नीति र नेतृत्व दुवैको पुनर्गठन अपरिहार्य : घनश्याम भुसाल
सारांश
- घनश्याम भुसालले जेनजी आन्दोलन र त्यसपछिका घटनाले मुलुकलाई असाधारण अवस्थामा पुर्याएको बताए।
- उनका अनुसार, दलाल पुँजीवाद, बेरोजगारी, कुशासन र भ्रष्टाचारका कारण जनतामा आक्रोश बढेको र विस्फोट भएको हो।
- भुसालले पार्टी पुनर्गठन र लोकतान्त्रिक प्रक्रियालाई सबलीकरण गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले जेनजी आन्दोलन र त्यसपछिका घटनाले मुलुकलाई असाधारण अवस्थासम्म पुर्याएको भन्दै अहिलेको मुख्य मुद्दा पार्टी पुनर्गठन र लोकतान्त्रिक प्रक्रियाको सबलीकरण रहेको बताएका छन्।
भुसालले पार्टी सचिवालय बैठकमा प्रस्तुत गरेको कार्यपत्रमा केही घण्टाकै आन्दोलनले दशकौँदेखि बनेको राजनीतिक संरचना भत्काइदिएको उल्लेख गर्दै “राजनीतिक दल, नेताहरूको ‘महानता’ र दशकौँको प्रशिक्षणले तयार गरेको प्रणाली २/३ दिनको सामाजिक सञ्जाल अभियानमै धराशायी भएको छ,” भनेका छन्।
उनका अनुसार मुलुकमा दलाल पुँजीवाद, बेरोजगारी, कुशासन र नेताहरूको भ्रष्टाचारले जनतामा आक्रोश बढाउँदै ल्याएको र अन्ततः यही असन्तुष्टिले ठुलो विस्फोटको रूप लिएको हो।
उनले भने, “गणतन्त्र आएपछि पनि नेताहरूको अहङ्कार, गुटबन्दी र भ्रष्टाचारका कारण लोकतान्त्रिक व्यवस्थाप्रति विश्वास कमजोर हुँदै गएको छ।”
२४ भदौको आन्दोलनपछि सिंहदरबार, सर्वोच्च अदालतदेखि राष्ट्रपति भवनसम्म आक्रमण हुनु साधारण कुरा नभएको भुसालले दाबी गरेका छन्। उनले यसमा बाह्य शक्तिको भूमिका र अन्तर्राष्ट्रिय सन्दर्भ पनि जोडिएको हुनसक्ने भन्दै आगामी दिनमा सत्य अझै खुल्ने विश्वास व्यक्त गरेका छन्।
भुसालले लोकतन्त्रको रक्षा अहिलेको प्रमुख काम भएको उल्लेख गर्दै भनेका छन्, “राष्ट्रपतिले सडकसँग सम्झौता गर्दा संविधानको सीमा छोइएको छ। अब लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउँदै चुनावतर्फ जानुपर्छ।”
उनले राजनीतिक दलकै कमजोरी र नालायकीले वर्तमान अवस्था सिर्जना भएको स्वीकार गर्दै पार्टी पुनर्गठन अनिवार्य रहेको बताए। “अहिलेकै पार्टी संरचनामा जनतामाझ जान असम्भव छ। पुनर्गठन नगरे लोकतान्त्रिक प्रक्रिया बलियो बनाउन सकिँदैन,” उनले भने।
भुसालले पार्टीव्यापी छलफलमार्फत नीति र नेतृत्व दुवैको पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार यही प्रक्रियाबाट मात्र जनतामा नयाँ आशा र विश्वास पैदा गर्न सकिन्छ र मुलुकलाई प्रतिक्रान्तिकारी सम्भावनाबाट जोगाउन सकिन्छ।
यस्तो छ भुसालको धारणा
जेनजीको आन्दोलन, त्यसको अपहरण र विध्वंस
हाम्रो दृष्टि र अबको मुद्दा
- हामी अहिले असाधारण विरोधाभाषका बिच खडा छौँ । केही घण्टाकै विप्लवले पुरानो राजनीतिक संरचना गर्ल्यामगुर्लुम ढलेको छ । जेनजी भनिने निष्कपट नवयुवाहरूको प्रदर्शन, तिनीहरूमाथि भएको अपराधी दमन र तिनका नाममा देशभरि लगाइएको डढेलोको एउटै लप्काले राज्य भनिने संरचना कतिसम्म मक्किएको रहेछ भन्ने स्पष्ट पारेको छ । स्थापित भनिएका राजनीतिक पार्टीहरूका सामाजिक जराजुरी सतह बाहिर आएका छन् । पार्टीभित्र तथाकथित अनुशासनले थामेर राखेको नेता र राजनेताहरुको ‘दूरदृष्टिु, महानता, ‘सामर्थ्य का धरहरा गर्ल्यामगुर्लुम ढलेका छन् । दशकौँसम्म पार्टीका बैठक, निर्देशन, प्रशिक्षणले तयार गरेको राजनीतिक र पार्टी प्रणाली २र३ दिनको सामाजिक सञ्जाल अभियानले क्षतविक्षत पारेको छ।
- हरेक भवितव्यबाट उठेर आफ्ना सीमा, कमजोरीको समीक्षा गर्दै र आफैबाट भएका भूलचुक र नालायकीहरूको वस्तुनिष्ठ हिसाब/किताब गर्दै जुन जाति, समाज, सङ्गठन वा राष्ट्रहरू अगाडि बढे तिनले इतिहासको नेतृत्व गरेका छन्। आत्ममुग्धताको आहालबाट निस्कन नचाहने अकर्मण्य समुदायहरू इतिहासको गतिमा पछि पर्दे, साँघुरिँदै, बिलाउँदै गएका छन् । आज हामी आफैले बनाएका राज्य, राजनीति र सङ्गठनको भग्नावशेषका अगाडि छौँ । हामीसँग दुई वटा विकल्प छन् स् अगाडि बढ्ने हो कि जहीँको तहीँ रहने हो रु इतिहासको गौरवगाथा र ध्वस्त वर्तमानको विरहगानमै अडिने हो कि भविष्यको नयाँ बाटो खोज्न सङ्कल्प गर्ने हो रु समाजका नवोदित प्रगतिशील वर्ग तथा समुदायको अगुवाइ गर्ने हो कि इतिहासले छोडिसकेका पछौटेहरूको पुच्छर बन्ने हो रु एकातिर इतिहासको गोल चक्कर छ, अर्कोतिर भविष्यको अनन्त मार्ग छ । यस्ता प्रश्नमाथि खुल्ला, पारदर्शी र वस्तुनिष्ठ छलफल गरौँ ।
पार्श्वचित्र
- औद्योगिक विकासलाई रोकेर मुलुकलाई आर्थिकरुपमा पराधीन बनाउने र त्यस पराधीनताको कूत खाएर सत्ताधारीले वर्गले शासन चलाउने व्यवस्थालाई मैले दलाल पुँजीवाद भन्दै आएको छु । बेरोजगारी र कुशासन दलाल पुँजीवादका मुख्य चरित्र हुन् । त्यसले समाजमा गरिबी, विभेद र असन्तुष्टि जन्माउँछ । जनताको त्यही असन्तुष्टिका कारणले पञ्चायत र राजतन्त्रको अन्त्य भएको थियो । लोकतान्त्रिक गणतन्त्रले दलाल पुँजीवादलाई अन्त्य गर्दै र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्नु पर्थ्यो । तर नेपालको राजनीति दलाल पुँजीवादकै वरिपरि घुमिरह्यो । त्यसले आम नागरिकमा असन्तुष्टि बढ्दै जानु र कुनै न कुनै दिन विष्फोट हुनु अनिवार्यजस्तै हुन्थ्यो ।
गणतन्त्र आएपछि पनि एकपछि अर्को भ्रष्टाचार काण्डहरूमा नेताहरूको नाम जोडिँदै गएको र नेताहरूको अहङ्कार बढ्दै गएको, उनीहरुले आम नागरिकलाई हेप्दै गएको कुराले समाजमा आक्रोशलाई बढाइरहेको थियो । पार्टीमा जति ठुलो पद भयो राज्यदोहनमा त्यति धेरै पहुँच हुने हुँदा गुटबन्दी, पद र हैसियतको नाजायज वितरण, विधानमा हेरफेर, प्रश्न गर्नेहरूको निष्कासन, चाकर र नातापाताको पदोन्नतिजस्ता विकृति पार्टीहरूमा सामान्य घटना भएका थिए । मरणोपरान्त पदमै रहन खोज्ने नेताहरूले नैतिक वैधता गुमाउँदै गए । पार्टीहरू सत्ताधारी नेता र अन्य नेताका गुट, एउटै नेताका भिन्नभिन्न गुट, ठुला नेता र साना नेताका गुटमा बाँडिँदै गए र तिनको अन्तर्विरोध चर्किँदै जाँदा एकले अर्कोलाई बदला लिन गर्नु/नगर्नु गर्न थाले । यसरी पार्टीभित्रका विवादहरू सार्वजनिक चासो र आलोचनाका विषय हुँदै गए । इमानदार कार्यकर्ताहरूले पनि नेताका विकृतिको भारी बोक्नु पर्ने भयो । सङ्क्षेपमा, पार्टी र राजनीति बदनाम हुँदै गए।
- हाम्रा सार्वजनिक सम्पत्ति, राजनीतिक नेताहरू र व्यावसायिक सङ्गठनहरू, अझ सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनमाथि जसरी एकै साथ हमला भयो यो तहको योजना नेपालभित्र बन्न सक्दैनथ्यो । २४ गतेपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जे जति सन्दर्भहरू उठाएका छन् त्यसले पनि यो नेपालमा मञ्चन भएको ुरनि क्रान्ति हो भन्नेबारे प्रकाश पार्छ । आगामी दिनमा त्यो अझै खुल्दै जानेछ।
लोकतन्त्रको रक्षा : हाम्रो मुख्य काम
- एउटा विषम परिस्थितिमा राष्ट्रपतिले सडकसँग सम्झौता गरेका छन् । त्यस क्रममा संविधानको सीमा छोइएको छ । हामीले लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउँदै निर्वाचनमा जाने क्रममा त्यसलाई असफल बनाउनु पर्नेछ । आगामी निर्वाचनमा जाने क्रममै संविधानलाई पूर्णतः लिकमा ल्याउनु पर्नेछ। हेक्का राख्नु पर्ने कुरा के छ भने यसका प्रायोजकहरूको काम फत्ते भैसकेको छैन । यसरी हेर्दा अहिले हामी क्रान्ति र प्रतिक्रान्तिको तानातानीको अवस्थामा छौँ । यस प्रक्रियामा हामीले मुद्दामा आधारित भएर बृहत् लोकतान्त्रिक, वाम लोकतान्त्रिक तथा वामपन्थी सहकार्यका दायरा बढाउँदै, तिनलाई सुदृढ गर्दै अगाडि बढ्नु पर्छ र प्रतिक्रान्तिकारी सम्भावनालाई पराजित गर्नु पर्छ ।
हाम्रो तात्कालिक मुद्दा
- लोकतन्त्रमा राज्यको हर्ताकर्ता राजनीतिक पार्टी हुन्छन् । त्यसले सबै वर्ग र समुदायमा गएर राष्ट्रिय चरित्र ग्रहण गर्छ। त्यस अर्थमा राजनीतिक पार्टीले कुनै न कुनै रुपमा राष्ट्रलाई प्रतिनिधित्व गर्छ । त्यसैले असल र बलियो राज्य राष्ट्र बनाउनु भनेको राम्रो पार्टी बनाउनु हो । आजको नालायकीको दोष हामी राजनीतिक पार्टीको हो । किन्तु(परन्तु गरेर यो जिम्मेवारीबाट उम्किन खोज्नु हुँदैन । यिनै पार्टीहरू आजकै अवस्थामा राखेर लोकतान्त्रिक प्रक्रिया बलियो बनाउने र निर्वाचनको सामना गर्ने कुराको कल्पनै गर्न सकिन्न ।
- हामीले आम जनतामा नयाँ आशा र विश्वास सिर्जना गर्न सकेनौँ भने लोकतान्त्रिक प्रक्रिया पुनर्बहाली नहुने दिशामा जान्छ। यो संविधानले काम गर्न छोड्छ र नि:शन्देह नेपाल फेरि बहुआयामिक सामाजिक तथा सांस्कृतिक द्वन्द्वतर्फ जान्छ । र, त्यस्तो द्वन्द्वले भूराजनीतिक शक्तिहरूलाई निम्त्याउने छ।
- जनतामा नयाँ आशा र विश्वास सिर्जना गर्न, लोकतान्त्रिक प्रक्रियालाई सबल बनाउन, मुलुकको रूपान्तरणकारी नीति/कार्यक्रमका आधारमा राजनीतिलाई अगाडि बढाउन र मुलुकलाई प्रतिक्रान्तिकारी खतराहरूबाट बचाउनका लागि आजको पहिलो सर्त अहिलेका पार्टीहरूको पुनर्गठन हो । नीति र नेतृत्वको पुनर्गठन हो । नेता र पार्टीहरूले समयको पदचाप सुन्न र बुझ्न नसक्दा राष्ट्रहरूले ठूल्ठूला धक्काहरू खाएका छन् । हामी आफै पनि त्यसका भुक्तभोगी हौँ।
- मुलुक क्रान्ति र प्रतिक्रान्तिको नयाँ चरणमा प्रवेश गरेको छ। हाम्रा सबै पार्टीले आज वा भोली पुनर्गठन नगरिकन जनतामा जान किमार्थ सम्भव छैन । यस विषयमा पार्टीव्यापी छलफल चलाउन तयार होऔँ । यो मुख्य विषयलाई गलैँचामुनी राखेर अरू विषयलाई अगाडि राख्न थाल्यौँ भने दुनियाँले हामीलाई दुत्कार्ने छ। ‘पार्टीहरूको पुनर्गठन र राष्ट्रिय पुनरुत्थानमा हाम्रा एजेण्डा भन्ने विषयमा राष्ट्रिय बहस हामीबाट सुरु हुनु सम्पूर्ण पार्टी परिवारका लागि गौरवको कुरा हुनेछ । त्यस्तो राष्ट्रिय बहसमा मुद्दा र कार्यक्रमका साथ अगाडि लाग्ने पर्याप्त क्षमता हाम्रो पार्टीमा छ । हाम्रा सीमा र अभावहरू अरूबाट सिक्न र पूरा गर्न तयार होऔँ । भयानक दुर्भाग्यले हामीलाई नयाँ निर्माणको अवसर पनि दिएको छ ।
घनश्याम भुसाल
पार्टी सचिवालय बैठक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण