बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नौ प्रश्न

‘जति पढे पनि, सिद्धान्त जाने पनि मानिसको जीवनको अगाडि सबै फिका छन्’

शनिबार, २८ भदौ २०८२, १४ : ४६
शनिबार, २८ भदौ २०८२

निर्भीकजंग रायमाझीको एक कविता कृति प्रकाशित छ, ‘त्यसरी त कहिल्यै सोचिएन’ (२०८०) । बनेपा काभ्रेपलाञ्चोकका युवाकवि रायमाझी नेपालमा पत्रकारिता गर्दागर्दै अवसरको खोजीमा यतिखेर बेलायतमा छन् ।

विभिन्न आधा दर्जनजति पुस्तकको सहलेखन तथा सम्पादन गरेका रायमाझीलाई हामीले यसपालि रातोपाटीको नियमित स्तम्भ ‘नौ प्रश्न’मा निम्त्याएका छौँ । 

१) तपाईं वास्तवमा किन लेख्नुहुन्छ ? लेख्नलाई कुन कुराले यहाँलाई बढी प्रेरित गर्छ ?

अलिकति अनौपचारिक (क्याजुअल) शैलीमा नै यी सवाललाई सम्बोधन गर्न चाहन्छु । झट्ट सोच्दा मलाई के लाग्यो भने दुख्दाखेरि लेख्दोरहेछु, छोइँदाखेरि लेख्ने रहेछु, कतै झस्किँदा अनि कतै चस्किँदाखेरि लेख्दोरहेछु । नसोचेको कुरा झट्ट दिमागमा आउँदा आफैँसँग ‘धत् ! त्यसरी कहिल्यै सोचिएन’ भन्दै केही कोर्दोरहेछु । 

‘तिमी किन लेख्छौ’ भनेर कतैबाट प्रश्न सोधिँदा लेखनबारे सचेत भएर सोचिने रहेछ । होइन भने लेखिरहने कुरा आफ्नो जीवनकै पाटो महसुस भएकाले केही न केही लेखिरहिन्छ । साहित्यबाहेक पनि हामीले दैनिक जीवनमा लेख्नुपर्ने हुन्छ । जागिर वा कार्यालयीय कामका लागि लेखिने कुरा सिधासिधा रोजिरोटीतिर जोडिन्छ । जस्तो कि पत्रकारिता, खोज, अनुसन्धान, रिपोर्ट आदि । अचेल त स्टाटस पनि ।

यहाँ सिर्जनात्मक लेखन किन लेखिन्छ भन्ने मुख्य प्रश्न आयो । भानुभक्तले ‘धिक्कार हो मकन वस्तु नराखी कीर्ति’ भन्दै लेखे भने कसैले अस्तित्वको दाबीका लागि लेख्छु भने । कसैले स्वान्तसुखायकै लागि मात्र भने त कसैले सत्यको नजिक पुग्न लेख्छु भने । मचाहिँ आफूले बाँचेको र भोलि बाँच्ने समयका लागि लेख्छु । 

नेपालीभन्दा कम जनसंख्या भएका अरू भाषाका साहित्य निकै अगाडि आइसकेको छ । हामी धेरै अगाडि जान नसके पनि उनीहरूको छेउकुनामा पुग्न त सकिएला । हामीले बाँचेको चरित्र, भोगेको सुखदुःख र स्वपहिचानतिर केन्द्रित भएर लेख्नुपर्छ भन्ने मलाई लागिरहेको छ ।

२) अन्तिमपटक कुन कृति पढ्नुभएको थियो ? यो कृति कस्तो थियो ? 

भर्खरै पढिरहेको पुस्तकमा बानु मुस्ताकको कथासङ्ग्रह ‘हार्ट ल्याम्प’ हो । सँगै रमेश क्षितिजको कथासङ्ग्रह ‘एउटा मायी नगरमा’ पनि लगभग पढिसकेँ । संयोगले दुवै कथाकृति परेछन् । योजना गरेर पढेको होइन । 

बानु मुस्ताक कन्नड (कर्नाटक) भाषामा लेख्छिन् । उनका कथाहरू दीपा भास्थीको अनुवादमा अङ्ग्रेजीमा आएको हो । मुख्यतः उनको कथामा दक्षिण भारतको मुस्लिम महिलाको जीवन चित्रण गरिएको छ । सरल शैली, अविस्मरणीय पात्रहरू र पात्रले बोल्ने सटीक भाषाका कारण मुस्ताकका कथा कालजयी बनेका छन् । साथै उनले मानिसको जीवन र सम्बन्धलाई सूक्ष्म हिसाबले अवलोकन गरेर बोध गरेकी छिन् । 

रमेश क्षितिजको कथा भने चलिरहेको भन्दा फरक स्वादको लाग्यो । यसमा भाषाको घनत्व उच्चकोटीको छ । समग्र कथावस्तु हाम्रै वरपरको छ तर भाषाले त्यसलाई यथार्थ र कल्पनाको दोसाँध पुर्‍याएको अनुभव गरेँ । क्षितिज असाध्यै कुशल कवि भएकाले भाषा त्यस्तो हुने नै भयो । पछिल्लो महिनाको पठन अनुभव यति नै हो । 

३) पछिल्लो समय नेपालको साहित्यक बजार र बहस कस्तो पाउनुभएको छ ? बहस र बजारलाई हेर्दा हामी कुन दिशातिर गइरहेका छौँ भन्ने लाग्छ ?

पछिल्लो दुई वर्षदेखि म नेपाल बाहिर छु तर नेपालमा के भइरहेको छ भन्ने कुरा अलिअलि समाचारबाट अनि साथीहरूसँग फोनमा कुरा गर्दा थाहा हुन्छ । समग्रमा नेपालको साहित्यिक वातावरण असाध्यै राम्रो बनेको पाउँछु तर बजारको कुरा गर्दा बजारको आफ्नै चलन छ, चक्र छ । बजारलाई बहाना बनाएर उम्कन पनि मिल्दैन । सँगै बजार ठिक छ भनेर पूरै क्रेडिट दिन पनि नमिल्ने अवस्था छ । सायद बिचको अवस्थामा हामी फसेका छौँ । बिचको अवस्थाबाट अगाडि जाने कि पछाडि फर्किने हामीमै निर्भर गर्छ ।

साहित्यिक मेला महोत्सव धेरै भए । धेरै त्यता नअल्झीकन केही आफ्ना कुरा सकेको स्तरीय हिसाबले लेख्नुको विकल्प छैन । राम्रो सिर्जनालाई चाहे निजी क्षेत्र, सरकार वा जसले सक्छ, त्यसले अलिकति घरको बलेसीदेखि संसारको आँगनसम्म पुर्‍याउन पहल गर्दा राम्रो हुन्छ । नेपालीभन्दा कम जनसंख्या भएका अरू भाषाका साहित्य निकै अगाडि आइसकेको छ । हामी धेरै अगाडि जान नसके पनि उनीहरूको छेउकुनामा पुग्न त सकिएला । हामीले बाँचेको चरित्र, भोगेको सुखदुःख र स्वपहिचानतिर केन्द्रित भएर लेख्नुपर्छ भन्ने मलाई लागिरहेको छ । समग्र साहित्यको गहन अध्ययन नगरेकाले योभन्दा बढी भन्न सकिनँ ।

४) यहाँको बुझाइमा कविता के हो ? कविता लेखनमा तपाईंलाई सबैभन्दा चुनौतीपूर्ण कुरा के लाग्छ ?

दुई वर्षअगाडि प्रकाशित कवितासङ्ग्रह ‘त्यसरी त कहिल्यै सोचिएन’को अन्तिममा कविता यात्राबारे केही लेखेको छु । जसमा मैले भनेको थिएँ– ‘वियोग, वेदना र निराशाको चकोरबिच आशा जगाउने माध्यम कविता बन्यो । तिता क्षणहरूलाई समेत जीवनकै पाटोको रूपमा स्वीकार गरेर अगाडि बढ्न कविताले नै सिकायो । विश्वास गर्न, सपना देख्न र प्रेम गर्न कविताले सिकायो ।’

कविता लेखनमा सबैभन्दा चुनौतीपूर्ण पक्ष राम्रो कविता लेख्न सकिन्छ कि सकिँदैन भन्ने नै हो । राम्रोको परिभाषा त छैन तर समग्रमा राम्रो भन्न लायक र मिहिनेत गरेको प्रीट देखिने लेख्न सक्नु नै मेरो चुनौती हो । सकेसम्म सरल लेख्न नै खोजिरहेको हुन्छु तर कवित्वसहित । 

लेखनको सुरुका तीन–चार वर्ष पुरस्कार जितौँ वा अरूले राम्रो भनुन् भन्ने लाग्थ्यो । एक दशकमा मेरा यस्ता सबै लोभ, आकांक्षा करिब–करिब सतहमा आइसकेको छ । अहिले त कविताको चस्का नपरेसम्म कसैले जुनसुकै पुरस्कार वा इनाम दिन्छ भने पनि केही लेख्न सक्दिनँ । कहिलेकाहीँ मागेको ठाउँमा ठिक समयसीमाभित्र कविता लेखेर दिन सक्दिनँ । उहाँहरूको नजरमा ठुलो पल्टेको भए पनि मेरो नजरमा लेख्न नसकेर टाट पल्टेकै हो । अझ फिनिसिङ गर्ने बेला मलाई धेरै समय लाग्छ । आफूलाई ढाँटेर लेख्न नपरोस् भन्ने भावना आइरहन्छ अचेल ।

५) समकालीन नेपाली कविताको अवस्था कस्तो देख्नुभएको छ ? कविता लेखनका तपाईंका कुनै उद्देश्य छन् कि ?

समकालीनमाथि केही भन्न र लेख्न चुनौतीपूर्ण लाग्छ । कोही रिसाउलान् भनेर त होइन तर आफूले निकै गहिरिएर हेरेको हुनुपर्‍यो । यद्यपि २०७१ देखि करिब नौ वर्ष नेपाली कविताको अधिकांश कार्यक्रम, विमर्श, महोत्सव सबैमा सहभागी हुने सौभाग्य पाएँ । पत्रपत्रिकामा साहित्यिक रिपोर्ट, अन्तरवार्ता गर्न पाएँ । कोही टाढाको लेखक काठमाडौँ आएको छ भने नबोलाए पनि भेट्न जान्थेँ । मौका मिले अन्तर्वार्ता गर्थें, नत्र लेखनकै कुरा गर्थें । शैलेन्द्र साकार, मनप्रसाद सुब्बादेखि राजा पुनियानीसँग त्यसरी नै भेट भएको हो । त्यही मिठो अनुभवका आधारमा मैले ठहर गरेँ– २०२० देखि ३० आसपास नेपाली कविताको स्वर्ण समय हो । 

सँगै २०६३ पछि समाजले खुलापन र स्वतन्त्र राजनीतिक अवस्थामा (जसलाई गणतन्त्र भने पनि वा नभने पनि नेपाली समाजले बन्धनपछि स्वतन्त्र र केही शान्तिपूर्ण समय पायो) देश–विदेशको कुना–कुनाबाट कविता आयो, कोण–कोणबाट कविता आयो । यो बिचमा निकै राम्रा कवि र कविता लेखियो भन्ने लाग्छ । मैले भने २०७० पछि लेख्न थालेको हुँ । यी कविता बल्ल किताबका रूपमा आइरहेका छन् । पछिल्लो दुई वर्षमा देवव्रत, आर्यश, सुरज राना, हेमन्त शिशिर, खुपेन सुनुवार, सुमिना, प्रचण्ड भाष्कर आदिका सङ्ग्रह आए ।

यसैले हामीले लेखेका कविताको मूल्याङ्कन हुन अझै एक दशक लाग्छ । अलिकति मन बिझाउने पक्ष चाहिँ सबैले लेखेको कविताशैली र विषयवस्तु उस्तैउस्तै देखिनु हो । मेरो आफ्नै पनि कतिपय कविता त्यस्तो देखिन्छ, प्रयास गर्दागर्दै पनि दिमागको नाङ्गो तारमा कविताको करेन्ट बगेको छैन । 

६) लेखेर अहिलेसम्म के कति कमाउनुभयो वा के गुमाउनुभयो ?

यो त म्याट्रिक्समा सोच्ने कुरा भयो । कुनै कामको जिम्मा लिएपछि हाम्रो आर्थिक मनले सोच्ने कुरा हिसाबकिताब नै हो । धेरै प्रकारका मनमध्ये आर्थिक–मन पनि एक हो । मैले भने लेखनलाई लिएर कहिल्यै लो–फिल गरेको छैन । बरु लेख्नका लागि त केही न केही पढ्नुपर्‍यो । पढ्दा आफूसँग संवाद गरिन्छ । ज्ञान बढ्दा आफूलाई मानसिक रूपमा बलियो महसुस हुन्छ । पढेपछि नै युगको प्रहारहरूलाई पनि सामना गर्न सकिन्छ जस्तो लाग्छ । यसैले लेख्नु, लेख्न खोज्नु र लेखिरहनुको त्रिवेणी बहावमा आफूलाई राखेर बगिरहेको पाउँछु म । 

यसबाहेक कविता सुनाउन जहाँजहाँ गएँ, त्यहाँ अनौपचारिक जमघट वा खाजा खाने टेबलमा कविता सुनाउँदा पाएको रेस्पोन्स अजम्बरी लाग्छ । आफ्नो कविता, साथीको कविता, अरूको कविता, विदेशी कविता जे याद छ त्यही सुनाउँछु । मोबाइल हेरेर भरसक कविता भन्ने गरेको छैन । मदिराको माहोलमा भने गीत वा टुक्का सुनाएर भिडबाट उम्कने गरेको छु । 

७) पाठकलाई पढ्न सिफारिस गर्नका लागि यहाँको कविता कृति ‘त्यसरी त कहिल्यै सोचिएन’मा त्यस्तो के छ ? पाठकले यो कृति किन पढ्नुपर्छ जस्तो यहाँलाई लाग्छ ? 

मेरो कवितासङ्ग्रहमा पचास थान कविता समेटिएको छ । दश वर्षको समय अवधिमा लेखिएका यी कवितालाई मैले पाँच खण्डमा समेटेको छु । एक खण्डमा पूर्णतः राजनीतिक कविता छन् भने बाँकी कविता जीवन–जगत्सँग बढी जोडिएको छ । 

मेरै कवितासङ्ग्रह किन पढ्नुपर्छ भन्ने सवालमा, मेरै पढ्नुपर्छ भन्ने छैन । २०७० पछि लेखिएका कविता पढ्नु छ भने म पनि एउटा प्रतिनिधि भएकाले मेरो किताब पढ्दा घाटा छैन भन्ने मात्रै हो । अरू पनि राम्रा कविताकृति छन् तर थोरै छन् । यसैले नयाँ कविको सग्लो किताब पढ्दा मेरो किताब उठाउनु स्वाभाविक घटना हुन जान्छ । जीवनको ऊर्जाशील समय कविता लेखेको र आज पनि लेखिरहेको कवि भएकाले मेरो किताब पढ्नुस् अनि दिल खोलेर लागेको कुरा भन्नुस् । 

८) तपाईंलाई झकझकाएको कुनै एउटा साहित्यिक कृति सम्झिनुपर्‍यो भने कुनलाई सम्झिनुहुन्छ ? किन ?

विद्यालय पढ्दा जे भेट्यो त्यही पढ्थेँ । केही नपाएपछि पढेकै पुस्तक दोहोर्‍याएर पढिन्थ्यो । किनकि त्योबेला टेलिभिजन–युग थियो । बाल्यकालमै टेलिभिजन हेर्न त पाइएन, किनकि म गाउँमा हुर्कें । पछि विद्यालय जान थालेपछि चरम लोडसेडिङले गर्दा टेलिभिजन हेर्न पाइँदैनथ्यो । यसैले जे भेट्यो त्यो पढ्नतिर लागिन्थ्यो । डेल कार्नेगीको ‘साथीहरूको मन जित्ने कला’ भन्ने चर्चित पुस्तक धेरैपटक पढेँ । ‘म जुजुमान’ भन्ने कथामा जुजुमानले नयाँ कोट लाउन नपाएको कथा पढेर द्रवित भएँ । किन भएँ थाहा छैन तर पटकपटक त्यो कथा पढेँ, किनकि अरु धेरै किताब पढ्न पाउने अवस्था थिएन । पछि जुजुमानजस्तै नेवार काकाकाकी बनेपामा देखेपछि कथा बुझेजस्तो अनुभूत भयो ।

विद्यालय पढ्दादेखि नै लेख्थेँ वा पढ्थेँ भन्दिनँ म । एसएलसीपछि मात्र साहित्य, इतिहास आदि पढ्नतिर व्यस्त भएँ । एसएलसी परीक्षा दिएर बसेको बेला ‘यो जिन्दगी खै के जिन्दगी’ कवितासङ्ग्रह भेटेँ । यो पढेपछि मान्छेको जीवन ‘फ्रेम’मा चल्दैन रहेछ भन्ने थाहा पाएँ । सँगै मानिसको जीवन एकनास होइन हजारनासको हुँदोरहेछ भन्ने यही किताबले सिकायो । वानीरा गिरिको ‘शब्तातीत शान्तनु’ उपन्यास पढ्दा समझदार मानिसले पाउने सम्मान र सकस बराबर हुँदोरहेछ भन्ने महसुस भयो । 

पछि क्याम्पस पढ्न काठमाडौँ आएपछि साझा प्रकाशन र भृकुटीमण्डपमा हुने किताब मेलाबाट किनेर अधिकांश लोकप्रिय नेपाली साहित्यका पुस्तक पढेँ । बिचमा पढ्न निकै कमी भएको थियो तर कोभिडको लकडाउनले गर्दा थप पुस्तक पढ्ने मौका मिल्यो । 

९) आखिर जिन्दगी के रहेछ ?

जसरी यो कुराकानीको अन्तिममा जीवन के रहेछ भनेर सोधियो, त्यसरी नै धेरै मानिसले जीवनको अन्तिमतिर मात्र यस्ता कुरा सोच्छन् तर समझदार मानिसले जुनसुकै बखत जीवन—चिन्तन गर्न सक्छ । अझ मलाई त के लाग्छ भने, मृत्यु चिन्तन भनेकै जीवन–चिन्तन हो र जीवन चिन्तन भनेकै मृत्यु ।

भर्खरैको घटना हो, कतै पार्कछेउ हिँडिरहँदा मलाई लाग्यो कि विचारभन्दा माथि जीवन छ । विचारभन्दा माथि देश भनेर रविन्द्र मिश्रले लेख्नुभएको भनाइलाई व्यंग्य गरेको होइन मैले । उहाँले त्यस्तो लाइन बनाउनुभएकामा धन्यवाद भन्छु किनकि मैले उहाँको शब्द सापटी लिएर विचारभन्दा माथि जीवन भन्ने लाइन बनाउन सकेँ । जति पढे पनि, अगाडि बढे पनि, सिद्ध–सिद्धान्त जाने पनि मानिसको जीवनको अगाडि यी सबै फिका लाग्छन् । यसबारे धेरै पट्यारलाग्दो परिभाषा दिनुभन्दा एउटा कविताको हरफले नै मेरो मनको सारा कुरा बोल्छ कि—

मर्छु कि जस्तो लाग्नेछ जुन दिन

जीवन सुरु हुनेछ खासमा त्यही दिन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप