबैभन्दा राम्रो छनोट माध्यम यही हुनेछ,’ सिलवालले भने । 

  • प्रधानमन्त्रीलाई बिच्काउने तेस्रो धार

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नगर्न खेलकुद मन्त्री र सदस्य–सचिव मात्र होइनन्, उपाध्यक्षको भूमिका पनि मुख्य छ । उपाध्यक्षको भूमिकामा आएको छोटो समयमै ध्रुव आचार्यले कर्णालीमा दसौँ खेलकुद जेठ ३ बाट १० गतेसम्म गर्न नसकिने बताएका थिए । 

उनले कर्णालीमा दुई दिन दसौँ खेलकुदको विषयमा अध्ययन गर्ने मौका पाए । उक्त समयमा उनले प्रतिवेदन पनि तयार पारे । प्रतिवेदनको सबैभन्दा मुख्य विषय बनाइयो – सुर्खेतमा पानी अभाव । 

उपाध्यक्षको यो कुरालाई प्रधानमन्त्री ओलीले पनि पत्याए । त्यसपछि खेलकुद मन्त्रीलाई भनेर प्रतियोगिता रोक्न लगाए । तर, उपाध्यक्षको नियत भनेको कांग्रेसका मन्त्री र माओवादीका सदस्य–सचिवको कार्यकालमा दसौँ खेलकुद नहोस् भन्ने नै थियो । 

प्रधानमन्त्रीले त पानी अभावका कारण दसौँ प्रतियोगिता गर्न नसकिने भन्दै एक सार्वजनिक कार्यक्रममै बोल्न भ्याए । ‘दसौँ खेलकुद गर्न सुर्खेतमा पानी अभाव छ, त्यसैले केही समय राखेका छौँ,’ प्रधानमन्त्रीले भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप