बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विधान महाधिवेशनमा ओली

‘मुर्धन्य नेता कुहिरोका काग भए, कार्यकर्ताले पार्टी बचाए’

शुक्रबार, २० भदौ २०८२, १५ : ३२
शुक्रबार, २० भदौ २०८२

सारांश

  • एमाले अध्यक्ष ओलीले पार्टीका नेताहरु कुहिरोको काग जस्तै भएको टिप्पणी गरे।
  • ओलीले कार्यकर्ताको अडान र विश्वासका कारण पार्टी जोगिएको बताए, र महिला कार्यकर्ताको योगदानको प्रशंसा गरे।
  • ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा प्रस्तुत गर्दै राष्ट्रिय हितको रक्षा गर्ने बताए।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका मुर्धन्य नेताहरु कुहिरोका कागजस्तै भएको टिप्पणी गरेका छन् । शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले पार्टी बचाउन कार्यकर्ताको महत्त्वपूर्ण भूमिका रहेको बताए । 

एमालेको इतिहास र विरासत निकै लामो भएको उल्लेख गर्दै उनले नेताहरु कुहिरोका काग जस्तै बनेपनि कार्यकर्ताहरुले पार्टी जोगाउँदै आएको बताए । करिब २४ सय नेता कार्यकर्तामाझ ओलीले बाइबलको कथा सुनाउँदै २०७८ सालमा दोस्रो पटक नेताहरुले पार्टी बिभाजन गरेर चोट लगाएपनि कार्यकर्ताको अडान र विश्वासका कारण पार्टीमा ठुलो क्षति हुन नपाएको स्मरण गरे ।

एमाले निर्माणमा लागेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम अहिले उक्त पार्टीमा छैनन् । नेपाल र खनालले उनै ओलीसँग विद्रोह गरेर २०७८ सालमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । पछिल्लो समय गौतम पनि नेकपा एकीकृत समाजवादीमा पुगेका छन् ।

‘२०७८ सालमा पार्टीमा केही चोट लाग्यो, लगाए । मुर्धन्य नेताहरु कुहिरोका काग भए, तर कार्यकर्ता बहकिएनन् र पार्टी जोगाए,’ अध्यक्ष ओलीले भने, ‘यसले यो पार्टी र पार्टीको नेतृत्वप्रतिको विश्वास छ भन्ने देखाउँछ ।’

उनले कार्यकर्ताले देखाएको विश्वासप्रति आफू ढुक्क रहेको पनि बताए । ‘म ढुक्क छु, आन्दोलन हाँक्न सकिन्छ । मलाई केही भएपनि यो पार्टी केही हुँदैन,’ ओलीले नेता कार्यकर्तालाई ढाडस दिँदै भने, ‘नेता कार्यकर्ताको समर्पण, निष्ठा र योगदान उदाहरणीय छ ।’

पार्टीलाई विभाजनबाट बचाउन, सुदृढ गर्न र भविष्यमा अग्रसर बनाउन विशेषगरी महिला कार्यकर्ताहरूको योगदानलाई उल्लेखनीय रहेको ओलीको भनाइ छ ।

‘महिला दिदीबहिनीहरूको निष्ठा, अटल अडान र समर्पणकै कारण पार्टी अझ सबल बनेको छ,’ ओलीले सम्बोधनका क्रममा भने, ‘आन्तरिक एकतासँगै वैचारिक स्पष्टता र अनुशासन पार्टीको मूल आधार हो ।’

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितप्रति पार्टीको अटल अडान रहेको भन्दै ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूभाग रहेको स्मरण गराए । कुनै पनि दबाब, धम्की वा प्रलोभनमा नपरी राष्ट्रिय हित सर्वोपरी हुने उनको भनाइ छ ।

ओलीले कम्युनिस्ट धारको हिसाबले एमाले जेठो र पुरानो धार भन्दै ९३ वर्षदेखि अघि बढेको यो पार्टी जनताका बिचमा आशाको केन्द्र बनेको दाबी गरे । 

नेपाली विशेषताको समाजवादको वकालत

महाधिवेशनमा अध्यक्ष ओलीले ९८ पेज लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् । ओलीको राजनीतिक प्रतिवेदनमा नेपाली विशेषताको समाजवादको अवधारणा प्रस्ताव गरिएको छ ।

‘नेपाली समाजको विशेषताको रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइने छ । एकरुपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्द्धन गरिनेछ,’ ओलीको प्रस्तावमा भनिएको छ ।

प्रस्तावमा नेपाली विशेषताको समाजवादको अनिवार्य कार्यभारमा राष्ट्रिय हितको रक्षा, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास भनेर नवीन व्याख्या गरिएको छ ।

ओलीले नेपाली विशेषताको समाजवादको एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’लाई हुने पनि बताएका छन् ।

‘नेपाली विशेषताको समाजवादको एउटा महत्वपूर्ण पक्ष हो– यसले लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यतालाई आत्मसात् गर्नेछ । संविधानको सर्वोच्चता, विधिको शासन, मनाव अधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचन जस्ता विषयहरु राज्यसञ्चालनका अभिन्न विषय हुनेछन् । दलहरुको बिचको प्रतिस्पर्धा सुनिश्चित गरिनेछ । जनताको अभिमतबाट मात्रै शासन सञ्चालन गर्ने, अनिर्वाचित सत्ता नहुने कुराको प्रत्याभूति गरिनेछ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा वर्ग संरचना खण्ड अन्तर्गत निम्न वर्ग, मध्यम वर्ग र उच्च वर्ग चित्रण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप