बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
समाचार

कहाँ राख्ने नयाँ प्रधानमन्त्रीलाई ?

गृह मन्त्रालयको नयाँ भवन वा पुरानो सामान्य प्रशासन मन्त्रालय रोजाइमा
शुक्रबार, २७ भदौ २०८२, १२ : २६
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • अन्तरिम सरकारको प्रधानमन्त्री कहाँ राख्ने भन्ने विषयमा सिंहदरबारमा छलफल भइरहेको छ।
  • मुख्यसचिवको नेतृत्वमा सिंहदरबारका विभिन्न भवनको निरीक्षण गरी प्रधानमन्त्री कार्यालय राख्न उपयुक्त स्थानको खोजी हुँदैछ।
  • जेनजी समूहको आन्दोलनका कारण सिंहदरबारका अधिकांश संरचनामा क्षति पुगेको छ।

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतलनिवासमा अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन घनिभूत वार्ता चलिरहेको बेलामा सिंहदरबारमा भने नयाँ बन्ने प्रधानमन्त्री कहाँ राख्ने भन्ने खोजी भइरहेको छ । 

मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा अन्य मन्त्रालयका सचिवहरू जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलेको मुलुकको ठुलो प्रशासनिक क्षेत्र सिंहदरबारको अवलोकन गरिरहेका छन् । अवलोकनपछि सिंहदरबारभित्र कुन मन्त्रालय वा निकाय रहेको भवन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राख्न उपयुक्त छ भन्ने टुङ्गो लाग्ने एक सचिवले जानकारी दिए । 

new pm (2)

मुख्यसचिवसँगै सिंहदरबारको निरीक्षणमा रहेका ती सचिवले रातोपाटीसँग भने, ‘सबैभन्दा बढी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा क्षति पुगेको छ । ती बाहेकका अन्य मन्त्रालयमा पनि क्षति त भएको छ तर, पूरै ध्वस्त भएको छैन ।’

अहिले आन्दोलन गरेको जेनजी समूहले अन्तरिम सरकारका प्रधानमन्त्रीलाई कहाँ राखेर काम गराउने भन्ने हो त्यो भने बुझ्न बाँकी रहेको ती सचिव बताउँछन् ।

प्रारम्भिक रूपमा अहिलेसम्म गृह मन्त्रालयका लागि नयाँ बनाइरहेको भवन र पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमध्ये एकमा तत्कालका लागि राख्ने तयारी भइरहेको गृह मन्त्रालयका एक सहसचिवले जानकारी दिए । सङ्घीय मामिला पनि जोडिएपछि सामान्य प्रशासन नयाँ भवनमा सरेको छ । पुरानो मन्त्रालयको भवनमा परराष्ट्र मन्त्रालय सार्नका लागि तयारी गरिएको छ । त्यसमा पनि विकल्पका रूपमा राखिएको ती सहसचिवले रातोपाटीलाई जानकारी दिए । 

new pm (1)

सहज परिस्थितिमा सिंहदरबारभित्र मन्त्रालयसहितका महत्त्वपूर्ण निकाय कहाँ राख्ने भन्ने प्रस्ताव सहरी विकास मन्त्रालयले गर्छ र टिप्पणी उठाएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउँछ । तर, अहिले विषम परिस्थिति भएकाले मुख्यसचिवले अन्तरिम निर्णय गर्ने र नयाँ मन्त्रिपरिषद् आएपछि प्रक्रियागत रूपमा निर्णय गर्ने तयारी रहेको एक सचिवले बताए । 

new pm (3)

तर, अहिले आन्दोलन गरेको जेनजी समूहले अन्तरिम सरकारका प्रधानमन्त्रीलाई कहाँ राखेर काम गराउने भन्ने हो त्यो भने बुझ्न बाँकी रहेको ती सचिव बताउँछन् । ती सचिवले रातोपाटीसँग भने, ‘नयाँ प्रधानमन्त्री नियुक्त भएपछि हामीले बनाएको योजनाअनुसार मुख्यसचिवले प्रस्ताव राख्नुहुन्छ । अन्तरिम सरकारका प्रधानमन्त्री र जेनजी समूहबाट स्वीकृत भयो भने हुन्छ । होइन भनेर नयाँ प्रस्ताव आयो भने त्यसमा छलफल त गर्ने होला । त्यसमा भने हामी अन्योलमै छौँ ।’

सिंहदरबारभित्र रहेका मुख्य दलका संसदीय दलका कार्यालय ध्वस्त भएमा छन् । सङ्घीय संसद् सचिवालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालयसहितका मन्त्रालयमा बाहिर क्षति भए पनि भित्र सञ्चालन गर्न सकिन्छ कि भन्ने खालका रहेका पनि अनुगमनमा रहेका अर्का सचिवले जानकारी दिए ।

समग्रमा हेर्दा प्रारम्भिक रूपमा ८० प्रतिशत भन्दा बढी सिंहदरबारभित्रका संरचना र सामग्री ध्वस्त भएका ती सचिव बताउँछन् ।  

भदौ २४ गतेबाट पूर्णरूपमा बन्द रहेका सिंहदरबारका कार्यालयमा शुक्रबारबाट भने क्षतिको आकलन गर्ने, काम लाग्ने र नलाग्ने सामग्री छुट्टयाउने काम गर्न केही मात्रामा कर्मचारी उपस्थित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप