मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
किताबका कुरा

मदन पुरस्कार विजेता उपन्यासकार काविमोसँग किताबका कुरा

‘झुसिल्किराजस्तो जीवनलाई कुनै थोकले सुन्दर पुतलीझैँ बनाइदिन सक्छ भने त्यो हो किताब’
शनिबार, २१ भदौ २०८२, १६ : ००
शनिबार, २१ भदौ २०८२

सारांश

  • लेखक छुदेन काविमोसँगको कुराकानीमा उनको लेखन, पढ्ने बानी र पुस्तकप्रतिको धारणाबारे चर्चा गरिएको छ।
  • उनको उपन्यास 'उरमाल'ले मदन पुरस्कार पाएको छ, र उनी पुस्तकलाई जीवनको अभिन्न अंग मान्छन्।
  • उनले नेपाली साहित्य र पठन संस्कृतिको महत्वबारे प्रकाश पार्दै पाठकलाई आफ्नो सिर्जनात्मक यात्रामा साथ दिन आग्रह गरेका छन्।

भारतको पश्चिम बङ्गाल राज्यस्थित कालेबुङमा जन्मिएका छुदेन काविमो सिलिगुडी सहरमा बस्दै आएका छन् । उनको ‘१९८६’ (कथासङ्ग्रह, सन् २०१५), ‘फातसुङ’ (उपन्यास, सन् २०१९) र उरमाल (उपन्यास, सन् २०२५) प्रकाशित छन् ।

‘१९८६’ कथासङ्ग्रहले भारतको युवा साहित्य अकादमी पुरस्कार (सन् २०१८) प्राप्त गरेको छ भने ‘फातसुङ’ मदन पुरस्कारको मनोनयमा परेको थियो । फातसुङ हालसम्म अङ्ग्रेजी, हिन्दी ,बङ्गला र सिन्धी भाषामा अनुवाद भइसकेको छ ।

यसको अङ्ग्रेजी संस्करण ‘सङ अफ द सोइल’ भारतको प्रतिष्ठित जेसीबी पुरस्कारमा ‘सर्ट लिस्टेड’ भएको थियो । उनको दोस्रो उपन्यास उरमालले भर्खरै मदन पुरस्कार पाएको छ । उनै काविमोलाई हामीले यसपटक रातोपाटीको ‘किताबको कुरा’ शृङ्खलामा निम्त्याएका छौँ । 

  • दिनमा कति समय पढ्नुहुन्छ ?

हरेक दिन उठेर केही लेख्ने वा पढ्ने मेरो रुटिन नै हो । पढाइमा कति समय खर्चिने ? त्यसको ठोस जवाफ मसँग छैन तर मलाई हरदम किताबसँग रहँदा रमाइलो लाग्छ । हवाईजहाज, रेलगाडी वा बसको यात्रामा होस्— मसँग साथमा एउटा किताब त सधैँ हुन्छ । मनपर्ने किताब साथमा हुँदा मात्रै पनि मन मिल्ने साथी सँगै भएजस्तो लाग्ने रहेछ । त्यही भएर मेरो झोलामा अर्थोक केही नहोस् तर जहिले र जुनै अवस्थामा एउटा किताब तपाईंले पक्कै पाउनुहुनेछ ।  

हरेक दिन मलाई आफ्ना निम्ति केही समय निकाल्नुपर्छ जस्तो लाग्छ । आफूलाई के गरेर समय दिने त ? मैले बिहान उठेर साइक्लिङ गर्ने वा फुटबल खेल्ने हो । त्यसपछि उब्रिएको समय किताबसँग बिताउने हो । किताबका निम्ति मैले समय व्यवस्थापन गर्नैपर्दैन, मनपर्ने किताब हातमा भएपछि समय आफैँ व्यवस्थापन भइहाल्छ । 

  • हालैको दिनमा पढेको पुस्तक कुन थियो ? कस्तो छ त्यो किताब ?

मैले अन्तिमचोटि पढेको पुस्तक मानव कौलको ‘तितली’ हो । यो निकै रमाइलो किताब छ । मलाई सुरुदेखि लाग्थ्यो, लेखकले सबैभन्दा धेर स्वतन्त्रसँगले लेख्न पाउने ठाउँ भनेकै उपन्यासमा हो । अरुन्धती रोयले आजादीको भूमिकामा भनेकी पनि छिन्, ‘स्वतन्त्रता भन्नासाथ मेरो दिमागमा उपन्यास आउँछ ।’ अर्थात् उपन्यास लेखनमा जति धेर स्वतन्त्रता छ, त्यो अरु लेखनभन्दा अलि धेर हो कि ? किनकि उपन्यासमा तपाईंले चाहेअनुरूप डुल्न सक्नुहुनेछ । मौका मिले अलिअलि उड्न पनि सक्नुहुनेछ । त्यही भएर नि म उपन्यास लेखिरहन मन पराउँछु । ‘तितली’ पढेपछि लाग्यो, लेखकले उपन्यासमा मात्रै स्वतन्त्रता खोज्ने होइन, उपन्यासलाई पनि स्वतन्त्रता दिने हो । जहाँ–जहाँ, जसरी–जसरी बग्छ, बग्न दिने हो । मानव कौलको यो स्टाइल मलाई बडो रमाइलो लाग्यो । अर्को कुरा चैँ किताबका हरेक पात्र लेखक छन्, त्यसले गर्दा पनि कुनै लेखकले ‘तितली’ पढिरहँदा आफैँलाई पनि धेरथोर पढिरहेझैँ लाग्ने रहेछ । मैले यति बेला पनि ‘तितली’को एउटा पात्र ‘सायर’लाई सम्झिरहेको छु । जो मेरो जीवनकै एउटा पात्रझैँ अनौठो स्वभावको छ । 

मदन पुरस्कार नेपालको मात्रै होइन तर नेपाली साहित्यकै एउटा मानक पुरस्कार पनि हो । नेपाल मात्रै होइन, भारतमा पनि यो पुरस्कार जित्ने किताब खोज्नेहरूको जमात निकै ठुलो रहेछ ।  वर्षौंपछि मदन पुरस्कार भारतीय नेपाली साहित्यको एउटा पुस्तकले पाउँदा रमाइलो लाग्ने त भइहाल्यो ।

तपाईंका लागि किताब के हो ?

किताब हरथोक हो । मान्छेको जीवनमा किताब कति जरुरी छ, त्यो कुरा मैले उरमालको हरेक पात्रमार्फत भन्ने कोसिस गरेको छु । झुसिल्किराजस्तो मान्छेको जीवनलाई कुनै थोकले सुन्दर पुतलीझैँ बनाइदिन सक्छ भने त्यो किताबले मात्रै सक्छ । जुनसुकै भाषाको किन नहोस्, जुनसुकै साहित्यको किन नहोस्, जब कहीँ पनि अनि कोही पनि किताब पढिरहेको मान्छेलाई म देख्छु, मलाई जहिले लागिहाल्छ, यो त मेरै जातको मान्छे हो । 

  • किताबसँग यहाँको साइनो कसरी जोडियो ?

म त्यो गाउँमा हुर्किएको हुँ, जहाँ आज पनि पक्का सडक पुगेको छैन । जतिबेला म हुर्किंदै थिएँ, उतिबेला न गाउँमा कसैको घरमा टीभी थियो न त अहिलेजस्तो हातहातमा मोबाइल फोन थियो । मसँग केही कथाका किताब थिए,जहाँ मैले पहिलोचोटि लियो टोल्सटोयको अनुवाद भएको कथा ‘लामो यात्रा’ पढेको थिएँ । त्यहाँ आइभन भन्ने एउटा पात्र छ, जसलाई म जीवनमा कहिले भुल्न सक्दिनँ । मैले जीवनमा सबैभन्दा धेरै त्यही पात्रसँग नै रोएको छु । त्यो कथा जतिचोटि पढेँ, म त्यति नै चोटि भावुक बनेको छु । त्यसपछि एन्तोन चेखभको ‘भानका’ पढेँ । मलाई कथामा रहेको ‘भानका’का बाजे मेरै बाजेजस्ता लागे । यी दुईवटा कथा नै थियो, जसले मलाई खुरुखुरु किताब पढ्ने मान्छे बनाए । 

मनपर्ने किताब साथमा हुँदा मात्रै पनि मन मिल्ने साथी सँगै भएजस्तो लाग्ने रहेछ । त्यही भएर मेरो झोलामा अर्थोक केही नहोस् तर जहिले र जुनै अवस्थामा एउटा किताब तपाईंले पक्कै पाउनुहुनेछ ।
  • तपाईंको व्यक्तिगत लाइब्रेरीमा कति किताब छन् ?

उस्तो धेरै त नहोला तर मैले राति निदाउन अघि देख्ने अन्तिम थोक र बिहान आँखा खोल्दा देख्ने पहिलो थोक किताब नै हो । 

  • कुन विधाका किताब धेरै छन् र किताब किन्नलाई कति पैसा खर्चिनुहुन्छ ?

आख्यान लेख्ने भएर होला, उपन्यास अलि बढी पढिरहेको हुन्छु । विश्वका चर्चित लेखकको जीवनी वा अन्तर्वार्ता पढ्न पनि मलाई निकै रमाइलो लाग्छ । स्कुल पढ्दादेखि मेरो रुचिको विषय इतिहास हो । त्यही भएर इतिहास वा गैरआख्यानका किताब पनि खोजी खोजी पढ्ने गर्छु अनि हरफहरफमा कथा भनिदिने कविता मलाई रमाइला लाग्छन् । 

  • नेपाली लेखकका कम्तीमा पाँचवटा किताब सम्झिनुपर्दा कुन–कुन किताब सम्झिनुहुन्छ ? यी किताबमा त्यस्तो के छ ?

मनपर्ने किताब धेरै छन् । यस्तो बेला ठ्याक्क नाम भन्न साह्रै गाह्रो लाग्छ । त्यही भएर होला, धेरै लेखकले यतिबेला पुराना लेखक नै सम्झिन चाहन्छन् तर मैले नयाँ पुराना जोडेरै भन्ने कोसिस गरेँ । मसँग मनपर्ने किताब पाँच होइन, पचासभन्दा धेर छन् । अहिलेलाई राजनारायण प्रधानको ‘दार्जिलिङ डायरी’, सुधीर छेत्रीको ‘फेरि अर्को अनुष्टुप’, उपेद्र सुब्बाको ‘लाटो पहाड’, नयनराज पाण्डेको ‘लू’ र नीलम कार्की निहारिकाको ‘योगमाया’लाई सम्झिएँ । यीमध्ये केही कवितामा तपाईंले कथाजस्तै नक्सा पाउनुहुनेछ र केही उपन्यासमा कथा भन्ने अलग तरिका र स्वाद भेटाउनुहुनेछ । 

‘तितली’ पढेपछि लाग्यो, लेखकले उपन्यासमा मात्रै स्वतन्त्रता खोज्ने होइन, उपन्यासलाई पनि स्वतन्त्रता दिने हो । जहाँ–जहाँ, जसरी–जसरी बग्छ, बग्न दिने हो ।
  • विदेशी लेखकका कम्तीमा पाँचवटा किताब सम्झिनुपर्दा कुन–कुन किताब सम्झिनुहुन्छ ?

पर्ल एस बकको ‘द गुड अर्थ’ मलाई धेरै मन परेको उपन्यास हो । मान्छेको जीवनशैली थोरै पैसाले गर्दा कसरी बदलिन सक्छ ! मलाई उपन्यासको त्यो पाटो सबैभन्दा धेर मन परेको हो । अर्को कुरा चीनको त्यो ग्रामीण इलाकाको चित्रण पढ्दा तपाईंलाई आफ्नै गाउँको याद आउँछ । 

‘द फ्रेग्रेन्स अफ ग्वाभा’ यो पछिल्लो समय पढेको अर्को किताब हो । यो पनि मलाई निकै रमाइलो लाग्यो । यसमा मार्खेजको लेखन तरिकादेखि उनका सम्बन्धबारे अन्तर्वार्ता छन् । यो किताबले लेखकहरूलाई धेरै थोक सिकाउन सक्छ । 

रोनाल्ड सिगलको ‘द टोकोलोस’ पनि मलाई मन परेको किताब हो । मलाई स्वैरकल्पनाका किताब खासै मन पर्दैन तर यसको स्वैरकल्पना अन्त्यमा आम जीवनसँग यसरी जोडिन आइपुग्छ,  लाग्छ— कथाको खास कुरा टोकोलसले देखाउने अन्तिमको रूपमा मात्रै छ ।  

तेहमिना दुरानीको ‘ब्लासफेमी’ भन्ने पुरानो उपन्यास छ । जहाँ मुस्लिम समुदायकी एउटी महिलाले भोग्नुपरेको पीडालाई सुनाइएको छ । 

जुन किताबले मलाई धेरै समय बिसञ्चो बनाएको थियो । अन्त्यमा, एलेक्स हेलीको ‘द रुट’को नाउँ लिएँ । जसमा लेखकले अफ्रिका पुगेर झन्डै दुई सय वर्षको आफ्नो वंशावली पुस्ताको कथा खोतलेका छन् । कथाले पहिचानको मुद्दासँगै दासत्वको कथालाई पनि खुब गजबले दर्शाएको छ । 

  • जीवनमा कुनै पुस्तक चोर्नुभएको छ ?

सुरुसुरुमा किताबको लत यसरी बसेको थियो, म किताबविना बस्नै सक्दिनँथेँ तर गाउँमा किताब पाउनै मुस्किल थियो । लाइब्रेरी पुग्नलाई झन्डै तीन घण्टा हिँड्नुपर्थ्यो । आपाले बजारबाट फर्किंदा लाइब्रेरी छिरेर ल्याइदिएको किताब म जहिले समयभन्दा अघि नै पढेर सकिहाल्थेँ । त्यसैले मलाई किताबको अनिकाल हुन्थ्यो । यस्तो बेला एक दिन भाइले सुनायो, ‘आइनम दाजुको घरको माथिल्लो तलामा एक थाक किताब छ ।’ मैले पहिलो र अन्तिमचोटि किताब चोरेको त्यही थाकबाट हो । 

  • पुस्तक हराएका वा चोरी भएका घटना छन् कि ?

भारततिरका दर्जनौँ पाठकले मसँग धेरैचोटि गुनासो गरेका थिए, ‘फातसुङ राखेकै ठाउँबाट हरायो । कसले चोर्छ चोर्छ यो किताब ?’ गुनासोसँगै केहीले त मैले देख्दादेख्दै त्यो किताब दोस्रोचोटि नि किनेका छन् । सानो किताब भएर नि होला, त्यो किताब हराएको गुनासो मैले धेरै पाठकबाट सुनेको छु । 

  • आफूले खोजेको तर मुस्किलले भेटेको कुनै पुस्तक छ ? त्यसबाट के पाउनुभयो ?

निकै मुस्किलले पाएको किताब फ्रान्सिस योङहस्बेन्डको ‘इन्डिया एन्ड टिबेट’ हो । यस किताबमा ब्रिटिस सम्राज्यवाद कसरी टिबेटसम्म पुग्यो भन्ने राम्रो इतिहास छ । किताबमा कालेबुङ बनिदै गरेका दिनहरूको कथा पनि उल्लेख रहेकाले मलाई निकै रमाइलो लागेको थियो । तिब्बत पुग्ने सिल्क रुटको कथा र त्यो बेलाको राजनीतिक चलखेल निकै गजबसँगले किताबमा समेटिएको छ । यो किताब मैले नबेच्ने भनेर राखिएको हिमालय स्टोरबाट लिएर ‘जेरोक्स’ गरेर पढेको थिएँ । 

  • पहिलोपटक पढेको ठुलो आकारको किताब कुन थियो ? त्यहाँबाट के पाउनुभयो ?

मेक्सिम गोर्कीको ‘आमा’ थियो होला । त्यो बेला किताबबाट के पाउनेभन्दा नि कथासँग कसरी डुल्ने भन्ने हिसाबले पढिन्थ्यो । मलाई रसियन कथाहरूमा आउने हिउँका दृश्यका वर्णनहरू साह्रै रमाइलो लाग्छ । सायद, मूल कथाबाहेक मैले त्यही वर्णन किताबमा खोजे हुँला । 

  • तपाईंको सोचलाई नै बदल्ने पुस्तक कुन हो ?

राम्रो पुस्तक त्यही हो, जहाँ कि आफैँलाई भेटाउन सकिन्छ, कि आफँैलाई हराउन सकिन्छ । म खासमा यही दुईवटा कारणले नै किताब पढिरहेको हुन्छु । 

  • यहाँलाई कुन कुराले लेख्ने प्रेरणा दिन्छ ?

लेखन अब मेरो नियमित थोक बनिसक्यो । यसका निम्ति प्रेरणा चाहिन्छ भन्नेमा मलाई खासै विश्वास लाग्दैन । मार्खेजले भनेका छन्, ‘लेखनमा प्रेरणाको कुरा केही रोमान्टिकहरूले गरेको शब्दको बदनाम मात्रै हो ।’ यतिबेला मार्खेजतिरै चाहिँ नजाउँ होला तर म आफैँ केही नयाँ सिक्नका निम्ति लेखिरहेको हुन्छु । किनकि लेख्दा रिसर्च गर्नुपर्छ । यसो गर्दा आम मान्छेसँग घुलमेल हुन पाइन्छ । उनीहरूको दुःखसुखको नजिक पुग्दा अलग परिस्थितिमा बाँच्न आइपुगेजस्तो लाग्छ । त्यही अलग दुनियाँमा नयाँ अनुभव बाँच्नका निम्ति म पटक–पटक लेखिरहेको हुन्छु । 

  • नेपालको पठन संस्कृति कस्तो पाउनुभयो ?

नेपालले मलाई धेरै थोक दिएको छ । नेपाली पाठककै एउटा प्रेम थियो, जसले मलाई फातसुङमार्फत लेखकका रूपमा पहिचान दिलायो र उरमालमार्फत मदर पुरस्कार पनि । म जब रुखो हुन्छु, तब नेपाल सम्झिन्छु । काठमाडौँ अचेल मलाई सहरभन्दा धेर घर लाग्न थालेको छ । यहाँबाट फर्किंदा म जहिले पोजिटिभ भाइबसँग फर्किन्छु । यो सम्बन्ध यहाँको राम्रो पठन संस्कृतिकै कारण त बनिएको होला नि, होइन ?

  • आजका पाठकलाई के सुझाव दिनुहुन्छ ?

आजका केही पाठक लेखकभन्दा पनि दुई कदम अघि छन् । लेखकको कल्पना जहाँ पुगेर टुङ्गिन्छ, कुनै कुनै पाठकले त्यहाँबाट उताको कुरा सोचिरहेका हुन्छन् । फातसुङमा एउटा पात्र छ, रिपदेन । मलाई तीन वर्षपछि मात्रै थाह भयो, त्यो पात्रको नाउँमा आमा र बाबाको नाउँ आधा–आधा जोडिएको छ । त्यो सिक्किमको कुरा हो । एकजना पाठकले मसँग ठट्टा गर्दै भनेका थिए, ‘रिपपन्दी र नोर्देनको नाम जोडिएर रिपदेन भएको रहेछ है ?’ सुनेर म तीनछक्क परेको थिएँ । त्योभन्दा अघिको मेरो कथासङ्ग्रह हो, १९८६ । त्यहाँ कोइलाले गोर्खाल्यान्ड लेखेको एउटा प्रसङ्ग छ । किताबले युवा एकादमी पाएपछि एकजना पाठकले सोधे, ‘कस्तो राम्रो विम्ब है, कोइला अर्थात् कालो रङले लेखेपछि अँध्यारो समय सुरु भएको छ है कथामा ? मैले त्यो पनि नसोचेको कुरा थियो । उरमाल पढेपछि एकजना पात्रले मुम्बईबाट फोन गरेर सिरियस्ली सोधे, ‘खासमा वुधुवा चैँ कस्तो थियो । मलाई त ठ्याक्कै पञ्चायत सिरिजको बिनोदजी जस्तै लाग्यो ।’ सुनेर मलाई कम हाँस उठेको होइन । यति धेरै सोच्ने पाठकलाई मैले के सुझाव दिनसक्थे र ?

  • उरमालले मदन पुरस्कार पायो । यस पुरस्कारप्रति के छ तपाईंको धारणा ?

मलाई लाग्छ, मदन पुरस्कार नेपालको मात्रै होइन तर नेपाली साहित्यकै एउटा मानक पुरस्कार पनि हो । नेपाल मात्रै होइन, भारतमा पनि यो पुरस्कार जित्ने किताब खोज्नेहरूको जमात निकै ठुलो रहेछ ।  वर्षौंपछि ( झन्डै सात दशकअघि विसं २०१४ मा आसामका लीलाध्वज थापाको उपन्यास 'मन'ले मदन पुरस्कार प्राप्त गरेको थियो l सं.) मदन पुरस्कार भारतीय नेपाली साहित्यको एउटा उपन्यासले पाउँदा रमाइलो लाग्ने त भइहाल्यो । त्यसमाथि मेरै उपन्यास 'उरमाल'ले मदन पुरस्कार पाउँदा मलाई निश्चित रूपमा खुसी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप