पर्यटन प्रवर्द्धनका लागि ‘रेडपाण्डा म्याराथन’
सारांश
- इलाममा पर्यटन प्रवर्द्धन गर्न रेडपाण्डा म्याराथन आयोजना हुने भएको छ, जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरू सहभागी हुनेछन्।
- यो म्याराथन इलाम सदरमुकामदेखि सन्दकपुर डाँडासम्म हुनेछ, जसमा पुरुष र महिला दुवैका लागि प्रतिस्पर्धा हुनेछ।
- प्रतियोगितामा विजेताहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ, र यसले स्थानीय पर्यटन विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
फिक्कल। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘रेडपाण्डा म्याराथन’ प्रतियोगिता हुने भएको छ ।
अन्तर्राष्ट्रिय रेडपाण्डा दिवसका अवसरमा आगामी असोज ४ गते इलाम सदरमुकामदेखि नेपाल–भारत सीमा क्षेत्र सन्दकपुर डाँडासम्म म्याराथन गर्न लागिएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिए ।
रेडपाण्डा नेटवर्क र सन्दकपुर गाउँपालिकाको सहयोगमा दीपज्योति युवा क्लबले म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो । पुरुष र महिलातर्फका म्याराथनअन्तर्गत धावक इलाम सदरमुकामस्थित चोक बजार (एक हजार १२० मिटर उचाइ) बाट सन्दकपुर डाँडा (तीन हजार ६१० मिटर उचाइ) सम्म ४४ दशमलव दुई किलोमिटर दूरीमा दोडने छन् ।
प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित देशभरका १०० बढी धावक सहभागी हुनेछन् । प्रतियोगिताका पुरुष र महिलातर्फ छुट्टाछुट्टै पहिलो हुनेले रु एक लाख ५० हजार, दोस्रो हुनेले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार र चौथो हुनेले रु ३० हजार प्राप्त गर्ने आयोजक दीपज्योति युवा क्लबले जनाएको छ ।
त्यसैगरी, स्थानीय विधातर्फ इलाम, पाँचथर र ताप्लेजुङका धावकका लागिसमेत छुट्टै प्रतियोगिता हुनेछन् । पुरुष र महिलातर्फका पहिलो हुनेले रु २५ हजार, दोस्रो हुनेले रु २० हजार, तेस्रो हुनेले रु १० हजार र चौथो हुनेले रु पाँच हजार पाउनेछन् ।
“जिल्लाको पूर्वाधार विकासँगै पर्यटन प्रवर्द्धन गर्न म्याराथन प्रतियोगिता आयोजना गर्न लागेका हौँ”, दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक रिमालले भने, “रेडपाण्डा दिवसका अवसरमा रेडपाण्डा नै पाइने क्षेत्रमा आयोजना गरिएको कार्यक्रमले यहाँको पर्यटन विकासमा थप टेवा पुर्याउने विश्वास लिएका छौँ ।”
लोपोन्मुख रेडपाण्डा (हाब्रे) संरक्षण, खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजना हुने ‘रेडपाण्डा म्याराथन’ मा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावककोसमेत सहभागिता रहने रेडपाण्डा नेतवर्कका कार्यक्रम निर्देशक वाङ्चु भुटियाले जानकारी दिए ।
म्याराथन प्रतियोगिताका लागि सन्दकपुर गाउँपालिकाले रुटअन्तर्गतको सडक मर्मतको काम सुरु गरेको अध्यक्ष तुलाराम गुरुङले बताए । “पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हाम्रै पालिकामा म्याराथन प्रतियोगिता हुँदैछ, त्यसका लागि हामीले सडक मर्मत सुरु गरेका छौँ”, अध्यक्ष गुरुङले भने, “यसले सन्दकपुर गाउँपालिकाको मात्र नभई समग्र इलामको पर्यटन विकासमा सहयोग पुग्नेछ ।”
सन्दकपुर–२ मा पर्ने सन्दकपुर डाँडा इलामको सबैभन्दा अग्लो उचाइ तीन हजार ६३६ मिटर उचाइमा पर्छ । सन्दकपुर डाँडाबाट सूर्योदयको दृश्यावलोकनसँगै विभिन्न चार देश नेपाल, भारत, भुटान र चीनका हिमाल देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण