मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
जेनजी आन्दोलनमा आगजनी

यसरी जल्यो प्रजातन्त्रवादीको ऐतिहासिक धरोहर कोइराला निवास

शुक्रबार, २७ भदौ २०८२, १९ : ००
शुक्रबार, २७ भदौ २०८२

विराटनगर । जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते दिउँसो विराटनगरस्थित कोइराला निवासमा सधैँजस्तै महानगरका एक जना सुरक्षाकर्मी र एक युवक सुरक्षार्थ तैनाथ थिए । बाहिरको हल्लाखल्लाले उनीहरुलाई हल्का डर लागेकै थियो । दिउँसो २ बजेतिर १०–१५ जनाको हुल कोइराला निवास आयो । ढुंगामुढा गर्‍यो र फर्कियो । सुरक्षामा बसेका उनीहरुलाई लाग्यो अब संकट टर्‍यो । 

तर त्यसको केही समयपछि सयौंको संख्यामा आएको हुल पश्चिमतिरको पर्खाल भत्काएर कोइराला निवासमा प्रवेश गरेर लुटपाट र आगजनी सुरु गर्‍यो । ‘दोस्रो पटक लगभग १ हजार जस्तो मान्छेहरु मैले देखें । सुरक्षा दिन खोजेर नसकिने देखेपछि हामी भाग्यौं,’ ती सुरक्षाकर्मीले भने । 

नेपालको प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक नेतृत्व गरेका नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समेत बसेको कोइराला निवास केही मिनेटमै आगो दन्कियो । आगोको ज्वालाले काठको घर क्षणभरमै भष्म भयो । काठको घरदेखि उत्तर र दक्षिणमा रहेका दुईवटा पक्की घरपनि क्षतिग्रस्त बने । भित्र राखेका सामानहरु लुटपाट गरियो । कतिपय सामानहरु आँगनमा ल्याएर जलाइए । 

Koirala Niwas Fire

प्रजातन्त्रवादीहरुको ‘तीर्थस्थल’ मानिने कोइराला निवास जलेको खबरले धेरैलाई नरमाइलो लाग्नु स्वाभाविक नै हो । अहिले कोइराला निवासमा जलेको मालवस्तुको टुक्रा र खरानीहरु पन्छाउने काम भएको छ । सरसफाइ भइरहेको छ । कांग्रेसका कतिपय कार्याकर्ताहरु आउँछन्, दुःखी हुँदै फर्किन्छन् । 

शुक्रबार दिउँसो कोइराला निवासमा भेटिएकी कांग्रेस कार्यकर्ता मीना विश्वास इतिहास बोकेको भवन र संरचनाहरु ध्वस्त भएको हेरेर निराश भइन् । उनले भनिन्, ‘हाम्रो इतिहासलाई नामेट गर्न खोजियो । विना कारण आगो लगाइयो ।’

आन्दोलनकारीले गिरिजाप्रसाद कोइरालाले चढेको ऐतिहासिक पुरानो गाडी पनि जलाइदिएका छन् । निवासमै पालिएको एउटा गाई समेत आन्दोलनकारीले लगेका छन् । अहिले उक्त निवासमा कांग्रेस नेता डा. शेखर कोइराला बस्दै आएका थिए । केही समययता कोइराला विराटनगर आएका थिएनन् । काठको घर, टिनको छानो र बाँसका भित्तामा माटो लेपन गरिएको एक सय वर्षभन्दा पुरानो घरलाई जोगाउन डा. शेखर कोइरालाले निकै मेहनत गरेको चर्चा हुन्छ । 

Koirala Niwas Fire4

कोइराला निवास जल्नुमा व्यक्तिगत रिसिइबी जस्तो देखिएको कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू बताउँछन् । ‘यो त अब व्यक्तिगत रिसिइबीको कारणले गर्दा जलाएको जस्तो देखिन्छ । कोइराला निवास भनेको लोकतन्त्रवादीहरूको आस्थाको धरोहर हो । यो कुनै कांग्रेसको मात्रै होइन,’ उनले भने, ‘यहाँ रिसिइबी साध्ने हिसाबले घुसपैठियाहरूले ठुलो नोक्सानी गरेको छ । यो निन्दनीय छ ।’ उनले आगजनीमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरे । 

कोइराला निवासको एउटा घर राणाकालमै बनेको थियो ।  ‘राणासँग जुधेर, राणासँग लड्दा पनि बचेको घर हो त्यो । त्यो सबैले सेल्टर लिने घर थियो । विभिन्न प्रजातान्त्रिक आन्दोलनको लडाइँमा दुःख पाएका मान्छेहरू, टुहुरा बालबालिकाहरूको रेखदेख गर्ने, हुर्काउने, बढाउने काम पनि त्यहाँबाट हुन्थ्यो । आज ध्वस्त गरिएको छ यो एकदम निन्दनीय कार्य भएको छ,’ लिम्बूले भने । 

Koirala Niwas Fire4

कोइराला निवासमै तीन पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको बाल्यकाल बितेको थियो । मुलुकका लागि धेरै प्रधानमन्त्री जन्माउने घरका रुपमा कोइराला निवासलाई लिइने गरिन्छ ।

राणा शासकबाट विस्थापित कोइराला परिवार चन्द्रशमशेरको निधनपछि वि.सं. १९८६ सालमा विराटनगर फर्किएको थियो । बुवा कृष्णप्रसाद कोइरालाले स्वदेश फर्केपछि विराटनगरमै घर बनाए । त्यतिबेला बनाएकै घर अहिले पनि कायमै थियो । 

कृष्णप्रसादले बनाएको यही घरबाट बीपीले सात सालको क्रान्ति सम्पन्न गरे । २०१५ को पहिलो आमनिर्वाचनमा बीपी यहीँबाट विजयी भए अनि २०३७ को जनमत संग्रहमा यही घरबाट कांग्रेसले आफ्नो मुख्य प्रचारप्रसारको काम गरेको थियो । पञ्चायतको आउटपोस्ट कब्जा गर्ने नाममा गाउँ पञ्चायत र नगर पञ्चायतको निर्वाचन २०४४ मा सहभागिता, जनआन्दोलन २०४६ र दोस्रो जनआन्दोलन २०६२–६३ मा पनि कोइराला निवासको योगदान नेतृत्वदायी थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप