बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओल्ड ट्राफोर्डमा कीर्तिमानको ओइरो, दक्षिण अफ्रिकालाई १४६ रनले हराउँदै इङ्ल्यान्डद्वारा शृङ्खला बराबरी

शनिबार, २८ भदौ २०८२, ०९ : ११
शनिबार, २८ भदौ २०८२

सारांश

  • इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १४६ रनले पराजित गर्दै शृङ्खला १-१ को बराबरीमा ल्यायो।
  • फिल साल्टले ३९ बलमा शतक प्रहार गर्दै इङ्ल्यान्डका लागि सबैभन्दा छिटो टी-२० शतक बनाए।
  • साल्टले अविजित १४१ रन बनाए, जुन टी-२० अन्तर्राष्ट्रियमा इङ्ल्यान्डका कुनै पनि खेलाडीको सर्वाधिक स्कोर हो।

म्यानचेस्टर । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा भएको दोस्रो टी-२० मा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई १४६ रनको विशाल अन्तरले हराउँदै तीन खेलको शृङ्खला १-१ को बराबरीमा ल्याएको छ। यस खेलमा इङ्ल्यान्डका ओपनर फिल साल्टले आक्रामक ब्याटिङ गर्दै थुप्रै कीर्तिमान कायम गरे।

टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३०४ रनको विशाल योगफल खडा गर्‍यो। यो टी-२० अन्तर्राष्ट्रियमा इङ्ल्यान्डको सबैभन्दा ठुलो स्कोर हो।

यो कीर्तिमान कायम हुनुअघि पुरुष टी-२० आईमा शीर्ष तीन उच्च स्कोरहरूमा सन् २०२४ मा गाम्बियाविरुद्ध जिम्बाब्वेको ३४४ रन, सन् २०२३ मा मङ्गोलियाविरुद्ध नेपालको ३१४ रन र सन् २०२४ मा चिलीविरुद्ध अर्जेन्टिनाको ३०१ रन थियो । इङ्ग्ल्यान्डको ३०४ रनको स्कोर पुरुष टी-२० अन्तर्राष्ट्रिय इतिहासमा चौथो सबैभन्दा ठुलो स्कोर हो।

साथै, यो स्कोर इङ्ग्ल्यान्डमा भएको पुरुष टी-२० क्रिकेट इतिहासकै सबैभन्दा उच्च योगफल पनि हो। यसअघि, सन् २०२२ मा डर्बीशायरविरुद्ध सोमरसेटले बनाएको २६५ रनको रेकर्डलाई यसले उछिनेको छ।

साल्टले ३९ बलमा शतक प्रहार गर्दै इङ्ल्यान्डका लागि सबैभन्दा छिटो टी-२० शतक बनाउने कीर्तिमान कायम गरे। उनले लियाम लिभिङस्टोनको ४२ बलको रेकर्ड तोडेका हुन्। 

साल्ट ६० बलमा १५ चौका र ८ छक्कासहित १४१ रनमा अविजित रहे। यो इङ्ल्यान्डका कुनै पनि पुरुष वा महिला खेलाडीले टी-२० अन्तर्राष्ट्रियमा बनाएको सर्वाधिक व्यक्तिगत स्कोर पनि हो। यसअघि ड्यानी वाइट-हजको १२४ रनको रेकर्ड थियो।

साल्टलाई अर्का ओपनर जस बटलरले पनि राम्रो साथ दिए। उनले मात्र ३० बलमा ८३ रन बनाए, जसमा उनले ६ चौका र ९ छक्का प्रहार गरे। यस्तै, ज्याकोब बेथेलले १० बलमा २४ र कप्तान ह्यारी ब्रुकले २१ बलमा अविजित ४१ रनको योगदान दिए।

जवाफमा, दक्षिण अफ्रिकाले २२ बलमा ५० रन जोड्दै राम्रो सुरुवात गरे पनि त्यसलाई निरन्तरता दिन सकेन। जोफ्रा आर्चरले चौथो ओभरमा दुई विकेट लिँदै दक्षिण अफ्रिकाको इनिङ्स धराशायी बनाए। आर्चरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए भने साम करनले २ विकेट लिए। 

दक्षिण अफ्रिका १९.५ ओभरमा १५८ रनमा अलआउट भयो। दक्षिण अफ्रिकाका लागि एडन मार्करमले २३ र रयान रिकेलटनले २७ रन बनाए। पुछारका ब्याट्सम्यान ब्योर्न फोर्चीले मात्र १६ बलमा ३२ रन जोडे पनि त्यो जितका लागि पर्याप्त भएन।

अब शृङ्खलाको निर्णायक खेल आइतबार ट्रेन्ट ब्रिजमा हुनेछ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप